बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाँदर खेद्न लङ्गुरदेखि गाई–कुकुरको व्यवस्थापनसम्मः आगरामा डोनल्ड ट्रम्पको सुरक्षाका लागि के के गरियो ?

सोमबार, १२ फागुन २०७६, १३ : ३९
सोमबार, १२ फागुन २०७६

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प आगरामा दुई घण्टा मात्रै बसेपनि उनको आगमनको तयारीमा पूरा शहर पछिल्लो थुप्रै दिनदेखि दिनरात जुटिरहेको  छ ।

जहाँबाट ट्रम्प यात्रा गर्छन्, ती सबै बाटोहरु धोइ पखाली गरेर चम्काइएको छ । सुरक्षाको उच्च स्तरीय प्रबन्धका लागि मुख्यमन्त्रीदेखि अधिकारीसम्म दौडधुपमा छन् ।

डोनल्ड ट्रम्प र उनकी श्रीमती मेलानिया ट्रम्प फेब्रुअरी २४ को बेलुकी करिब साढे चार बजे आगरा पुग्नेछन् र ताजमहल हेर्नेछन् ।

ताजमहल परिसरको चारैतिर सुरक्षाको व्यापक घेरा छ जसमा स्थानीय पुलिसदेखि अर्धसैनिक बलका जवान र एनएसजीका कमान्डो पनि तैनाथ गरिएका छन् ।

पुलिस क्षेत्राधिकारी (ताज सुरक्षा) मोहसिन खानले बीबीसीसँगको कुराकानीमा भने, ‘बाहिरबाट अत्यधिक फोर्स आएका छन् यहाँ । वरिपरिका मानिसहरुलाई पनि कसरी बस्ने भनेर सिकाइएको छ । हरेक होटल, रेष्टुरेन्ट, घरसम्म पुलिसको पहुँच छ । पर्यटकलाई कुनै पनि प्रकारको असुविधा नहोस् भनेर पनि सुनिश्चित गरिएको छ । फेब्रअरी २४ बिहान साढे १२ बजेपछि ताजमहल परिसर खाली गरिएको छ । त्यहाँ कुनै पर्यटक जान पाउने छैनन् ।’

आगराको खेरिया एयरपोर्टदेखि ताज महल नजिकैको होटल अमर विलास प्यालेससम्म कुल २१ केन्द्र बनाइएका छन् । जहाँ विभिन्न स्थानबाट आएका तीन हजार कलाकारले आफ्नो प्रस्तुती दिएर राष्ट्रपति डोनल्ड ट्रम्पको स्वागत गर्नेछन् ।

आमन्त्रित व्यक्तिले मात्रै ट्रम्प र उनको परिवारलाई बाटोमा स्वागत गर्नेछन् ।

आमन्त्रित व्यक्तिको पुष्टि गरिसकेपछि मात्रै उनीहरुलाई स्वागत गर्ने मौका दिइनेछ ।

यतिमात्रै होइन, ट्रम्प जुन बाटो हुँदै यात्रा गर्नेछन् त्यहाँ करिब १६ हजार गमला राखिएका छन् ।

आगरा नगर निगम र आवास विकासले बाटोघाटोको भित्तामा रङ्गरोगन गरेका छन् ।

निर्माणाधीन भवन र सडक किनाराको फोहोर ढाक्नका लागि ‘नमस्ते ट्रम्प’ लेखिएको ठूला होर्डिङ बोर्ड लगाइएका छन् ।

ताज महलको आसपास मात्रै होइन ट्रम्पको रुटमा र आगरा शहरमा सुरक्षाको कडा प्रबन्ध मिलाइएको छ ।

आगराका वरिष्ठ पुलिस अधिकारी बबलू कुमारले बीबीसीलाई भने, ‘अमेरिकी राष्ट्रपतिको यात्रालाई हेरेर इलाकालाई १० जोनमा बाँडिएको छ र हरेक जोनमा पुलिस सुपरिन्टेन्डेन्ट स्तरका अधिकारी हुनेछन् । ताज महलको चारैतिरको इलाकामा पर्याप्त मात्रामा पुलिस बल तैनाथ गरिएको छ जसमा ५५ डेप्युटी एसपी, १२५ इन्सपेक्टर, २५० सब इन्सपेक्टर, ३ हजार कन्स्टेबल, १० कम्पनी पिएसी र एक कम्पनी रिवर पुलिस राखिनेछन् ।’

अत्यधिक पुलिस सादा पोसाकमा पनि विभिन्न स्थानमा तैनाथ हुने र मानिसहरुमाथि निगरानी गर्नेछन् ।

भिआइपी रोड र ताजमहलतर्फ आवतजावत गर्ने अन्य सडकको किनारामा ब्यारिकेडिङ्ग गरिएको छ ता कि कोही पनि सडकमा आउन नसकून् ।

भिआईपी रोडमा अवस्थित एउटा पसलका मालिक रवि शंकर भन्छन्, ‘हामी त विगत १५ दिनदेखि ट्रम्पको स्वागतको मार झेलिरहेका छौं । २४ फेबुअरीमा त पसल बन्द गर्न नै भनिएको छ तर त्यस अघि नै पसलका बोर्ड हटाइएका छन् । हामीले के बेचिरहेका छौं भनेर नदेखियोस् भनेर सिसा बाहिर पत्रिका टाँस्न भनिएको छ ।’

शहरको पोस इलाका मल रोडमा आइतबार अबेर रातीसम्म सडक धोइएको थियो ।

चौबाटोमा भारत र अमेरिकाका झण्डा लगाइएका थिए र हरेक चौबाटोमा एक दुई दर्जन पुलिसकर्मी तैनाथ थिए ।

त्यसबाहेक केही मिटर परको दुरीमा नियमित अन्तरालमा पुलिसकर्मी ड्युटी गरिरहेको देख्न सकिन्छ ।

एक पुलिस अधिकारीले नाम नबताउने शर्तमा भने, ‘ड्युटीमा भएका हरेक सुरक्षाकर्मीलाई पास दिइएको छ र यो पास त्यहाँका लागि मात्रै वैध छ जसलाई विशेष स्थानका लागि जारी गरिएको छ । पुलिसकर्मी पनि आफ्नो मर्जीले यता उता जान सक्दैनन् ।’

सुरक्षाको प्रबन्ध मानवीय आशंकालाई ध्यानमा राखेर मात्रै नभई जनावरको हमलालाई पनि ध्यानमा राखेर गरिएको छ ।

ताजमहल र त्यस आसपास बाँदरले पर्यटकमाथि हमला गरिरहन्छन् ।

 बाँदर खेद्नका लागि आगरामा लङ्गुर तैनाथ गरिएको छ । पुलिस प्रशासनले यसका लागि वन विभागका अधिकारीको मद्दत मागेको छ ।

लङ्गुर कहाँ तैनाथ गरिएको छ र उनीहरुले कसरी काम गर्नेछन् भन्नेबारे कुनै पनि अधिकारीले जानकारी दिएका छैनन्  ।

ताजमहल वरिपरि गाइ र कुकुर पनि प्रतिबन्धित छन् । उनीहरुलाई पनि त्यहाँबाट हटाउन प्रशासनका लागि चुनौती छ तर अहिले यसको समाधान निस्किएको छ ।

एक अधिकारीले निकै आनन्दको सास फेर्दै भने, ‘आइतबार त यहाँ न त त कुनै गाइभैंसी आए न नै कुकुर ।’

करिब एक हप्ताअघि यमुना नदीमा धेरै पानी देखियोस् , पानी सफा होस् र दुर्गन्ध हटोस् भनेर विभिन्न स्थानबाट गंगासमेत अन्य नदीको पानी छोडिएको थियो ।

ताजमहलको पूर्वी गेटबाट यमुना नदी तर्फ सर–सफाईको विशेष ध्यान दिइयो तर त्यहाँबाट दुर्गन्ध आइरहेको छैन, यस्तो दाबी गर्नु बेइमानी हुनेछ ।

स्थानीय यशपाल सिंह भन्छन्, ‘पानी हालिएको त छ तर यमुनामा बढेको पानी देखिएको छैन । यमुनाको किनारामा पानीको रंग त्यस्तै कालो नै छ, जस्तो एक हप्ता अघि थियो ।’

समीरात्मज मिश्र /बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप