शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्कीमा नेविसंघ आन्दोलनः वार्ताबाट सहमति खोज्ने प्रयास

मङ्गलबार, १३ फागुन २०७६, १८ : २८
मङ्गलबार, १३ फागुन २०७६

पोखरा । नेविसंघका नेता राजेश हमाल पक्राउ परेपछि सोमबार र मंगलबार पोखराको माहोल तनावग्रस्त रह्यो । सत्ता र शक्तिको आडमा आफूहरुलाई फसाउन खोजिएको भन्दै नेविसंघका नेता कार्यकर्ताले सरकारको चर्को आलोचना गरे । ठाउँ–ठाउँमा चक्काजाम र मुठभेडपछि नेविसंघ विवाद टुङ्गोमा पुगेको छ । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीसहित जिल्लास्तरका नेता र जिल्ला प्रशासन कास्कीबीच वार्ताबाट सहमति खोज्ने प्रयासपछि विवादले मूर्त रुप पाएको हो । 

सहमतिअनुसार प्रशासनले पक्राउ पूर्जी जारी गरेका राजेशसहित ८ जनाले प्रहरीसामु स्वतः गिरफ्तारी दिने छन् । ‘प्रशासनै मुद्दा दर्ता भइसकेको हुनाले प्रक्रियागत ढंगबाटै केस मिलाउँन सहयोग गर्ने र प्रशासनले पनि त्यही अनुसार केस छिटो टुङ्ग्याउने सहमति भएको छ,’ नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले भने । 

पक्राउ पुर्जी जारी भएका सतिश बास्तोला, गौरव बराल, बिपिन नेपाली, स्वरूप बन्जाडे, सौरव चाँपागाई, सुजी हितानमगर, युवराज पौडेल र अक्कल क्षेत्री भने अहिलेसम्म फरार छन् । सभापति केसीका अनुसार उनीहरु अहिलेसम्म आफूहरुको सम्पर्कमा आएका छैनन् । 

सहमतिपछि नेविसंघले घोषणा गरेको आन्दोलनका कार्यक्रमहरु पनि फिर्ता लिइसकेको छ । आफ्ना कार्यकर्ता राजेश हमाललाई प्रहरीले समातेपछि नेविसंघले चरणबद्ध आन्दोलनमा जाने घोषणा गरेको थियो ।  यता, नेकपा निकटको अनेरास्ववियुले भने घटनाको कुनै जिम्मेवारी लिएको छैन । व्यक्तिगत रिसिबीका कारण घटना मुठभेडको अवस्थासम्म पुगेको बताउँदै आएको अनेरास्ववियुले कुनै चासो देखाएको छैन ।

 घटना प्रवृतिअनुसार दुवै पक्षबाट हानाहान भएको देखिए पनि अनेरास्ववियुका कार्यकर्ताले बेइमानी गरेको सभापति केसीको भनाई छ । ‘घटना प्रवृत्तिअनुसार पहिला अखिलका साथीहरुले आक्रमण गर्नुभयो । तर, नेविसंघका साथीहरुले उजुरी दिनुभएन,’ उनले भने, ‘तर, अखिलका साथीहरु राजनीतिक रुपमा बेइमान निस्किनुभयो । एक, दुई झापड खाएको उजुरी दिनुभयो ।’

नेविसंघका विद्यार्थीमाथि अखिलका विद्यार्थीहरुले हातपात गर्दा चुप लागेर बसेको क्याम्पसले अखिलका विद्यार्थीमाथि नेविसंघले हातपात गर्दा प्रहरीलाई खबर गरेर पक्राउ गराएको भन्दै उनले कडा आलोचना गरे । ‘यसले त राम्रो गरेन, भोलीका दिनमा क्याम्पस प्रशासन र हामीबीच विद्यार्थीका बीचमा पनि अविश्वास पैदा ग¥यो,’ उनले भने, ‘यसले भोली फेरि पनि जटिल स्थिति आउनसक्छ ।’

क्याम्पस प्रशासनले के—के न गरेँ भन्ने ठाने पनि नेविसंघमाथि भने बेइमानी गरेको उनको आरोप छ । यसबारेमा बुझ्नको लागि क्याम्पस प्रमुख चन्द्रबहादुर थापालाई सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् ।  यता,नेविसंघका निर्वतमान केन्द्रिय सदस्य सरोज केसीले वार्ताको माध्यमबाट सहमति खोज्ने प्रयास गरे पनि आफूहरु त्यति विश्वस्त नभई सकेको बताए । ‘वार्तामा बसेर सकारात्मक सहमति भयो भन्ने खबर छ, पार्टीले त्यही अनुसार निर्देशन पनि दिएको छ,’ उनले भने, ‘हामी प्रतिक्षामा छौं । आशा छ, राम्रै होस् ।’

सकारात्मक सहमति भएको भनिए पनि आफूहरु एकदमै कम आशावादी रहेको उनले दोहो¥याए । सहमतिअनुसार सहमतिको पालना नभए यसको परिणाम गतिलो ननिस्कने समेत उनले चेतावनी दिए ।  नेविसंघले हिजो दिउँसो प्रदेशसभा अघि र चिप्लेढुंगामा टायर बालेर विरोध प्रदर्शन गरेको थियो । मंगलबार बिहानैदेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरको नेविसंघले महेन्द्रपुल,नालामुख र पियु चोकमा टायर बालेर चक्काजाम गरेको थियो । पिएन क्याम्पस गेटमा प्रहरी प्रशासन र नेविसंघ कार्यकर्ताबीच हानाहान हुँदा नेविसंघका कार्यकर्ता सुजन लामिछाने घाइते भएका थिए । 

यस्तै,१२ वटा सरकारी गाडीलाई नेविसंघले नियन्त्रणमा लिएर आवागमनमा रोक लगाएको थियो । सहमतिपछि गाडिका चाबी सम्बन्धित निकायमा बुझाई सकेको नेविसंघका केसीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप