शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भिडियो समाचार : कर बढेपनि डिजेल–पेट्रोलको मूल्य नबढ्ने, दुर्घटनामा सीपी मैनाली घाइते

बिहीबार, १५ फागुन २०७६, १९ : ३६
बिहीबार, १५ फागुन २०७६

पेट्रोल र डिजेलमा थप ५ रुपैयाँ विकास कर

सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ पूर्वाधार कर थपेर १० रुपैया पुर्याएको छ । बिहीवार सञ्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै सोही मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले सो जानकारी दिएका हुन् । 

गत फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैया विकास कर लगाउने निर्णय गरेको थियो । बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५रुपैयाँ कर लगाउन थालेको थियो । अहिले आएर सो करमा ५ रुपैयाँ थपेर १० पुर्याइएको हो । 

यता पेट्रोलियम पदार्थको मूल्यमा थप ५ रुपैंया विकास कर लगाइए पनि मूल्य भने नबढ्ने भएको छ । नेपाल आयल निगमले पूर्वाधार करमा थपिएको कर निगमले लिँदै आएको नाफाबाट समायोजन गर्ने तयारी गरेको हो । कर बढेकै कारण उपभोक्ताले थप मूल्य व्यहोर्नु नपर्ने नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए । 

‘हामी अहिले स्वचालित मूल्य प्रणालीमा छौं, त्यसैले अन्तर्रााष्ट्रिय बजारमा मूल्य घटबढ भएसँगै हाम्रोमा पनि मूल्य घटबढ हुन्छ । तर सरकारले बढाएको करकै लागि हामी मूल्य बढाउँदैनौं, निगमसँग अहिले रहेको नाफाबाटै त्यो घट्ने हो,’ नायव कार्यकारी निर्देशक भट्टराईले भने ।

एआईजीमा बढुवा सिफारिस
नेपाल प्रहरीको रिक्त रहेको एआईजी पदमा तीन जनाको बढुवा सिफारिस भएको छ । गृह मन्त्रालयले रिक्त रहेको पदमा डीआईजीत्रस तारणी लम्साल, शैलेश थापा क्षेत्री र हरि पालको बढुवा सिफारिस गरेको हो । 

मन्त्रालयका अनुसार लम्साल एक नम्बर, थापा दुई नम्बर र हरि पाल तेस्रो नम्बरमा बढुवा सिफारिस भएका हुन्  । 

नेपाल प्रहरीको एआइजीमा बढुवाका लागि ६ जना डिआइजीबीच प्रतिस्पर्धा देखिएको थियो । जसमा सूर्य उपाध्याय  प्रद्युम्न कार्की र निरजबहादुर शाहीपनि प्रतिस्पर्धामा रहेका थिए । 


लम्साल हालका आइजीपी ठाकुर ज्ञवालीका ब्याची हुन् । डिआइजीहरु कार्की, शाही र उपाध्याय पनि एआइजीको  दावेदार भएपनि उनीहरु छुट्न पुगेका छन् । 

अबको ५ महिनापछि हाल बढुवा सिफारिस भएका मध्येबाटै एक जना आईजीपी बन्नेछन् ।

सीपी मैनाली घाइते

मालेका महासचिव सीपी मैनाली सवारी दुर्घटनामा घाइते भएका छन् । बिहीबार बर्दिबासस्थित रातुको पुलमा उनी सवार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएको थियो । 

मैनाली सवार बा ४ च २१२० नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले ठक्कर दिएको थियो । 

दुर्घटनामा परी महासचिव मनौलीका छोरा, बुहारी, नाती र चालक समेत गरी पाँच जना घाईते भएका छन् ।

दुर्घटनामा मनौलीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् । दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भिर घाइते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईले जानकारी दिए ।

मैनालीको टाउको र शरीरको अन्य भागमा गम्भीर चोट लाग्नुका साथै खुट्टा भाँचिएको छ भने बुहारीको दुवै खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ । 

नेकपा बागमती प्रदेशस्तरीय प्रशिक्षण

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डको पार्टी भित्रैबाट आलोचना भएको छ । नेकपाको बागमती प्रदेशस्तरीय राजनैतिक प्रशिक्षण तथा भेलामा नेतृत्वको कार्यशैलीबाट नेता कार्यकर्तामा उत्साह हराएको तथा बिचलन आएको भन्दै नेताहरुले नेतृत्वको आलोचना गरेका हुन् । 

कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले विवाद रहित भएको दिन कम्युनिस्ट पार्टी नरहने बताए । अध्यक्ष प्रचण्डले पार्टीमा विवाद संघर्ष सधै चलिरहने भन्दै यस्ता विवाद भएन भने पार्टी नै नरहने बताए । 

अध्यक्ष प्रचण्डले पार्टी पोखरीको पानी होइन भन्दै पार्टीलाई विघटन र विभाजित हुन नदिने बताए ।  बेला बेला दुई अध्यक्ष लड्खडाउने भएपनि पार्टी भने दशकौंसम्म चल्ने प्रचण्डले बताए । उनले एमसीसी राष्ट्रको हितमा हुने गरी अगाडि बढाउने पनि बताए । 

यस्तै प्रधानमन्त्री ओलीले सञ्चारमन्त्री गोकुल बाँस्कोटाको बचाउ गर्दै विवाद निम्तिएकाले मात्रै उनले मन्त्रीपदबाट राजीनामा दिएको बताए । 

यसैगरी वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र समस्या रहेको स्वीकार गर्दैसमस्या समाधान हुने र नआत्तिन कार्यकर्तालाई अनुरोध गरे ।  नेपालले पार्टीलाई विघटनको दिशामा जान नदिन सबै गम्भीर भएर अघि बढ्नुपर्नेमा समेत जोड दिए । 

त्यसैगरी, उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकताले अप्ठ्यारो स्थिति सिर्जना भएको बताए । उनले विगतको आचरणले वर्तमानमा समस्या ल्याएको दाबी गरे ।  पोखरेलले सही विचारबाट निर्देशित नभएको पंक्ति दिशाविहीन हुने बताउँदै दुवै पार्टीको विचार अङ्गाल्दा समस्या आएको बताए । 

यता बागमती प्रदेश इन्चार्ज अष्ठलक्ष्मी शाक्ले नेतृत्वको कार्यशैलीको आलोचना गरिन् । उनले नेताहरुले  आफ्नो धरातल बिर्सन नहुनेमा जोड दिँदै गणतन्त्रमा पनि नेताहरुमा सामन्ती सोच  र आर्थिक चलखेल बढेको बताइन् । 

उनले प्रधानमन्त्री ओलीको जन्मदिनमा केक काटेर राजसी शैली अपनाइएकोमा पनि विरोध गरिन् ।  केक काटेर जन्मदिन मनाउने मौलिक संस्कार नभएको बताउँदै त्यसमा पनि नेपालको नक्सा चिराचिरा पार्ने के को चलन हो ? भन्दै प्रश्न गरिन् । 

प्रतिनिधिसभामा जनार्दन शर्मा

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद जनार्दन शर्माले नेपाल ट्रटको जग्गासम्बन्धी स्वेतपत्र जारी गरेर कसैलाई नतर्साउन चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै शर्माले आफूले गृहमन्त्रीबाट २०७४ असोज ३० गते नै राजीनामा दिएको भएपनि २०७४ कात्र्तिक १३ गते भएको भनिएको निर्णयमा आफ्नो नाम जोडिएको प्रति गम्भिर आपत्ति जनाए । 

 २०७४ असोज ३० गते नै आफू गृहमन्त्रीको जिम्मेवारीबाट बाहिरिएको उल्लेख गर्दै उनले तर्साउन नाम जोडिएको हो ? वा मलाई आत्मसमर्पण गराउन खोजिएको हो ? भन्दै प्रश्न गरे । 

उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका निर्णयहरुमा नाम उल्लेख नहुनु र त्यो भन्दा अगाडीको सरकारले गरेका निर्णयमा नाम लेखिनुले पनि आशंका उब्जाएको बताए । 

राष्ट्रियसभामा खिमलालका कुरा

सत्तारुढ दलकै सांसदले आफ्ना पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लागेको भन्दै नेतृत्वलाई सचेत गराएका छन् । 

राष्ट्रियसभाबैठकको विशेष समयमा बोल्दै नेकपाका सांसद खिमलाल भट्टराईले नेकपा स्वयंको व्यवहारका कारणले राजनीतिक स्थायीत्व माथि नै प्रश्न जन्मने अवस्था उत्पन्न भइरहेको भन्दै त्यस तर्फ नेताहरुको ध्यानाकर्षण गराए । एकाध घटना बाहेक सरकारले आमरुपमा राम्रा कामहरुको सम्पादन गरेको भएपनि त्यसको सम्प्रेषण हुन नसकेको उनले बताए । 

त्यसैगरी, बैठकमा बोल्दै कांग्रेसका बद्री पाण्डेले मुलुकमा भइरहेका पछिल्ला घटनाबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 


रवीन्द्र अधिकारी स्मृति 

सरकारले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । 

एक वर्ष अघि ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अधिकारीको पहिलो स्मृति दिवसका अवसरमा बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गरे ।

मन्त्री भट्टराईले कार्यविधि निर्माण प्रकृयामा रहेकाले यस वर्षको पुरस्कार अधिकारीको जन्मदिन आगामी बैसाख २२ गते पारेर वितरण गरिने र अर्को वर्षबाट भने स्मृति दिवसकै दिन वितरण गरिने जानकारी दिए । 

देव गुरुङ

नेकपाका प्रमुख सचेतक देव गुरुङले संविधान संशोधनको आवश्यकता भएपनि राष्ट्रिय सहमति विना सम्भव नभएको बताएका छन् । 

एक साक्षात्कारमा उनले संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने तर सहमति नभए संशोधन नै गर्न नसकिने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप