मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्रीको भिडियो सन्देश–बीचमा ‘राम्रो खेलाडी’ले मैदान छोड्दैन

सोमबार, १९ फागुन २०७६, १९ : ३४
सोमबार, १९ फागुन २०७६

प्रधानमन्त्री ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझ अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना हुनुअघि प्रधानमन्त्री ओलीले एक भिडियो सन्देश जारी गर्दै केही दिनको अस्पताल वसाई र आरामपछि आफू थप उर्जा र आत्मविश्वास लिएर काममा फर्किने बताएका छन् । 

‘म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुहोस् । हामीलेदेखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाक्षां पूरा गर्न केही दिनको अस्पताल वसाई र आराम पछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु।’

प्रधानमन्त्रीले आफ्नै देशमा मिर्गौला प्रत्यारोपण गराउन पाउँदा खुसी समेत व्यक्त गरेका छन् । ‘विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मिर्गौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरुद्धारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु’, प्रधानमन्त्रीले आफ्नो सन्देशमा भनेका छन् । 

प्रधानमन्त्रीले भिडियो सन्देशमा भरखर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर आफू अलप नहुने  बताउँदै भनेका छन्, ‘यस बर्षलाई हामीले समृद्धिको आरम्भ बर्ष भनेका छौं । जसरी खेलकोबीचमा ‘राम्रो खेलाडी’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भरखर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन । मेरोयो संकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदैगरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ ।

अस्पताल भर्ना हुनुअघि ओलीले विभिन्न मन्त्रीहरु र सचिवहरुलाई बालुवाटार बोलाएर आवाश्यक निर्देशन समेत दिएका थिए । यसअघि दिल्लीमा मिर्गौला प्रत्यारोपण गरेका  ओलीले दोस्रो प्रत्यारोपण भने स्वदेशमै गर्ने इच्छा जनाएपछि सोमबार शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् । 

 प्रधानमन्त्री ओलीले आइतबार नै आफूले बुधबार मृगौला प्रत्यारोपण गर्ने पार्टी सचिवालय बैठकमा जानकारी दिएका थिए ।  यसअघि फेरिएको मिर्गौलाले गत कात्तिकदेखि काम गर्न छोडेपछि ओलीले नियमित डायलाइसिस गराइरहेका छन् ।  ओलीको पहिलो पटक १३ वर्ष अगाडि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसपछि उनले गत साउनयता नियमित डाइलायसिस समेत गर्दै आएका छन् । 
प्रधानमन्त्री ओलीलाई नातामा भाञ्जी पर्ने ३२ वर्षीय समीक्षा संग्रौलाले मिर्गौला दिन लागेकी हुन् । 

क्वारेन्टाइन खरिपाटी

कोरोना भाइरस प्रभावित क्षेत्र चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन् । 

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका उनीहरुलाई सोमबार घर पठाइएको हो । शनिबार दोस्रो पटक नाक र घाँटीको स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा रिपोर्टमा कुनै संक्रमण नदेखिएपछि सरकारले उनीहरुलाई १६ दिनपछि घर पठाइएको हो ।

घर फर्किने क्रममा उनीहरु निकै खुसी देखिन्थे । उनीहरुले सरकारले चीनबाट उद्धार गरेर ल्याउनुका साथै क्वारेन्टाइनमा राम्रो सुविधाका साथ राखिएको भन्दै सरकारको उच्च प्रशंशा गरेका छन् । उनीहरुले नेपाल सरकार जिन्दावाद, नेपाल आर्मी जिन्दावादलगायतको नारा समेत लगाएका थिए । यसअघि विद्यार्थीलाई उद्धार गरी ल्याउने नेपाल वायुसेवा निगमको जहाजका चालकसहित १८ जनाको टोली पनि आइतबार क्वारेन्टाइन बसाइँ पूरा गरी आइतबरै घर फर्किइ सकेका छन् । 

कोरोनाको संक्रमण हाल विश्वभर फैलिएको छ । ५० बढी देशमा कोरोनाको संक्रमण फैलिएसँगै विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिममा राखेको छ ।
कोरोनाबाट हालसम्म विश्वभर ३ हजार ४८ जनाको मृत्यु भएको छ भने ८९ हजार बढी संक्रमित छन् । त्यसैगरि संक्रमित ४४ हजार ८ सय ९५ जना ठिक भइसकेका छन् । 

सरकारले कोरोना भाइरसकै कारण घोषित भिजिट नेपाल २०२० को कार्यक्रम समेत हाललाई स्थगित गरिसकेको छ । त्यसैगरी कोरोना फैलन सक्ने भन्दै एयरपोर्ट र सिमा नाकाहरु ‘लक डाउन’ गर्न समेत माग उठिरहेको छ । 

कोरोनाको प्रकोेप विश्वका ५० भन्दा बढी देशमा फैलिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै दुई महिना त्रिभुवन विमानस्थल लकडाउन गर्न माग गरिसकेको छ । नेपालमा स्वास्थ्य उपचारको पाटो कमजोर रहेको भन्दै विमानस्थल लकडाउन गरेर सहयोग गर्न स्वास्थ्य अधिकारीहरूले प्रधानमन्त्रीसँग प्रस्ताव गरेका हुन् । विश्व स्वास्थ्य संगठनले नेपालसहित पाँच देश कोरोनाको उच्च जोखिममा रहेको भन्दै सचेत गराएको अवस्थामा केही महिना नाका र एयरपोर्ट लकडाउन गर्नुपर्ने आवाज उठेको हो । अहिले पर्यटक ल्याउनेभन्दा पनि कोरोना भित्रिन नदिन सबै जुट्नुपर्ने वेला आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए । 

यता, सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आवश्यक परे अन्य देशबाट नेपालमा हुने अन्तर्राष्ट्रिय उडान रोक्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको आदेशमा कोरोनाको गम्भीर संक्रमण फैलिएका देशहरुबाट सोझै वा ट्रान्जिट भएर आउनेहरुलाई स्वास्थ्य परीक्षण विना प्रवेश नदिन पनि भनिएको छ । 

प्रतिनिधिसभा बैठक

सभामुख अग्नि प्रसाद सापकोटाले पूर्वाधार विकास करको नाममा पेट्रोलियम पदार्थमा थप ५ रुपैया कर लगाउने मन्त्रिपरिषद् बैठकको निर्णय सम्बन्धमा सरकारको नाममा रुलिङ गरेका छन् । 

प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीले जनतालाई कर लगाउने विषय संसदको अधिकार क्षेत्र भित्रको विषय भएको तर सरकारले संसदलाई छलेर पेट्रोलियम पदार्थमा लगाएको कर लगाउने काम गरेको भन्दै त्यसमा सरकारलाई रुलिङ होस् भन्दै सभामुखको ध्यानाकर्षण गराएकी थिइन् ।  त्यसपछि सभामुख सापकोटाले त्यस विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् । 
फागुन १२ गते बसेको मन्त्रिपरिषद् बैैठकले पूर्वाधार विकास करको दर परिमार्जन गर्दै पेट्रोलियम पदार्थमा प्रति लिटर ५ रुपैया कर बढाउने निर्णय गरेको थियो ।

त्यसैगरी प्रतिनिधिसभाको विशेष समयमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संविधान संशोधनको प्रस्ताव गरेको छ । 

सत्तारुढ दलले कुनै व्यक्ति र स्वार्थ समूहका लागि संविधान ंसंशोधनको बहस गर्नुभन्दा दलीय राजनीतिभन्दा माथि रहेको संसदको नियन्त्रणमा रहने राजसंस्था कायम गर्न संशोधन गर्न प्रस्ताव राप्रपाले गरेको हो ।
 सांसद राजेन्द्र लिङ्देनले तीन तहको सरकार हटाएर दुई तहको सरकार निर्माण गर्नुपर्ने, जनप्रतिनिधिहरुको संख्या घटाउनुपर्ने र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री तथा पूर्ण समानुपातिक प्रणालीबाट संसद गठन हुने व्यवस्था गर्न संविधान संशोधन हुनुपर्ने प्रस्ताव गरे । 

शिक्षा समिति

सांसदहरुले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालयमा अध्यक्षको चयन गर्न समयअवधि तोक्नुपर्ने, विश्वविद्यालयमा स्थानीय जनप्रतिनिधिको प्रतिनिधित्व हुनुपर्ने तथा महिलाको सहभागिता अनिवार्य हुनुपर्ने बताएका छन् । 

शिक्षासमितिको सोमबारको बैठकमा सांसदहरुले विश्वविद्यालयको रिक्त रहेको अध्यक्षको चयन गर्न समयअवधि तोक्नुपर्ने, महिला प्रतिनिधि अनिवार्य गर्नुपर्ने तथा स्थानीय जनप्रतिनिधिलाई समेत सहभागि गराउनुपर्ने विषयमा जोड दिएका हुन् । 

 सांसद खगराज अधिकारीले विश्वविद्यालयको प्रतिनिधिमा स्थानीय जनप्रतिनिधिलाई राख्दा विश्व विद्यालयलाई स्थानीय जनतासँग मिलेर काम गर्न सजिलो हुने बताए । 

सांसद विरोध खतिवडाले जनप्रतिनिधिलाई विश्वविद्यालयमा स्थान दिदा सरकार र स्थानीय जनताबीचमा पुलको काम गर्न सक्ने बताए । 

सांसद जीवनराम श्रेष्ठले कार्यकारी परिषद्मा तोकिए बमोजिमका अन्य सदस्यहरु समेत रहन सक्ने व्यवस्थालाई हटाइनुपर्ने बताए । 

सांसद उमाकान्त चौधरीले प्राज्ञिक परिषद्को गठनमा तोकिए बमोजिमका अन्य सदस्यहरु समेत रहन सकने व्यवस्था हटाइनुपर्नेमा जोड दिए । 

सांसद मानबहादुर विश्वकर्माले पनि विश्व विद्यालयको अध्यक्षको नियुक्तिका लागि समय तोकेर राख्नुपर्नेमा जोड दिए । 

बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले प्राज्ञिक परिष्दमा एक महिला अनिवार्य रहने गरी राख्दा फरक नपर्ने बताए । 

राष्ट्रिय योजना आयोग

राष्ट्रिय योजना आयोगले समृद्धि र सुखको आधार निर्माण गर्ने रणनीतिक र बृहत प्रभाव पार्ने खालका आयोजनाहरुलाई रुपान्तरणकारी आयोजनाका रुपमा अगाडि बढाएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय योजना आयोगको सोमबारको बैठकले गेम चेन्जरका रुपमा लिइएको १८वटा रुपान्तरणकारी आयोजनालाई पन्ध्रौं योजनामा समावेस गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

यस्ता आयोजना खासगरी आर्थिक वृद्धिको पथ परिवर्तन गर्ने आयोजनाहरु भएको आयोगले जनाएको छ । यस्ता आयोजनामा लगानी प्रवद्र्धन, उच्च रोजगारी सिर्जना, व्यापार सन्तुलन र गरिबी तथा असमानता न्युनीकरण गर्ने परियोजनाहरु समावेश गरिएको छ ।

आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले राष्ट्रिय गौरवमा नपरेका तर कतिपय राष्ट्रिय गौरवका योजना भन्दा महत्वपूर्ण आयोजनाहरुलाई रुपमान्तरणकारी आयोजनामा समावेश गरिएको बताए । रुपान्तरणकारी आयोजनामा रहेका १८ वटा कार्यक्रमको कुल लागत २५ खर्ब रुपैयाँ रहेको उनको भनाइ छ । 


गाँजा खेती खुला गर्नुपर्ने तर्क

गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद सचिवालयमा दर्ता भएको छ । 

 पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले मस्यौदा गरेको नीजि विधेयक सोमबार सचिवालयमा दर्ता भएको हो । सांसदहरुको विशेषअधिकार प्रयोग गर्दै ल्याइएको विधेयकमा राज्यले तोकेको निश्चित ठाउँमा अनुमति लिएर किसानहरुले खेती गर्न पाउने उल्लेख छ ।

 तामाङले गाँजाको क्षेत्र व्यापक रहेको र औषधीय गुण भएकाले किसानहरुको सँगै समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने बताए । 

ट्याक्सी चालक 

महानगरीय ट्राफिक प्रहरी महाशाखाले असल ट्याक्सी चालकहरुलाई सम्मान गरेको छ ।
महाशाखाले ट्याक्सीमा छुटेको नगद, गरगहना र महत्वपूर्ण सामानहरु आफै आई महाशाखामा बुझाउने ट्याक्सी चालकहरुलाई सोमबार एक कार्यक्रम गरी सम्मान गरेको हो । आर्थिक वर्ष २०७६÷०७७ भित्र विभिन्न समयमा यात्रुले ट्याक्सीमा छोडेको सामान बझाउन ल्याउने २१ जना चालकलाई सम्मान गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख, प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले बताए । 

शेयर बजार
 
सोमबार शेयर बाजारमा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि सर्किट लागेर बन्द भएको छ । 

यो साताको सुरुवात मै अर्थमन्त्री डा. युवराज खतिवडा रष्ट्रिय सभामा नरहने भएपनि अर्थमन्त्रीमा निरन्तरता पाउने समाचार आएपछि शेयर बाजरमा गिरावट देखिएको हो । 

आइतबार ४० अंकले घटेको नेप्से परिसूचक सोमबार भने झण्डै १ सय अंकले तल झरेको छ । कारोबार सुरु हुँदा १ हजार ५ सय ९१ दशमलव ३६ अंकमा खुलेको नेप्सेमा ९६ अंकले गिरावट आउँदा १ हजार ४ सय ९५ दशमलव ३ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि १९ दशमलव २ अंकले घटेको छ । कारोबार रकम २ अर्ब १५ करोड ४४ लाख २८ हजार २ सय १५ रुपैयाँ बराबरको भएको छ । बजार खुलेको २ घण्टा नहुँदै ५ प्रतिशतले नेप्से घटेपछि ३० मिनेट सम्म सर्किट ब्रेक लागेको थियो । 

लगानीकर्ता प्रा. डा. मनोहरकृष्ण श्रेष्ठले बजारमा इ¥यासनल व्यवहार देखिदा बजारमा एकैपटक उच्च गिरावट आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप