शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भिडियोमा हेर्नुहोस् बिहीबार दिनभरको समाचार

बिहीबार, २२ फागुन २०७६, १८ : ३२
बिहीबार, २२ फागुन २०७६

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार

दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ । 

बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गराउनु भएका ओलीको प्रत्यरोपित मृगौलाले पनि सामान्य रुपमा काम गर्न थालेको चिकित्सकहरुले बताएका छन् । 

ओलीलाई आजबाट तरल र नरम आहार दिन सुरु गरिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्काले बताए । 

 खड्काले ओलीका सबै भाइटल र ल्याब सूचकहरु पनि सामान्य अवस्थामा रहेको बताएका छन् । 

 प्रधानमन्त्रीलाई मृगौला दिएकी समीक्षा संग्रौलाको स्वास्थ्य अवस्थामा पनि स्थिर रहेको बताइएको छ । उनलाई पनि आजबाट तरल र नरम आहार दिन सुरु गरिएको उनले बताए । 

यसैबीच भारत, पाकिस्तान, जापान लगायत देशका प्रधानमन्त्रीहरुले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य थापाले बताए । 

 थापाले नेपालका लागि चिनियाँ, जापानी र पाकिस्तानी राजदूतहरुले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको बताए । 

प्रधानमन्त्रीको ओलीको बुधबार दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । १२ वर्षअघि भारतको एपोलो अस्पतालमा ओलीको पहिलो पटक मृगौला प्रत्यारोपण गरिएको थियो । 

न्त्रिपरिषद बैठक

सरकारले मास्कको अपूर्ति र उत्पादन बढाउने विषयमा नीति क्षेत्रसँग सहकार्य भइरहेको बताएको छ । 

नेपालमा कोरोना भाइरस (कोभिड—१९) को प्रभाव नदेखिएको बताउँदै सरकारले संक्रमण हुनै नदिने गरी उच्च सुरक्षा सतर्कता अपनाइएको बताएको छ ।

 बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका अर्थमन्त्री युवराज खतिपडाले सरकार र स्वास्थ्य मन्त्रालयले उच्च प्राथमिकतामा राखेर नियन्त्रणको प्रयास भइरहेको बताए । 

 खतिवडाले कोरोना भाइरस नियन्त्रणका लागि अहिले प्रदेश र स्थानीय सरकारसँग छलफल गरी अगाडी बढिरहेको बताए । 

 कोरोनाका कारण पर्यटन, व्यापार लगायतका क्षेत्रमा असर पर्ने अनुमान गरिएको उनले बताए । 

  लगानीका अवसर, बजार आपूर्तिका सन्दर्भमा प्रभाव पर्ने कुराहरु अनुमान गर्न सकिने पनि उनले बताए । 

अर्थमन्त्री खतिवडालाई सेयर बजारले तपाईलाई नरुचाएको हो ? भनेर पत्रकारले सोधेको प्रश्नमा खतिवडाले आफ्नो कार्यकालमा नै पूँजी बजारमा ठूलो नीतिगत सुधार भएको बताए । उनले अहिलेसम्मको पूँजीबजार हेर्दा विगत २ वर्षमा धेरै सुधार आएको र अर्थमन्त्रीको काम लगानी कर्तालाई अवसरसम्म पु¥याउने भएको बताए ।  लगानी कर्ताले कम्पनी वासलात, नाफा नोक्सान हेरेर गर्नुपर्ने, नीतिगत समस्या देखिएका छन् भनेर बसेर छलफल गर्न सकिने बताए । 

त्यसैगरी, सरकारले गणतन्त्र चीनका लागि नेपालका आवासीय राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर महेन्द्र बहादुर पाण्डेलाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । 

यस्तै सरकारले सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्बन्धी जाँचवुझ आयोगका कानूनी सल्लाहकार युवराज कोइरालाले दिएको राजीनामा स्वीकृत गरेको छ । 

बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको रिक्त अध्यक्ष पदमा राजेन्द्रवहादुर अर्याललाई नियुक्त गर्ने निर्णय समेत भएको खतिवडाले जानकारी दिए । 

त्यसैगरी, स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वस्थ्य मन्त्रालयले छुट्टाछुट्टै तीन वटा समितिहरु गठन गरेर कोरोना भइरस भित्रिन नदिने गरी काम भइरहेको बताए । 

मन्त्रीको संयोजकत्वमा, सचिवको संयोजत्वमा र सम्बन्धित महाशाखा समितिको संयोजकत्वमा प्राविधिक कमिटी गठन गरी काम भइरहेको उनले बताए । 

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जनशक्ति थपेर काम भइरहेको उनले बताए । 

एक सिफ्टमा ७ जनासम्म चिकित्सकसहितको टोली र रातिको सिफ्टमा ४ जनाको टोली विमानस्थलको हेल्थ डेस्कमा खटाइएको उनले बताए । 

 सात वटै प्रदेशमा सरकारले टोलीहरु पठाएको उल्लेख गर्दै प्रवक्ता देवकोटाले नेपाल भारतका ३७ वटा सीमा नाकाहरुमा टोली खटाउने तयारी भइरहेको बताए । 

 भारतले विभिन्न औषधिमा निर्यात प्रतिवन्ध लगाएपछि कसरी फुकुवा गर्ने भन्ने विषयमा छलफल जारी रहेको उनले बताए । 

 सरकारले उपत्यकामा रहेका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको पनि उनले बताए । 

 सजकता अपनाउन जरुरी रहेकाले त्रासको वातावरण नफैलाउन आग्रह गर्दै उनले औषधि आपूर्ति, भीडभाड रोकथामका विषयमा मन्त्रालयले निरन्तर सम्बन्धित पक्षसँग छलफल गरिरहेको बताए । 

कोरोना रोकथाम बैठक

नोभल कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले सीमा नाकाहरुमा कडाई गर्ने भएको छ । 

कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा क्वारेन्टाइन भवन निर्माण गर्ने तथा क्रसबोर्डर मिटिङ गर्ने र हेल्थ डेस्क बढाउने निर्णय गरेको हो । 
चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर देखिन थालेको र खुल्ला सिमाना भएको छिमेकी मुलुकमा समेत देखिएकोले विमानस्थल र सीमामा सरकारले सुरक्षा बढाउन लागेको हो । 

त्यस्तै सीमामा आवागमन कम गर्ने, निकासी नियन्त्रण गर्ने, मास्क र औषधिको आपूर्तिमा समस्या पर्न नदिने गरी उत्पादन बढाउने, भारतबाट औषधी तथा आत्यावश्यक सामाग्री आयात गर्ने निर्णय समेत बैठकले गरेको छ । 

टेकुबाट बिरामी फरार

यता, कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट भागेर विराटनगर पुगेका छन् । प्रहरी स्रोतका अनुसार उनले बोक्दै आएको मोबाइल ट्र्याक गर्दा विराटनगर पुगेको खुलेको हो ।

 उनलाई नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय मोरङको टोली खटिएको बताइएको छ । सुनसरीको इटहरी घर भएका उनी गएराति साढे १० बजेतिर अस्पतालबाट भागेको जानकारी आएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार मंगलबार कोरियाबाट फर्किएका उनलाई परिवारले कोरोनाको आशंकामा टेकु अस्पताल लगेका थिए ।

चेकजाँचका क्रममा अस्पतालले भर्ना गरेपछि गएराति साढे १० बजेतिर अस्पतालको पछाडिपट्टीको झ्यालबाट फरार भएको बोगटीले जानकारी दिए । 

अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन । 

पछिल्लो समय नेपालमा कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरको त्रासका कारण औपचारिक कार्यक्रम समेत धमाधम स्थगित गर्न थालिएको छ । यो भाइरस नेपालमा एक जनामा भएको पुष्टि भएपछि हालसम्म नयाँ संक्रमित भने फेला परेका छैनन् । संक्रमित पनि पूर्ण रुपमा निको भइसकेको अस्पतालले स्पष्ट पारेको छ । 


राज्य व्यवस्था समिति

नेपाली सेना भित्रको भ्रष्टाचारको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएपछि सांसदहरुले आपत्ति जनाउँदा राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठक स्थगित भएको छ । 
बैठकमा सभापति शशी श्रेष्ठले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्री समक्ष पु¥र्यादिन रक्षा सचिव रेश्मीराज पाण्डेलाई निर्देशन समेत दिए । 

बैठकमा सांसद अमरेशकुमार सिंहले सेना भित्रको भ्रष्टाचार सम्बन्धमा बोलाइएको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै समितिको मर्यादामाथि प्रहार भएको बताए । 

सांसद झपटबहादुर रावलले विभागीय मन्त्री र सेनाको प्रमुख बिना भ्रष्टाचार जस्तो गम्भिर विषयमा छलफल अगाडि बढ्न नसक्ने बताए ।  

सांसद डिला संग्रौलाले नेपाली सेना भित्र अझैपनि आर्थिक र नीतिगत भ्रष्टाचार हुनेवाला छ भन्ने विषय आएकाले यसमा सम्बन्धित मन्त्रालय र नेपाली सेनाले स्पस्ट पार्नुपर्ने बताइन् । 

माधव नेपाल

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनतालाई खुशी पार्न नसके समाजवाद र कम्युनिष्ट पार्टी नटिक्ने बताएका छन् । 
 

मदन भण्डारी फाउन्डेशन सामाजिक अभियान विभागले काठमाडौंमा आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला –५, नेपाली कम्युनिष्ट आन्दोलनमा जनताको बहुदलीय जनवाद’ कार्यक्रममा बोल्दै नेता नेपालले कम्युनिष्ट पार्टी टिक्नजनता खुसी हुनुपर्ने बताए । 

२१ औं शताब्दीको जनवादले प्रतिस्पर्धामा श्रेष्ठताको सिद्धान्तलाई अंगिकार गरेको भन्दै उनले  कम्युनिष्ट पार्टीका नेताले सर्वहारा वर्गको नारा दिएर मात्र नहुने र आफुलाई प्रतिस्पर्धामा श्रेष्ठता कायम गर्न सक्नुपर्ने धारणा राखे । 

बैंकमा सुन राखे ब्याज

अबदेखि बैंकमा सुन राखेर पनि ब्याज पाइने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा गरेको व्यवस्थालाई बिहीबारदेखि कार्यान्वयनमा ल्याएसँगै अबदेखि सुनलाई पनि निक्षेपको रुपमा राख्न पाइने भएको हो । 

राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई परिपत्र जारी गर्दै सुनलाई समेत निक्षेपको रुपमा स्वीकार गर्न सकिने व्यवस्था गरेपछि यो बाटो खुलेको हो । परिपत्रअनुसार वाणिज्य बैंकहरुले ९९५ फिटनेस गुणस्तरको सुन निक्षेपको रुपमा स्वीकार गर्न पाउँनेछन् । 

परिपत्रअनुसार बैंकहरुले कम्तीमा २५ ग्राम सुन निक्षेपको रुपमा लिन सक्नेछन् । त्यसरी निक्षेपको रुपमा सुन स्वीकार गर्दा सो सुनको शुद्धता र तौल एकीन गरी निक्षेपकर्तालाई प्रमाणपत्र दिनुर्पे व्यवस्था गरिएको छ ।

त्यसरी प्रमाणपत्र दिँदा सुनको साँवा परिणाम, शुद्धता, निक्षेपको ब्याजदर, निक्षेपको अवधि र निक्षेपको सावा र ब्याज फिर्ता सुनमा लिने कि नगदमा भन्ने उल्लेख गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । 

त्यस्तै, आफूले जम्मा गरेको सुनको साँवा र ब्याज सुनमै लिने हो कि नगदमा लिने हो भन्नेबारे समेत खुलाउनुपर्ने व्यवस्था गरिएको छ । यस्तो निक्षेप कम्तीमा ३ वर्षदेखि बढीमा ५ वर्ष हुनसक्ने व्यवस्था गरिएको छ ।

ब्याजदर भने बैंकहरु आफैंले निर्धारण गर्न सक्नेछन् । तर ब्याजको भुत्तानी भने त्रैमासिक गणनाको आधारमै गर्नुपर्ने व्यवस्था गरिएको छ । 
राष्ट्र बैंकले बैंकहरुलाई ७ दिनभित्र यस्तो निक्षेप स्वीकार गर्ने कार्र्यविधि बनाउन निर्देशन समेत लिएको छ ।

इपीएल स्थगित

आगामी महिना त्रिवि क्रिकेट मैदानमा हुन लागेको एभरेष्ट प्रिमियर लिग (ईपीएल) स्थागित भएको छ । 

नोभल कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थालाई ध्यान दिएर आउँदो चैत १ गतेदेखि हुन लागेको एभरेष्ट प्रिमियर लिग (ईपीएल) स्थागित भएको छ । बिहीबार पत्रकार सम्मेलन आयोजना गरी ईपीएलका प्रवन्ध निर्देशक अमिर अख्तरले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सम्बन्धित निकायहरुसँगको परामर्शमा प्रतियोगिता स्थागित गरिएको बताए । 

कृषि समिति

निकुञ्ज वरिपरि बस्ने स्थानीय जनताहरुको स्थानान्तरण तथा उनीहरुले पाउने राहतको विषयमा स्पष्ट व्यवस्था हुनुपर्ने माग सांसदहरुले गरेका छन् । 

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरुले विभिन्न निकुञ्ज तथा संरक्षण क्षेत्रको स्थलगत अनुगमन पछि यस्तो माग गरेका हुन् । सांसद भूपेन्द्र बहादुर थापाले शूक्लाफाँटा राष्ट्रिय निकुञ्ज वरिपरि बस्ने किसानहरुले बालिनाली क्षति भएको अवस्थामा कुनै प्रकारको राहत पाउने अवस्था नरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप