शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'गगन र प्रदीप हामीसँग हुनुहुन्छ, उचित व्यवस्थापन गरिन्छ'

'शेरबहादुरजीले लोकतन्त्र र पार्टीको बदनाम गर्नुभयो'
शनिबार, २४ फागुन २०७६, ११ : २१
शनिबार, २४ फागुन २०७६

नेपाली काँग्रेसमा महाधिवेशन नजिकिँदै गर्दा ध्रुवीकरण तीव्र हुँदै गएको छ । गत शनिबार र सोमबार सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडल समूहसँगको सहमतिबिना पार्टी विभाग गठन लगायतका निर्णय लिएपछि काँग्रेसमा विवाद चुलिएको छ । पौडेल पक्षले पार्टी कमिटीका बैठकसमेत बहिष्कारमा उत्रिएको छ । देउवा भने पेलेरै जाने मुडमा देखिन्छन् । सभापति देउवाका पछिल्ला निर्णय र आगामी महाधिवेशनको रणनीतिको सेरोफेरामा केन्द्रीत रहेर वरिष्ठ नेता पौडेलसँग गरिएको कुराकानी :-

पार्टी सभापतिको पछिल्लो कदमप्रति तपाईंको समूहले आपत्ति जनाएको छ । त्यो आपत्तिमै सीमित हुन्छ कि निर्णय फिर्ता गराउन बाध्य पार्नुहुन्छ ?

पार्टीको आज जुन हालत छ, यो हालतलाई सुधार गर्न महाधिवेशनको विकल्प छैन । त्यसका लागि समयमा महाधिवेशन गर्नुको विकल्प छैन ।

विधान अनरूप देशभर पार्टीको संरचना बनाउनु छ । चुनावबाट पार्टीका सबै निकायमा नेतृत्व आएपछि पार्टी तन्दुरुस्त बन्छ । अहिले पार्टी सङ्गठन लथालिङ्ग छ । वडादेखि केन्द्रसम्म पार्टी कमटी फङ्सनमा छैनन् ।

केन्द्रीय कार्यसमितिमै धेरै अलमल छन् । केन्द्रीय कार्यसमितिमा देखिएको अलमलको अन्त्य गर्नुपर्छ । यसको टुङ्गो अधिवेशनबाटै गरौँ भन्ने मेरो कुरा हो । पार्टीभित्र नयाँ सुरुवात ‘फ्रेस स्टार्ट’ गरौँ भन्दै आएको छु । ठूलो लडाइँपछि महाधिवेशनको कार्यतालिका सहमतिका साथ ल्याउन सफल भइयो । एकलौटी सार्वजनिक गरिएको महाधिवेशनको निर्णय सच्याउन र क्रियाशील सदस्यता छानविन समिति बनाउन सभापति मन्जुर भएपछि हामीले केन्द्रीय कार्यसमितिमा भाग लिएको हौँ । तर यतिबेला एकाएक  विभाग गठन गरेर महाधिवेशनलाई प्रभावित गर्नतिर लाग्नुभयो । यो मनपरीतन्त्र मान्य हुँदैन । योबीचमा उहाँहरुले जिल्ला उपसभापतिहरूलाई बोलाएर प्रशिक्षण दिने भनेर कार्यक्रमको आयोजना गर्नुभयो । त्यो कार्यक्रमा बाइकट गर्न हामीले जिल्ला उपसभापतिलाई भन्यौँ । परिणाम स्वरूप कोरोनालाई देखाएर सभा, सम्मेलन, गोष्ठी र प्रशिक्षण स्थगित गर्न भनेर बिहीबार निर्णय भएको छ ।

अब हामी महाधिवेशन सफल पार्न लाग्ने हो । वडा–वडामा कसरी क्रियाशील सदस्यता वितरण भएको छ, हर्ने हो । पार्टीमा जजसको प्रतिनिधित्व कम छ, उनीहरुको प्रतिनिधित्व बढाउन हाम्रो पहल हुन्छ । पार्टीलाई समावेशी बनाउने हाम्रो ध्येय हुन्छ ।

तपाईंहरुले जिल्ला उपसभापतिको प्रशिक्षण बैठक मात्र बहिष्कार गर्नुभएको हो कि त्योसम्बन्धी सबै कार्यक्रम ?

हामीले प्रष्ट भनिसकेको छौँ । महाधिवेशनसँग सम्बन्धित सबै कुरामा सहयोग गछौँ । केन्द्रीय पदाधिकारीले सोचेभन्दा अगाडि नै हामी यसलाई व्यवस्थित गरेर जान्छौँ ।

त्यसो भए सभापतिको निर्णयलाई कसरी सामना गर्नुहुन्छ ?

त्यसलाई हामी मान्दैनौँ, त्यसलाई हामीले इग्नोर गरिसक्यौँ । विभागलाई मान्यता नै दिँदैनौँ ।

सभापतिले केही केन्द्रीय सदस्य र केही आमन्त्रित केन्द्रीय सदस्य पनि मनोनय गर्नुभएको छ । उनीहरुलाई केन्द्रीय सदस्यका रूपमा स्वीकार्नु हुन्छ कि हुँदैन ?

 त्यो पनि गलत काम हो तर केन्द्रीय सदस्यको कुरा अलि अप्ठ्यारो छ । किनभने विभिन्न पार्टीबाट आएका साथीहरुलाई मनोनयन गरिएको छ । यो कुरा पनि अनुचित भए पनि यसलाई मान्दैनौँ भन्ने अवस्था छैन ।

सभापतिले गठन गरेर विभागलाई मान्यता दिँदैनौँ भन्नुभयो । हिजो संस्थापन इतर पक्ष एक ठाउँमा थियो । सभापति एक खालको दबाबमा देखिन्थे । तर यो पटक त्यस्तो देखिएन नि ?

हामी सबै एकै ठाउँमा छौँ । तपाईँले सिटौलाजीको कुरा गर्न खोज्नुभएको होला । सिटौलाजीका भनिएका केही मान्छेहरुलाई शेरबहादुरजीले जिम्मेवारी दिनुभएको छ ।

*****

म सभापति भएको भए भागबण्डाको स्वतः अन्त्य हुन्थ्यो । भागबण्डा माग्नु नपर्ने गरेर म काम गर्थें । तर म राजित भएँ । त्यतिबेला उहाँले पनि त्यो नारा दिनुभएको थियो । सभापति र संसदीय दलको नेता बनेपछि मैले उहाँलाई तपाईं न्याय, निस्पक्षता र पारदर्शी मूल्याङ्कनको आधारमा काम गर्छु भनिदिनुहोस् भनेको थियो । तपाईंले यति भनिदिएपछि पार्टीमा मेरो र तेरो भन्ने कुरा सकिन्छ । 

*****

त्यो कुरा सिटौलाजीको सिफारिसमा गर्नुभयो कि आफै गर्नुभयो मलाई थाहा छैन । अन्य अवस्थामा हामी एकै ठाउँमा छौँ ।

सभापतिले यो निर्णय लिएपछि तपाईं र सिटौलाबीच केही कुराकानी भयो ?

उहाँसँग कुरा गर्न पाएको छैन । उहाँ कता–कता बाहिर–बाहिर हुनुहुन्छ ।

फोनमा कुराकानी भयो ?

उहाँको फोन नै लाग्दैन । केही के हुन्छ । फोनमा पनि कुरा भएको छैन ।

सभापति पक्षले यतिबेला ४७ वटा विभागमध्ये २० वटा मात्र गठन गरेको छ । उसले एकलौटी विभाग गठन गरिएको र अन्य विभाग गठन तपाईंसँगको सहमतिपछि गरिने बताएको छ । तपाईंले आफूनिकट नेताको नाम दिनुहुन्छ ?

अहिले विभाग बनाउने कुरा नै अनुचित हो । अर्को कुरा यतिबेला हामीले भाग खोजेको होइन । हामीलाई यति भाग चाहियो, उति भाग चाहियो भनेकै होइन ।

विधान विपरीत विभाग गठन गर्नुहुँदैन भनेको हो । पहिलेको विधानमा महाधिवेशन भएको दुई महिनाभित्र विभाग गठन गर्नुपर्ने भनिएको छ । नयाँ विधानमा पनि ६ महिनाभित्र विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ । पार्टी अधिवेशनमा प्रवेश गरिसकेपछि यसरी पद बाढ्नु अनुचित हो भन्ने हाम्रो भनाइ हो । यहाँ भागको कुरा छैन । 

तपाईंहरुले फेरि बहिष्कारको नीति लिनुभएको देखियो । आगामी केन्द्रीय कार्यसमिति बैठकमा सहभागिता रहन्छ ?

महाधिवेशका लागि केन्द्रीय समिति बैठकको आवश्यकता छ । हामी सहभागी हुन्छौँ ।

त्यसोभए जिल्ला उपसभापतिको प्रशिकक्षण बैठक बहिष्कारपछि नीति फेरिएको हो ?

जिल्ला उपसभापतिको बैठक बहिष्कार गरेर हामीले विभाग गठनप्रति असहमति मात्र प्रकट गरेका हौँ ।

अब पौडेल पक्षले पार्टी कमिटीको बैठकमा बहिष्कारलाई निरन्तरता दिँदैन भनेर बुझ्दा हुन्छ ?

बहिष्कार विषय र सान्दर्भिकता हेरेर गरिन्छ ।

सभापतिले विभाग गठन, केन्द्रीय सदस्यको मनोनय र ज्येष्ठ राजनीतिज्ञ सभा गठनको निर्णय लिएर के सन्देश दिन खोज्नुभयो जस्तो लाग्छ ?

उहाँ पहिला प्रधानमन्त्री हुँदा संसदमा अल्पमत थियो । कसैको बुहमत थिएन । त्यो बेलामा सहमतिको सरकार बनाउनुपर्ने अवश्यकता थियो । उहाँले व्यक्ति–व्यक्तिलाई खुसी पार्दै सरकारमा सहभागी गराएर सरकार चलाउनु भयो । त्यसको परिणाम सरकार बदनाम भयो, लोकतन्त्र बदनाम भयो, संसदीय पद्धति बदनाम भयो ।

मैले त्योबेला उहाँलाई सिङ्गो पार्टीसँग सम्झौता गराउनुहोस् भनेको थियो । राप्रपासँग सम्झौता गर्नुहोस् । उसले आफ्ना कार्यकर्ता आफ्नो अनुशासनमा राख्छ । त्यसको चिन्ता तपाईंले लिनु नपरोस् । राप्रपाले सक्दैन भने तत्कालीन एमालेसँग सम्झौता गर्नुहोस् अनि सरकार चलाउनुहोस् । उसका कार्यकर्ताको अनुशासनको जिम्मा उसैले लिन्छ, हाम्रा कार्यकर्ताको हामीले लिन्छौँ भन्दा उहाँले मन्नु भएन । उहाँको शैली नै व्यक्ति–व्यक्तिलाई छानेर लिएर जाने र आफूलाई बलियो बनाएर जाने छ ।

उहाँले जसरी लोकतन्त्र र संसदीय प्रणालीमा विकृति ल्याउनुभयो, त्यसैगरी पार्टीभित्र पनि विकृति ल्याउनुभयो । राम्रो काम गरेर बलियो बन्ने होइन, मान्छे जोडेजाड गरेर बलियो बन्नतिर लाग्नुभयो । यसले पार्टीलाई बलियो बनाउँदैन । यसले पार्टीभित्र द्वन्द्व बढाउँछ । पार्टीभित्र विश्वासको सङ्कट बढाउँछ । यस्तो विश्वासको सङ्कटले लोकतन्त्र चल्दैन । हामीले लोकतन्त्र चलाउन खोजेको हो ।

नेपाली काँग्रेस लोकतन्त्रको मिसायल बन्न खोजेको हो । नेपाली काँग्रेसले आफूलाई लोकतन्त्रको दृष्टान्त ठान्छ । तर उहाँले जे गर्दै हुनुहुन्छ, त्यो लोकतन्त्रको दृष्टान्तको कार्यशैली होइन । उहाँको शैलीसँग मेरो असहमति छ । यसमा व्यक्तिगतभन्दा पनि नीतिगत असहति छ मेरो ।

सभापतिको कार्यशैलीसँग तपाईंले बेला–बेला असहमति जानाउनुहुन्छ । तर अन्ततः भागबण्डामा पुगेर सहमति गर्दै आउनुभएको देखिन्छ नि ?

पार्टीमा ‘फाइट टु फिनिस’ गर्न त कि शेरबहादुरजीको जस्तो पार्टी दुईवटा बनाएर जानुपर्यो, पार्टी फुटाइहाल्नुपर्यो । पार्टी फुटाइहाल्ने कुरा म राम्रो देख्दिनँ । किनकि कतिपय कारण, आफ्नो लोभ वा मोहबस केही साथीहरु शेरबहादुरजीको साथमा गएका होलान् । तर पनि ती पार्टीमा योगदान भएका साथीहरु हुन् ।

तीनको भावनालाई मैले कुनै न कुनै रूपमा नेतृत्व गर्नुपर्छ । त्यसकारण पार्टीलाई विखण्डन गरिहाल्ने पक्षमा म होइन । त्यसकारण कहीँ न कहीँ सानोतिनो कम्प्रमाइज गरेर अधिवेशनमा जानुपर्ने हुन्छ । अब म मान्दिनँ, मान्दिनँ, मान्दिनँ... भनेर त चल्दैन । नमान्ने कुरामा अडान लिने हो । नमान्ने कुरा नमानेरै बस्ने हो तर पार्टी एउटै हो ।  पार्टी नै बहिष्कार गर्न त सकिँदैन ।

तपाईं १३औँ महाधिवेशनमा पार्टीभित्रको ६०–४० को भागबण्डा अन्य गर्ने नाराका साथ सभापतिका लागि मैदानमा उत्रिनुभयो थियो । तर पराजित भएपछि आफै भागबण्डा खोज्दै हिँड्नुभएको देखियो नि ?

म सभापति भएको भए भागबण्डाको स्वतः अन्त्य हुन्थ्यो । भागबण्डा माग्नु नपर्ने गरेर म काम गर्थें । तर म राजित भएँ । त्यतिबेला उहाँले पनि त्यो नारा दिनुभएको थियो । सभापति र संसदीय दलको नेता बनेपछि मैले उहाँलाई तपाईं न्याय, निस्पक्षता र पारदर्शी मूल्याङ्कनको आधारमा काम गर्छु भनिदिनुहोस् भनेको थियो । तपाईंले यति भनिदिएपछि पार्टीमा मेरो र तेरो भन्ने कुरा सकिन्छ । हिजो उहाँसँग काँग्रेस प्रजातन्त्रिकमा गएका र नगएलाई छुट्याएर व्यवहार नगर्दा म तपाईंलाई पूर्ण सहयोग गर्छु भनेको हो । तर उहाँले छुट्याएर व्यवहार गरिरहनुभयो । अनि एकथरि विशाल सङ्ख्याका साथीहरु अन्यायमा परे, उपेक्षित भए । मैले तिनको अधिकार र न्यायको खोजी मात्र गरेका हो ।

मैले गुट बनाएको होइन । मेरो गुट पनि छैन । मैले भाग लिएको पनि होइन । मैले साथीहरुलाई न्याय दिलाइदिएको हो । मैले भाग मागेको होइन । मैलाई भाग चाहिएको पनि छैन ।

पार्टीभित्रको विवाद त ६०–४० को भागबण्डामै गएर टुङ्गिने गरेको देखिन्छ ?

पार्टीमा ‘फाइट टु फिनिस’ गर्न त कि शेरबहादुरजीको जस्तो पार्टी दुईवटा बनाएर जानुपर्यो, पार्टी फुटाइहाल्नुपर्यो । पार्टी फुटाइहाल्ने कुरा म राम्रो देख्दिनँ । किनकि कतिपय कारण, आफ्नो लोभ वा मोहबस केही साथीहरु शेरबहादुरजीको साथमा गएका होलान् । तर पनि ती पार्टीमा योगदान भएका साथीहरु हुन् ।

हाम्रा प्रेसका मित्रहरुले, बुद्धिजीवीहरुले के बुझ्नुपर्छ भने राजनीतिमा कम्प्रमाइज हुन्छ । कहीँ न कहीँ पावर सेयरिङ हुन्छ । भागबण्डा वा पावर सेयरिङविना राजनीति चल्दैन । पावर सेयरिङविना विश्वको कुन पार्टी चलेको छ ? कुन व्यवस्था चलेको छ ? तर त्यसलाई हौवाका रूपमा नचलाऔँ ।  नेकपामा पनि केपी शर्मा ओली र प्रचण्डजीका आफ्ना–आफ्ना मान्छे छन् । तीनलाई मिलाएर सरकार बन्यो ।

सभापति निर्णय फिर्ता लिने मुडा देखिँदैनन् । यो विवादको निकास कसरी हुन्छ ?

यो विवाद १४औँ महाधिवेशनबाट टुङ्गिन्छ ।  १४औँ महाधिवेशनले ‘लेटेस्ट फ्रेस स्टार्ट’बाट यसको निकास दिन्छ ।

काँग्रेस कार्यकर्ताले शेरबहादुरले नै पार्टी चलाउनुपर्छ भनेर निर्णय दियो भने चलाउनुहुन्छ । म शान्त बसिदिन्छु । उहाँले पार्टी चलाउन सक्नुभएन भनेर निर्णय दिनुभयो भने कोही अर्को साथीले पार्टी चलाउला । त्यसपछि नयाँ सुरु हुन्छ ।


कार्यकर्ताले सभापति शेरबहादुर देउवाको विकल्प खोज्दा कोही अन्य आउँछ भन्नुभयो । त्यो कोही तपाईं हो ?

त्यसका लागि हाम्रो छलफल भइरहेको छ । हामी मिलेर एक जना उठ्छौँ । कुरा त्यही हो ।


१३औँ महाधिवेशनमा तपाईंले व्यवस्थान गर्न नसक्दा दुईवटा प्यानल निर्माण भएको थियो । १४औँ महाधिवेशनमा पनि दुईवटा प्यानल बन्न सक्छ नि ?

म त्यो भन्न सक्दिनँ । कसैकसैलाई बाध्यता आए एउटा कुरा हो । तर यसपालि पार्टीलाई नयाँ गति दिन कसैलाई अगाडि सर्छौँ । त्यसले निर्णयक रूप लिन्छ । बीचमा एक दुई जना आएर केही फरक पर्दैन ।

१३औँ महाधिवेशनमा त फरक परेका थियो ?

हाम्रो तयारी राम्रो नभएकाले फरक परेका हो । हाम्रो व्यवस्थापन एकदमै अव्यवस्थित थियो । तयारीविना महाधिवेशनमा जाँदा कसले के गर्यो थाहा भएन । यसपालि हामी वडाबाटै सतर्क छौँ ।

त्यसो भए यस पटक तपाईं बीपी र गणेशमा बन्न तयार हो ?

म चाहेर पनि बीपी र गणेशमान बन्ने होइन । त्यो परिस्थित हाम्रो कर्मले पुष्टि गर्छ । काँग्रेसलाई अहिलेको सङ्कटबाट उठाउँछु भनेर लागेको छु ।

मेरो ठाउँबाट मैले पार्टी र राष्ट्रलाई नै योगदान दिने सोच र फोर्सका साथ लागेको छु । काँग्रेस पार्टीलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने मेरो काम हो । त्यसमा म सफल भए भने मलाई इतिहासले त्यही रूपमा मूल्याङ्कन गर्ला ।

तपाईंले सङ्घर्षको कुरा गर्नुभयो । उहाँको जस्तो त्याग गर्न तपाईं तयार हो भन्न खोजेको हो ?

उहाँ आफै अघि पनि सर्नुभयो । आफैले अगाडि पनि सार्नुभयो । समय अनुसार निर्णय दिनुभएको थियो ।

यतिबेला तपाईं अगाडि सर्ने वा सार्ने कुन निर्णय लिने निष्कर्षमा हुनुहुन्छ ?

त्यस्तो कुनै निष्कर्षमा छैन । अहिले म साथीहरुसँग परामर्शमा छु । हाम्रोबीचमा परामर्श भएर जाँदा जे निष्कर्ष आउँछ त्यो नै मेरो निष्कर्ष हुन्छ ।

आन्तरिक परामर्शको कुरा गर्नुभयो । तर कोइराला परिवार (शशांक र शेखर) ले हामी दुईमध्ये एक भनिरहेका छ नि ?

त्यो कुरा उहाँहरुलाई कसैकसैले प्रोभोक गरिदिए होलान् । तिमीहरु कोइरालाहरु त मिल्दैनौँ भनिदिए होलान । होइन हामी मिलिहाल्छौँ नि भनेर उहाँहरुले भन्नुभयो होला । त्यो कसैले गरेको प्रतिवादमा उहाँहरुले दिएको प्रतिक्रिया हुनसक्छ । उहाँहरुले हामी मात्र भन्नुभएको छैन । कोइरालाको मात्र हो वा सिंहको मात्र हो भनेर प्रकाश (प्रकाशमान सिंह)ले पनि भन्नुभएको छैन । पार्टी सुधारका पक्षपाती हामी एक भएर जान्छौँ ।

कोइराला र सिंहसँगै सिटौला समूहलाई पनि लैजाने गृहकार्य कसरी भइरहेको छ ?

यो समूह र ऊ समूह भनेर हामी धेरै गहिराइमा गएका छैनौँ । पार्टीको महाधिवेशनमा को–को साथीलाई टिममा राख्दा परिणाम राम्रो हुन्छ, पार्टीलाई योगदान दिने क्षमता भएको टिम कसरी बन्छ त्यो हेरेर हामी निर्णयमा पुग्छौँ ।

सिटौला टिमभित्र कोही सभापतिसँग लोयल त कोही तपाईंहरुसँग लोयल देखिन्छन् । जस्तो कि  गगन थापा र प्रदीप पौडेलबाट सभापतिविरुद्ध तपाईंले चाल्ने कदमा साथ रहेको पाइन्छ । यसलाई कसरी लिनुभएको  छ ?

साथीहरुले कुनबेला कस्तो अडान दिएका छन्, को साथीको के राजनीतिक दृष्टिकोण रह्यो ? त्यो हेरेर देशभरिका साथीहरुले मूल्याङ्कन गर्छन् । किनकि अब कुनै पनि कुरा लुकेर छिपेर हुँदैन । सबै कुरा पारदर्शी भएसकेको छ ।

तपाईंहरुको समूहभित्र सिटौला समूह आटाउने वातावरण कस्तो बन्दै छ भन्न खोजेको हो ?

उहाँहरु हामीसँगै हो । गगनजी अर्को समूहको भनेर म भन्दै भन्दैनँ । प्रदीप पनि हामीसँगै छन् । हेरेर कसलाई के ठाउँमा व्यवस्थापन गर्न सकिन्छ, त्यही अनुसार हुन्छ ।

अब पार्टी राजनीतिबाट राष्ट्रिय राजनीतितिर जोड्न चाहन्छु । वर्तमान राष्ट्रिय राजनीतिलाई कसरी हेर्नुभएको छ ?

यतिबेला प्रधानमन्त्री बिरामी भएकाले धेरै कुरा भन्न चाहन्न । उहाँको स्वास्थ्य लाभको कामना गर्छु । यो मानवीयताको कुरा पनि हो तर यो कम्युनिस्ट सत्ताको चरित्र नै निरङ्कुशतावादी, सर्वसत्तावादी, केन्द्रीयतावादी र अधिनायवादी हो ।

मेरो ठाउँबाट मैले पार्टी र राष्ट्रलाई नै योगदान दिने सोच र फोर्सका साथ लागेको छु । काँग्रेस पार्टीलाई नेपाली जनताको भरोसाको केन्द्र बनाउने मेरो काम हो । त्यसमा म सफल भए भने मलाई इतिहासले त्यही रूपमा मूल्याङ्कन गर्ला ।

उहाँहरुले लोकतन्त्रको जामा पहिरेर बहुलवादी हुँ भन्दै जनतालाई झुक्याएर चुनाव जित्नुभएको छ । तर आफ्नो चरित्र विस्तारै देखाउँदै जानुभएको छ । त्यो पक्षपाती चरित्रको परदर्शन यो राज्यमा भइरहेको छ । त्यसको म विरोधी हुँ । पक्षपाती चरित्रले देशको कल्याण गर्दैन । यसमा प्रधानमन्त्रीका दुईवटा कुराको दृष्टान्त दिन्छु ।

उहाँले पहिलो पटक वाइडबडीमा ४ अरब ३५ करोड भ्रष्टाचार भएको संसदको लेखा समितिले किटान गरेका छ । तत्कालीन मन्त्री निर्दोष छ भनेर प्रधानमन्त्रीले भनिदिएपछि दोषी को हो ? प्रधानमन्त्री त्यहाँनिर आफ्नै हैसियतभन्दा अगाडि गएर बोल्नुभयो । भ्रष्टाचार ढाकछोपको गर्ने काम गर्नुभयो ।

त्यसपछि सञ्चारमन्त्री अडियो टेप प्रकरणमा उहाँ ७० करोडको मोलमेलाइ गरेको कुरा प्रष्ट छ । यो काण्डमा पनि उहाँले विचार निर्दाेष भनिदिनु भयो ।

भ्रष्टाचारलाई लुकाउन, छिपाउन र आलटाल गर्न कम्युनिस्ट सत्ताको प्रयोग भइहरेको छ । दुई तिहाइले जनताको कल्याण गर्ने भन्दा संवैधानिक निकायलाई तर्साउन प्रयोग भइरहेको छ । रातो झण्डा ओडेर खत माफी हुने तन्त्र चल्दैछ ।

यसलाई रोक्ने प्रतिपक्षी किन सकिरहेको छैन ?

अब हाम्रो पार्टी खारो रूपमा उत्रिनुपर्छ ।

अहिलेसम्म खरो रूपमा उत्रिन किन सकिरहेका छैन । तपाईं पनि पार्टीको वरिष्ठ नेता हुनुहुन्छ नि ?

मैले गर्नुपर्ने कुरा गरिरहेको छु । म लड्न तयार छु । म सडकमा जान तयार छु । पार्टी नेतृत्व अगाडि गइदिनुपर्यो ।

पार्टीभित्रको आन्तरिक किचलोले सभापतिलाई प्रतिपक्षीका रूपमा खरो उत्रिन समस्या भइरहेको भन्ने छ नि ? पार्टीभित्रकै किचालोमा अलमलिँदा यस्तो भएको हो कि ?

त्यो होइन, पार्टीमा किचलो त्यो (पौडेल संसदीय दलको नेता भएको) बेलामा पनि थियो । म पनि कुनै जमनामा प्रतिपक्षी दलको नेता थिएँ । जुन बेला (२०६५) मा प्रचण्ड बहुमत लिएर प्रचण्डजी प्रधानमन्त्री हुनुहन्थ्यो ।

काँग्रेस अल्पमतमा थियो । त्यस्तो अवस्थामा म दलको नेता हुँदा मैले सदनमा उभिएर एकपछि अर्को गरी पशुपति प्रकरणदेखि लिएर सेनापाति प्रकरणसम्म पुग्दा प्रधानमन्त्रीलाई राजीनामा दिएर निस्कन बाध्य गराएको हो ।

म त्यही संसदमा अल्पमतको दलको नेतृत्व मैले पनि गरेको हो ।  दलको नेताले निर्धक्कसँग बोल्न सक्नुपर्यो । आफै कहाँ कहाँ के के छ कसो छ भनेर  पकाउनतिर लागेपछि नेतृत्व बलियो हुन्छ ?

त्यो पकाउने कुरामा सजग रहन पार्टी नेतृत्वलाई खबरदारी किन गरिराख्नु भएको छैन ?

मैले सबै भन्दै आएको छु । धेरै कुरा बाहिर बोल्न नमिल्ने भएर कतिपय कुराभित्र मात्रै भने । तर अहिले भन्नुपर्ने बाध्यताले तपाईंहरु सबैले खोज्न थालेपछि अलिकति भन्न थालेको हुँ । त्यसैले हाम्रो नेतृत्व र सरकार दुवै असफल छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप