राष्ट्रगान गाउँदै ‘विश्व यात्रा’
अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशालाको समापन समारोह चलिरहेको थियो । उद्घोषकले राष्ट्रगानको सम्मान गर्न आग्रह गरे । अघिपछिझैँ ‘रेकर्ड’ भएको राष्ट्रगान बजाइएन । राष्ट्रगान गाउने गायक रामजी नेपाली मञ्चअघि उभिए ।
नेपालीले गाउन शुरु गरेसँगै अतिथि र सहभागीले एकसाथ स्वर मिलाए । राष्ट्रगान सकियो । राष्ट्रगानको सम्मानमा उभिएका कोही पनि बसेनन् । नेपालीले जापानको राष्ट्रगान गाउन सुरु गरे । मञ्चमै रहेका जापानका मूर्तिकार जुनिचिरो सुगीमोतोले नेपालीसँगै गाए ।
कार्यशालास्थलमा फहराइएको जापानको झण्डा हेरे । देशप्रति सम्मान देखाउनुभयो । नेपालीले जापानपछि, इटाली, चीन, युक्रेन, क्यानाडा, इजरायल, ब्राजिल, फ्रान्स, ताइवान र भारतको राष्ट्रगान गाए । कार्यशालामा सहभागी सम्बन्धित देशका मूर्तिकारले गायक नेपालीसँगै राष्ट्रगान गाए । देश सम्झिए ।
समारोहमा रहेका सबै अतिथि, दर्शकले बाहिरी देशका राष्ट्रगान गाउँदा उभिएरै हार्दिकता जनाए । सद्भाव देखाए । नेपालीको राष्ट्रगान गाउने कलाबाट प्रभावित भए । गलकोट नगरपालिका–५ टेउवामा बुधबार आयोजित कार्यशालाको समापन समारोह गायक नेपालीको प्रस्तुतिले रोचक बन्यो ।
गायक नेपाली राष्ट्रगान गाउनकै लागि टेउवा पुग्नुभएको थियो । कार्यशालाको आयोजक गलकोट कला प्रतिष्ठानले पनि सहजरूपमा उनलाई समय दियो । यही फागुन ५ गतेदेखि शुरु भएको कार्यशालामा ११ देशका १५ मूर्तिकार सहभागी थिए ।
विदेशी मूर्तिकारको सम्मानका लागि उनीहरुकै देशको राष्ट्रगान गाएको नेपालीले बताए । गायक नेपालीले विदेशी मुलुकका राष्ट्रगान गाएको यो पहिलोपटक भने होइन । सन् २०१५ देखि उनी विभिन्न २५ देशका राष्ट्रगान गाउँदै ‘विश्व यात्रा’मा निस्किएका छन् ।
“विश्वबन्धुत्व, सांस्कृतिक पर्यटन र सद्भावनाको सन्देशसहित राष्ट्रगान गाउँदै हिँडेको छु”, उनले भने, “सन् २०२५ भित्र १९४ देशका राष्ट्रगान गाउने र विश्वका २३२ वटै देशमा पुग्ने लक्ष्य छ ।”
‘विश्व यात्रा’को समापन सगरमाथा आधार शिविरमा गर्ने उहाँको सपना छ । गायक नेपालीका अनुसार विश्वमा आफ्नो छुट्टै राष्ट्रगान भएका देश जम्मा १९४ छन् । यात्राकै क्रममा गायक नेपाली भारत, फ्रान्स, बेल्जियम, स्पेन र नेदरल्याण्डस पुगिसकेका छन् । यो वर्ष श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेशलगायतका देश घुम्ने योजना छ ।
उनले भारतका सात वटा प्रान्तमा पुगेको बताए । “चेन्नइदेखि हिमाञ्चल प्रदेशसम्म पुगेँ, अघिल्लो महिना सिलगुढी थिएँ, कोरोनाको प्रभावले नेपाल फर्किएँ”, नेपालीले भने।
बागलुङ नगरपालिका–६ भिरलाङ्खुरीमा जन्मनुभएका उहाँले यात्राका सिलसिलामा नेपालकोसँगै सम्बन्धित देशको राष्ट्रगान गाउछन् । “औपचारिक, अनौपचारिक दुवैरूपमा गाउँदै हिँडेको छु, उस्तै कार्यक्रम पर्दा धेरै देशको पनि गाउनुपर्ने हुन्छ”, उनले भने ।
नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यले विश्वयात्रामा निस्केको नेपालीको भनाइ छ । “संसारका सात अर्ब ७० करोड मानिसलाई एकपटक नेपाल आउनुस्, घुम्नुस् भन्न चाहान्छु”, उनले भने, “नेपालमा सधँै पर्यटन भन्ने मेरो आदर्श वाक्य छ, मेरो यात्राले पर्यटन प्रवद्र्धनमा सघाउने विश्वास छ ।”
बुद्ध र सगरमाथाको देशका रूपमा नेपालको चिनारी बोकेर ‘विश्व यात्रा’ गर्न पाउँदा गौरवबोध हुने गरेको गायक नेपालीको भनाइ छ । अहिलेसम्म कतैबाट कुनै सहयोग नलिई आफ्नै खर्चमा देश–विदेश पुगेको उनको भनाइ छ । “पछि सहयोगको माहोल पनि बन्ला गर्दै जाऔँ, हेर्दै जाऔँ”, नेपालीले भने ।
४० वर्षीय उहाँ नेपाली साङ्गीतिक क्षेत्रको कुशल सर्जक पनि हुनुहुन्छ । झण्डै २५ वर्ष गायन र सङ्गीतमा बिताएको उनको भनाइ छ । उनका ‘वर्ष दिनको मेला’ (२०५३), ‘जवानीमा तानेको’ (२०५९), ‘भिरको टुनी’लगायत गीत सार्वजनिक छन् ।
“अहिले पनि म सङ्गीतबाट टाढा छैन, विधामात्रै फेरिएको हो”, उनले भने, “बिहानदेखि राति अबेरसम्मै म नयाँ–नयाँ देशका राष्ट्रगान गाउन सिकिरहेको हुन्छु ।” उहाँले ‘गुगल’, ‘युट्युव’जस्ता माध्यमबाट विभिन्न देशका राष्ट्रगान र तिनका ‘ट्र्याक’ खोज्नुहुन्छ । आवश्यक पर्दा दूतावासबाट समेत सहयोग लिने गरेको उहाँको भनाइ छ ।
भाइचारा र विश्वबन्धुत्वको सन्देश बोकेर ‘विश्व यात्रा’मा हिँड्नुभएका नेपाली हालै नवलपुरमा रहेको धार्मिकस्थल ‘शास्वत धाम’को सद्भावना दूतमा नियुक्त भएका छन् । नेपालीका बुबा, आमा, श्रीमती र छोरी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री र नवप्रवर्तनमन्त्रीको पद तथा गोपनियताको सपथ ग्रहण सुरु
-
३२ तले भवनमा ३४औँ तलाको फ्ल्याट किनेपछि...
-
प्रतिनिधि निर्धारणमा समस्या हुँदा रास्वपा बागमतीको निर्वाचन कार्यतालिका प्रभावित
-
४ लाख २३ हजार भन्दा बढीले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता
-
औद्योगिक क्षेत्रका उद्योगले तिरेनन् भाडा र महसुल, बक्यौता चुक्ता गर्न ७ दिने अल्टिमेटम
-
मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण