शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५० वटा दरबन्दीमा ४६ दरबन्दी खाली छन् : त्रिवेणी नगरपालिका प्रमुख रावल

आइतबार, २५ फागुन २०७६, १४ : ३८
आइतबार, २५ फागुन २०७६

सुदूरपश्चिम प्रदेशमा रहेको बाजुरा जिल्लाको सदरमुकाम मार्तडीदेखि दक्षिणी भेगमा त्रिवेणी नगरपालिका रहेको छ । यो नगरपालिकाको नामकरण यसै क्षेत्रको पर्यटकीय तथा धार्मिक स्थल त्रिवेणीको सङ्गमस्थलको नामबाट त्रिवेणी रहन गएको हो । 

राज्य पुनर्संरचनाका क्रममा साविकका छतारा, तोली र कैलाशमाण्डौ गाविस मिलेर त्रिवेणी नगरपालिका बनेको हो । जनसङ्ख्या र क्षेत्रफलको हिसाबले यो नगरपालिका जिल्लाकै तेस्रो ठूलो नगरपालिका विकासको दृष्टिकोणले निकै दुर्गम नगरपालिका हो । 

भौगोलिक रूपमा पहाडी क्षेत्रमा पर्ने यो नगरपालिकामा विकासका कामहरु सफल हुन निकै कठिन हुन्छ । राज्यको केन्द्रबाट निकै टाढा रहेका यस्ता स्थानमा विकासका कार्यक्रम र योजना पनि कमै मात्र पुग्ने गरेका थिए । तर वि.सं. २०७४ को स्थानीय तह निर्वाचन भयो र केन्द्रका अधिकारहरु स्थानीय तहसम्म पुर्याउन सुरु गरियो । स्थानीय निर्वाचनमा २०७४ असार १४ गते नगर प्रमुखको रूपमा निर्वाचित भए रामसिंह रावल । नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका रावलले ३३६५ मत प्राप्त गरी विजयी भए । नगर प्रमुखको रूपमा विजयी रावलले विकट क्षेत्र, कर्मचारी अभाव र विभिन्न समस्याका बाबजुद पनि उक्त नगरपालिकामा थुप्रै विकासका कार्यक्रमहरु सुरुवात गरिसकेका छन् । 
उनले त्रिवेणी नगरपालिकामा गरेका विकासका कार्यक्रमहरुको बारेमा रातोपाटी अनलाइन डटकमको ‘जनप्रतिनिधि संवाद’का लागि गरिएको कुराकानी ।

–जनप्रतिनिधिका रूपमा निर्वाचित भएर काम गरिरहँदा कस्तो अनुभूति गर्नुभयो ? 
स्थानीय तहको निर्वाचनमा विजय भएपछि असार १८ गते पदबहाली गरेँ । त्यसपछि स्थानीय तहको विकास र समृद्धिका लागि विभिन्न कार्यक्रम गर्न सुरु गरेको छु । विभिन्न सेवा र सुविधाबाट टाढा हुँदाहुँदै पनि यो नगरपालिकामा विकासका योजना अगाडि बढाउँने सङ्कल्प मनमा रहेको थियो । नगर प्रमुखको जिम्मेवारी काँधमा आएपछि आफूलाई विजयी गराउने दाजुभाइ दिदीबहिनीलाई विकासको आषास दिलाऊँ भन्ने उद्देश्यले लागिपरेको छु । 

–निर्वाचित भएयता जनताले महसुस गर्ने किसिमका केके काम गर्नुभयो ? 
-  सुरुमा आउनेवित्तिकै सडक सञ्जाल जोड्ने काम सुरु गर्यौँ । एउटाबाहेक सबै वडामा सडक सञ्जाल जोडिसकेका छौँ । भूगोलले निकै अप्ठ्यारो भएकाले वडा नम्बर ५ मा सडक जोड्न सकेका छैनौँ । यद्यपि ५ नम्बर वडामा पनि सडक सञ्जाल जोड्ने प्रयास गरिरहेका छौँ । 

-  त्यसपछि सबै वडामा खानेपानी पुर्याउने काम सुरु गर्यौँ । सबै वडाका टोल टोलमा खानेपानीको व्यवस्था गरिसकेका छौँ । ‘एक घर एक धारा’ कार्यक्रम सम्पन्न हुन बाँकी रहे पनि सबै टोलमा खानेपानी भने व्यवस्था भइसकेको छ । 

-  बालमैत्री वडा घोषणा, खुला दिशामुक्त क्षेत्र घोषणा, मदिरा मुक्त नगरपालिका बनाउन मदिरा किनबेच र सार्वजनिक स्थलमा मदिन सेवनमा रोक लगाएर मदिरा निषेधित नगरपालिका घोषणा गर्यौँ । यहाँ सम्पूर्ण मदिरा पसलेहरुको लाइसेन्स पनि खारेज भइसकेको छ । 

-  कुनै घरले पनि अँध्यारोमा बस्न नपरोस् भनेर विद्युत्को व्यवस्था गर्यौँ । त्रिवेणी नगरपालिकामा भएका ३ हजार ८०० घरहरुमा विद्युतीय लाइन जोडेर बिजुलीको व्यवस्था गर्यौँ । यसैगरी ३६ वटा विद्यालयमा बिजुलीको व्यवस्था गरेका छौँ । ११ वटा स्वास्थ्य संस्थामा पनि बिजुलीको व्यवस्था गरिसकेका छौँ । त्यसैगरी, विभिन्न सङ्घसंस्था, सहकारीहरुमा बिजुलीको व्यवस्था गरेका छौँ । 
-  यो क्षेत्रका सबै स्थानमा हरियाली कायम गर्नका लागि वृक्षरोपण सुरु गरेका छौँ । जलवायु परिवर्तनका असरबाट जोगिनका लागि सिँचाइ, तटबन्धन, वृक्षरोपण र सरसफाइको कार्यक्रम सुरु गरिसकेका छौँ । 

-  सबै विद्यालयमा फूलबारी सहितको पार्क निर्माण गर्ने, फोहोर फ्याँक्ने खाडल निर्माण गर्न बजेट व्यवस्थापन गरिसक्यौँ ।

-  महिला हिंसा कम गर्न स्वरोजगारमूलक सीपहरु स्विटर बुन्ने, सिलाइकटाइ, तरकारी खेती, बाख्रापालन, कुखुरापालन जस्ता कामका लागि तालिमको व्यवस्था गरिएको छ ।

-  प्रत्येक विद्यालयमा एक छात्रा र एक छात्रको विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्व हुने तथा नगर स्तरको कार्यक्रममा पनि बालबालिकाको सहभागिता गराउने साथै, नगरपालिकाको प्रत्येक विकासका कार्यक्रममा एक बालक र एक बालिकाको प्रतिनिधित्व गराउँने व्यवस्था गराउने । 

-   अपाङ्गका लागि उनीहरुको क्षमता अनुसारको कामको व्यवस्था गरिदिने, क्षमता विकासका लागि तालिम दिनका लागि बजेटको व्यवस्था गरेका छौँ । 
-  दलितहरुका लागि हामीले छुवाछूत प्रथा उन्मूलन गर्नका लागि दलित बालबालिकाका लागि सरकारले व्यवस्था गरेको छात्रवृत्तिमा थप गरेर नगरपालिकाले छुट्टै छात्रवृत्तिको व्यवस्था गरेको छ । अपाङ्ग, टुहुरा, अनाथ र विभिन्न कारणले पीडित बालबालिकाका लागि शिक्षा र भविष्यका लागि पनि बजेट विनियोजन गरिरहेका छौँ । 

-  वृद्धवृद्धाका लागि सामाजिक सुरक्षा अन्तर्गत आउने सुविधाबाहेक उनीहरुका लागि आश्रमको निर्माण गर्ने योजना बनाएका छौँ । सम्मानका लागि विभिन्न प्रकारका पुरस्कारको व्यवस्था गर्ने, न्यानो कपडा, सम्मान पत्र दिने व्यवस्था पनि सुरु भएको छ । 

-  शिक्षक कम भएका विद्यालयमा शिक्षकको व्यवस्था गरेका छौँ । ईसीटी शिक्षकको व्यवस्था गरेका छौँ । यो भनेको प्रारम्भिक बालविकासका लागि पढाउने शिक्षिकाहरु हुन् । विद्यालयमा आवश्यक भौतिक पूर्वाधारहरु, खेलमैदान, खेल सामग्री, सांस्कृतिक कार्यक्रमका लागि विभिन्न प्रकारका बाजा उपलब्ध गराएका छौँ । 

-  नगरपालिकामा खेलकुदका विभिन्न कार्यक्रमहरु प्राथमिक अन्तर विद्यालय खेलकुद प्रतियोगिता, माध्यमिक खेलकुद प्रतियोगिता, खुला मेयर भलिबल प्रतियोगिता गरेका छौँ । त्यस्तै सबै प्रकारका मानिस सहभागी हुनसक्ने खुला भलिबल प्रतियोगिताको पनि आयोजना गरेका छौँ । 

-  कृषि विकास र प्रवद्र्धनका लागि वैज्ञानिक प्रविधिमा तरकारी खेती गर्ने, उन्नत खेतीका लागि भकारो सुधार कार्यक्रमबाट प्राङ्गारिक मल उत्पादन गर्ने, अगार्निक खेती गर्न अभिप्रेरित गर्ने कार्यक्रम गरेका छौँ । मसला बालीमा अदुवा खेती, लसुन खेती, खुर्सानी खेती साथै अलैँचीका लागि पनि योजना तयार गरिरहेका छौँ । उन्नत जातका कुखुरापालन, गाईभैँसी पालनका लागि अनुदान र कृषि शाखाले छानिएका कृषकलाई पशुपालनका लागि पशु वितरण गर्ने कार्यक्रम गरिरहेका छन् । 

साथै ‘एक घर एक करेसाबारी’ को कार्यक्रम पनि सुरु गरेका छौँ । 

-  किशोरीहरुका लागि महिनावारीको समयमा विद्यालय जान सहज होस् भनेर सेनेटरी प्याडको व्यवस्था गरेका छौँ । छाउगोठ मुक्त अभियान पनि सुरु गरेका छौँ । 
-  
–सिंहदरबार गाउँ–गाउँमा पुग्यो, निम्छरो वर्गले पनि सहजै सेवा पाउन थाले भनिएको छ, जनताले त्यसको महसुस गर्न पाएनन् भन्ने टिप्पणी र गुनासो सुनिन्छ नि ? 

स्थानीय क्षेत्रका जनताले सेवा सुविधा सहज ढङ्गले पाएनन् भने उनीहरुलाई सिंहदरबार गाउँमा नआएको महसुस हुन्छ । 

स्थानीय तह निर्माणका क्रममा विभिन्न कमीकमजोरी भएका छन् । कर्मचारी समायोजनका विषयमा यो क्षेत्रमा ठूलो समस्या भएको छ । ९ वडा भएको यो नगरपालिकामा एक जना मात्रै सचिव छन् । बाँकी ८ वटा वडा खाली छ । हामी निर्वाचित भएदेखि हाम्रा नियमित काम एकजना मात्रै सचिवले गरिरहेका छन् । अन्य छवटा शाखामा एक जना पनि कर्मचारी छैन । स्वास्थ्यभन्दा बाहेक अन्य शाखामा एक जना पनि कर्मचारी छैनन् । प्रमुख प्रशासकीय अधिकृत अहिलेसम्म यो नगरपालिकामा आएका छैनन् । नायब सुब्बा स्तरको कर्मचारीलाई निमित्त बनाएर ल्याएका छौँ । कर्मचारीको नाममा हामीसँग एक जना सचिव, एक जना सुब्बा स्तरको कर्मचारी, स्वास्थ्य संयोजक र एक जना भेटनरीका कर्मचारी छन् । यहाँ रहेका ५० वटा दरबन्दीमा ४६ दरबन्दी खाली छन् । जम्मा ४ जना मात्रै कर्मचारीले काम गरिरहेका छन्् । कर्मचारी समायोजनमा भएको चरम लापरबाही र ढिलासुस्ती र सुदूरपश्चिमका पहाडी जिल्लाहरुका गाउँपािलका, नगरपालिकाका झन् कर्मचारीको अभाव हुनु बिडम्बना हो । 

–नगरबासी र गाउँबासी कस्ता कस्ता समस्या लिएर आउँछन् ?
यहाँको प्रमुख समस्या भनेको बेरोजगारी हो । स्थानीय क्षेत्रका जनता रोजगारीको व्यवस्था गर्न आग्रह गरिरहन्छन् । स्थानीय जनताका बेरोजगारी समस्यालाई सम्बोधन गर्न लागिपरेका छौँ ।

–आफ्नो कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने सपना छ ? 
यो नगरपालिकाका सबै नगरबासीमा असल, सभ्य र आत्मनिर्भर बनाएर सभ्य नगरपालिका बनाउने मेरो सपना हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रतिक्षा भट्ट
प्रतिक्षा भट्ट
लेखकबाट थप