बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवसायीले विदेशबाट १६ करोडसम्म ऋण लिन पाउने, ब्याजदर निकै ‘सस्तो’

शुक्रबार, ३० फागुन २०७६, १७ : ५१
शुक्रबार, ३० फागुन २०७६

काठमाडौं । विदेशी मुलुकबाट अब १६ कारोड रुपैंयासम्मको ऋण सीधा रुपमा लिन पाइने भएको छ । नेपाल राष्ट्र बैंकले विदेशबाट ऋण लिन चाहने नागरिक, फर्म वा संस्थाले त्यस्तो ऋण रकम सीधा रुपमा लिन पाउने जनाएको हो ।

विदेशमा रहेका नातेदार, अन्य व्यक्ति, गैर आवासीय नेपाली र संघ संस्थाहरुबाट सीधा ऋण लिन बैंकले खुला गरेको हो । राष्ट्र बैंकले भारतबाट त्यस्तो ऋण लिँदा १० करोड रुपैंया भारतीय रुपैंया र अन्य देशबाट ऋण लिँदा १० लाख डलर ननाघ्ने गरी सीधा रुपमा ऋण लिन पाइने जनाएको छ ।

अहिलेको विनिमय दरका आधारमा भारतबाट आउनसक्ने यो रकम करिब १६ करोड रूपैंया बराबर हो भने अन्य मुलुकबाट करिब १२ करोड नेपाली रूपैंया बराबर हो । तर त्यस्तो ऋण ल्याउँदा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्नेछ । 

यसअघि पनि यसरी प्रत्यक्ष रुपमा विदेशबाट ऋण लिनसक्ने प्रावधान थियो तर त्यसको सीमा ५ लाख डलर वा ५ करोड भारतीय रुपैंया सम्म मात्रै थियो तर त्यसरी लिइने रकममा कुनै पनि ब्याज दिन पाइँदैनथ्यो । 

व्यवसायिक संस्थाहरुले ब्याज दिएर ऋण लिनको लागि भने अन्तर्राष्ट्रिय ऋणपत्र जारी गर्ने वा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने मात्रै विकल्प थियो । बैंकहरूले त्यस्तो ऋण लिन सक्ने विकल्प यसअघि नै थियो । तर बैंकहरुले ऋण लिएर लगानी वित्तीय मध्यस्तकर्ता लागतका कारण व्यवसायीको कुल लागत निकै धेरै पर्ने गथ्र्यो । अब त्यो लागतबिनै लगानी गर्नसक्ने विकल्प खुला भएको हो । 

तर विदेशबाट त्यसरी ऋण लिँदा ऋण लिन चाहने व्यक्ति, फर्म वा संस्थाले हाल गरिरहेको वा गर्ने व्यवसायको किसिम, र ऋणको उपयोगबारे कार्ययोजनाबारे राष्ट्र बैंकलाई बुझाउनु पर्नेछ । 

त्यस्तै, १ वर्षे लाइबोर दरमा ०.५ प्रतिशत भन्दा धेरै ब्याज दिने गरी त्यस्तो ऋण लिन नपाइने व्यवस्था गरिएको छ जबकी बैंक तथा वित्तीय संस्थाले लाइबोर दरमा ४ प्रतिशतसम्म ब्याज थपेर ऋण लिन पाउने व्यवस्था अहिले पनि छ । साथै त्यसरी लिइने ऋणको भुक्तानी अवधि कम्तीमा पनि ३ वर्ष हुनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
 
यस्तो ऋण घरजग्गा व्यवसाय बाहेक कानूनले रोक नलगाएका अन्य व्यवसायका लागि लिन सकिने बैंकले जनाएको छ । तर त्यसरी ऋण लिँदा ऋण चुक्ता गर्ने स्पष्ठ कार्ययोजना भने राष्ट्र बैंकलाई ऋणीले बुझाउनुपर्ने बताइएको छ । सीधा रुपमा ऋण लिइए पनि त्यस्तो ऋण रकम बैंकिङ च्यानलबाट नै प्राप्त गर्नुपर्ने व्यवस्था भने राष्ट्र बैंकले गरेको छ । 

नेपाल राष्ट्र बैंक विदेशी मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले यो परिपत्रपछि विदेशबाट ऋण लिनसक्ने सीमा बढेको र निब्यार्जी मात्रै ऋण ल्याउनसक्ने व्यवस्थालाई संशोधन गरी केही भने पनि ब्याज दिन पाउने व्यवस्था गरिएको बतए । 

अहिले लाइबोर दर ०.९४ प्रतिशत छ । त्यसमा ०.५० प्रतिशत थप्दा १.४४ प्रतिशत हुनेछ । पछिल्लो समय कोरोनाको त्रासका कारण यो दरमा तीव्र गिरावट आएको हो । यद्यपि यो बढ्दै गएको अवस्थामा योभन्दा बढी ब्याज दिन पाउने अवस्था पनि हुन सक्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप