शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीन पठाउने भन्दै प्रहरी आफैले मास्कको डिल गरेपछि...

आइतबार, ०२ चैत २०७६, १५ : ५९
आइतबार, ०२ चैत २०७६

काठमाडौँ । शनिबार महानगरीय प्रहरी वृत्त स्वयम्भु र नयाँबानेश्वरले ७८ हजार सर्जिकल मास्कसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । कालोबजारी गर्न लुकाएर राखिएको अवस्थामा प्रहरीले छापा हान्दा उक्त परिणामको सर्जिकल मास्कसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी स्वयम्भुका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीले उनीहरूलाई काठमाडौँको डल्लुबाट पक्राउ गरेको बताए । डीएसपी सुवेदीकाअनुसार पक्राउ पर्नेमा महाकाल मञ्जुश्री ट्रेडर्सका सञ्चालक मिन्टु तामाङ, अनिस कार्की, उज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्का छन् ।

मञ्जुश्री सप्लायर्सबाट बरामद भएको सर्जिकल मास्क प्रतिगोटा भ्याटसहित करिब ३ रूपैयाँ पर्छ । डीएसपी सुवेदीका अनुसार एक प्याकेटमा ५० सर्जिकल मास्क रहेको छ । जुन प्याकेटको भ्याटसहितको बजार मूल्य १५० रुपैयाँ पर्न जान्छ ।

अनिस कार्की र शिव खड्काले उज्जवल अधिकारीसँग प्रतिगोटा २५ रुपैयाँमा खरिद गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीका अनुसार २५ रुपैयाँमा किनेको मास्क उनीहरूले ५० रुपैयाँसम्ममा बेच्ने योजना बनाएका थिए ।

पक्राउ परेका उनीहरुविरूद्ध कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन २०३२ दफा ५ वमोजिम कारवाही गरिने छ । बजारमा कुनै मालको कृत्रिम अभाव हुने गरी सो सामानको मूल्यवृद्धि गराएर अनुचित नाफा लिइ बजारमा बिक्री गर्ने नियतले डिलर वा एजेण्टलाई १० वर्ष कदै वा जरिवाना हुने कानुनी व्यवस्था छ ।

कसरी गरियो अपरेशन ?

फागुन ३० गते शुक्रबार दिउँसो महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीलाई मास्कमा कालोबजारी हुने गरेको भन्दै एक व्यक्तिले सुराकी दिन्छन् । तत्कालै डीएसपी रेग्मीले आफ्नो प्रहरी टोली परिचालन गराउँछन् । सुराकी व्यक्ति र प्रहरीले मास्कमा कालोबजारी गर्ने व्यक्तिको खोजीकार्य तीब्र बनाउँछ ।

प्रहरीले रामेछाप घर भएका शिव खड्काको नम्बर पत्ता लगाउँछ । खड्का मास्कमा कालोबजारी गर्ने मुख्य व्यक्ति हुन् । ग्राहक बनेर प्रहरीले खड्कालाई सम्पर्क गर्छ ।

प्रहरीले ५० हजार मास्क चाहिएको कुरा खड्कालाई बताउँछ । डीएसपी रेग्मीका अनुसार ‘चीन पठाउनु छ’ भन्दै खड्कासँग प्रहरीले मास्क मगाएको थियो ।

खड्काले प्रतिगोटा ३५ रुपैयाँ पर्ने बताउँछन् । प्रहरीले महङ्गो भयो भन्दै खड्कासँग बार्गेनिङ गर्छ । सोही दिन अन्ततः प्रहरी र खड्काको ३१ रुपैयाँमा कुरा मिल्छ । खड्काले पहिला पैसा लिने अनि मात्र मास्क दिने कुरा गर्छन् । पैसा नदेखाइ मास्क नदिने अडान छाड्दैनन् खड्का ।

ग्राहक बनेर कुरा गरिरहेका प्रहरीले सुरुमा पैसा दिन हामी तयार छौँ भन्दै खड्कालाई आश्वस्त पार्छन् । खड्का पनि सहमति हुन्छन् । खड्काले चैत २ गते १०ः३० बजेतिर पैसा लिएर डल्लु आउन आग्रह गर्छन् । ग्राहक बनेका प्रहरीले ‘हस’ भन्दै उनीहरुलाई नियन्त्रणमा लिने योजना बनाउन थाल्छ ।

डीएसपी रेग्मीले थप सहयोगको लागि स्वयम्भु प्रहरीसँग समन्वय गर्छन् । चैत २ गते खड्काले भनेको समयअघि नै डल्लु क्षेत्रमा सादा पोसकको प्रहरी टोली विभिन्न ठाउँमा परिचालन हुन्छ । ग्राहक बनेका प्रहरी र सुराकी दिने व्यक्ति बिहान ११ बजेको समयमा डल्लु चोक नजिकै गएर पैसा लिएर आएको भन्दै खड्कालाई फोन गर्छन् ।

खड्कासहित ७ जना व्यक्ति पनि डल्लु आइसकेका हुन्छन् । उनीहरुबीच भेट हुन्छ । खड्काले पहिला पैसा देखाउन भन्छन् । ग्राहक बनेका प्रहरीले मास्क देखाउन भन्छन् ।

खड्काको टोलीले मारुती भ्यानमा राखेर ल्याएको मास्क देखाउन थाल्छ । त्यही मौकामा ग्राहक बनेका प्रहरीले गोजीबाट मोबाइल निकालेर सादा पोसाकमा परिचालन गरिएको प्रहरीलाई खाली म्यासेज पठाउँछन् । खाली म्यासेजको संकेत थियो, ‘खड्कासहितको टोली मास्क लिएर आइपुग्यो ।’ त्यतिबेलासम्म पनि खड्काको टोलीलाई ग्राहक बनेको व्यक्ति प्रहरी हो भन्ने केही पनि थाहा हुन्न ।

तत्कालै सादा पोसकका प्रहरी त्यहाँ आइपुग्छ । ग्राहक बनेका व्यक्तिले आफू प्रहरी हो भन्दै उनीहरुलाई आत्मसमर्पण गर्न भन्छ । आठै जनाले आत्मसमपर्ण गर्छन् र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिन्छ ।

५० हजार मास्कसहित उनीहरुलाई नियन्त्रणमा लिए पनि प्रहरीले उनीहरुको गोदाम खोज्न थाल्छ । खड्कालाई नयाँ बानेश्वरको प्रहरी टोलीले सोधपुछ गर्न थाल्छ भने मिन्टु तामाङलाई स्वयम्भुको टोलीले ।

मिन्टु आधिकारिक मास्क डिलर नै रहेको प्रहरी अनुसन्धानबाट खुल्न आउँछ । मिन्टुले खड्कालाई २५ रुपैयाँमा बेचेर खड्काले ग्राहक बनेका प्रहरीलाई ३१ रुपैयाँमा बेच्न खोजेका थिए ।

सोधपुछको क्रममा मिन्टु र खड्काले डल्लुमै मास्कको गोदाम रहेको बताए । प्रहरीको सोधपुछको क्रममा उनीहरुले अलग–अलग २ वटा गोदाम देखाएका थिए । गोदाममा छापा मार्दा करिब ३० हजार मास्क बरामद भएको डीएसपी रेग्मीले बताए ।

मास्क कालोबजारी गरेको अभियोगमा काठमाडौँको बानेश्वरस्थित भरोसा फार्मेसी पनि कारबाहीमा परेको छ । फागुन २८ गते वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण विभागले मास्कसहित सर्जिकल सामग्रीमा कृत्रिम अभाव  गरेको अभियोगमा भरोसा फार्मेसीलाई २ लाख जरिवाना गरेको हो ।

विश्वभर कोरोना भाइरसको त्रास बढिरहेका बेला नेपालका अधिकांश बजारमा मेडिकल मास्क अभाव देखिएको छ । बजारमा मास्क अभाव भएसँगै अन्य समयको भन्दा १० गुणाभन्दा बढी मूल्यमा उपभोक्तालाई कालोबजारीको रूपमा मास्क बिक्री भइरहेको छ ।

सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा केही बिचौलिया र व्यवसायीले कोरोना भाइरसको निहुँमा बजारमा मास्कमा कालोबजारीसहित ब्रह्मलुट गर्न थालेका हुन् । ५ रुपैयाँ पर्ने मेडिकल मास्क बजारमा अभाव छ भने भएका केही मेडिकलले ४५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप