बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कालोबजारी गर्न लुकाइएको मास्क ओसार्न प्रहरीलाई आठवटा गाडी लाग्यो

यसरी फन्दामा परे भारतीय मूलका व्यापारी
सोमबार, ०३ चैत २०७६, १२ : ३६
सोमबार, ०३ चैत २०७६

काठमाडौँ । विश्वभर कोरोना भाइरसको त्रास बढिरहेका बेला नेपालका अधिकांश बजारमा मेडिकल मास्क अभाव देखिएको छ । बजारमा मास्क अभाव भएसँगै अन्य समयको भन्दा १० गुणाभन्दा बढी मूल्यमा उपभोक्तालाई कालोबजारीको रूपमा मास्क बिक्री भइरहेको छ ।

सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा केही बिचौलिया र व्यवसायीले कोरोना भाइरसको निहुँमा बजारमा मास्कमा कालोबजारीसहित ब्रह्मलुट गर्न थालेका हुन् । ५ रुपैयाँ पर्ने मेडिकल मास्क बजारमा अभाव छ भने भएका केही मेडिकलले ४५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् ।

सरकारले मास्कमा कालोबजारी गर्ने जो कोहीलाई पनि नछाड्ने बताएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मास्कमा कालोबजारी गर्ने जो कोही पनि कानुनी दायरामा आउने बताए ।

कालाबजारीयालाई नियन्त्रणमा लिने सरकारी अभियान अन्तर्गत सोमबार राजधानीको सतुगंलबाट ८ लाख ४९ हजार ६ सय थान मास्कसहित प्रहरीले दुई व्यापारीलाई पक्राउ गरेको छ ।

प्रहरीले विष्णुदेवी विन्दवासिनीस्थित एक घरबाट १ सय ७७ बोरा मास्क बरामद गरेको हो । यसअघि पनि सरकारले केही ठाउँमा कालाबजारी गरिएको मास्कसहित विभिन्न व्यक्तिलाई पक्रिसकेको छ ।

प्रहरीले यसमा संलग्न आरडी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुरज गोयल र उनका पार्टनर सुवास महेश्वरीलाई पक्राउ गरेको हो । भारत राजस्थान घर भएका गोयल र महेश्वरीले कोरोना भाइरसको त्रास बढिरहेको मौकामा मास्कको कालोबजारी सुरु गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

गोयल र महेश्वरी भारतीय मूलका व्यापारी रहेको प्रहरीको भनाइ छ ।

‘मास्क श्रेष्ठको घरमा रहेको गोदाममा १७७ वटा बोरामा थियो । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क निकालिएको हो,’ महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

यसअघि आइतबार साँझ काठमाडौँको कपनमा १ लाख ६८ हजार थान मास्कसहित अजिम बक मियाँ र सज्जनकुमार रेग्मी पक्राउ परेका थिए । कपनबाट प्रहरीले बा ७ च ७२६३ नम्बरको गाडी, गाडी चालक र हेल्परलाई समेत नियन्त्रणमा लिएको छ ।

मियाँ र रेग्मीलाई मास्क उपलब्ध गराएका थिए गोयल र महेश्वरीले नै । कपनमै प्लाष्टिक पसल चलाउने मियाँ र फोटो स्टुडियो चलाउने रेग्मीले उनीहरुसँग कालोबजारीमा मास्क किनेका थिए ।

बढी नाफा खान पाइन्छ भन्दै मास्क किन्न खोजेपनि प्रहरीले उनीहरुलाई फन्दामा पारेको थियो । त्यसपछि गोयल र महेश्वरीको गोदाम पत्ता लगाएर सिल गरिएमको डीएसपी बोगटीले बताए ।

बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ । डीएसपी बोगटीका अनुसार कालोबजारीको मास्क टेकु लैजान ८ वटा ट्रक चाहिएको थियो ।

यस्तै, शनिबार डल्लुबाट प्रहरीले १ लाख ६८ हजार थान मास्कसहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महाकाल मञ्जुश्री ट्रेडर्सका सञ्चालक मिन्टु तामाङ, अनिस कार्की, उज्वल अधिकारी, मानकाजी लामा, थुमराज उपाध्याय, नृप कार्की, गणेश तामाङ र शिव खड्का छन् ।


अनिस कार्की र शिव खड्काले उज्जवल अधिकारीसँग प्रतिगोटा २५ रुपैयाँमा खरिद गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । प्रहरीका अनुसार २५ रुपैयाँमा किनेको मास्क उनीहरूले ५० रुपैयाँसम्ममा बेच्ने योजना बनाएका थिए ।

डल्लु, कपन र सतुंगलमा मास्क लुकाएर राख्नेहरुबीच सञ्जाल रहेको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे काठमाडौँ प्रहरीले सोमबार दिउँसो २ बजे पत्रकार सम्मेलनमार्फत थप जानकारी दिँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप