शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उपत्यकाका देवी देवता र मनुष्यलाई पशुपतिमा जात्रा हेर्ने निम्ता

मङ्गलबार, ०४ चैत २०७६, २२ : २६
मङ्गलबार, ०४ चैत २०७६

काठमाडौं । पशुपति क्षेत्रकै सबैभन्दा लामो जात्राका रुपमा मनाइने वत्सलेश्वरी, बज्रेश्वरीको यात्रा शुरु भएको छ ।  जात्राको पहिलो दिन आज पशुपति मूल मन्दिरबाट सिफल, कालोपुल, ज्ञानेश्वर, नक्साल, कमलपोखरी, लगन, जैसीदेवल, हनुमानढोका, असन, जमल यात्रा गरी यस क्षेत्रका देवी देवतालगायत स्थानीयवासीलाई जात्रा हेर्न निमन्त्रणा गरिएको छ । यस क्षेत्रका दुध खाने र साना रुने बालकालिकालाई पनि जात्रा हेर्न निम्ता गरिने भएकाले दुदु च्याँच्याँ नामकरण गरिएको भनाइ छ ।

देशोद्धार पूजा भनेरसमेत चिनिने जात्राको निम्ता गर्न पशुपतिका भट्टकै नेतृत्वमा पैदल यात्रा गर्नुपर्ने नियम रहेको कोषका प्रशासकीय अधिकृत रेवतीरमण अधिकारीले राससलाई जानकारी दिए । यस वर्ष रामकारान्त भट्टको नेतृत्वमा निमन्त्रणा यात्रा शुरु भएको हो । आजदेखि १२ दिनसम्म पशुपति क्षेत्रमा यो जात्रा मनाइन्छ । जात्राका क्रममा बज्रेश्वरी, वत्सलेश्वरी, पिंगलामाई, गुह्येश्वरीलगायत देवीदेवताको रथ निकालिन्छ । 

देशोद्धार पूजा गरी चैत्र कृष्ण पक्षमा जात्रा चलाउन करिब २०० वर्ष अघि विश्वानन्द वैद्यले निजी गुठीका रुपमा पशुपति पारि तिलगंगाको १३ रोपनी जग्गा राखिदिएका थिए । यही जग्गाको आयस्ताले जात्रा चलाउने गरिएकामा पशुपति क्षेत्रको वृहत्तर विकासका लागि विसं २०७२ यो ठाउँ अधिग्रहण गरिएको हो । जग्गा अधिग्रहण गरी मोहीलाई मुआब्जा दिए पनि निजी गुठीलाई नदिएको काठमाडौँ महानगरपालिका–८ का पूर्ववडाध्यक्ष रहेका गुठियार सुवर्ण वैद्यले बताए ।

जात्रा चलाउने स्रोत नदिएर कोषले संस्कृति मास्न खोजेको उनको आरोप छ । जग्गाका मोहीलाई मुआब्जा दिएर जग्गा धनीलाई कोषले अन्याय गरेको उनले बताए । कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडा भने यस वर्ष जात्रा चलाउन विगत वर्षभन्दा १५ प्रतिशत बढी अर्थात् रु ३२ लाख ७१ हजार दिइएको बताउँछन् । 

पशुपतिमा यो जात्रा शुरु भएपछि नै उपत्यकामा घोडेजात्रा, विस्केट जात्रा, सिथि नख, सेतो र रातो मच्छेन्द्रनाथलगायत जात्रा शुरु हुने प्राचीन परम्परा रहेको छ । नक्साल भगवती र वत्सलेश्वरी दिदीबहिनी भएकाले दुवैको भेट गराउने अवसरका रुपा यो जात्रालाई लिने गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप