शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना सन्त्रासः अन्तर्राष्ट्रिय उडान ठप्प हुँदै

बुधबार, ०५ चैत २०७६, १९ : ३८
बुधबार, ०५ चैत २०७६

काठमाडौं । विश्वभर फैलिएको  कोरोना भाइरसको आतंकले नेपालको अन्तराष्ट्रिय हवाई उडान पूर्णतः बन्द हुने अवस्थामा पुगेको छ ।

कोरोना प्रभावित मुलुकहरुदेखि सम्भावित देशहरुले समेत धमाधम आफ्ना बोर्डर तथा पोर्टहरु लक गर्न थालेपछि हवाई उडान प्रभावित हुने देखिएको हो ।

यतिखेर विभिन्न देशहरुले आफ्नो सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै विदेशीहरुको आगमनदेखि देश भित्रने र बाहिरिने सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा बन्द गराउन थालेका छन् । 

यहीबीच बुधबार बसेको नेपाल सरकारको निर्णयले अन्तर्राष्ट्रिय उडानहरु रोकिने पक्कापक्की जस्तै भएको छ । कोरोना सुरक्षा संवेदनशिलताका लागि भन्दै सरकारले बुधबार युरोपका सबै मुलुकहरु, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरु, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया, जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाइ अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुहरुलाई २० मार्च अर्थात् चैत ७ गते देखि १५ अप्रिल अर्थात् बैशाख १८ गतेसम्म आगमनमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

युरोपियन मुलुक इटालीमा कोरोना संक्रमित बढ्दै गएका बेला नेपाल सरकारले युरोपका मुलुकहरुसँगै अन्य संक्रिमत मुलुकबाट आउने नागरिकलाई रोक लगाउने निर्णय गरेको हो । यसले अन्तर्राष्ट्रिय उडानहरु बन्द हुने संकेतलाई थप मजबुद बनाएको छ । यस्तो अवस्थामा अन्तर्राष्ट्रिय उडान अब जम्मा ५ देशमा सिमित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले रातोपाटीसँग बताए ।

‘यो समय अत्यन्त दुःखद र विषम परिस्थिति हो । कोरोनाको विश्व महामारीका कारण सबै क्षेत्र अस्तव्यस्त हुँदै गएको छ । अब सहरमा भयावहको अवस्था आउने देखिन्छ ।’ महाप्रबन्धक केसीले भने, ‘अन्तर्राष्ट्रिय हवाई क्षेत्र अब करिब–करिब शून्यमा झर्दैछ ।’

केसीका अनुसार हालसम्म नेपालसँग एओसी (अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन) सम्झौता भएका नेपाल एयरलाइन्स र हिमाल एयर लाइन्ससहित ५२ अन्तर्राष्ट्रिय एयर लाइन्सहरुको सेवा घटेर २९ मा झरिसकेको छ । झन् आजको सरकारको निर्णय त यो संख्या शून्यता तर्फ जाने स्पष्ट्र भएको केसीको भनाई छ । 

केसीका अनुसार सरकारले ठूलो संख्यामा दैनिक उडान भर्ने देशहरुमा प्रतिवन्ध लगायतसँगै अब नेपाल–अन्तर्राष्ट्रिय उडानहरु ठप्प हुने अवस्थामा पुगेको छ । यस्तो विसम परिस्थितिमा अब अन्तर्राष्ट्रिय उडान इण्डिया, चाइना, हङकङ, बैङ्कक र सिंगापुर गरी ५ देशमा मात्र सिमित हुन पुगेको छ । 

यता, वायु सेवा सञ्चालक संघका प्रवक्ता युवराज कँडेल शर्मा अब आन्तरिक बाहेक सम्पूर्ण अन्तर्राष्ट्रिय उडानहरु पूर्णरुपमा शून्यता तर्फ उन्मुख भएको बताउँछन् ।  त्रिभूवन विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडान भर्दै आएका करिब १७० उडानहरु करिब ५०–६० को संख्यामा झरिसकेकोर अबको केहि दिन भित्रै ठप्प हुने उनको भनाई छ । 

‘१७० देशमा कोरोनाको संक्रमण देखिसकेको छ । यसले उक्त मुलुकहरुको जनजीवन अस्तव्यस्त भइसकेको छ । यस्तो अवस्था बाँकी देशरुमा पनि नआउला भन्न सकिन्न् । त्यसैले सबै देशहरुले उच्च सुरक्षा सतर्कता अपनाउँदै विदेशी आगमनसँगै हवाई सेवाहरु बन्द गर्दैछन् । यस्तोमा अबको केहि दिनभित्रै आन्तरिक बाहेक सम्पूर्ण अन्तर्राष्ट्रिय हवाई सेवा ठप्प हुनेछ’ प्रवक्ता शर्माले भने ।

शर्माका अनुसार ठूलो संख्यामा दैनिक उडान भर्दै आएको एयर इन्डिया र कतार एयरलाइन्सले समेत आफ्नो सेवा करिब–करिब बन्द गरिसकेको अवस्था छ । यो समयमा अकुपेन्सी (यात्रुहरु)कै अभावमा अन्य बाँकी एयरलाइन्सहरुले समेत आफ्नो सेवा रोक्ने मनस्थितिमा पुगिसकेका छन् ।

हाल सञ्चालित एयरलाइन्सहरु पनि बाँकी रहेका विदेशि नागरिकहरु आ–आफ्नो देशमा नपुग्दा सम्मका लागि सञ्चालित छन् । अबको केहि दिनभित्रै सो प्रक्रिया रोकिने वा सम्बन्धित देशका नागरिकहरु सम्बन्धित देशहरुमा पुगिसकेपछि स्वतः अन्तर्राष्ट्रिय उठानहरु बन्द हुने शर्माको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप