बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना रोकथाममा गगन र विश्वप्रकाशबीच प्रतिस्पर्धा

बिहीबार, ०६ चैत २०७६, १६ : ५४
बिहीबार, ०६ चैत २०७६

काठमाडौँ । चीनको ऊहान शहरमा (२०१९ डिसेम्बर ३१ तारिख)मा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पहिलो पटक देखियो । ऊहानबाट फैलिएको कोभिड–१९ को संक्रमण यतिबेला विश्वका १ सय ७० देशमा पुगेको छ ।

चीनको छिमेकी मुलुक नेपालले भने अहिलेसम्म कोभिड–१९ संक्रमणको सामना गर्नुपरेको छैन । नेपाल मार्च १ तारिखमा आएर मात्र यसबारे केही सचेत देखिएको थियो ।

फागुन १८ गते (मार्च १)मा सरकारले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो ।

त्यसपछि यसको रोकथाम तथा नियन्त्रणका लागि सदनदेखि सडकसम्म बहस सुरु भयो । कोरोना रोकथाम तथा नियन्त्रण र जनचेतनाका लागि देखिनेगरी उपस्थित भए प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा र सांसद गगन थापा । सानेपा र बानेश्वरबाट सक्रिय रुपमा लागेका शर्मा र थापा सामाजिक सञ्जालमा पनि त्यतिकै सक्रिय थिए ।

१९ फागुनमा काँग्रेस प्रवक्ता एवं सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख शर्माले काँग्रेस पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी ‘सरकार र समुदायका नाममा नेपाली काँग्रेसको १४ बुँदे अपील’  गरे ।

२० फागुनमा शर्माले आफ्नो ट्वीटर ह्यान्डलमा लेखे, ‘आउनोस् फर्कौं ‘नमस्कार’ तर्फ ! हाम्रो संस्कारमा रहेको यो अभिवादन साँच्चै कति महत्त्वपूर्ण रहेछ । आज कोरोनाले त्यही मर्यादित शैलीतर्फ फर्काउँदैछ हामीलाई । एकातर्फ हाम्रो संस्कारलाई प्राथमिकता, अर्कातर्फ कोरोनाको संक्रमणबाट सतर्कता !’

त्यसको दोस्रो दिन २१ फागुनमा शर्माले पत्रकार सम्मेलन गरी काँग्रेसका तत्कालका कार्यक्रमहरु स्थगित तथा गाउँसम्म सतर्कता अभियान घोषणा गरे । 

योबीचमा थापा पनि सामाजिक सञ्जालमार्फत कोरोनाभाइरसका लक्षण र बच्ने उपायबारे सन्देश दिन व्यस्त थिए ।

१३ फागुनमा उनले आफ्नो ट्वीटर ह्यान्डलमा ‘कोरोना भाइरस के हो ? यो कसरी सर्छ ? यसका लक्षणहरू के–के हुन्छन् ? संक्रमणबाट बच्नका लागि के–कस्ता उपायहरु अपनाउन सकिन्छ ?’ भन्ने भिडियो सन्देश सार्वजनिक गरेका थिए ।

सरकारले १९ फागुनमा कोरोना रोकथाम र नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन गरेपछि सोही दिन जोखिमसँग जुध्न राष्ट्रिय संकल्प जरुरी रहेको थापाको भनाइ थियो ।

उनले ट्वीटरमा लेखेका थिए, ‘कोरोना भाइरसमुक्त नेपालभन्ने लहडी कुराबाट मुक्त भएर जोखिमको सम्बन्धमा सरकारका पछिल्ला निर्णय ठिक छन् तर अपर्याप्त छन् । संसदमा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छौं । जोखिमसँग जुध्न राष्ट्रिय संकल्प जरुरी छ ।’

प्रधानमन्त्रीको आधिकारीक ट्वीटर ह्यान्डलमा मेन्सन गर्दै थापाले अगाडि लेखेका थिए, ‘पीएम नेपाल हामी सरकारलाई प्रश्नमात्रै होइन मद्दत गर्न चाहन्छाैं ।’

२३ फागुनमा कोरोना भाइरस संक्रमणको जोखिमका सन्दर्भमा सदनमा जरुरी सार्वजनिक महत्त्वको प्रस्तावसहित उनी बहसमा उत्रिए । सदनमा उक्त प्रस्तावमाथि गर्मागर्मी बहस पनि भएको थियो ।

यता शर्माले सोही दिन सरकारलाई कोरोना रोक्ने ‘रियाक्सन’ ले कि ‘एक्सन’ ले भन्दै प्रश्न तेस्र्याइरहेका थिए । ‘कोरोनाको खतरा बढ्दा विद्यालय बन्द गर्नुपर्दछ नै, तर खतरा भित्रिन सक्ने तराईका नाका पुरै खुला राखेर विद्यालय बन्दले मात्र कोरोनाको संक्रमण रोक्न सकिने हो र ?,’ उनले हेलो सरकारलाई मेन्सन गर्दै लेखेका थिए, ‘हेलो सरकार सिमा नाकामा स्वास्थ परीक्षण बेगर निर्वाध प्रवेश किन जारी छ ? कोरोना रोक्ने‘रियाक्सन’ ले कि ‘एक्सन’ ले ?’


शर्माले प्रश्नमात्र गरेनन् । सोही दिन विभागका तर्फबाट कोरोना भाइरसबाट ‘त्रसित नबनौं, सतर्क बनौं’ भन्दै आफ्नै भ्वाइसओभरमा ४ मिनेट ९ सेकेन्डको भिडियो सन्देश जारी गरेका थिए ।

विश्व स्वास्थ संगठन (डब्लूएचओ) ले उच्च जोखिममा रहेकोे राष्ट्र भनेर नेपाललाई समेत घोषित गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर राष्ट्रिय पहलकदमी आवश्यक रहेको शर्माको भनाइ थियो ।

२६–२७ फागुनमा होली पर्व मनाउँदा पनि थापा र शर्माले कोरोना रोकथाम र बच्ने उपायमा नै जोड दिएको पाइन्थ्यो । २८ फागुनमा कोरोना रोकथाक तथा नियन्त्रण समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सर्वदलीय बैठक राखेको थियो । यसअघि बालुवाटरमा हुने सर्वदलीय बैठकमा प्रवेश नपाउने थापाले यसपटक भने प्रवेश पाए ।

काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नगएर संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणसँगै थापालाई बालुवाटार पठाए ।

उच्चस्तरीय समितिलाई थापाले विशेष सुझाव दिएपछि समिति संयोजक ईश्वर पोखरेलले धन्यवाद दिएका थिए । 

चैत २ गते थापाले नेपाल टेलिकमका कार्यकारी निर्देशकको कार्यकक्षमै पुगेर कोरोना संक्रमणको सतर्कताका लागि सचेतनामूलक सीआरबीटी राखिदिन अनुरोध गरेको थिए ।

बिहीबारबाट टेलिकमले  सीआरबीटीमा करोना भाइसरका लक्षण र बच्ने उपायबारे जानकारी दिने गरेको छ । बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले त्यसका लागि टेलिकमका कार्यकारी निर्देशकलाई धन्यवाद दिएका छन् ।

सन्देशको विषय र क्रममा स्वास्थ्य मन्त्रालयले धेरै काम गर्नुपर्ने उनको भनाइ छ । विहीबार साझ ७ बजेपछि उनीले कोरोना भाइरसका सन्दर्भमा फेसबुक लाइभ गर्दैछन् ।

बुधबारमात्र थापाले कोरोना भाइरसको जोखिमका सम्बन्धमा सरकारले तत्काल चाल्नुपर्ने आवश्यक कदम र तयारीका क्रममा रहेको ग्याप पुरा गर्ने उपायहरूका विषयमा संयोजक पोखरेललाई ध्यानाकर्षण–पत्र बुझाएका थिए ।

त्यसपछि बसेको उच्चस्तरीय समिति बैठकले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह आग्रह गर्दै एसईई स्थगितलगायतका निर्णय लिएको थियो ।
कोरोनाबारे पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले निरन्तर सक्रियता देखाइरहेको पाइन्छ । 

कोरोनाले निम्त्याएको जुहारी

कोरोना भाइरसबाट बच्नका लागि पार्टीका सबै कार्यक्रम स्थगित गरिए पनि नेता शेखर कोइरालाले भने योबीचमा कार्यकर्ता भेटघाट र सार्वजनिक कार्यक्रम जारी राखे ।

३० फागुनमा प्रवक्ता शर्माले कोइरालालाई सार्वजनिक कार्यक्रममा सहभागी नहुन टेलिफोनमार्फत आग्रह गरेका थिए । त्यसले काँग्रेसमा आरोप–प्रत्योरोपको अवस्था सिर्जना भयो ।

कोइराला र थापाले कसैले कसैलाई निर्देशन दिन आवश्यक नरहेको टिप्पणी गरे । यता शर्माले आकांक्षाको बजार प्रवद्र्धन र आरोपमा अलमलिँदा राजनीतिले समयको परिस्थितिलाई ख्याल गर्नुपर्ने जवाफ फर्काएका थिए ।
शर्मा र कोइरालाको जुहारी चलिरहेका बेला सोमबार कृष्णप्रसाद सिटौला समूहले पनि पार्टी निर्णय विपरीत २ सयबढी कार्यकर्ताका बिच कार्यक्रम गरेको थियो ।

उक्त कार्यक्रमपछि थापाले रातोपाटीसँग कसैले कसैलाई निर्देशन दिन आवश्यक नभएको बताएका थिए । शर्मा र कोइरालाको जुहारीतर्फ संकेत गर्दै थापाले भने, ‘कसैले कसैलाई निर्देशन दिने वा कसैले कसैलाई जवाफ फर्काउने भन्ने हिसाबले होइन ।’

पार्टी निर्णय विपरीत भएको कार्यक्रमलाई थापाले बैठकको लेपन लगाएका थिए । थापाले भने, ‘कार्यक्रमको पूर्वतयारी त चार–पाँच सय मान्छेसहित भेला गर्ने थियो । तर सोमबार कुनै भेला नगरेर बैठक मात्र गरौँ । यो स्वरुपको बैठक गर्ने सोच पनि थिएन । हामी १५–२० जना साथीहरुमात्र बस्ने बन्ने थियो । एकले अर्कालाई खबर गर्दै जाँदा केही ठूलो हुन गयो ।’

कोरोनाबारे काँग्रेसको तयारी
कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन पछिल्लो समय काँग्रेस सभापति देउवाले तातेका छन् ।

सभापति देउवाले बुधबार मात्र कोरोना भाइरस संक्रमणको विषयमा नेपाल मेडिकल एशोसिएसनका पदाधिकारी तथा वरिष्ठ चिकित्सकहरुसँग परामर्श गरेको प्रवक्ता शर्माले जानकारी दिए ।

देउवाले बुधबार आफ्नै निवासमा मेडिकल एशोसिएसनका नवनिर्वाचित पदाधिकारी तथा वरिष्ठ चिकित्सकहरुसँग कोरोना भाइरसको संक्रमणबाट नेपाल र नेपालीहरुलाई के कसरी बचाउन सकिन्छ र त्यसमा पार्टीले के कस्तो र कसरी भूमिका निर्वाह गर्न सकिन्छ भन्ने परामर्श लिएका थिए ।

यसका लागि पार्टी पदाधिकारीहरुसँग पनि चिकित्सकहरुले बुधबार अपरान्ह पार्टी कार्यालय सानेपामा छलफल गरेका थिए । 

प्रवक्ता शर्माका अनुसार चिकित्सकहरुको परामर्शपछि पार्टी जिल्ला कार्यसमिति, विभिन्न भातृ संस्था र शुभेच्छुक संस्थाका सदस्यहरुलाई कोरोना भाइरसबाट बच्न र बचाउन जनचेतना अभियान संचालनका लागि काँग्रेसले निर्देशन दिनेछ ।

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले ३ चैतमा प्रेस विज्ञप्ति जारी गरी कोरोनाभाइरसको संक्रमणबाट बच्न सबैले स्वयंबाट समाजिक दुरी काम राख्नुपर्ने जनाएका थिए ।

उनले अत्यावश्यक काम कुराकानी टेलिफोन सम्पर्कबाट सुरु गर्न आग्रह गरेका थिए ।

यस्तै ४ चैतमा काँग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)कोे संयोजनमा ८ विद्यार्थी संगठनबीच कोरोना भाइरसबाट बच्ने र बचाउने उपायबारे छलफल भएको थियो । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप