बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘कोभिड–१९ परीक्षणबाट पुष्टि नहुनुलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्‍यो’

बिहीबार, ०६ चैत २०७६, १८ : १९
बिहीबार, ०६ चैत २०७६

काठमाडौं । सांसदहरुले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बालगृह र अनाथालयमा समेत पर्न सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बिहीबारको बैठकमा सांसदहरुले बालगृह, अनाथालाय र कारागारमा कोरोना  भाइरस संक्रमणको उच्च जोखिममा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद सुवासचन्द्र नेम्वाङले बढी भिड हुने स्थानहरुमा बालगृह, अनाथालय र कारागार पनि रहेको भएपनि यसतर्फ कसैको ध्यान नगएको भन्दै सरकारले समयमै व्यवस्थापन गर्नका लागि समितिले निर्देशन दिनुपर्ने बताए ।

उनले भने, ‘बालबालिका जम्मा भएका बालगृहहरु, अनाथालयहरु यो पनि अप्ठेरो अवस्थामा छ भन्छन, हामीले यसबारेमा प्रस्ट एउटा छुट्टै बुँदा, यो कारागार, बालगृह र अनाथालय यिनिहरुको बारेमा सरकारले गर है आवश्यक कार्य भनेर भन्दिनु राम्रो हुन्छ ।’

सांसद बालकृष्ण खांणले शंका लागेर अस्पताल पुग्ने सबै बिरामीको कोभिड–१९ परीक्षण हुनुपर्ने बताए । उनले केही बिरामीलाई सरकारले परीक्षण नै नगरी फर्काएको समाचार आएको उल्लेख गर्दै सबैलाई परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्ने बताए । सांसद खाँडले परीक्षणका लागि बजेट आवश्यक भए अन्यत्रको कटौती गरेर भएपनि व्यवस्था गर्न माग गरे ।

उनले भने, ‘छ भने भेटिएन भन्न झन दुर्भाग्यपूर्ण भयो नि । यदि यो संक्रमणको प्रभाव नेपालमा छ केही व्यक्तिहरु संक्रमित छन् । तर परीक्षणबाट त्यसको पुष्टि भएन भने त झन डरलाग्दो भयो । एकै चोटी घरमा आगो लागेजस्तो भयो । त्यसैले गर्दा परीक्षणलाई नै राज्यले गम्भीरतापूर्वक लिनुप-यो । त्यसका लागि पैसा लाग्छ भने बरु अरु पैसा कटौति गरौं न राज्यको साधन स्रोतलाई पूर्णतः एकढंगले केन्द्रिकृत गरेर यसको नियन्त्रण गर्नु नै हाम्रो मुल चुनौति र सफलता हो ।’

सांसदहरुले अहिलेसम्म कुनै संक्रमण नदेखिनु राम्रो भएको तर परीक्षण नै नभएर नदेखिएको भए स्थिति नियन्त्रण भन्दा बाहिर जान सक्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप