मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

शुक्रबार बिहानै फाँसीमा झुण्डिदैछन् यी ४ दोषी, जल्लादले लिए ब्ल्याक बक्सको साँचो

शुक्रबार, ०७ चैत २०७६, ०० : ०५
शुक्रबार, ०७ चैत २०७६

एजेन्सी । भारतमा निर्भया बलात्कार–हत्याकाण्डका ४ आरोपीहरुलाई शुक्रबार झुण्ड्याएर फाँसी दिइँदैछ । शुक्रबार बिहान ५ बजेर ३० मिनेटमा उनीहरुलाई तिहाड जेलमा फाँसी दिने तयारी गरिएको हो । बिहीबार दिल्ली उच्च अदालतले दोषीहरुलाई मृत्युदण्ड दिन नहुने भन्दै दायर गरिएको रिट खारेज गरेको छ । अदालतको यो फैसलासँगै उनीहरुलाई फाँसी दिन लागिएको भारतीय सञ्चारमाध्याहरुले जनाएका छन् ।

४ जनालाई फाँसी दिनका लागि जल्लाद पवन जेल परिसरमा तयारी अवस्थामा रहेका छन् । उनकै नेतृत्वमा ४ दोषीलाई झुण्ड्याएर फाँसी दिइनेछ । यसअघि जल्लादले बिहीबार राती दोषीहरुलाई झुण्ड्याउने तयारीका लागि ट्रयायल गरेका छन् । त्यसपछि उनलाई जेल वार्डेनले सेल नम्बर ३ मा रहेको फाँसी दिने घरमा लगेका थिए ।

फाँसी दिने घरको तयारीको बारेमा छलफलपछि जल्लादहरुलाई जेलरले फाँसी घरमा अवस्थित ब्याल्क बक्सको साँचो हस्तान्तरण गरिसकेका छन् । श्रोतलाई उदृत गर्र्दै भाष्कर दैनिकले लेखेको छ, ‘जेल अधिकारीको उपस्थितिमा फलामको बक्स खोलिएको थियो ।

यस बक्समा ४ वटा ब्याग र डोरीका गुथाहरु तयारी अवस्थामा राखिएका छन् । यो दौरानमा फाँसी दिने जल्लादहरुले जेल अधिकारीहरुबाट बक्समा राखिएका सामानहरु र चाबी लिएको भन्दै एक पत्रमा हस्ताक्षरसहितको स्वीकृति लिएका छन् ।’ जेल प्रशासनले फाँसी जल्लादलाई ३ दिन पहिले नै बोलाएको थियो । जल्लाद पवनले फाँसी दिने कामको नेतृत्व गरिरहेका छन् ।

सन् २०१२ को डिसेम्बर १६ मा दिल्लीमा मेडिकल कलेजकी छात्रा निर्भयाको बलात्कारपछि हत्या भएको थियो । बलात्कारपछि गम्भीर घाइते निर्भयाको डिसेम्बर २६ मा सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनाको ९ महिनापछि अर्थात सन् २०१३ मा तल्लो अदालतले ५ दोषीलाई फाँसीको सजाय सुनाएको थियो । जसमा रामसिंह, पवन, अक्षय, विनय र मुकेश रहेका थिए ।

त्यसपछि मार्च २०१४ मा उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजाय सुनाएको थियो । मुद्धा चलिरहेकै बेला मुख्य दोषी रामसिंहले तिहाड जेलमै झुण्डिएर आत्महत्या गरेका थिए । अर्का एक दोषी नाबालक भएको भन्दै केही वर्ष सुधार गृहमा राखेर रिहा भैसकेका छन् । बाँकी रहेका ४ जनालाई शुक्रबार फाँसी दिन लागिएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप