केन्द्रीय संस्करण
१० औं स्मृति दिवस विशेष

गिरिजा बाबुको अभाव खट्किएको छ

person explore access_timeचैत ७, २०७६ chat_bubble_outline1

यो कालखण्ड अर्थात् आधुनिक नेपालको पछिल्लो कालखण्डका शान्ति नायकका रूपमा लिइने गिरिजाप्रसाद कोइरालाको महाप्रयाण भएको पनि १० वर्ष भएछ ।  जो छैन, उसको त स्मरण गर्ने हो । कसैको स्मरण गर्दा पनि कारण त चाहिन्छ । गिरिजा बाबुको स्मरण गर्दा पछिल्लो कालखण्डमा उहाँले सुरु गरेको शान्ति प्रक्रियाको त्यो दूरगामी प्रयत्नकै प्रसङ्ग सबैको स्मृतिमा ताजै छ । पछिल्लो पुस्ताका लागि त्यो दन्त्यकथाको विषय जस्तो पनि हुनजान्छ ।

यही बेलामा सबैको ध्यान बम र बन्दुकको भाषा मात्र बोलिरहेको तत्कालीन नेकपा माओवादीलाई आफू सत्तामा समेत नभएको बेलामा पनि शान्ति प्रक्रियामा ल्याएर मूलधारको संसदीय राजनीतिमा ल्याउने क्रान्ति र शान्तिका मिश्रित संवाहक गिरिजाप्रसाद कोइरालाको स्मरण हुन थालेको छ । यसो त २०६६ साल चैत ७ गते उहाँको निधन भएकाले पनि चैतको योबेला पनि उहाँलाई स्मरण गर्ने नै समय हुँदै हो ।

जहाँसम्म तत्कालीन नेकपा माओवादीको प्रसङ्ग छ, उसको मान्यताविपरीत उसलाई लोकतान्त्रिक मूलधारमा ल्याउन गिरिजा बाबुले निर्वाह गर्नुभएको भूमिकाका लागि नै आजको कृतज्ञ नेपाल र नेपालीले लाखौँ वर्षसम्म सम्झिरहनेछन् । उहाँले सशस्त्र सेना भएको एउटा हिंसामा विश्वास गर्ने दललाई सहमति, सम्झौता र सहकार्य रूपी शान्तिपूर्ण मार्गबाट नेपाली राजनीतिमा स्थापित गर्नुभयो जुन प्रजातान्त्रिक संस्कार थियो र प्रजातन्त्रप्रतिको अटुट आस्था र अविचलित सिद्धान्त थियो ।

पछिल्लो अवस्थामा उहाँप्रतिको सम्मानमा कमी देखिन्छ, उहाँको पार्टीभित्र र सरकारबाट पनि । उहाँको कर्म गर्ने तर त्यसको परिणामलाई भविष्यमा छोड्ने बानीले धेरै कुरामा नेपाल निःसर्त अगाडि बढेको थियो । भारत र चीनसँगको सम्बन्धमा उहाँको स्पष्ट धारणा भएकाले विवाद देखिएन र पश्चिमाहरुसँग उहाँको एउटै गुनासो थियो, उनीहरु प्रजातन्त्रको कुरा त गर्छन् तर तेस्रो विश्वमा प्रजातन्त्रलाई दिगो रूप दिन रुचि देखाउँदैनन् । 

उहाँको व्यक्तित्वले पनि मुलुकको श्रेय बढेको थियो जसले गर्दा सत्तामा हुनु वा नहुनुभन्दा उहाँको धारणाप्रति अन्तर्राष्ट्रिय जगत चासो राख्थ्यो । भन्नुहुन्थ्यो— तत्कालीन श्रीलङ्काका राष्ट्रपति महेन्द्र राजापाक्षे (जो अहिले प्रधानमन्त्री छन् श्रीलङ्कामा)ले तमिल विद्रोहीविरुद्ध जुन बाटो रोजे श्रीलङ्कामा, मैले त्यो बाटो रोजिनँ । जे परिणाम आओस्, म शान्ति प्रक्रियामा माओवादीलाई ल्याएरै छोड्छु । यो भनाइ राजापाक्षेले उहाँलाई निवासमै भेटेर कुरा गरेपछि सुनाउनु भएको थियो कार्यकर्ताहरुलाई ।

नेपाल नयाँ नयाँ सङ्कथनमा जेलिएको छ र कुन चाहिँ तर्क र सङ्कथन आजका लागि आवश्यक हो भन्ने कुरामा नै एकमत हुनसक्ने अवस्था देखिएको छैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड बहुमतको सरकार छ तर राजनीतिक कुरामा अलमल छ । कुन कामलाई प्राथमिकता दिने र कुन कामलाई प्राथमिकता नदिने भन्नेमा  अलमलमा परेको देखिन्छ ।

*****

नेपालको राष्ट्रिय सेना सदैव मेरा पक्षमा छन् भनी सधैँ लोकतन्त्रलाई बन्धक बनाउने यहाँ राजतन्त्र पनि थियो । जनवादी गणतन्त्रका लागि सशस्त्र युद्धरत माओवादी पनि सेनासहित यही देशमा थियो । एउटा निहत्था व्यक्तिले सशस्त्र समूहलाई हतियार बिसाउन उत्प्रेरित ग¥यो, राजालाई गद्दी छोड्न बाध्य पा¥यो र दुवैथरिले यो प्रक्रियाको कारक तत्व लोकतान्त्रिक प्रणाली नै रहेको स्वीकार गरे । 

*****

राजनीतिको प्रक्रिया पनि अलमलमा नै जेलिएको छ । मुलुकले राजनीतिक रूपमा स्थिरता पाउन सकेको देखिँदैन । मानिएको थियो– स्थिर सरकार आएपछि पक्कै पनि मुलुकले राजनीतिक रूपमा सहमति र सहकार्यको रूपरेखामा काम गर्नेछ ।  एकातिर विखण्डनको नारा लगाउने सीके राउत नयाँ जनमत नामक पार्टी खोलेर निर्वाचन आयोगमा दर्ता भएर निर्वाचनमा भाग लिए तर  मधेसले उपनिर्वाचनमा वास्ता गरेन भन्ने छ । पहिलेको माओवादीले समेत नेकपा भएर चलाएको सरकारले पहिलेको माओवादीको एउटा भँगालो भूमिगत नेकपा विप्लव समूहले चलाएको क्रियाकलापलाई प्रतिबन्ध लगाएको अवस्था छ ।

सीके राउतको विखण्डन नीतिमा  देखिएको भनिएको परिवर्तन र विप्लव समूहप्रति सरकारको लगाएको प्रतिबन्ध दुवैमा फरक फरक सङ्कथन प्रयोग भएको पाइएको छ । धेरै विवादसँग यी दुई धारणा कसरी मुखरित होलान् भावी दिनमा ? तर्क जारी छ । आफूलाई मधेस राज्यको प्रतिनिधि मान्ने पक्ष मूलधारमा आएको मानिन्छ एकातिर भने आफूलाई राष्ट्रवादी कम्युनिस्ट मान्ने शक्ति प्रतिबन्धित हुन पुगेको छ । बमको भाषा बोलिरहेको छ ।

सरकार भन्छ— विखण्डनवादी अखण्डतामा आएकोमा किन टाउको दुख्छ होला ? अनि आतङ्क मच्चाउने र चन्दा असुली गरेर दुःख दिनेलाई प्रतिबन्ध लगाउँदा किन कोकोहोलो हुन्छ ? फेरि अतीतको माओवादी पक्षलाई सरकारले ध्वस्त पारेको भनिन्छ एकातिर भने अर्कोतिर उनीहरु अझ सशक्त बनेको बताउन थालेका छन् । विवादास्पद भनाइ आइरहेका छन् । एउटा नेपाली उखान छ– फर्सीमाथि चुलोसी परे पनि या चुलेँसीमाथि फर्सी परे पनि काटिने त फर्सी नै हो । सरकारबाट गल्ती हुँदा होस् कि दलहरुबाट गल्ती हुँदा होस् मार पर्ने त नेपाललाई नै हो ।

गिरिजाबाबुमा एउटा दृढता थियो प्रजातन्त्र भनौँ या लोकतन्त्रप्रति विश्वास थियो प्रजातान्त्रिक वा लोकतान्त्रिक परिपाटीमा । उहाँ, जस्तोसुकै अवस्थामा पनि लोकतन्त्रका प्रतिको आफ्नो विश्वासमा कतै आँच आउन दिनु हुन्थेन । अरू त अरू, लोकतन्त्रविरुद्ध तत्कालीन अवस्थामा जोजो  लागे, ती सबैलाई उहाँले लोकतन्त्रका पक्षमा लाग्न प्रेरित गर्नुभयो । त्यसमा प्रतिबद्धता जनाउनसमेत मौका दिनुभयो ।

यसको स्पष्ट अडान २०४६ सालको संयुक्त जनआन्दोलनमा देखियो । जुनजुन आस्थामा जोजो भए पनि, जोजो लोकतन्त्रका पक्षमा देखिए वा रूपान्तरित भए, ती अहिले पनि मूलधारको राजनीतिमा लोकतान्त्रिक प्रक्रियामा देखिएका छन् । त्यसको उदाहरणमा लिन सकिन्छ, त्यो बेलाको नेकपा माले पछि गएर एमाले भयो अनि तत्कालीन संयुक्त जनमोर्चा जोपछि गएर नेकपा माओवादी बन्यो । अहिले आएर मूलधारको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएर प्रजातान्त्रिक सरकारको एकीकृत दलको रूपमा छ ।

राजतन्त्रलाई समेत लोकतन्त्रका पक्षमा लाग्न रूपान्तरित हुन मौका दिँदा आफ्नो मुढेबलका आधारमा, संविधानमा बाँधिएको भनिएको राजतन्त्र असंवैधानिक रूपमा प्रस्तुत हुँदा राजतन्त्र नेपाली राजनीतिबाट सदाका लागि बिदा भयो । तर फ्रान्समा जस्तो राजतन्त्रका पक्षधर वा राजा वा राजपरिवारलाई सखाप नगरी मुलुकको राजनीतिमा लागिरहनका लागि छुट दिनु नै गिरिजा बाबुको महान लोकतान्त्रिक निष्ठा थियो । त्यसको प्रशंसा  जति गरे पनि सकिँदैन । प्रजातान्त्रिक मूल्यको कसरी परिपालन हुन सकेको रहेछ भन्ने अहिले आएर स्पष्ट भएको छ ।

गिरिजा बाबुको हक्की स्वभावका कारणले कतिपयलाई  गाह्रो पनि परेको थियो होला । उहाँको लोकतन्त्रप्रतिको निष्ठाका कारणले कतिपयलाई उहाँको व्यक्तित्वलाई आफ्नो पक्षमा अनुवाद गर्न अप्ठ्यारो पनि परेको थियो होला । उहाँको लोकतन्त्रप्रतिको योगीझैँ सैद्धान्तिक तथा व्यावहारिक जीवन प्रक्रियाले कतिलाई नेपाली काँग्रेस एउटा चपाउन र पचाउन  नसकिने कडा वस्तुझैँ पनि लागेको थियो होला । जीवनका उत्तराद्र्धमा उहाँमा दिनानुदिन बढ्दै गएको लोकतान्त्रिक प्रक्रियाप्रतिको आस्था र प्रयोगको झन् विस्तारित रूप नै आजको सङ्घीय लोकतान्त्रि गणतन्त्र नेपाल हो ।

एउटा अचम्भ के भयो भने राजतन्त्रले समेत गणतन्त्रका पक्षमा आफूलाई सहर्ष स्वीकार गरेको र नेपाली सेनाले समेत आफूलाई गणतन्त्रको पक्षमा अनुवादित गरेको यो क्षण नै नेपाली राजनीतिको अनुपम समय थियो । वास्तवमा राष्ट्रिय मेलमिलाप त्यही थियो र समाज रूपान्तरणको एउटा अनुपम उदाहरण पनि त्यही थियो । यसमा गिरिजाबाबु नै केन्द्रीय भूमिकामा देखिनु भएको थियो । त्यो बेलामा गिरिजाबाबु नै राज्यको महत्तम कार्य सम्पादन गर्ने ठाउँमा नहुनुभएको भए..., उत्तर अनुत्तरित नै रहने छ । 

एउटा कुरामा भोलिको पुस्ताले कति विश्वास गर्लाः यहाँ राजतन्त्र पनि थियो । यहाँ जनवादी गणतन्त्रका लागि सशस्त्र युद्धरत माओवादी पनि सेनासहित यही देशमा थियो, एउटा निहत्था व्यक्तिले सशस्त्र समूहलाई हतियार बिसाउन उत्प्रेरित ग¥यो । राजालाई गद्दी छोड्न बाध्य पा¥यो र दुवैथरिले यो प्रक्रियाको कारक तत्व लोकतान्त्रिक प्रणाली नै रहेको स्वीकार गरे । आफू निहत्था नै रहेर जनसेना भएका माओवादीलाई पनि लोकतन्त्रको मूलधारमा ल्याउने र नेपालको राष्ट्रिय सेना सदैव मेरा पक्षमा छन् भनी सधैँ लोकतन्त्रलाई बन्धक बनाउने राजालाई पनि लोकतन्त्रको न्यानो अभिभावकत्वमा शरण दिने दुवै काम एकै पटक भए । त्यसैले गिरिजा बाबुलाई सदैव सम्झिनु पर्दछ भन्ने राजनीतिक विश्लेषकहरुको तर्क रहँदै आएको छ ।

त्यस्तो जटिलतम र सङ्क्रमणकालको अत्यन्त तरल अवस्थामा पनि अन्तरिम संविधान ल्याउने, संविधान सभाको निर्वाचन गर्ने र मूलधारको राजनीतिमा आएको माओवादीलाई सत्ता सुम्पँदै आफू प्रमुख प्रतिपक्षमा बसेर उसलाई बाटो देखाउने काम भएको थियो । यो एक प्रकारको किंवदन्ती हो । यस्तो काम नेपालमा सहजताका साथ गिरिजा बाबुको नेतृत्वमा सम्पन्न भएको थियो । आजको तेस्रो विश्वमा त्यस्ता नेता अहिले चाहिँ देखिएका छैनन् । नेपालमा उहाँको कमी अहिले सबैलाई महसुस भइरहेको हुनुपर्छ ।

शान्ति, संविधान र त्यसपछिको लोकतान्त्रिक नेपालको चाहना नै गिरिजा बाबुको चाहना थियो र त्यो चाहना पूरा गर्नका लागि आपसमा एक भएर सहमतिका साथ अघि बढ्नुको कुनै विकल्प थिएन र आज पनि छैन ।

हामी कृतज्ञ नेपालीले गिरिजा बाबुको सम्झना गर्दा एउटा साहसी, दृढनिश्चयी, आफ्नो विश्वासमा सदैव अटल र लोकतन्त्रका एक महारथीको रूपमा लिनुपर्दछ । आजको आधुनिक नेपालमा उहाँको नेतृत्व नभएको भए के हुन्थ्यो भन्ने कुरा चाहिँ इतिहासको जिम्मा लगाउनु नै श्रेयस्कर हुनेछ ।

आज हामी नेपाली मोडेलको शान्ति प्रक्रिया भनेर जेलाई भन्दछौँ, त्यही नै कोइराला मोडेल थियो जुन संसारमै अनुपम उदाहरण मानिन्छ । त्यसैले पनि ती शान्ति नायकप्रति श्रद्धासुमन चढाउनु आफ्नो कर्तव्य हुनजान्छ ।

शान्ति, संविधान र त्यसपछिको लोकतान्त्रिक नेपालको चाहना नै गिरिजा बाबुको चाहना थियो र त्यो चाहना पूरा गर्नका लागि आपसमा एक भएर सहमतिका साथ अघि बढ्नुको कुनै विकल्प थिएन र आज पनि छैन । आज हामीले उहाँलाई सम्झने भनेको नै त्यसैप्रतिको आफ्नो आस्था एवम् विश्वासलाई पुनः ताजा गराउनु हो । उहाँप्रतिको सम्मान भनेको नै लोकतन्त्रप्रतिको आस्था र सम्मान नै हो । उहाँ बारम्बार भन्ने गर्नेहुन्थ्यो– लोकतन्त्रको विकल्प भनेको लोकतन्त्र मात्र हो ।

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. March 20, 2020, 12:01 p.m. ramsharan pandey
    you dhila morera Nepal ko yo abasta aayo. 1 no. ko bhrasachar ho yo
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.