शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कक्षा १०, ११ र १२ को परीक्षासम्बन्धी ‘फेक’ सूचनाले विद्यार्थीलाई तनाव

बुधबार, १९ चैत २०७६, २० : ४७
बुधबार, १९ चैत २०७६

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डको नामबाट सामाजिक सञ्जालमा आएको एउटा ‘फेक’ सूचनाले विद्यार्थीहरुमा भ्रम सिर्जना गराएको छ । सो सूचनामा कक्षा १०  को स्थगित भएको परीक्षा वैशाख २१ गतेदेखि हुने र कक्षा ११ र १२ को परीक्षा निर्धारित मितिमै हुने उल्लेख गरिएको छ । 

तर राष्ट्रिय परीक्षा बोर्डले यसबारे कुनैपनि निर्णय नभएको भन्दै भ्रममा नपर्न आमविद्यार्थी तथा अभिभावकलाई अनुरोध गरेको छ । 

बोर्डका अध्यक्ष डा चन्द्रमणि पौडेलले कोरोना भाइरसको संक्रमणको जोखिमका कारण बोर्डको बैठक नै बस्न नसकेको भन्दै परीक्षाबारे कुनै निर्णय नभएको रातोपाटीलाई जानकारी दिए । 

आफूले पनि फेक सूचनाबारे जानकारी पाएको भन्दै उनले अफबाह फैलाउनेलाई कारबाहीको दायरामा ल्याउन प्रहरीमा उजुरी दिनका लागि सदस्यसचिव दुर्गाप्रसाद अर्याललाई निर्देशन दिइसकेको बताए । 

‘चैत १२ गते बोर्ड बैठक बसेको भनेर भ्रम फैलाइएको रहेछ । तर अहिले बोर्ड बैठक बस्नै सकेको छैन’, उनले रातोपाटीसँग भने, ‘सदस्य सचिवकै नाम राखेर फेक सूचना आएको मैले थाहा पाएपछि, अफबाह फैलाउनेलाई कानुनी कारबाहीमा ल्याउनका लागि प्रहरीमा अनुरोध गर्न सदस्यसचिव दुर्गाप्रसाद अर्याललाई भनिसकेको छु ।’ अप्रिल फुल मनाउन कसैले यस्तो अफबाहपूर्ण सूचना बनाएको  हुनसक्ने भन्दै उनले जसले जुन नियतले गरेकाे भएपनि त्याे दण्डनीय हुने बताए । 

उनले लकडाउन र कोरोनाको त्रास कति समय लम्बेला भन्नेमै अन्योलता रहेको अवस्थामा अहिले नै परीक्षा तालिकाबारे निर्णय लिन नसकिने बताए । 

उनका अनुसार कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेदेखि र कक्षा ११ को परीक्षा बैशाख २१ देखि तय भएको छ । तर कोरोनाको कारण त्यो समयमा  परीक्षा हुने-नहुनेमै अन्योल रहेको भन्दै अवस्था सहज भएपछि बोर्ड बैठक बसेर आवश्यक निर्णय लिइने उनले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप