शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तरिका बदलियो व्यस्तता उस्तै

ट्रान्समिसनको चेनलाई ब्रेक गरौं, स्थिति सामान्य भएपछि सँगै बसौँला : परशुराम कुँवर क्षेत्री, सिइओ, ग्लोबल आइएमई बैंक
सोमबार, २४ चैत २०७६, ०८ : ३४
सोमबार, २४ चैत २०७६

लकडाउन अघि र पछिको उनको कार्यव्यस्ततामा खासै परिवर्तन आएको छैन । परिवर्तन भएको छ त मात्र काम गर्ने तरिकामा । पुरानो दैनिकीमा ब्रेक लागेको छ, दौडधुप पनि छैन तर कार्यालयको कामको चाप भने यथावत छ । हुन त उनी कुनै कुनै दिनमात्र कार्यालय पुग्छन् ।

कोरोनाको त्रास छ, सामाजिक र भौतिक दुरी कायम गर्नुपर्ने भएकाले सकेसम्म कार्यालय जान नपरोस् ।  नपरोस् भन्ने हो तर पनि कहिले काहीँ नपुगी हुँदैन । कहिले कर्मचारीको मनोबल बढाउन त कहिले काम कै लागि कार्यालय पुग्नु पर्छ ।

महामारीबाट सुरक्षित रहन सरकारले मुलुकलाई नै लकडाउन गरेपनि अत्यावश्यक सेवा क्षेत्रमा पर्ने बैंकिङ्ग र यहाँ कार्यरत कर्मचारी ढुक्कले बस्न पाएका छैनन् । योबेला रकमको माग, सामान खरिदका लागि बैंकिङ्ग प्रकृयाका साथ कर्जाको पनि काम हुने हुँदा बैंकरहरु आफ्ना ग्राहकको समस्या समाधानमा नै केन्द्रित भएको बताउँछन् ।

नेपालमा संचालित २७ वटा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा ठूलो वाणिज्य बैंक हो ग्लोबल आइएमई बैंक । सो बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीको व्यस्ततामा लकडाउनलले कुनै असर गरेको छैन । कहिले बोर्ड, कहिले म्यानेजमेन्ट टिम त कहिले ग्राहकसँगको छलफलमै उनको दिन बित्छ । उनी आफ्ना ग्राहकको समस्या सुन्छन् अनि समाधानमा लाग्छन् । प्रायः सबै क्षेत्र ठप्प हुँदा पनि उनले आफ्नो लागि समय निकाल्न सकेका छैनन् ।

ग्लोबल आइएमई बैंकले सबैभन्दा पहिला ‘कोरोनाभाइरसको महामारी नियन्त्रण, रोकथाम तथा उपचार कोष’मा एक करोड सहयोग गर्यो । यो सहयोग बैंकको तर्फबाट राज्यका लागि भयो भने जनता र आफ्ना ग्राहकका लागि बैंकका कर्मचारीले रातदिन खटेर सेवा प्रदान गरिरहेको सिइओ कुँवर बताउँछन् ।

हामीले आफ्नो लागि समय निकाल्न नसकेका उनै सिइओ कुँवरको लकडाउन डायरी तयार पारेका छौं, जसमा उनको दैनिकीमात्रै होइन कि उनको विचारलाई पनि समेटिएको छ ।

तरिका बदलियो व्यस्तता उस्तै

बिहानदेखि बेलुकासम्म कार्यालयकै काममा व्यस्त रहन्छु । काम गर्ने तरिकामात्र बदलिएको छ, व्यस्तता भने उस्तै नै छ ।

कुनैदिन बिहानै कार्यालय जान्छु । केही महत्वपूर्ण काम पर्यो भने र कहिलेकाहीँ कर्मचारीको मनोबल बढाउनका लागि पनि कार्यालय पुग्छु । होइन भने धेरैजसो समय घरमै हुन्छु । घरमा रहँदा पनि भिडियो कन्फेरेन्सबाट बोर्ड मिटिङ, म्यानेजमेन्ट लेभलको मिटिङलगायत अन्य मिटिङहरु चलिरहन्छ । कर्जा नविकरण, कर्जा स्वीकृति पनि अहिले घरबाटै हुन्छन् । जसको आवेदन अनलाइनबाट आइरहेका हुन्छन् र भिडियो कन्फेरेन्सबाट सम्वन्धित विभाग प्रमुखहरुसँग छलफल गरी निर्णय लिने गरेका छौं ।

अहिले भौतिक रुपका कार्यालयमा उपस्थित भएर काम नगरेको मात्र हो, कार्यालयबाट हुने सबै काम घरबाटै भइरहेका छन् । शाखाहरु कुन कुन खुले, अब भोलि कुन कुन खोल्ने, कर्मचारीको अवस्था, ग्राहकको आवश्यकता, गुनासो सुन्ने अनि समाधानका लागि शाखाहरुमा समन्वय भइरहेको हुन्छ । भिडियो कन्फेरेन्सबाटै छलफल गरी टुंगो लगाउने काम गर्छौं ।

हामी हाम्रा ग्राहकलाई बैंकमा पैसा छ तर निकाल्न नपाएर औषधि, खाद्यान्न तथा अन्य अत्यावश्यक सामान खरिद गर्न नसक्ने अवस्था नआओस् भनेर सतर्क छौं ।

न परिवारलाई समय दिन पाएको छु न त आफूलाई

कोरोनाभाइरसको महामारी फैलिनबाट रोक्न सरकारले मुलुकलाई लकडाउन गर्यो । सबै क्षेत्र बन्द भए । धेरै मानिस फुर्सदिला भएको बताइरहेका छन् तर हामी बैंकरहरुको व्यस्ततामा भने कमी आएको छैन ।

मैले पनि फुर्सद पाएँ भने परिवारसँग समय बिताउने, आराम गर्ने, अध्ययन गर्ने सोच बनाएको थिएँ तर न त परिवारलाई समय दिन पाएको छु न त आफ्नो लागि केही गर्न नै । परिवारलाई त म घरमा छु भन्ने मात्र भएको छ । अहिले भने परिवारसँगै बसेर खाना खान पाइन्छ । सँगै बसेर खाँदा र घरभित्रै रहँदा सबैलाई ढुक्क भने भएको छ । सुरक्षित रहेको महशुस परिवारलाई छ र विहान देखि बेलुकासम्म कार्यालयमा रहने मान्छे घरमै रहँदा परिवारलाई भने अलि सहज भएको छ ।

बाहिर दौडने हतारो छैन त्यसैले कहिले काहीँ अलि फुर्सद हुँदा भने समाचार अनि विश्वको अवस्था के भइरहेको छ भन्नेतिर नै बढी ध्यान जान्छ ।

अब समाज विस्तारै डिजिटाइजेशनमा जान्छ

पहिले देखि नै बैंकिङ्ग कारोबार डिजिटाइजेशनको प्रकृयामा थियो । मुलुक लकडाउन भएपछि भने हामी बैंकिङ्ग क्षेत्रले मात्रै होइन सरकारले नै जनतालाई बैंकिङ्ग कारोबार डिजिटल्ली (विद्युतीय माध्यमबाट) गर्न आग्रह गरेपछि अहिले डिजिटल कारोबार ह्वात्तै बढेको छ ।

जसरी हामी अहिले फोनबाट देश विदेशमा रहेका आफ्ना परिवार, नातेदार तथा साथीभाईसँग चाहेको बेला जोडिन सक्छौं, अडियो÷भिडियोबाट संवाद गर्न सक्छौं । अझ यो महामारीले हाम्रा आफन्त तथा साथीभाइसँगको भौतिक दुरी बढाए पनि मनको दुरी घटाएको छ । हामी सवैबारे चासो राख्न थालेका छौं । को कहाँ कस्तो अवस्थामा छ जानकारी लिन थालेका छौं । यो निकै सकारात्मक पाटो हो । यो सब डिजिटाइजेशनको कारणले भएको हो । म पनि समय हुनेबित्तिकै विदेशमा रहेका परिवारका सदस्य अनि अफन्तहरुसँग कुराकानी गर्छु, अहिलेको हालखबरबारे जानकारी राख्छु । महामारीले सामाजिक र भौतिक रुपमा दुरी कायम गर्न बाध्य भयौं तर प्रविधिले हामीलाई नजिक ल्याइदिएको छ ।

यसैगरी भौतिक दुरी कायम गर्नकै लागि ग्राहकहरु बैंकको शाखामा पुग्नु नपर्ने गरी डिजिटल प्रविधिको प्रयोग गरी बैंकिङ्ग कारोबार गर्न हामीले आग्रह गरिरहेका छौं । प्रविधिको प्रयोग बढेसँगै समस्याहरु पनि बढी नै हुन्छन् । हामी ग्राहकको समस्या समाधानमा बिहानदेखि बेलुकासम्म जुटेका छौं । डिजिटल्ली कनेक्ट हुन नसक्ने ग्राहकका लागि भने शाखाबाटै सुविधा उपलब्ध गराइराखेका छौं ।

अब समाजले डिजिटल प्रविधिलाई आत्मसाथ गर्दै जाने पक्का छ । अब बैंकिङ्ग कारोबार मात्रै होइन, डिस्टेन्स लर्निङको अवधारणा अगाडि आएका छन् । अब अनलाइनबाट पढाइ हुन थालेका छन्, अनलाइनबाट खरिद बिक्री हुन थालेका छन्, एक ठाउँबाट अर्को ठाउँ जानको लागि अनलाइनबाटै व्यवस्था मिलाउन सकिन्छ । त्यसैगरी, पत्रपत्रिका किन्नको लागि घन्टौं हिडेर जानुपर्दथ्यो तर अहिले हातमै समाचार आउँछ । त्यसैले सामाजिक दुरी कायम राख्न बैंकिङ्गलाई मात्रै होइन, सबै क्षेत्रलाई डिजिटाइजेशनमा लैजान जरुरी छ र यो अवधारणा विकास हुन थालिसकेको छ ।

महामारी नियन्त्रणमा सरकारलाई सहयोग गरौं

यो विश्व महामारी हो र यो तत्काल रोकिने अवस्थामा छैन । सरकारले हामीलाई जे गर्न भनेको छ त्यो मानौं । आफू र समाजलाई सुरक्षित राख्नमा मद्दत गरौं ।

म कार्यालय जानै पर्ने बाहेकको अवस्थामा घरमै बस्छु । जान परेको खण्डमा विशेष सुरक्षा सतर्कता अपनाएर मात्रै जान्छु । घरबाटै सबै काम गरिरहेको छु । आफ्ना कर्मचारीलाई पनि कुनै समस्या नहोस् र सकेसम्म कार्यालन जान नपरोस् भनेर ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेका छौं ।

ग्राहकलाई आग्रह गर्न चाहन्छु कि तपाईहरुको सुरक्षा कै लागि बैंकको शाखासम्म नआउनुस्, एटीएमबाट नगद झिक्ने गर्नुस् भनिएको हो । एटीएममा हामी सँधै नगद भर्ने गरेका छौं । केही समस्या आएमा शाखा प्रमुख तथा सम्वन्धित कर्मचारीलाई फोन गरेर सेवा लिनुस् । तपाईको समस्याको सुनुवाई गर्न हामी तयार छौं । हामी हाम्रा कर्मचारीको सुरक्षा चाहन्छौ र हाम्रा ग्राहकको पनि । त्यसैले सरकारले भने जसरी दुरी कायम राखौं । यहाँ जीवनको सवाल छ ।

अहिले साउथ एशियामा कोरोना महामारी फैलिने क्रममा छ । भारत, पाकिस्तान, माल्दिभ्स अफगानिस्तान, भूटानलगायत देशमा केशहरु बढ्दै गइरहेको छ । हाम्रो देशमा जुन अवस्था छ यसलाई बढ्न नदिन हामी जनता नै सजग हुनुपर्छ ।

अहिले यूरोप, अमेरिकाको अवस्थाबाट हामीले पाठ सिक्न जरुरी छ । स्पेन, इटाली, फ्रान्स, नेदरल्याण्ड, अमेरिका जस्ता विकसित मुलुकले त यो महामारी थेग्न नसकेको अवस्थामा हाम्रो देशमा फैलियो भने त थेग्न गाह्रो छ ।

यो ट्रान्समिसनको चेनलाई ब्रैक गरौं । सबै सचेत भएर सामाजिक दुरी कायम राखौं । भोलि स्थिति सामान्य भएको खण्डमा त हामी हाम्रो समाज छँदैछ नि ।

अर्थव्यवस्था पुरानो अवस्थामा आउन समय लाग्छ

महामारीका कारण विश्व अर्थतन्त्रमा नै गम्भिर असर परेको छ । हाम्रो देशको अवस्था के हुने हो आंकलन गर्न गाह्रो छ । महामारीको अवस्था सकिएपछि पनि अर्थव्यवस्थालाई पुरानो ठाउँमा आउन धेरै समय लाग्ने अनुमान गर्न सकिन्छ । यो स्थिति लम्बिदै जाने हो भने कर्जाको गुणस्तर खस्किने खतरा बढेको छ र गुणस्तरमा पनि प्रश्न उठ्ने देखिन्छ । हाम्रो देशको अर्थतन्त्र पनि ४÷५ वर्ष पछाडि धकेलिने सम्भावना बढी छ ।

अहिले हामीले पुरै शाखा खोलेर कारोबार गर्न सकेको छैनौं । ग्राहक आवतजावत छैन । ७५÷८० प्रतिशत कारोबार घटेको छ । कारोबार १५÷२० प्रतिशतमा सीमित छ । बैकिङ्ग क्षेत्रको अवस्था के हुने हो भन्न सक्ने अवस्था नै छैन । यही अवस्था लम्बियो भने बैंकको बिजनेशमा पनि नराम्रो असर पर्ने निश्चित छ ।

त्यसैले, सबैलाई आग्रह गर्छु, सरकारले भनेजसो गरौं । विश्वले अपनाएको लकडाउनको नियमलाई पालना गरौं । तपाई हाम्रा ग्राहकलाई कुनै समस्या परेमा सम्वन्धित व्यक्तिलाई सम्पर्क गरी सेवा लिनुस् । सकेसम्म शाखामा नजानुस् । तपाईको सुविधाका लागि हामी कुनै पनि समय तयार छौं ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप