शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चार्टर्ड फ्लाइटको कमिसन रोक्न निगम नेतृत्वलाई योगेश भट्टराईको निर्देशन

नियतवश एजेण्ट घुसाइएको भए कारवाहीका लागि तयार रहन चेतावनी
सोमबार, २४ चैत २०७६, १२ : ४४
सोमबार, २४ चैत २०७६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगमको ‘चार्टर्ड फ्लाइट’ बापतको कसिमन एजेन्टलाई नदिन नेपाल वायुसेवा निगमका नेतृत्वलाई निर्देशन दिएका छन् । अष्ट्रेलियन दूतावासले आफ्ना २ सय ५२ नागरिकलाई स्वदेश लैजानका लागि गरेको निगमको ‘चार्टर्ड फ्लाइट’मा एजेन्टको रुपमा घुसाइएको भनिएको बोन ट्राभल्सलाई कमिसन बापतको भुक्तानी हाललाई रोक्न मन्त्री भट्टराईले निगम नेतृत्वलाई निर्देशन दिएका हुन् ।

मन्त्री भट्टराईले निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्द र कमर्सियल डिपार्टमेण्टका निर्देशक टंकनिधि दाहाललाई एजेन्टलाई दिने भनिएको कमिसन बापतको भुक्तानी हाललाई रोक्न निर्देशन दिँदै एजेन्ट घुसाइएको विषय स्पष्ट पार्न भनेका हुन् । यसअघि निगमको चार्टर्ड फ्लाइटमा ट्राभल एजेन्सी घुसाएर २७ लाख रुपैयाँभन्दा बढी नोक्सानी गरेको समाचार प्रकाशन भए लगत्तै मन्त्री भट्टराईले तत्कालै निगमका नेतृत्वलाई बोलाएर त्यसबारे स्पष्ट पार्न निर्देशन दिएका थिए ।

मन्त्री भट्टराईले निगमको नेतृत्वलाई बोलाएर विषय स्पष्ट पार्न भनेपछि निगमको वाणिज्य विभागले भने अष्ट्रेलियन दूतावासले नै चार्टर्ड सेवा सहजीकरणका लागि बोन ट्राभल्सलाई एजेन्ट नियुक्तिका लागि लेखेको पत्रको कारण बोन ट्राभल्सलाई ‘एजेन्ट’ तोकिएको जानकारी गराएको थियो । तर, मन्त्री भट्टराईले एजेन्ट घुसाएको विषयमा सबै तथ्य तथा प्रक्रिया सबै स्पष्ट पार्न भनेका छन् । नियतबस एजेन्ट घुसाएर अनियमितता गरिएको भए यसमा संग्लनलाई कारबाहीको दायारामा ल्याउने चेतावनी पनि मन्त्री भट्टराईले दिएका छन् ।

टंकनिधि दाहाल

अष्ट्रेलियन दूतावासले दिएको काठमाडौं–अष्ट्रेलिया–काठमाडौं उडान बापतको ४ लाख ३९ हजार २ सय डलर र प्रत्येक यात्रुको ट्याक्स समेत गरी ५ करोड ४८ लाख ४३ हजार रुपैयाँ निगमको खातामा जम्मा भइसकेको छ । बोन ट्राभल्सले ‘एजेन्ट’ भएर काम गरे बापत ५ प्रतिशत अर्थात् २७ लाख ४५ हजार ७ सय ७० रुपैयाँ पाइसकेको समाचारहरु प्रकाशित भएको छ । तर, निगमका निमित्त महाप्रबन्धक गणेशबहादुर चन्दले अष्ट्रेलियन दूतावासले तिरेको पैसा निगमको खातामा जम्मा भएको र बोन ट्राभल्सलाई कसिमन बापतको रकम दिइ नसकिएको बताए । चन्दले भने, ‘त्यो निगमकै खातामा छ, बोन ट्राभललाई कमिसनवापत कुनै रकम दिइएको छैन ।’

गत बुधबार निगमको जहाज काठमाडौँबाट अष्ट्रेलियन नागरिक बोकेर अष्ट्रेलियाको ब्रिसबेन उडेको थियो । नेपाल एअरलाइन्सले प्रतिघण्टा १८ हजार १ सय डलरका दरले चार्टर वापतको शुल्क लिएको थियो । निगमले २५ घण्टा (काठमाडौं–अष्ट्रेलिया–काठमाडौं) उडानको चार्टर वापतको रकम ५ करोड ४९ लाख १५ हजार ४ सय रुपैयाँ तिरेको हो । यही उडानमा नेपाल वायुसेवा निगमले एजेन्ट घुसाएर अनियमितता गरेको समाचार रातोपाटीले बाहिर ल्याएपछि पर्यटन तथा नागरिक उड्डयनमन्त्री भट्टराईले निगममाथि ‘एक्सन’ लिएका हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप