केन्द्रीय संस्करण
लकडाउनमा शिक्षा

अनस्कुलिंग अर्थात अ–विद्यालय : एउटा फरक अभ्यास

लकडाउनमा शिक्षा

person explore access_timeबैशाख ५, २०७७ chat_bubble_outline0

अहिले केही हप्ता विद्यालय बन्द हुँदै अभिभावकहरू आत्तिन थालेका छन् । कारण हो, आफैंले जन्माएका बच्चाहरूसित दिन बिताउन पर्नु ! तर अचम्मको कुरा, केही वर्षअघि जब म भारतको मुम्बइ र पूना गएको थिएँ, त्यहाँ केही अभिभावक भेटें जसले आफ्ना बच्चाहरूलाई कहिल्यै विद्यालय पठाएनन् । के ती अभिभावक गरीब वा अशिक्षित भएर विद्यालय नपठाएका हुन् ? एकदमै होइन, ती अभिभावक अत्यन्त शिक्षित र बौद्धिक समुदायका हुन् । बौद्धिक स्तर उच्च भएकैले तिनले आफ्ना सन्तानलाई विद्यालय नपठाएका हुन् । अझ घरमा पढाउने शिक्षक (होम स्कूलिंग) पनि राखेका थिएनन् ।

बुझ्दै जाँदा थाहा पाएँ, यो अन–स्कूलिंग (Unschooling) अभियान भरखर सुरु भएको होइन । तिनका सन्तान अहिले वयस्क भइसके । उनीहरू आफ्ना व्यवसायमा पनि लागिसके । मुख्य कुरा के हो भने उनीहरूले आफ्ना सन्तान विद्यालय गएका बालबालिकाभन्दा फरक पाएका छन् । त्यो फरक के हो भने विद्यालय नगएका उनीहरूका सन्तान विद्यालय गएका आफन्तका सन्तानहरूभन्दा धेरै कुरामा अब्बल छन् । तिनीहरूको भनाइमा उनीहरू—

–      बढी बुद्धिमान छन् ।

–      बढी सामाजिक र सबै उमेरका मानिससित मिलनसार छन् ।

–      बढी सिर्जनशील छन् ।

–      बढी जिज्ञासु छन्, सिक्नको लागि तत्पर छन् ।

–      बढी कार्यमूलक छन् ।

–      समस्या समाधानमा राम्रा छन् ।

–      ज्ञानको घेरा वृहद छ ।

–      मानवीय भावना बढी छ ।

सबभन्दा महत्त्वपूर्ण कुरा —

–      बढी स्वाभाविक छन्, र

–      बढी खुशी छन् ।

अझ महत्त्वपूर्ण कुरा अभिभावकहरू आफ्ना सन्तानबाट खुशी छन् र बालबालिकाहरू आफ्ना अभिभावकसित खुशी छन् । उनीहरू जागीर खोज्न भौंतारिरहेका छैन । आफैं रोजगार सिर्जना गर्न सक्षम छन् । मैले भेटेको एकजना अभिभावकको सत्र वर्षिय छोरा भिडियो निर्माण र सम्पादन कार्यबाट राम्रै आम्दानी गरिरहेका छन् ।

अनस्कूलिंग विद्यालय विरोधी होइन

आफ्नो सन्तानलाई विद्यालय नपठाउने सोही अभिभावकले एकै दिन पाँच गरीब विद्यार्थीलाई विद्यालय पठाउनको लागि एउटा सामाजिक संस्थालाई चन्दा दिइन् । उनीहरू विद्यालयविरोधी होइनन् । उनीहरूको भनाइ हो, अशिक्षित अभिभावक वा घरमा सिकाइ वातावरण बनाउननसक्ने अभिभावकलले निश्चय पनि आफ्ना छोराछोरीलाई विद्यालय पठाउनैपर्छ । तर घरमै सिकाइ वातावरण सिर्जना गर्नसक्नेको लागि विद्यालयभन्दा घर बढी उपयुक्त विकल्प हो । उनीहरूले विद्यालय नपठाउन पनि भन्दैनन्, किनभने सबै अभिभावक शिक्षित हुँदैमा आफ्ना बालबालिकाको लागि उपयुक्त सिकाइ वातावरण बनाउनसक्ने हुँदैनन् । केही अभिभावकले आफ्ना छोराछोरीलाई केही वर्ष अनस्कूलिंग गरिसकेर फेरि विद्यालय पठाएका पनि छन् । यसलाई उनीहरूले नकारात्मक रूपमा लिँदैनन् । कोही बालबालिका भने ठूलो भएपछि विज्ञान, गणितजस्ता विश्वविद्यालय गएरै पढ्नुपर्ने विषयमा रुचि भएकाले विश्वविद्यालय भर्ना भएका पनि छन् । यसको लागि प्राइभेटबाट प्रवेशिका दिने व्यवस्था छँदै छ । विद्यालय नगएका तिनीहरूले विश्वविद्यालयमा राम्रै गरिरहेका छन् । किनभने त्यो तिनको रुचि र छनौटको विषय भयो ।


उनीहरू विद्यालयविरोधी होइनन् । उनीहरूको भनाइ हो, अशिक्षित अभिभावक वा घरमा सिकाइ वातावरण बनाउननसक्ने अभिभावकलले निश्चय पनि आफ्ना छोराछोरीलाई विद्यालय पठाउनैपर्छ । तर घरमै सिकाइ वातावरण सिर्जना गर्नसक्नेको लागि विद्यालयभन्दा घर बढी उपयुक्त विकल्प हो ।


आफ्ना बालबालिकालाई अनस्कूलिंग गरिरहेका अभिभावकहरूले अरुलाई अनस्कूलिंग गर्न वकालत गर्दै पनि हिँड्दैनन् । तर कसैले गर्नचाहेमा आफ्नो अनुभवबाट उपयुक्त सलाह दिएर सघाउँछन् । उनीहरू भन्छन् पनि, अनस्कूलिंग सबै अभिभावकको वशको कुरा पनि होइन । तर अहिले त बन्दाबन्दीको समय थपिँदै गएको अवस्था हामी वाध्यात्मक परिस्थितिमै अनस्कूलिंग स्वतः भइरहेको अवस्थामा छौं । त्यसैले यसबेला अनस्कूलिंगको बारे केही कुरा जान्नु राम्रो हुन्छ । तर त्यसभन्दा पहिला स्कूलिंग अर्थात विद्यालय शिक्षालाई पनि पुनरावलोकन गर्नु जरुरी छ ।

शिक्षा — खाए खा नखाए घिच्

अनस्कूलिंगभन्दा अघि डिस्कूलिंग (deschooling)  अभियान अन्तर्गत आजभन्दा आधा शताब्दीअघि विद्यालय विरोधी विचारधारा पनि प्रबल भएको थियो । हुन त अठारौं शताब्दीको मध्यमै जीन ज्याक्स रुसोले संस्थागत शिक्षा प्रणालीको विरोध गरेका थिए । उनले भनेका थिए, “शिक्षाको महान कार्य भनेकै बुद्धि–विवेक भएको मानिस बनाउनु हो । अनि हामी यो काम बालक/बालिकालाई बुद्धि–विवेकको निश्चित तालिम दिएर सम्पन्न गर्ने आशा राख्छौं । यो त अन्त्यलाई नै सुरुमा ल्याउने वा परिणामलाई नै उपकरण बनाउने जस्तो भयो । यदि बालबालिकाले बुद्धि–विवेक प्रयोग गर्छन् भने शिक्षा चाहियो नै किन ?” उनको भनाइको अर्थ हो शिक्षाले बुद्धि–विवेक जगाउन मदत गर्नुपर्ने हो, न कि सत्ताले निश्चित तोकेको बुद्धि–विवेकलाई सुनिश्चित ढाँचामा ‘खाए खा नखाए घिच्’ भनेर पस्कने । पाठ्यक्रम, पाठ्यसामग्री, कक्षाकोठा, परीक्षा प्रणाली भनेको त त्यही नै हो ।

अभिभावकलाई बालबालिका हुर्काउने शिक्षा खै?

संस्थागत शिक्षाको विरोध हुनुको धेरै कारण छन् । पहिलो कारण त यो हो कि विद्यालय बालबालिकाकोभन्दा अभिभावकको आवश्यकता हो । यो बालबालिकाको छनौट होइन, अभिभावकको छनौट हो । अभिभावकहरू बच्चा पाइसकेपछि सकेसम्म छिटोभन्दा छिटो आफ्नो बच्चाबाट टाढा हुनचाहन्छन् । ताकि उनीहरू कमाउनमा लाग्नसकियोस् वा आफ्नै किसिमले समय व्यतीत गर्नसकियोस् । पहिलो कुरा त अभिभावकहरू बच्चा जन्माउन त जान्दछन् तर हुर्काउन जाँदैनन् । यस्तो परिस्थितिमा आफ्नै बालबालिकासित दुइचार दिन व्यतीत गर्दा पनि आत्तिनु अनौठो कुरा होइन । नभए त आफ्नो बालबालिकासँग बस्नपाउनुभन्दा ठूलो आनन्द अरू के हुन्छ ?


पहिलो कुरा त अभिभावकहरू बच्चा जन्माउन त जान्दछन् तर हुर्काउन जाँदैनन् । यस्तो परिस्थितिमा आफ्नै बालबालिकासित दुइचार दिन व्यतीत गर्दा पनि आत्तिनु अनौठो कुरा होइन । नभए त आफ्नो बालबालिकासँग बस्नपाउनुभन्दा ठूलो आनन्द अरू के हुन्छ ?


संसारमा सानोभन्दा सानो काम गर्न पनि लाइसेन्स लिनुपर्छ । जस्तो कि, एउटा स्कूटर चलाउन पनि सिक्नुपर्छ, लाइसेन्स लिनुपर्छ । संसारमा एउटै काम यस्तो छ जसको लागि न कुनै प्रशिक्षण चाहिन्छ, न लाइसेन्स । त्यो हो आमा–बुबा बन्नु ! यस्तो अवस्थामा आफ्नो सन्तानलाई पन्छ्याउने सबभन्दा सजिलो उपाय हो — विद्यालय पठाउने । कतिले त आवासीय विद्यालयमा राखेर सधैंको लागि पन्छ्याउँछन् । अनि सन्तानले आमाबुबालाई वृद्धाश्रम राख्दा के फरक प¥यो त ? यसैले गर्दा विद्यालयको ठूलो व्यापार चलेको छ, केवल व्यापारै चलेको छ । यो व्यापार अभिभावकले गर्दा चलेको छ । अहिलेको बन्दाबन्दीको अवस्थामा तपाईंसित आफ्ना बालबालिका छन् भने त्यसलाई अवाञ्छित अवस्था होइन, वरदानमयी अवसरको रूपमा लिनुपर्छ । यो सोचले धेरै कुरा सकारात्मक बनाउँछ ।

विद्यालय शिक्षाको अन्धकार पक्ष

अभिभावकको पहिलो समस्या बच्चा कसरी हुर्काउने भन्ने कुरा नजान्नु हो भने अर्को समस्या शिक्षाबारे नबुझ्नु । शिक्षा कहाँबाट सुरु भयो, किन भयो, यसले आफ्ना बालबालिकालाई के गर्छ शायदै अभिभावकलाई थाहा होला । शिक्षाका केही फाइदा त तिनलाई थाहा होला तर बेफाइदा थाहा नहोला ।

फ्रान्सेली दार्शनिक लुइ अलथुस्सर भन्छन् शिक्षाको उदेश्य भनेको शासक वर्गको विचारपद्धती लाद्ने र त्यसलाई उचित ठहर्‍याउनु हो । त्यति मात्र नभई शासक वर्गलाई शासन गरिरहन सक्षम बनाउनको लागि आवश्यक व्यवहार र प्रवृत्ति जनमानसमा स्थापित गर्नु हो । त्यसैले स्कूल (विद्यालय) भनेको स्कूलिंग (निश्चित विचारधाराको प्रशिक्षण) नै हो । यसमा विद्यार्थीले स्वत्व गुमाउँछ, चाहे त्यो अन्तरात्माको स्व–त्व होस् वा आफ्नो सामाजिक, सांस्कृतिक स्व–त्व । यो त हामी प्रत्यक्ष देखि नै रहेका छौं कि विद्यालयले कसरी विद्यार्थीहरूलाई आफ्ना मूल्यमान्यताबाट अपरिचित गराइरहेको छ वा त्यसप्रति हीनभावना पैदा गराइरहेको छ । यो शासक जातिले इच्छाअनुरुपको एउटै भाषा, एउटै भेष अनि एकनासको बुद्धि र व्यवहार उत्पादन गर्ने कारखाना हो ।


फ्रान्सेली दार्शनिक लुइ अलथुस्सर भन्छन् शिक्षाको उदेश्य भनेको शासक वर्गको विचारपद्धती लाद्ने र त्यसलाई उचित ठहर्‍याउनु हो । त्यति मात्र नभई शासक वर्गलाई शासन गरिरहन सक्षम बनाउनको लागि आवश्यक व्यवहार र प्रवृत्ति जनमानसमा स्थापित गर्नु हो । त्यसैले स्कूल (विद्यालय) भनेको स्कूलिंग (निश्चित विचारधाराको प्रशिक्षण) नै हो । यसमा विद्यार्थीले स्वत्व गुमाउँछ, चाहे त्यो अन्तरात्माको स्व–त्व होस् वा आफ्नो सामाजिक, सांस्कृतिक स्व–त्व ।


यो त जगजाहेर कुरा हो कि भारतीय उपमहाद्वीपमा सार्वजनिक शिक्षा भनेको अँग्रेजले आफ्नो राज्य टिकाउन, अनि आफ्ना कारखानाको लागि निम्न तहका कर्मचारी उत्पादन गर्न सुरु गरेको हो । वर्तमान शिक्षाको जग त्यहीँ छ । त्यसैले अहिले पनि यहाँका शिक्षितहरू तिनै अँग्रेजका मुलुकमा निम्नस्तरीय काम गर्न जानुलाई नै आफ्नो जीवनको उच्चतम उदेश्य ठान्छन् । परिणाम त्यही नै भइरहेको छ । आफैंलाई चिन्ने र आफैं गरिखान सक्ने बनाउने त यो शिक्षाको उदेश्य नै होइन ।

अमेरिकी अर्थशास्त्री सामुइल बल्स र हर्बट जिन्टिस भन्छन् — विद्यालय भनेको विद्यार्थीलाई भोलि कारखाना वा कार्यालयमा मालिकले आदेश दिएको कार्यलाई वफादारीपूर्वक सम्पन्न गराउनको लागि बनाइएको संरचना हो । कक्षाकोठामा शिक्षक हुन्छ जसले निर्देशन दिन्छ, मूल्यांकन गर्छ र दण्ड वा पुरस्कार निश्चित गर्छ । कार्यालयमा पनि हाकिम हुन्छ, उसको निर्देशन चल्छ र उसैले मूल्यांकन गर्छ । सबै विद्यार्थीबाट एकै खाले व्यवहारको आशा गरिन्छ । फरक मन पराइँदैन । कार्यालयमा पनि एकै खाले व्यवहारको आशा गरिन्छ । काममा कुनै खुशी जोडिएको हुँदैन, अर्थ जोडिएको हुँदैन । यन्त्रवत व्यवहार पुरस्कृत हुन्छ । फेरि विद्यालयमा शिक्षक, प्रधानाध्यपक आफैं पनि एउटा ठूलो पद्धतिअन्तर्गत सञ्चालित हुन्छ, जसलाई अनुशरण गर्नुबाहेक ऊसित कुनै विकल्प हुँदैन । कार्यालयको हाकिमको अवस्था पनि त्यही हो । त्यहाँ संस्थापन हुन्छ, संरचना हुन्छ, एकनासको जमात, अनुशरण गर्ने भीड हुन्छ । मात्र स्व–त्वको लागि कुनै स्थान हुँदैन । बल्स र जिन्टिसले गरेको अध्ययनले कम प्राप्तांक पाउने विद्यार्थी ती हुन् जो सिर्जनशील, आक्रामक र स्वतन्त्र प्रकृतिका छन् । यी कुरा संस्थापनको लागि खतराजनक छन् ।


वास्तवमा अहिले हाम्रा छोराछोरीहरू विद्यालय नजाँदा उसको स्व–त्वको विकासकोलागि ठूलो अवसर हुनसक्छ । अहिलेको अन्यौलपूर्ण जीवन भनौं वा महामारीको कठोर वास्तविकतासँग परिचित हुनु के आफैंमा एउटा ठूलो शिक्षा होइन ?


वास्तवमा अहिले हाम्रा छोराछोरीहरू विद्यालय नजाँदा उसको स्व–त्वको विकासकोलागि ठूलो अवसर हुनसक्छ । अहिलेको अन्यौलपूर्ण जीवन भनौं वा महामारीको कठोर वास्तविकतासँग परिचित हुनु के आफैंमा एउटा ठूलो शिक्षा होइन ? ‘एडभर्सिटि इन्टेलिजेन्स’ अहिलेको एउटा ठूलो विषय हो — विपतकालमा पनि बुद्धिलाई स्थिर राख्ने क्षमता । यो क्षमता उनीहरूले अहिले नै हासिल गर्छन् भने भोलिको जीवनमा उनीहरू कठिनभन्दा कठिन परिस्थितिहरूसित सहजै खेल्नसक्छन् । यस्तो बुद्धि विद्यालयले दिनसक्दैन ।

संक्षेपमा भन्दा विद्यालय गएर विद्यार्थीले साक्षरताका केही कुरा सिक्छन् भने धेरै महत्त्वपूर्ण कुरामा सम्झौता गर्छन् । शिक्षाप्रणाली जमातको लागि तयार गरिएको हुनाले पहिलो कुरा त आफ्नो स्वतन्त्र ‘स्व–त्व’ नै गुमाउँछन् । अन्य गुमाउने कुराहरू हुन्—

–      आफ्नो इच्छाले सिक्ने विषयको छनौट

–      स्वतन्त्रतापूर्वक सोच्ने सीप

–      आलोचनात्मक विचार

–      सिर्जनशीलता

–      आत्मिक प्रस्फुरण

–      प्रतिभाको प्रस्फुरण

–      सिक्नुमै रमाउने प्रवृत्ति

–      काममै खुशी हुने प्रवृत्ति

–      जीवन र कार्यमा अर्थको खोज

–      आफैं गरिखाने बुद्धि

मैले केही गोल्डमेडलिस्टहरूलाई भेटेको छु । तिनीहरूले सिकाइप्रतिको रुचि, सामाजिकता, विनम्रता र सहयोगको भावनामा धेरै सम्झौता गरिसकेको पाउँछु ।

विज्ञान, गणितजस्ता केही विषयमा बाहेक, वास्तवमा जति मानिस प्रतिभावान बने तिनीहरू विद्यालय शिक्षाबाट प्रतिभावान बनेका होइनन् । बरु विद्यालयमा धेरै वर्ष बिताउँदा तिनको प्रतिभा विकासको लागि व्यवधान भएको हुनसक्छ । भनौं संगीत, कला, साहित्य, खेलकूद जस्ता क्षेत्रको लागि विद्यालय वा विश्वविद्यालयको शिक्षा सहायक भएको छैन । अनस्कूलिंगका प्रवक्ताहरूको विचार हो कि कुनै बालक वा बालिकाले कलाको कुनै क्षेत्रमा लाग्न चाहन्छ भने उसलाई सानैबाट आफ्नो प्रतिभाअनुसारको शिक्षा ग्रहण गर्न किन नदिने ? उसले एक डेढ दशक जमातले पढ्ने शिक्षा पद्धतिबाट गुज्रनै पर्ने हो त ? के त्यो  अनावश्यक रूपमा समय र प्रेरणा खेर फाल्ने काम भएन र ?


विज्ञान, गणितजस्ता केही विषयमा बाहेक, वास्तवमा जति मानिस प्रतिभावान बने तिनीहरू विद्यालय शिक्षाबाट प्रतिभावान बनेका होइनन् । बरु विद्यालयमा धेरै वर्ष बिताउँदा तिनको प्रतिभा विकासको लागि व्यवधान भएको हुनसक्छ । भनौं संगीत, कला, साहित्य, खेलकूद जस्ता क्षेत्रको लागि विद्यालय वा विश्वविद्यालयको शिक्षा सहायक भएको छैन । अनस्कूलिंगका प्रवक्ताहरूको विचार हो कि कुनै बालक वा बालिकाले कलाको कुनै क्षेत्रमा लाग्न चाहन्छ भने उसलाई सानैबाट आफ्नो प्रतिभाअनुसारको शिक्षा ग्रहण गर्न किन नदिने ?


अरू केही नभए पनि यो बन्दाबन्दीको समयमा अभिभावकहरूले आफ्ना बालबालिकासित सम्वाद बढाउनसक्छन् । उनीहरूका रुचिमा साथ दिनसक्छन् । उनीहरूबाटै धेरै कुरा सिक्नसक्छन् । दुनियाँलाई हेर्ने उनीहरूको नजर बुझ्नसक्छन् । तिनमा ठूलाले कहिल्यै नसोचेका धेरै अचम्मका कुरा भेटिएलान् । साथै बालबालिकाले घरका व्यावहारिक कामसिक्न सक्लान्, आफ्नो भाषा–संस्कृतिका काम सिक्नसक्लान् । कतिपय नेवार विद्यार्थीहरू यो बन्दाबन्दीमा फेसबुकबाटै आफ्नो लिपि सिक्दैछन् । यो राम्रो कुरा हो ।

 

अनस्कूलिंगमा के हुन्छ?

आफ्ना बालबालिकालाई अनस्कूलिंग गरिरहेका केही अभिभावकसँगको यस विषयमा गरेको कुराकानी अनुसार उनीहरूले आफ्ना बच्चालाई पढाइको लागि कुनै खालको निर्देशन दिँदैनन् । उमेरअनुसार बालबालिकाले आफैं कुनै विषयमा रुचि देखाउँछन् भने अभिभावकको भूमिका सो रुचिमा साथ दिने हुन्छ । बालबालिका स्वाभाविक रूपले जिज्ञासु हुन्छन् । उनीहरूले जिज्ञासा राख्दा त्यससम्बन्धी सामग्री दिँदै जिज्ञासालाई अझ वृहत्तर पार्दै जाने काम हुन्छ । भनौं कसैले सूर्यको बारेमा कुनै जिज्ञासा राख्यो भने त्यससँग सम्बन्धित सामग्री दिई उसलाई त्यस विषयमा अझै जिज्ञासु बनाउनसकिन्छ । सोही जिज्ञासाले उसलाई अझ धेरै कुरा जान्न उत्सुक बनाउँछ र ऊ सिक्दै जान्छ । जे. कृष्णमूर्ति भन्छन्, ‘एकपटक सिकाइ सुरु भयो भने त्यसको कुनै अन्त्य हुँदैन ।’ वास्तवमा ठूलाभन्दा ठूला वैज्ञानिकले गर्ने अनुसन्धान पनि उसको सिकाइ प्रकृया नै हो । उसले आफ्नो जिज्ञासा मेटाउन खोजेको हो ।

अनस्कूलिंग गरिएका बालबालिका पुस्तक पढ्छन् । विद्यालय जाने विद्यार्थीले भन्दा धेरै पुस्तक पढ्छन् । फरक यति हो, उनीहरू आफ्ना पुस्तक आफैं छनौट गर्छन् । आफ्नो रुचिअनुसारको पुस्तक मजा लिई पढ्छन् । विद्यालयका विद्यार्थीले जस्तो जबरजस्ती पढ्दैनन् । बरु बुझ्नको लागि पढ्छन्, आफ्नो जिज्ञासा मेटाउनको लागि पढ्छन्, अझ जिज्ञासा जगाउनको लागि पढ्छन् । के सिक्ने भन्ने कुरामा उनीहरू आफ्नोलागि आफैं निर्णय गर्छन्, आफैं छनौट गर्छन् । रुचिको विषयमा कसैसित पनि अन्तरक्रिया गर्नसक्छन् । कसैबाट पनि सिक्नसक्छन् । कुनै विषयमा रुचि भएमा उनीहरू आत्म–निर्देशित सिकाइ (सेल्फ डिरेक्टेड लर्निंग) मा पनि जानसक्छन् । आफूलाई मन लागेको एउटा वा धेरै सीप सिक्न पनि सक्छन् । उनीहरू विद्यालय जाँदैनन्, तर सिकाइ प्रक्रियामा निरन्तर सक्रियतापूर्वक लागिरहेका हुन्छन् ।


अनस्कूलिंग गरिएका बालबालिका पुस्तक पढ्छन् । विद्यालय जाने विद्यार्थीले भन्दा धेरै पुस्तक पढ्छन् । फरक यति हो, उनीहरू आफ्ना पुस्तक आफैं छनौट गर्छन् । आफ्नो रुचिअनुसारको पुस्तक मजा लिई पढ्छन् । विद्यालयका विद्यार्थीले जस्तो जबरजस्ती पढ्दैनन् । बरु बुझ्नको लागि पढ्छन्, आफ्नो जिज्ञासा मेटाउनको लागि पढ्छन्, अझ जिज्ञासा जगाउनको लागि पढ्छन् । के सिक्ने भन्ने कुरामा उनीहरू आफ्नोलागि आफैं निर्णय गर्छन्, आफैं छनौट गर्छन् ।


अहिले इन्टरनेटको जमानामा यो अझै उपयुक्त भएको छ । यसको अर्थ अनस्कूलिंग भनेको ई–लर्निंग होइन । तर रुचि लागेमा कुनै पनि विषय इन्टरनेटबाट पनि सिक्नसक्छन् । अझ भनूँ भने अभिभावकहरूले अनस्कूलिंग बारे नै धेरै कुरा इन्टरनेटबाट सिक्नसक्छन् । यसबारे सामग्री मात्र होइन, सामाजिक सञ्जालमा अनस्कूलिंग अभ्यासमा संलग्न अभिभावकहरूका समूहहरू छन् जहाँ उनीहरूले आफ्ना अनुभव आदानप्रदान गरिरहेका हुन्छन् । तिनको संख्या एउटै समूहमा बीसौं, तीसौं हजार छन् ।

सिक्ने चाहना यौन चाहनाभन्दा तीव्र

शिक्षामा मुख्य कुरा भनेको जिज्ञासा र रुचि हो । जिज्ञासु त बालबालिका स्वभावैले हुन्छन्, त्यही जिज्ञासालाई पक्रेर सिकाइलाई कसरी अघि बढाउँदै लाने मुख्य कुरा हो । यही कुरा अभिभावकले जान्यो भने पुग्छ । एडवार्ड हल भन्छन्, “मानव सिक्नमा सर्वोत्कृष्ट प्राणी हो । उसको सिक्ने चाहना यौन चाहना जत्तिकै तीव्र हुन्छ — बरु सिक्ने चाहना यौनभन्दा पनि पहिला सुरु हुन्छ र पछिसम्म रहन्छ ।”


बालबालिकालाई संस्थापनले चाहेको कुरा सिकाउन खोज्दा त्यो नैसर्गिक उत्प्रेरणा मर्छ । त्यसैले विद्यालय शिक्षामा प्राप्तांक, ग्रेड, पुरस्कार, सफलताजस्ता अप्राकृतिक उत्प्रेरणा दिइरहनुपर्ने हुन्छ । वास्तवमा यो बालबालिकाप्रति गर्नसकिने सबभन्दा ठूलो संगठित अपराध हो ।


मानिसमा सिक्ने उत्प्रेरणा जन्मजात हुन्छ । बालबालिकालाई संस्थापनले चाहेको कुरा सिकाउन खोज्दा त्यो नैसर्गिक उत्प्रेरणा मर्छ । त्यसैले विद्यालय शिक्षामा प्राप्तांक, ग्रेड, पुरस्कार, सफलताजस्ता अप्राकृतिक उत्प्रेरणा दिइरहनुपर्ने हुन्छ । वास्तवमा यो बालबालिकाप्रति गर्नसकिने सबभन्दा ठूलो संगठित अपराध हो । अभिभावकले आफ्ना छोराछोरीप्रति गर्नसकिने सबभन्दा ठूलो गुण भनेको उनीहरूलाई विश्वास गर्नु हो । यही कुरामा हामी चुकिरहेका हुन्छौं ।

जाँदाजाँदै ...

व्यावहारिक भएर हेर्दा केही चनाखा अभिभावकले मात्रै आफ्ना छोराछोरीलाई अनस्कूलिंग गर्नसक्लान् । महामारीपछि विद्यालय खुल्ने छ र चलिरहने छ । तर यो महामारी र त्यसपछि आउने आर्थिक मन्दीलाई मध्यनजर गर्दा प्रश्न उठ्छ — अहिलेको दुइ धारको शिक्षा र स्वास्थ्य प्रणालीमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छैन र ? यो संकटमा निजी अस्पतालले के गर्‍यो ? शिक्षा र स्वास्थ किनबेचको साधन बनाउनु कत्तिको नैतिक कुरा हो ? महामारीपछिको समय त एक किसिमले नयाँ युग नै हुने छ । नयाँ युगमा शिक्षा र स्वास्थ्य प्रणालीमा थोरै पनि नयाँ ढंगले चलाउन सकिंदैन भने परिवर्तनको लागि के नै आश गर्नसकिन्छ र ?

(लेखक दुइ दशकदेखि अन्तर्राष्ट्रिय संस्थाहरूमा शिक्षा क्षेत्रमा सक्रिय छन् ।)

तस्विर : https://miro.medium.com

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.