शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्ध अभियान : ‘थाहाको व्यवहारिक अभ्यास’

शनिबार, ०६ वैशाख २०७७, १७ : ३३
शनिबार, ०६ वैशाख २०७७

रुपचन्द्र विष्ट, धेरैले चिनेको नाम । विष्ट भन्थे–‘थाहा पा भाते ।’ भात मात्र खाने काम केही नगर्नेलाई रुपचन्द्र विष्ट भाते भन्थे । थाहा सबैले पाउनुपर्छ भन्ने मान्यता राख्थे । साना गतिविधिहरुको पनि आफै माइकिङ गरेर थाहा दिन्थे । र, त उनको पूर्ण कदको शालिकमा उनले हातमा माइक समाएको देख्न सकिन्छ । 

थाहानगरको विकास घर प्राङ्गणमा पूर्ण कदको उनको शालिक छ । विष्टको जन्मथलो नगरपालिका घोषणा हुँदा पालिकाको नाम पनि उही ‘थाहा’ राखियो । मकवानपुरको ‘थाहा’ नगरपालिका ।

 नगरपालिकाले अहिले ‘थाहा’ लाई व्यवहारमै कार्यान्वयनमा ल्याएको छ । मुलुकमै विपदका बेला खरिद गरिएका औषधि उपकरणकोे विषयमा विवाद भैरहेको बेला थाहाले कोरोना संक्रमण रोक्न गरेका प्रत्येक क्रियाकलापको सुक्ष्म तथ्यांक राख्ने गरेको छ । 

सानातिना खर्चको पनि स्पष्ट हिसाब राख्न नगर प्रमुख लवशेर विष्टले विशेष सर्कुलर नै गरेका छन् । विपद्का बेलामा मौका छोपेर लोभ गर्नेहरु पनि हुन सक्छन्, त्यसैले यसप्रति थाहा नगरपालिका सचेत रहेको मेयर विष्ट बताउँछन् । 

कोरोना संक्रमण रोक्ने प्रयत्नका लागि नगरपालिकाले ४० लाख रुपैयाँ छुट्याएको छ । दाताहरुले पनि रकम दिएर कोष बढाइरहेका छन्, आवश्यक सामाग्री थपिदिएका छन् । यी सबैको स्पष्ट हिसाब राखिएको मेयर विष्टले बताए । उनी भन्छन्–‘हिसाब राख्ने मात्र होइन, हामी हरेक दिन कोषको मौज्दात रकम, प्राप्त भएको रकम, सामाग्री र ती रकम खर्च भएको शीर्षकसहित दिनदिनै सार्वजनिक गर्छाैं ।’

डाक्टर सहितको क्वारेन्टाइन

थाहा नगरपालिकाले मुटुको धड्कन, ज्वरो, प्रेसर, सुगर देखाउने डिजिटल मोनिटरसहितको क्वारेन्टाइनमा ५ वटा हाइकेयर रुम बनाएको छ । २० वटा नर्मल रुम छ । हैसियत र विज्ञता अनुसारका देशैभरी नगरपालिकाहरुले क्वारेन्टाइन कक्ष निर्माण गरिरहेका छन् हामीले अलि फरक काम गरेका छौं, नगर प्रमुख विष्टले भने । उनी थप्छन्–‘क्वारेन्टाइन कक्ष मान्छे थुन्ने ठाउँ होइन, अत्याधुनिक र सुविधासम्पन्न हुनुपर्छ ।’ यस्तो क्वारेन्टाइन कक्षमा बिरामी र चिकित्सकलाई खाना, नास्ता र चिया बनाउन छुट्टै एकजना सहयोगीको पनि व्यवस्था गरिएको छ ।
‘कोरोनाको लक्षण पाका पुस्तामा पनि देखिन सक्छ, उनीहरुको समेत केयर गर्न क्वारेन्टाइनमा हाइ केयरको व्यवस्था गरिएको छ’ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । 

कोरोनाले बनेको दरिलो संयन्त्र

थाहा नगरपालिकाले कोरोना भाइरस नियन्त्रणका गतिविधिमा समन्वय गर्न र अभिलेख राख्नका लागि नगरमा एउटा छुट्टै पाँच सदस्यीय सचिवालय बनाएको छ । बिहानदेखि दिउँसोभरीका सबै सूचना बेलुकी ५ बजे सचिवालयमा आइपुग्छन् । 

नगरभरी रहेको नौ वटै स्वास्थ्य संस्थाका बिरामी परीक्षणसमेतको अपडेट पनि ५ बजे आइपुग्छन् । दैनिक ज्वरोको बिरामी कति आए नगरको सचिवालयमा अभिलेख हुन्छन् । तथ्याङ्क विश्लेषण गरिन्छ, अनि भोलिपल्टको योजना बनाइन्छ  । यो थाहा नगरपालिकाको दैनिक काम नै हो । 

विदेशबाट आएकाहरुको पनि १४ दिन नकटेका कति, कटेका कति, २१ कटेका कति वा नयाँ कोही भित्रिएकी भने दिनदिनै नगरपालिकाले तथ्याङ्क अद्यावधिक गर्दछ । तथ्यांकमात्र होइन, खाद्यान्नको अवस्था, जनताका गुनासा आदि सबै ५ बजेसम्म नगरपालिकाले आफ्नो अभिलेख तयार गरिसकेको हुन्छ ।

दैनिक रुपमा प्राप्त तथ्यांक र समीक्षा सहितको प्रतिवेदन नगरपालिकामा फाइलिङ हुने मात्र होइन, यो त सञ्चारकर्मी, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार, संघीय सरकार, स्वास्थ्य विभाग, स्वास्थ्य मन्त्रालय, प्रधानमन्त्री कार्यालय सबैतिर इमेल मार्फत पठाउने मेकानिजम थाहा नगरपालिकाको छ । प्रमुख विष्टले भने, ‘गाउँ, टोलदेखिका सबै तथ्यांक राष्ट्रियस्तरमा पुग्छ, यसले हामीलाई थप बलियो बनाएको छ ।’

नाकामा हेल्थ डेस्क 


गाडीको अभावमा लकडाउनपछि थाहा नगरमा काठमाडौंबाट हिँडेरै चन्द्रागिरीबाट घर फर्किनेहरुको थाहा नगरपालिकाले चन्द्रागिरी र आग्राको भोर्लेमा हेल्थडेस्क राखेको छ ।  हेल्थडेस्कले आगन्तुकको ट्राभल हिस्ट्रि लिन्छ, स्वास्थ्य चेकजाँच गर्छ, थर्मागनले ज्वरो नाप्छ अनि मात्र उनीहरुले थाहानगर प्रवेश पाउँछन् । 

थाहा नगरपालिकाले गरेका प्रयत्नले नगरवासीमा पनि सुरक्षाको अनुभुति भएको चित्लाङका बुद्धरत्न मानन्धर बताउँछन् । ‘कोरोना भित्रिंदैन भनेर ठोकुवा त कसले गर्न सक्छ र ? तर, हामी सक्दो प्रयास गरिरहेका छौं–उपप्रमुख खड्ग गोपालीले भने ।
टोल टोल नै लकडाउन

थाहा नगरपालिकाका १२ वटै वडा सदस्यलाई टोल टोलको जिम्मा दिएको छ । जिम्मा दिइएको टोलमा आउने नयाँ मानिस वा विदेशबाट आउने मानिस देख्ने बित्तिकै पहिले परामर्श दिने र यसपछि अवस्था अनुसार क्वारेन्टाइनमा लैजानु पर्ने भए वडा सदस्यले सिफारिस गर्ने व्यवस्था नगरपालिकाले मिलाएको छ । 
यदि घरमै बस्नुपर्ने अवस्था देखिए यसका लागि छुट्याइएको एक जना डाक्टर र २ जना नर्सको टोलीले रेखदेख गर्दछ । यसरी पहिचान भएका ६९ जना नियमित सम्पर्कमा रहेको मेयर विष्टले जानकारी दिए । उनीहरुलाई दैनिक फलोअप हुन्छ ।

घरघरमै पुगेर -यापिड डाइग्नोस्टिक टेस्ट सुरु

मकवानपुरको थाहा नगरपालिकाले घरघरमै पुगेर -यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) शुरु गरेको छ  । नगरपालिकाले नगर क्षेत्रमा विदेशबाट आएकाहरुलाई प्राथमिकतामा राख्दै टेष्ट शुरु भएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । ३ वैशाखमा गरिएको दुई वटा परीक्षण नतिजा नेगेटिभ आएको छ । 

थाहा नगरपालिकाले पहिलो चरणमा विदेशबाट आएकाहरुको परीक्षण थालिएको नगरपालिकाका स्वासथ्य शाखा प्रमुख मेघराज बलामीले जानकारी दिए । विदेशबाट आकाहरुको घरैमा गएर ¥यापिड डाइग्नोस्टिक टेस्ट भैरहेको छ । ३ वैशाखमा नगरको चित्लाङ, बज्रवाराही र टिष्टुङमा टेष्ट भैरहेको हो । 

टोलीमा स्वासथ्य संयोजक बलामीसहित डाक्टर उदय रोका, डाक्टर सुबोध चापागाई, ल्याब टेक्निसियन रमेश खड्का, अनुपा तिमल्सिना र स्टाफ नर्स रमिता भुजेल रहभागी छन् । थाहा नगरपालिकामा ४० जनाको परीक्षण गर्नेगरी यापिड डाइग्नोस्टिक टेस्ट किट स्वास्थ्य कार्यालय मकवानपुरले पठाएको छ । 

अनलाइन फारम खुलाउँदै नागरिकको खोजी 

मकवानपुरको थाहा नगरपालिकाले आफ्नो नागरिकको खोजी अभियान थालेको छ । नगरपालिकाले सामाजिक सञ्जाल फेसबुकमा अनलाईन सर्भे फारम प्रकाशन गरी आफ्ना नागरिकको खोजी गरेको हो । 

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका क्रममा मुलुकमा भएको लकडाउनका कारण नगर बाहिर अलपत्र परेका तथा गुजारा चलाउन नसक्नेको विवरण अनलाइनमार्फत संकलन थालेको नगर प्रमुख लवशेर विष्टले जाकनारी दिए । 

अनलाइन फारममा नगर बाहिर बसेका नागरिकहरुले आफ्नो व्यक्तिगत विवरणसहित नगरपालिकासंग आफ्नो अपेक्षा पेश गर्न सकिने व्यवस्था गरिएको छ । ‘अपेक्षाको आधारमा अन्त रहेका नागरिकलाई राहत, सुरक्षा वा उद्धार के आवश्यक परेको हो व्यवस्था गर्छौ’ प्रमुख विष्टले भने, ‘अप्ठेरोमा परेका छन्, खान पाएकै छैनन् भने सम्बन्धित स्थानीय तहलाई फोन गरेर चेक मार्फत पैसा पठाइदिन्छु फलानो–फलानोलाई खान देउ भन्छु ।’

कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण सचिवालय थाहानगरले देशका बिभिन्न ठाउँमा अस्थायी रुपमा बसोबास गर्दै आएका थाहाबासीको विवरण संकलनसंगै उनीहरुको अवस्था बुझ्न सहज हुने नगरपालिकाका उपप्रमुख खड्ग गोपालीले बताए । 

प्राप्त विवरणको आधारमा पहिलो चरणमा विवरण संकलन गर्ने र दोस्रो चरणमा अवस्था विश्ेलेषण र तेस्रो चरणमा अपेक्षा पूरा गर्नेमा नगरपालिका केन्द्रित हुने नगर प्रमुख विष्टले बताए । ‘लकडाउन लम्बिरहेको अवस्थामा घर नै आउन चाहिरहेका छन् भने त्यस्तो अवस्थामा साह्रै अप्ठेरोमा परेकाहरुलाई प्रदेश र संघीय सरकारसँग समन्वय गरी थाहानगर नै फर्काउने गरी काम गर्ने सम्मको योजना रहेको छ’ उनी भन्छन्–हाम्रा नागरिक भोकमरी र अलपत्र पर्न दिदैनौं बरु ल्याएर क्वारेन्टाइनमा राख्छौं नागरिकप्रति सँधै उत्तरदायी हुन्छौं ।’

थाहानगर फर्काएपछि नगरपालिकाले सञ्चालन गरिरहेको क्यारेन्टाइनमा राख्नुपर्ने भए राख्ने, घरमा छुट्टै बस्न सक्ने व्यवस्था रहेको भए घरमै पठाउने गरी व्यवस्था मिलाइने नगरप्रमुख बिष्टले बताए । उनले अप्ठेरो परेको अवस्थामा निर्धक्कसँग फोन वा सामाजिक सञ्जाल र नगरपालिकाको वेभसाइट मार्फत सार्वजनिक गरिएको फारम भर्न आग्रह गरेका छन् ।

अलपत्र परेकालाई गन्तव्यमा पु-याउने व्यवस्था

धादिङबाट सर्लाहीको लालबन्दी नगरपालिकासम्म जानको लागि हिँडेका पैदल यात्रीलाई थाहा नगरपालिकाले यातायातको व्यवस्था गरेकोे छ । उनीहरुलाई मकवानपुर जिल्ला सीमाना चुरियासम्म यातायातको व्यवस्था गरेर वैशाख ६ गते शनिबार बिहान पठाइएको नगर प्रमुख लवशेर विष्टले जानकारी दिए । उनीहरुलाई तीनवटा गाडीमा राखेर पठाइएको हो । त्यहाँँदेखि घरघरसम्म पु¥याउनको लागि लालबन्दी नगरपालिकाले गाडी पठाउने व्यवस्था गर्यो । प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा पैदलयात्रीहरुलाई गाडीमा मकवानपुरको चुरेसम्म पु¥याउन लागिएको प्रमुख विष्टले बताए । प्रमुख विष्टले भने–‘त्यहाँदेखि सर्लाहीसम्म पुग्नको लागि लालबन्दीका मेयरसंग कुरा भएको छ, गाडी पठाउँछु भन्नु भएको छ ।’

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि घर जान हिँडेका १ सय एकजना उनीहरु ५ वैशाख साँझ थाहा नगरपालिका ९ चित्लाङ आइपुगेका थिए । १६ जना बालबालिकासहित आएका उनीहरुलाई बेलुकीको खाना र बासको व्यवस्था थाहानगरले  गरेको थियो । उनीहरु धादिङ जीवनपुरको विभिन्न इट्टाभट्टामा काम गर्ने मजदुरहरु भएको बताएका छन् । चित्लाङमा खाना, बासको र ६ वैशाखमा यातायातको संयोजन वडा अध्यक्ष परशुराम श्रेष्ठले गरेका थिए । 

मजदुरहरु सबैको राती नै स्वास्थ्य परीक्षण गरिएको चित्लाङ स्वास्थ्य चौकीका अहेब महेश्वर लामिछानेले बताए । जाँचेका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अहेब लामिछानेले बताए । ‘थाहा नगरपालिका प्रवेश गर्ने नाका चित्लाङमा हेल्थ डेस्क छ, हामी स्वास्थ्य परीक्षणका लागि खटिइरहेका छौ’, स्वास्थ्य शाखा प्रमुख मेघराज बलामीले भने, स्वास्थ्य जाँच गरेर मात्र पठाउने नगरको नीति नै छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप