शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारले व्यहोर्ने सामाजिक सुरक्षा कोषको योगदान खातामा कहिले आउँछ ?

सोमबार, ०८ वैशाख २०७७, १२ : ०४
सोमबार, ०८ वैशाख २०७७

काठमाडौं । सामाजिक सुरक्षा कोषका योगदानकर्ताको चैत महिनामा आउने योगदान पाउन तलब दिएको प्रमाण चाहिने भएको छ । सामाजिक सुरक्षा कोषले श्रमिकहरुले रोजगारदाताबाट पेरोल लिएको प्रमाणपत्र प्राप्त गरेपछि मात्रै त्यस्तो योगदान बापतको रकम सम्बन्धित योगदानकर्ताको खातामा जम्मा गर्ने व्यवस्था गर्न लागेको हो ।

सामाजिक सुरक्षा कोषका प्रवक्ता रमा भट्टराईले सरकारले घोषणा गरेको उक्त रकम प्राप्त गर्ने प्रक्रिया सुरु गरिसकेको बताइन् । सरकारबाट उक्त रकम प्राप्त गर्नको लागि लाइन मिनिष्ट्री बजेटरी एन्फर्मेसन सिस्टममा माग गरिसकेको भन्दै भट्टराईले चैत महिनाको तलब भुक्तानी दिएको प्रमाण पेश गरेपछि मात्रै श्रमिकको खातामा योगदान रकम जम्मा गरिदिने व्यवस्था गरिएको समेत जानकारी दिइन् ।

‘यो सरकारले घोषणा गरिसकेको रकम हो । त्यसको निकासा लिन हामीले ‘एलएमबीआईएस’ सिस्टममा बजेट निकासा माग गरिसकेका छौं, यो प्राप्त भइसक्यो भन्दा पनि हुन्छ’ प्रवक्ता भट्टराईले भनिन्, ‘तर श्रमिकको योगदान खातामा रकम जम्मा हुन चाहिँ चैत महिनाको तलब दिएको पेरोल चाहिन्छ, रोजगारदाताबाट पेरोल भएपछि हामी रकम खातामा पठाउँछौं ।’

कोषले चैत महिनाको योगदान रकम बापत करिब १९ करोड रुपैंया सरकारबाट निकासा पाउन लागेको छ । यो सामाजिक सुरक्षा कोषमा सूचीकरण भई फागुन महिनाको योगदान गरेका योगदानकर्ताले प्राप्त गर्ने रकम हो । यस्तो रकम प्राप्त गर्नेको संख्या ३० हजार भन्दा माथि रहेको प्रवक्ता भट्टराईले बताइन् ।

कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै लकडाउन घोषणा गरेको केही दिनपछि सरकारले विभिन्न राहत कार्यक्रम ल्याएको थियो । जसमा योगदानकर्ताको चैत महिनाको पारिश्रमिक समावेश गर्ने विषय समावेश गरिएको थियो ।

सरकारले यस्तो योगदान व्यहोरिदिने भएपछि सो रकमलाई मध्ये करिब पौने ७ करोड रुपैंया श्रमिकले प्राप्त गर्नेछन् भने बाँकी करिब सवा १२ करोड रकम रोजगारदाताले नै प्राप्त गर्नेछन् ।

अहिले आधारभूत तलबको ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने प्रावधान छ । त्यसमध्ये ११ प्रतिशत रकम श्रमिकको तर्फबाट र बाँकी २० प्रतिशत रकम रोजगारदाताको तर्फबाट कोषमा जानेछ । त्यसो हुँदा योगदानकर्ताको तर्फबाट काटिने रकम चैत महिनामा कट्टा नभइ प्राप्त हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप