शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२० प्रतिशत दूध खपतः निःशुल्क बाँडिदै

बुधबार, १० वैशाख २०७७, ०९ : ३०
बुधबार, १० वैशाख २०७७

सरकारले लकडाउनका अवधिमा अत्यावश्यक वस्तुको ढुवानी गर्ने गाडीमा कुनै प्रतिबन्ध नलगाए पनि दूध र दुग्धजन्य वस्तु बोकेका गाडी गुड्नै नदिएको गुनासो व्यवसायीले गरेका छन् । 

काठमाडौँबाहेक चितवन, बुटवल र  नेपालगञ्जमा समेत दूध बोकेका ट्याङ्करमा अवरोध गर्ने गरिएको नेपाल डेरी एशोसिएशनले जनाएको छ ।

एशोसिएशनका महासचिव प्रल्हाद दाहाल सरकारले लकडाउनक अवधिमा छुट रहेको भने तापनि ढुवानीसँगै पसलमा समेत दूध बिक्री गर्न अवरोध भएको बताउँछन् ।

काठमाडौँका नयाँसडक, कोटेश्वरलगायत स्थानमा दूध बोकेको गाडीका चालक तथा सहचालकलाई कुटपिट गर्नेसम्मका कार्य भएको उनले जानकारी दिए ।

“हामीलाई कुनै पास उपलब्ध गराइएको छैन, दिनदिन हाम्रा साथी र दूध बोकेका गाडीहरुलाई अवरोध गरिएको छ”, उनले भने, “चितवनबाट काठमाडौँ आएको दूधको ट्याङकर बाटोमा रोकेर फर्काइयो, ढुवानीमा पटकपटक अवरोध भएपछि डेरी सञ्चालन गर्न कठिनाइ भएको छ ।”

उनका अनुसार हाल दैनिक २० प्रतिशत मात्र दूध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण भएको छ । लकडाउनमा डेरी उद्योगलाई रु दुई अर्ब नोक्सान भएको  रु पाँच अर्ब बराबरको सामान मौज्दात रहेको छ ।

 लकडाउनका कारण दूध बिक्री कम भएपछि डेरी उद्योगले निःशुल्क दूध बिक्री गर्न थालेका छन् । खपत कम भएपछि यत्तिकै दूध फाल्दा विरोध आउन थालेपछि काठमाडौँको बूढानीलकण्ठ नगरपालिका, झापाको दमक र रुपन्देहीमा निःशुल्क रुपमा क्वारेन्टाइस्थल तथा सुत्केरीलाई दूध तथा घिउ दिन थालिएको डेरी सञ्चालक बताउँछन् ।

बूढानीलकण्ठ नगरपालिकास्थित बिन्ध्यवासिनी डेरीले नगरपालिकासँग समन्वय गरेर सुत्केरीलाई निःशुल्क एक किलो घिउ दिन थालेको छ । नगरपालिका कार्यालय र वडा नम्बर ८ र ९ सँग समन्वय गरेर सुत्केरीलाई निःशुल्क घिउ दिन थालिएको डेरी सञ्चालक चेतनाथ दाहाल बताउँछन् । 

उनका अनुसार हालसम्म वडाको सिफारिसका आधारमा सात जनालाई घिउ दिइसकिएको छ । नगरपालिकाका रहेका अन्य डेरीले समेत निःशुल्क एक किलो घिउ दिने तयारी गरेको उनले जानकारी दिए ।

त्यस्तै झापा, दमक नगरपालिकाका क्वारेन्टाइनमा बसेका १७ जनालाई सोमबारदेखि दैनिक निःशुल्क १० लिटर दूध दिन थालिएको गोरस डेरी उद्योगले जनाएको छ । 

नेपाल डेरी एशोसिएशन जिल्ला अध्यक्षसमेत रहनुभएका डेरी सञ्चालक सोम घिमिरेका अनुसार पहिलो दिन १० लिटर दूध, एक किलो नौनी र पनिरसमेत दिइएको थियो । बीस दिनसम्म क्वारेन्टाइनमा रहेका मानिसलाई दैनिक निःशुल्क दूध उपलब्ध गराउने गरी नगरपालिकासँग समन्वय भएको उहाँले जानकारी दिए ।

दमक– ४ स्थित दाहाल प्रतिष्ठान र मानसरोवर कलेजमा बनाइएको क्वारेन्टाइनमा १७ जना रहेको नगरपालिकाले जनाएको छ । बीस दिनपछि क्वारेन्टाइनमा फेरि मानिस राखिएमा  आफूले पुनः दूध उपलब्ध गराउने घिमिरेले जानकारी दिए । उनका अनुसार दूध लिन घरमै नगर प्रहरी आउने गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको क्वारेन्टाइनमा रहेकालाई लक्ष्य गर्दै सिद्धार्थ डेरी उद्योगले पनि दैनिक निःशुल्क रुपमा दूध उपलब्ध गराएको छ । बन्दाबन्दी अवधिमा खपत कम भएपछि यत्तिकै दूधलाई फाल्नुभन्दा मानवीय नाताले निःशुल्क दिन थालिएको डेरी सञ्चालक कृष्णा भट्टराई बताउँछन् । 

उनका अनुसार हाल दैनिक १० लिटर दूध, दही र सातामा चार किलो पनिर वितरण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप