केन्द्रीय संस्करण

राजनीतिका गलत प्रवृत्तिलाई बेलैमा ‘क्वारेन्टाइन’मा राखौं

person explore access_timeबैशाख १३, २०७७ chat_bubble_outline1

जतिबेला सङ्कटले सताउँछ, त्यतिबेला अनेक उपायको खोजी पनि हुने गर्छ । कोराना भाइरस (कोभिड–१९) को सङ्कटले विश्वलाई नै अत्याएको बेला नेपाल पनि नआत्तिने र उपाय नखोज्ने कुरै भएन । घरमै बसेर एक्लाएक्लै लड्नुपर्ने प्रकृतिको यो युद्धमा सरकारले ‘लकडाउन’ गरेको पनि करिब एक महिना भइसक्यो । 

डेढ लाख मानिसको ज्यान लिइसकेको र लाखौँलाई सङ्क्रमित गर्दै फैलिरहेको ‘कोरोना’ विरुद्धको यो युद्धलाई तेस्रो विश्वयुद्धकै संज्ञा दिइएको छ । अरू युद्धमा जस्तो असंलग्नताको विकल्प यो युद्धमा रहेन । दुई सय पाँचभन्दा बढी देशहरुमा आक्रमण थालेको यो भाइरसका विरुद्ध सबै मुलुकहरु एकजुट भएका छन् । यो यस्तो खाले युद्ध हो, जसको ‘फिल्ड कमान्डर’ स्वाथ्यकर्मी हुन् । 

कोरोनाबाट उत्पन्न भयावह स्थितिलाई सूक्ष्म विश्लेषण गरेर यो निष्कर्ष निकाल्न मिल्छ कि समकालीन विश्व व्यवस्था मक्किइसकेको रहेछ । मानव जातिको सेवा गर्नेभन्दा सैन्य शक्तिको विस्तार गरेर मानवलाई नै तर्साउने अभ्यास आत्मघाती सावित हुँदै गएको छ । मान्छे मास्न गरिएको लगानी मान्छे जोगाउन गरेको भए अमेरिका लगायतका मुलुकहरुले यति ठूलो सङ्कट बेहोर्नुपर्ने र अपूरणीय क्षति हुने थिएन । 

यो सङ्कटले मानव सभ्यतालाई नै कहिल्यै नपुगेको नयाँ ठाउँमा पु¥याउने आँकलन समेत हुन थालेका छन् । जारी सङ्कटले राज्यको महत्त्वलाई बढाउँदै निजीकरणका पक्षधरलाई कुरीकुरी गरिरहेको छ । विगतको स्वास्थ्य नीति गलत भएछ भनेर नेपालले पनि अब समीक्षा गर्नैपर्छ । 

अहिलेको लडाइँ घरमै बसेर लड्ने प्रकृतिको हो, यसको अर्थ निष्क्रिय हुनु होइन । सक्रिय हुने नाममा घरदैलो गर्ने वा भेला हुने बेला पनि होइन । यो सहयोग गर्ने बेला हो तर सहयोगको हल्लाखल्ला र प्रचार गर्ने बेला होइन । किनकि कम्युनिस्टहरु सामान्य काममा सन्तुष्ट हुँदैनन् । यो कमजोरी देखाउने बेला हो, कुरा काटेर बस्ने बेला पनि होइन । 

सङ्कटको यस्तो बेलामा पनि हाम्रो सरकार नयाँ अध्यादेशको ‘कुम्लो’ बोकेर शीतल निवास पुगेपछि नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । घरभित्रैको ‘झ्यालखाना’ अर्थात् ‘सेल्फ क्वारेन्टाइन’बाटै अनेक आँकलन र बहस हुन थालेका छन् । कोरोनालाई कसरी जित्नेभन्दा कुर्चीमा कसरी टिक्ने भन्नेमा सरकारको ध्यान बढी रहेको आशङ्का उत्पन्न भएको छ । सरकारको यो कदमले गत माघमा सम्पन्न नेकपाको केन्द्रीय समितिको ‘पार्टीले सरकार चलाउने’ मर्मलाई पनि मृत तुल्याइदियो ।

केपी नेकपाका अध्यक्षसहित प्रधानमन्त्री हुन्, नयाँ राजा होइनन् । हरेक नेपालीको मुलुकप्रति अधिकार समान हो । नयाँ राजा बन्ने सपना केपी, प्रचण्ड, माधव वा अरू कसैले पनि नदेख्दा हुन्छ । पार्टीको नीतिअनुरूप नेता चल्नुपर्छ, स्वेच्छाचारी हुन मिल्दैन । नेताले नीति नमान्ने भए त्यही नीतिअनुसार नेता मान्नुपर्ने बाध्यता कसैलाई हुँदैन । पार्टीको नीति नमान्ने सरकारको पक्षमा उभिनुपर्ने र कम्युनिस्ट सरकार भन्दिनुपर्ने बाध्यता पनि सायद नहोला ।

राजनीतिमा बढ्दै गएको ‘गुटकरण’ले मुद्दाहरुको समर्थन र विरोधमा पनि प्रत्यक्ष प्रभाव पार्ने गरेकै भए पनि यो अध्यादेशलाई कुबेलामा आएको ‘कुविचार’ वा नयाँ प्रकृतिको ‘काण्ड’ भन्न गज्जबले मिल्छ । किनकि यो फुट्ने र फुटाउनेभन्दा जुट्ने र जुटाउने बेला हो । 

नयाँ विधेयकले राजनीतिक वृत्तमा नयाँ बहससँगै शीर्ष नेताबारे नयाँ समीक्षा पनि हुन थालेको छ । खास विशेषता र क्षमताकै कारण चर्चाको केन्द्रमा अहिले पनि नेकपाका अध्यक्षद्वय प्रचण्ड र केपी छन् । पार्टी एकता भएको दुई वर्ष नहुँदै नेकपा फेरि विभाजन हुने हो कि भन्ने आशङ्का पनि सर्वत्र छ । 

पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत सङ्ख्या पु¥याएर फुटाउन सक्ने हैसियत राख्ने ओली र प्रचण्ड दुवै नेताको इतिहास भने त्यस्तो छैन । अन्य साना पार्टीको विभाजनले त नेपाली राजनीतिमा तत्कालै ठूलो प्रभाव पार्दैन । 

कुनै कमान्डरबारे समीक्षा गर्दा कुनै एक मोर्चालाई मात्रै आधार मान्न मिल्दैन । कुनै एक मोर्चामा बहादुरी देखाउनेभन्दा समग्र युद्धको पूर्वतयारी गर्ने कमान्डर नै दूरदर्शी र कुशल मानिन्छ । प्राविधिक तरिकाले नेतृत्वमा आउने र आफ्नै पहलमा नेतृत्व लिनेमा आन र तानको फरक हुन्छ । मान्छेमा भावना हुनुपर्छ तर भावनाले देश चल्दैन ।

प्रचण्ड खेलाडी मात्रै होइनन्, मैदानका निर्माता पनि हुन् । कसैले मानोस् नमानोस्, उनकै नेतृत्वमा अहिलेको गणतान्त्रिक मैदान निर्माण भएको हो । यो मैदान नबनेको भए सायद पूर्वराजालाई नै रेफ्री मानेर अहिलेका खेलाडीहरु नारायणहिटीभित्रै उफ्रिरहेका हुन्थे । गणतान्त्रिक यो मैदानमा हजारौँको रगत, आँसु र पसिना पोखिएको हेक्का सबै खेलाडी र उनका फ्यानहरुले गर्न सकेझैँ लागेन । डा. सुन्दरमणि दीक्षितले भनेझैँ ‘प्रचण्ड युद्धको कमान्ड गरेको र जितेको कमान्डर हो ।’ 

डा. दीक्षितले भनेझैँ ‘यो कोरोनाविरुद्धको लडाइँको नेतृत्व पनि ओलीले प्रचण्डलाई सुम्पनुपर्छ’ को आशय र अपेक्षा त प्रचण्डकै पनि देखिँदैन । अध्यक्ष ओलीले सचिवालयको निर्णय लत्याउँदै गएपछि कार्यकारी अध्यक्ष हुनुको नाताले निर्णय कार्यान्वयन गराउन प्रयत्न गर्नुलाई ‘षड्यन्त्र’ देख्नेलाई आँखा जँचाउन सुझाव दिनेबाहेक के भन्नु अरू ?

पार्टीका नेताविरुद्ध तथानाम बोल्नेहरुको फुली बढ्दै गएको देखेर पनि होला । केही नेता कार्यकर्ता सुझ न बुझसँग अनेक अभिव्यक्ति दिइरहेका छन् । एउटा गुटले अर्को विरुद्ध निरन्तर गरिरहेको अनर्गल प्रचारले पार्टीका तल्ला तहहरुमा एकता र अपनत्व महसुस गराउँदैन । यसको फाइदा लिने पनि कुनै गुटभित्रका अवसरवादीले मात्रै हो, अरूले होइन । 

इतिहास साक्षी छ– प्रचण्ड राजतन्त्रका विरुद्ध जनयुद्ध थाल्ने नेता हुन्, कुर्ची पाउन निरङ्कुश राजासामु निवेदन हाल्ने नेता होइनन् । आफ्नो जग्गा बेचेर पार्टी धानेका नेता हुन्, पार्टीको दुरुपयोग गरेर महल ठड्याउने नेता होइनन् । आफ्नो परिवारलाई पनि युद्धमा हिँडाउने नेता हुन्, विदेश पढ्न वा पैसा कमाउन पठाउने नेता होइनन् । बम, बारुद र गोलीसँग खेल्ने नेता हुन्, आन्दोलनबाट भाग्ने नेता होइनन् । 
प्रचण्ड जनमुक्ति सेनाका सर्वोच्च कमान्डर हुन्, आन्दोलनका मुकदर्शक होइनन् । उत्पीडित वर्गको चेत खुलाउने र आवाज चर्काउने नेता हुन्, आवाज दवाउने नेता होइनन् । हरेक क्षेत्रका विकृति र विसङ्गतीका विरुद्ध धावा बोल्ने नेता हुन्, मलजल गर्ने नेता होइनन् । आन्दोलनमा टाउकोको मूल्य तोकिएका योद्धा हुन्, उखानटुक्का हालेर बस्ने दक्षिणपन्थी होइनन् । बृहत् शान्ति सम्झौता गर्ने दुईमध्ये एक नेता हुन्, पछाडि बसेर ताली बजाउनेमध्येका होइनन् । 

प्रचण्ड गणतान्त्रिक नेपालका पहिलो प्रधानमन्त्री हुन्, राजतन्त्रका हिमायती होइनन् । खुल्लामञ्चबाटै विदेशी हस्तक्षेपका विरुद्ध आगो ओकल्ने नेता हुन्, अरूको इसारामा नाच्ने वा कठपुतली होइनन् । नागरिक सर्वोच्चताका लागि प्रधानमन्त्रीको कुर्ची त्याग्ने नेता हुन्, कुर्ची पाउन र टिक्न जे पनि गर्ने नेता होइनन् । 

लोकतान्त्रिक गणतन्त्रात्मक संविधान लेख्ने नेता हुन्, ०४७ सालको संविधान नै विश्वको उत्कृष्ट संविधान हो भन्ने नेता होइनन् । गाउँगाउँमा सिंहदरबार पु¥याउने नेता हुन्, केन्द्रीकृत राज्यका पक्षधर होइनन् । छिमेकी मुलुकको उच्च राजनीतिक नेतृत्वसँग सोझै सम्बन्ध भएका नेता हुन्, दूताबास मात्रै धाउने नेता होइनन् ।

प्रचण्ड लोडसेडिङको अन्त्य गर्ने नेता हुन्, सेटिङमा लोडसेडिङ गरेर कमिसन खाने नेता होइनन् । भाडाको घरमा बस्ने नेता हुन्, बिनास्रोत महल ठड्याउने नेता होइनन् । अरूलाई बोकेर कुर्चीमा राखिदिने नेता हुन्, कुर्चीमै टाँसिइरहने र कुर्चीकै लागि मरिहत्ते गर्ने नेता होइनन् । सन्तानको शोक र श्रीमतीको अन्त्यन्तै नाजुक स्वास्थ्य अवस्था हुँदा पनि सार्वजनिक कार्यक्रममा पुगिरहने नेता हुन्, निष्क्रिय नेता होइनन् । 

प्रचण्ड पार्टीको नीति अनुसार चल्ने नेता हुन्, एनजीओमार्फत नीतिविरुद्ध लाग्ने नेता होइनन् । सहिद, बेपत्ता र घाइतेका अभिभावक हुन्, तिनलाई दुत्कार्ने नेता होइनन् । छलाङ मार्न सक्ने नेता हुन्, यथास्थितिमै रमाउने नेता होइनन् । सामाजिक न्यायका पक्षधर हुन्, सामाजिक र राजनीतिक अपराधीका रक्षक होइनन् । वर्गप्रति दृढ पक्षधरता भएका नेता हुन्, वर्गसमन्वयवादी होइनन् । एकताका पक्षधर हुन्, फुट पक्षधर होइनन् । स्मरण रहोस् तत्कालीन माओवादीका कसैलाई कारबाही गरेर पार्टी विभाजन भएको होइन ।

प्रचण्ड पनि सीमा सहितकै नेता हुन्, सीमा रहित होइनन् । उनको आलोचना गर्नेहरुमा म आफैँ पनि एक हुँ र आलोचना भन्दामाथि प्रचण्ड छैनन् पनि । तर लाग्छ समकालीन शीर्ष नेताहरुमा आजका मितिसम्म सबैभन्दा धेरै श्रद्धा र सम्मानयोग्य पनि उनै हुन् । अहिले पनि लाखौँ जनता प्रचण्डको अपिलमा आन्दोलित हुन तयार छन् । अनुरोध यति हो– मुख मिठ्याउँदै सिकार खाने तर प्राणी हत्या ग¥यो भनेर सिकारीकै आलोचना गर्ने नगरौँ । 

जन्मेको बच्चा गतिलो भए मेरो रगत र अगतिलो भए तेरो दूध खाएको भनेर महिलामाथि पुरुषहरुले अन्याय गरेझैँ तत्कालीन माओवादी आन्दोलनमाथि पनि अवमूल्यन गर्ने छुट कसैलाई छैन । अहिले मेरो रगत हो भन्नेहरुले व्यवस्था असफल भए माओवादीको दूध चुसेको व्यवस्था हो भन्न पनि बेर हुन्न । सय भारी खर काट्ने र पोल्नेको एउटै मूल्याङ्कन हुँदैन ।

नेपालको कम्युनिस्ट पार्टीका संस्थापक जम्मा ४ जना हुन् । सही विचारकै कारण अहिले कम्युनिस्ट पार्टी लोकप्रिय जनमतसहित सरकारको नेतृत्व गर्ने हैसियतमा आइपुगेको हो । त्यसैले कम्युनिस्ट पार्टीको असली कार्यकर्ताले विचार र एजेन्डा नै प्रधान ठान्नुपर्छ, सङ्ख्याको हिसाब गरेर बस्नु हुँदैन । प्रत्येक नेता कार्यकर्ताको दुईवटा जिम्मेवारी छन्–पार्टीको नाक जोगाउने, बिग्रेको पार्टी र नेतालाई सुधार्ने ।
एउटा क्रान्तिकारीलाई आन्दोलनमा जनता जति धेरै देख्यो उति धेरै खुसी लाग्छ भने जति खराबहरू देख्यो उति धेरै चिन्ता पर्छ । राजनीति बिग्रिँदा बिग्रेका मान्छेहरू हाबी हुन्छन् । राजनीति ठीक हुँदा ठीक मान्छेले उचित जिम्मा पाउँछन्, पाखा लाग्दैनन् । नेताको साखिल्ले मात्रै बन्ने कार्यकर्ता, प्रचार मात्रै खोज्ने जनप्रतिनिधि र फुट मात्रै चाहने गुट ‘कोरोना’ जत्तिकै खतरा हुन् । यिनले समाज बदल्दैनन्, बरु दलदलमा फसाउँछन् । 

रातो झण्डाको आडमा कालो काम गर्ने छुट कसैलाई छैन । गलतको विरोध गर्नैपर्छ– असल नरिसाऊन्, खराबहरु रिसाएर केही फरक पर्दैन । सड्न थालेपछि सल्यक्रियाको विकल्प हुँदैन । जनताले साथ नदिए वा नेतृत्वले विचार दिन नसके आन्दोलन सर्लक्कै फर्किन्छ र उपलब्धि सबै गुम्छ भन्ने सबैले हेक्का राख्नुपर्छ ।

राजनीति खराब भएपछि मन्त्री, सांसद र जुनसुकै तहका नेताहरुले आफूलाई जति ठालु ठाने पनि जनताको नजरमा घृणित देखिन्छन् । गाडीको सहचालकले एक छिनपछि सिट खाली हुन्छ भन्दा यात्रुले पत्याएझैँ धेरै नेता÷कार्यकर्ता पार्टी सुध्रिन्छ भन्ने पत्याएर पार्टीमा बसिरहेका हुन् ।

हामी आफूलाई मार्क्स, लेनिन र माओका चेला भन्छौँ । मार्क्सले ज्ञानमार्फत अहिलेसम्म शासन गरेका हुन् । सुन, पैसा र सम्पत्ति मात्रै जम्मा गरेको भए उनलाई पनि कसैले सम्झँदैनथ्यो । नेता भनेको कम्युनिस्ट अर्थमा अग्रदस्ता हो । जसले जनसमूहमा उन्नत चेतना प्रदान गर्दछ । 

चरम व्यक्तिवाद र संसदीय सत्तावादका कारण पद र पैसा हुनेहरू उत्साहित छन्, अरू निराश देखिन्छन् । आफ्नालाई चाट्ने र अरूलाई न्याक्ने खतरनाक प्रवृत्तिले कोरोना भाइरसले झैँ राजनीतिक पार्टीहरूलाई सङ्क्रमित गरिरहेको छ । त्यस्ता पात्र र प्रवृत्तिलाई बेलैमा ‘क्वारेन्टाइन’मा नराख्ने हो भने आन्दोलनकै सास नरोकिएला भन्न सकिन्न । विवेकको बिर्को बेलैमा खोलिएन भने गलत गतिविधिको परिणाम हामीले पाइला–पाइलामा भोग्न बाध्य हुनेछौँ ।

(लेखक नेकपाका कास्की जिल्ला कमिटी सदस्य तथा रूपा गाउँपालिकाका सचिव हुन् । )

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. April 25, 2020, 12:48 p.m. Arjun Shrestha
    प्रचण्डले हिजोको दिनमा गरेअनुसार पद पदावली उपाधि उपमा दिएको मा अब ठिक उल्टो चालमा छन् ओली र प्रचण्ड दुवै ले बेलैमा सोचेर वर्गिय हितमा नयाँ कदम चाल्नु पर्ने देखिन्छ, अन्यथा नेकपा दलाल पुँजीपति र भरौटे हरुको संगठनमा परिणत हुदैछ।
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.