केन्द्रीय संस्करण

कोरोना महामारीमा इन्जिनियरिङ समुदायको चुनौती र दायित्व

person explore access_timeबैशाख १४, २०७७ chat_bubble_outline0

-कुमार आचार्य 

मुलुकको विकास निमार्णका अभियन्ता तथा समृद्धिका संवाहक पनि हुन् इन्जिनियर । विज्ञान प्रविधिको यस युगमा विश्व समुदायका सपनालाई वास्तविकतामा ढाल्ने सामथ्र्य इन्जिनियरहरुमा हुन्छ । त्यसैले विद्यमान चुनौतीले इन्जिनियरहरुलाई थप जिम्मेवारी थपेको छ । 

जलवाय परिवर्तनको चुनौती सामना गर्न विकासका नवीनतम मोडलमा तल्लीन रहँदै आएको विश्व इन्जिनियरिङ समुदाय अहिले कोरोनाले आक्रान्त विश्व समुदाय माझ नवीनतम प्रविधिका मेडिकल उपकरण र दैनिक जीवनदेखि अर्थतन्त्र चलायमान राख्ने विभिन्न डिजिटल सोलुसन्सका साथ आफ्नो जिम्मेवारी निभाइरहेको छ । विकास विज्ञान र प्रविधिको क्षेत्रमा पछाडी रहेको हाम्रो जस्तो विकासन्मुख मुलुकमा इन्जिनियरहरु र इन्जिनियरिङ समुदायप्रति जनअपेक्षा अन्य मुलुकको तुलनामा उच्च रहनु स्वाभाविक हो । 

नेपाल इन्जिनियर्स एसोसिएसन इन्जिनियरहरुका हक हितको संरक्षण र विकास, समय सापेक्ष इन्जिनियरिङ शिक्षा, नवप्रविधिको विकास तथा प्रवद्र्धन गर्दै सम्पूर्ण इन्जिनियरहरुको अभिभावकत्व रहने गरी सामाजिक सेवा ऐनको व्यवस्था अनुरूप स्वतन्त्र गैरनाफामूलक संस्थाको रूपमा विसं २०१९ सालमा स्थापना भएको हो । ३२औँ कार्यकारिणी समितिसम्म आउँदै गर्दा निकै आरोह र अवरोहहरु पार गरिसकेको छ ।

इन्जिनियरिङ क्षेत्रका विकृति, विसङ्गतिहरुको निर्मूलीकरण, मुलुकमा आवश्यक प्राविधिक कार्यमा सहयोग पुर्याउनु तथा विपद र आपतकालीन समयमा समाजलाई सहयोग गर्नु एसोसिएसनका प्रमुख दायित्व हुन् । करिब २९ हजार नेपाली इन्जिनियरहरुको प्रतिनिधित्व गर्ने यस संस्थाले २०७२ सालको विनासकारी महाभूकम्पमा गरेका असङ्ख्य कार्यहरुले जनमानसमा यस संस्थाप्रतिको विश्वासलाई मजबुत गर्दै आफ्नो गरिमालाई थप उचाइमा लान सफल भयो ।

सबै ७५३ वटा स्थानीय निकायमा अईटी अफिसर राख्ने व्यवस्था र उक्त पदमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरहरुले समेत कार्य गर्न मिल्ने व्यवस्थाको लागि समन्वयकारी भूमिका, पुनर्निर्माण प्रधिकरणमा कार्यरत इन्जिनियरहरु आन्दोलित अवस्थामा सरकारसँग समन्वय गरी कार्यसम्पादन र भौगोलिक विकटताका आधारमा ७५ प्रतिशतसम्म भत्ताको व्यवस्था गर्नु र सम्पूर्ण सदस्यहरुको १० लाख बराबरको दुर्घटना बिमा गर्नु पछिल्लो समयमा एसोसिएसनले गरेका उत्कृष्ट कार्यहरु मध्येका केही दृष्टान्त हुन् । 

यसरी ५७ वर्षदेखि स्थापित गरिमालाई संरक्षण गरी एसोसिएसनलाई अझ सशक्त रूपमा अगाडि बढाउनु यसको प्रमुख दायित्व हो । 

नेपाल इन्जिनियर्स एसोसिएसन एउटा स्वतन्त्र पेसागत र बौद्विक छाता सङ्गठन भए पनि राजनीतिक ध्रुवीकरणले व्याप्त नेपाली समाजको वर्तमान परिस्थितिबाट एसोसिएसन समेत अछुतो छैन । बेला बखतमा देशको राजनिति र नेतृत्वप्रति व्यक्तिगत र समूहगत लगावका कारण साङ्गठनिक र बौद्धिक उपस्थिति फितलो हुँदा एसोसिएसनप्रति आम इन्जिनियरको विश्वास घट्दै जानु अहिलेको प्रमुख चुनौती मध्यको एक हो ।

पुनर्निर्माण प्रधिकरणमा कार्यरत प्राविधिक इन्जिनियरहरुद्वारा गठित पुनर्निर्माण प्राधिकरण राष्ट्रिय हकहित संरक्षण समितिले अघिल्लो वर्षको चैतमा घोषणा गरेको आन्दोलनका क्रममा मध्यस्ताकर्ताको भूमिकामा रहेको ने.इ.ए.द्वारा एक हप्ताभित्र मागहरु पूरा गर्ने आफ्नै सहमति, एक महिनासम्म उपलब्धिविहीन भएर नेइएको कार्यलयमा तालाबन्दीको अवस्थासम्म पुग्नु स्थापनाकाल यताकै ठूलो कमजोरी बन्न पुग्यो । 

कोरोनाका कारणले उत्पन्न विषम परिस्थितिमा नेइएको सक्रियता र सजगपूर्ण पहलकदमीका लागि इन्जिनियरिङ समुदाय र जनमानस अपेक्षाकृत रहेको संवेदनशील समयमा एसोसिएसन प्रभावहीन बन्नु दुःखद छ । साथै यस विपदको समयमा सिरान टेक्नोलोजीज प्रालिले काठमाडौँ प्रेसको साइटमा अनधिकृत पहँुच मार्फत समाचार हटाइएको र केही समयका लागि काठमाडौँ प्रेसले कुनै समाचार सम्प्रेषण गर्न नमिल्ने गरी एड्मिन अकाउन्टको सर्वाधिकार अपहरण गरेको घटना तथा पछिल्ला समयमा भइरहेको साइबर एट्याकका घटनामा नेइए मौन रहँदा एसोसिएसनको स्वतन्त्र संस्थाको छविमाथि गम्भीर प्रश्न खडा भएकोे छ ।

कोरोना रोकथामका निमित्त गरिएको लकडाउनका बीच नेपाल प्रहरी अन्तर्गत प्राविधिक तर्फको डीआईजी दरबन्दी खारेजीको गृहमन्त्रालयको निर्णय, सेनाद्वारा कानुनी रीत नपु¥याई द्रुत मार्गको परामर्शदाता छनोट तथा अर्थमन्त्रालयले परामर्श सेवा शीर्षकको बजेट रोक्का गर्न गरेको परिपत्र जस्ता इन्जिनियरिङ पेसासँग प्रत्यक्ष सरोकार राख्ने विषयहरुमा नेइए नेतृत्वको मौनता, वर्षौंदेखि स्थापित एसोसिएसनको विधि, मूल्य र मान्यता माथिको लकडाउन हो ।

त्यस्तै यस विषम परिस्थितिमा प्रकाशित विभिन्न बोलपत्र सुचना बारे नेइए नेतृत्वको धारणा आउन नसक्नु र कुनै एक जनवर्गीय सङ्गठनले स्वास्थ्य मन्त्रालयलाई एप बनाउन सहयोग गरिसक्दा समेत कुनै पनि प्रविधिक नेतृत्व लिन नसक्ने संस्थाका नेतृत्वको असक्षमता कारणले, प्रतिष्ठित यस संस्थालाई नै क्वारेन्टाइनमा अवसान गराएको छ । 
एकातर्फ कोरोनाको विपदमा एक जिम्मेवार संस्था शून्य उपस्थिति त अर्कोतर्फ आम इन्जिनियरहरु माझ गुम्दै गएको नेइएप्रतिको विश्वासलाई पुनः स्थापित गर्न विलम्ब गरे नेपाल इन्जिनियर्स एसोसिएसनको औचित्यमाथि नै प्रश्न नउठ्ला भन्न सकिँदैन । कोरानाको विश्वव्यापी महामारीमा विभिन्न देशका इन्जिनियरिङ समुदायहरु आआफ्नो तर्फबाट योगदान गर्न अहोरात्र समर्पित रहिरहँदा वर्तमान कार्यसमितिले ढिलै भए पनि निम्न लिखित सुझावहरुको कार्यान्वयन गर्ने उत्तरदायित्व निर्वाह गरी नेपाल ईन्जिनियर्स एसोसिएसनले आम इन्जिनियरको विश्वासलाई जिवित राख्न सक्नु पर्दछ । 

१. कोरोनाको रोकथाममा आवश्यक र अन्य मुलुकमा अपनाइएका प्राविधिक विषयवस्तु जस्तै स्वाब सङ्कलन बुथ, सेनिटाइजर गेटलगायत सरकारसँग समन्वय गरी वा आफ्नै लगानीमा नमुना बनाउने र सोको प्राविधिक गाइडलाइन प्रकाशन गर्न तथा अन्य आवश्यक ठाउँमा प्राविधिक परिचालन गर्ने ।

२. आपतकालमा स्थानीय सामग्रीबाट कसरी छोटो समयमा कोरोना अस्थायी अस्पताल, आइसोलेसन कक्ष तथा क्वारेन्टाइन स्थल बनाउने भन्ने बारे निर्माण विधिसहितको श्रव्यदृश्य सामग्री, प्रक्रियागत जानकारी तथा प्राविधिक स्ट्यान्डर्ड÷गाइडलाइन निर्माण गर्ने ।

३. नेइएमा सम्बद्ध तथा आम इन्जिनियरहरु कोही विदेशबाट पछिल्लो समय आउनु भएको भए सोको विवरण सङ्कलन गरी सरकारलाई सहयोग पु¥याउने ।

४. सरोकारवाला निकायसँगको समन्वयमा एउटा सरल मोबाइल एपको निर्माण गरी सो एपबाट सङ्क्रमित देशबाट आएकाहरु, सङ्क्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट चेइनका आधारमा ट्रेसिङ, ट्रयाकिङ र मनिटरिङ गर्ने व्यवस्था बनाउने ।

५. लकडाउनकै समयावधिमा वा लगत्तै सामाजिक दूरी कायम गरी विकास निर्माणका काम कसरी गर्न सकिन्छ भनेर विज्ञसँग छलफल र अध्ययन चलाउने ।

६. नेईएले शुक्रबार अतिथि बोलाएर गर्ने अन्तक्र्रिया कार्यक्रमलाई डिजिटल भर्जनस्वरूप हरेक हप्ता नवीन विषयमा सेमिनारहरु सञ्चालन गर्ने ।

७. घरमा बस्ने प्राविधिकहरुको लागि डिजिटल प्लाटफर्म मार्फत तालिमहरु (सफ्टवयर लगायतको) सञ्चालन गर्ने ।

८. विभिन्न मेडिकल उपकरणहरुको स्वदेशमा उत्पादन गर्न आवश्यक रिसर्चहरु गर्ने÷गराउने ।

९. लकडाउनले इन्जिनियरिङ पेसा र समस्त इन्जिनियरहरुमा आउन सक्ने आर्थिक सङ्कट जस्तै रोजगारी गुम्न सक्ने समस्या, प्राविधिक काममा ह्रास आई व्यवसायमा पर्न सक्ने घाटा लगायतका विषयलाई सरकार समक्ष गम्भीर रूपमा प्रस्तुत गर्ने तथा भविष्यमा बन्ने आर्थिक निति र आर्थिक राहत प्याकेजमार्फत प्राविधिकको माग सम्बोधन हुने गरी समावेश गराउने । 

९. लकडाउनमा आम इन्जिनियरहरुमा आउन सक्ने समस्याको सहजीकरण र समाधानका निमित्त नेईएको सम्पर्क नम्बरलाई सामान्य अवस्था नहुँदासम्मका लागि हटलाइन सेवाका रूपमा सञ्चालनमा ल्याउने । 

कोरानाको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्र र विकास निर्माणका कार्यहरुमा प्रत्यक्ष प्रभाव पार्ने विश्लेषणहरु भइरहँदा तत्कालीन योजनाहरुसँगै दीर्घकालीन योजनाहरु अघि बढाउन नेइए नेतृत्व तदारुकताका साथ लाग्नु पर्ने देखिन्छ ।

इन्जिनियरिङ पेसालाई मर्यादित गर्न दक्ष र सक्षम जनशक्ति उत्पादनको लागि इन्जिनियरिङ शिक्षाको गुणस्तरीयता अभिवृद्घि, आधारभूत मापदण्डहरुको सुनिश्चता, सर्वसुलभ र व्यावहारिक इन्जिनियरिङ शिक्षाको व्यवस्थाका लागि सरोकारवालासँग निरन्तर समन्वय गर्नु नेइएको महत्त्वपूर्ण जिम्मेवारी हुन् । हाल इन्जिनियरिङ संस्थान अन्तर्गतका निजी कलेज र अन्य विश्वविद्यालय मातहतका कलेजहरुमा विद्यार्थीलाई प्रदान गरिने छात्रावृत्तिको हकमा पहिलो सेमेस्टर सकिँदासम्म पनि कसले पाउने भन्ने अनिश्चितताका कारणले भर्ना शुल्क बुझाउन नसक्ने जेहेनदार विद्यार्थीले पढाइबाट वञ्चित हुनुपरेको अवस्थामा, सम्पूर्ण विश्वविद्यालयसँग समन्वय गरी भर्ना अगावै छात्रावृत्तिको जानकारी विद्यार्थीले पाउनुपर्ने व्यवस्था मिलाउन नेईएले पहलकदमी लिनु आवश्यक छ ।

यस्तै विकासका आयोजना छनोटदेखि कार्यान्वयनका विभिन्न चरणहरुमा प्राविधिक पक्षहरुलाई निराधार बनाई, क्षणिक राजनीतिक लाभ र सस्तो लोकप्रियताका लागि गरिने कामहरुको गुणस्तरीयताले बढ्दै गएको जनगुनासोका कारण सम्पूर्ण इन्जिनियरिङ समुदायप्रति नकारात्मकता ल्याएको वर्तमान परिस्थितिमा केन्द्रदेखि स्थानीय सरकारसँग व्यापक छलफल गरी प्राविधिक पक्षमा शून्य सहनशीलताको अवधारणा अविलम्ब अख्तियार गर्नु पर्दछ । 

इन्जिनियरिङ शिक्षामा रहेको व्यापारीकरण, बेला बखतमा इन्जिनियरहरुलाई हुने भौतिक हमला र अनैतिक आक्रमण, स्वार्थमा लिप्त भई गरिने प्राविधिक कार्य सम्पादन लगायतले सङ्क्रमित यस इन्जिनियरिङ क्षेत्रलाई बेलैमा उपचार गर्न अग्रसरता लिन जरुरी देखिन्छ ।

इन्जिनियरिङ स्टाफ कलेजको विषयलाई टुङ्ग्याई थप अवसरको सिर्जना, सुविधा अभिवृद्धि, हक र अधिकारको संरक्षण, कार्यसम्पादनमा नकारात्मक असर नपर्ने गरी न्यूनतम पारिश्रमिकको व्यवस्था, दक्ष जनशक्तिको वैदेशिक बर्हिगमनमा नियन्त्रण तथा यथेष्ट रोजगारीको सिर्जनाले मात्र नेपालको इन्जिनियरिङ समुदायलाई सबल बनाउन सक्दछ ।

कोरोनाको विश्वव्यापी महामारी पश्चातको नव युगमा एकीकृत ढङ्गले इन्जिनियरिङ क्षेत्रलाई सबल, सक्षम र स्वाभिमानी रूपमा स्थापित गर्दै विकासका नवीनतम आयामहरुमा सरकारको मेरुदण्ड बनी अर्थतन्त्रलाई गतिशील बनाउन मद्दत गर्न दृढ कार्यशक्ति भएको कार्यकारणी समिति नै यस संस्थाको आजको आवश्यता हो ।

लेखक सिभिल इन्जिनियर हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.