केन्द्रीय संस्करण

छोराको लकडाउन डायरी

person explore access_timeबैशाख १५, २०७७ chat_bubble_outline0

 छोराले यसपालि कक्षा १ बाट उक्लिएर कक्षा २ मा पाइला टेक्यो । कक्षा एकको अन्तिम दिनको हाजिरी सकेर छोरा घर फर्किंदा, कोरोना कहर छल्न हामी राजधानी छाड्ने चाँजो मिलाउँदै थियौँ । स्कुलका आखिरी दिनहरु सकिँदा नसकिँदै आकाशमा कोरोना कहरको कालो बादल मडारिन सुरु भइसकेको थियो । जब स्कुल सकियो, मुलुकलाई कारोना कहरले झयाप्पै समात्यो । अनि सुरु भयो लकडाउन नामको अन्त्यहीन गृहबन्दीको उच्चाट लाग्दो दैनिकी । 

लकडाउन नामको सरकारी आदेश जारी  हुनुभन्दा एक दिन अगाडि हामी आफ्नो पुरानो थातथलो चितवन आइपुगेका छौँ । चितवनमा हाम्रो  घर  छ । घर नजिकै जङ्गल र खोला छ । छोरा स्वभावले  प्रकृतिप्रति  जिज्ञासु छ । जङ्गल र खोला भनेपछि हुरुक्कै हुन्छ । प्यास मेट्न खोला तीर झरेको हरीणको बथान देख्दा खुसीले उफ्रिन्छ । अनि हरिणको गन्ती सुरु गर्छ ।  विदेशी पर्यटकले झैँ  बाइनाकुलर आँखामा राखेर खोला छेउमा घाम तापिरहेको गोही हेर्न खुब स्वाद मान्छ । गोहीले कसरी माछा खान्छ भनेर सोध्यो भने, दुई हातका नाडीलाई जोडेर पन्जालाई एकअर्काबाट टाढा फैलाउँछ । अनि आऽऽऽ गरेको गोहीको मुखको आकार देखाएर स्वादले बयान गर्छ । चितवनमा उसलाई  कमिलाबाहेक सबैथोक मनपर्छ । हरेक चोटि चितवन जाने कुरा झिक्यो कि कमिलाले डसेको दुखाइ सम्झन्छ । अनि कमिलालाई अङ्ग्रेजीमा सराप्छ । आई हेट आन्ट इन चितवन ।

पढ्न र लेख्न भनेपछि छोरा लम्पट अल्छी छ । भित्तामा कोर्न, कैँची चलाउन, कागज काटेर घरभरी फोहोर गर्न, डोरीमा गाँठो पार्न, सोफाबाट भुइँमा हाम्फाल्न केटो निकै जाँगरिलो छ । सदाझैँ यसपालि पनि  स्कुले छुट्टीमा चितवन आउँदा गैँडा हेर्ने, डुङ्गा  चढ्ने, गाडीमा चढेर जङ्गल  जाने, सौराहा घुम्ने, खोला नजिकैको रेस्टुरेन्टमा बसेर फूलउठेको मकैलाई पपकर्न भन्दै स्वाद मानी मानी चपाउने  रहर थियो । चौरमा दौडने, उफ्रने,  पौडी खेल्ने  अनेक कल्पनाहरु थिए । उसका यी तमाम चुलचुले कल्पनाहरु कोरोना कहरले झ्वाम बनाइदिएको छ । 
१११
आफैलाई आफ्नो घरभित्र थुनेर गृहबन्दीमा बस्नु मान्छेको स्वभाव विपरीतको कर्म हो । स्वाभावैले मानिस बाहरी संसार चिहाउन, गतिशील, चलायमान भइरहन लालयित हुन्छ । झन् चुलबुलिने उमेरका केटाकेटीहरुलाई घरभित्रै थुनेर राख्नु त तिनको कलिलो मनमा सुलले रोप्नु सरह हुन्छ । तर कोरोना नामको अदृश्य शत्रुको आखेटबाट बच्न गृहबन्दीमा थुनिनु नै लडाइँको सबैभन्दा शक्तिशाली अस्त्र भएको बेला, चुपचाप गृहबन्दीमा बस्नु नै यतिबेलाको जीवन नियति भएको छ । फरक यति छ, म सरकारी आदेशले गृहबन्दी भएको छु । छोरो मेरो आदेशले गृहबन्दी भएको छ । 

स्कुले छुट्टीमा गरुँला भनेको छोराको बाल मनसुवालाई लकडाउनले भाँजो हालेको छ । उसका अनेक रहरहरु गृहबन्दीमा थुनिएको छ । ड्याडी मम खान मन लाग्यो । लकडाउन छ, छोरा । कुखुराको ससेज ? नजिकैको पसलमा ससेज पाइँदैन ।  अलिपर जान  लकडाउनले दिँदैन, छोरा ।  अनि पौडी ? पौडी पोखरी बन्द छ, बाबु  । छोरा बाहिर  घुम्न हिँड् भन्छ । छिमेकीको घरमा आफ्नो उमेरका दौँतरीसँग खेल्न जान्छु भनेर दाम्लो चुँडाउन खोज्छ । घरी घरी मोबाइलमा भुल्छ । मोबाइल हेर्दाहेर्दा दिक्क लागेपछि झ्यालबाट बाहिर चियाउँछ । अनि फेरि बटारिने कुरा गर्न थाल्छ । छोरा भड्किएर जान्छु बाहिर भन्छ । म सम्झाउन खोज्छु । यसो थामिए जस्तो गर्छ । फेरि कुन बेला झोँक चल्छ अनि तेरो लकडाउन कहिले खुल्छ ? भनेर मलाई र्याख र्याख्ती पार्छ ।

म लकडाउन कहिले खुल्छ भनेर  परिस्थितिको जोखना हेर्छु । सरकारले मेरो थाप्लोमाथि लकडाउन थोपरेको छ, मैले छोराको थाप्लोमा । अब एक हप्तामा खुल्छ भनेर सम्झाउँछु । स्कुले पढाइमा अल्छी भए पनि गणितमा केटा तेज छ । कम्तीमा लकडाउनको थपेको दिन औँला भाचेर गणना गर्न सक्छ । सात दिन कटेपछि आठौँ दिन बिहानै  सोध्छ, सकियो लकडाउन ? छैन बाबु । सरकारले ममाथि फेरि लकडाउनको समय थपेको छ । बाध्य भएर अनकनाउँदै मैले छोरा माथि थपेको छु ।
लकडाउन थपिने क्रम निरन्तर जारी छ । म सरकारी आदेश पालन गरेर गृहबन्दीमा छु, छोरा मेरो आदेशको पालना गरेर । लकडाउन सुरु भएदेखि छोरोका एउटै प्रश्न सामना गर्दा गर्दै म आजित भइसकेको छु ।  अब कति दिनमा सकिन्छ लकडाउन ? उसको देखिने प्रश्न यो हो । प्रश्नको भाव मेरो गुमेको बाल स्वतन्त्रता फिर्ती हुन्छ भन्ने छ । मसँग निकै कचकच गर्छ, मानौँ यो लकडाउनको सृष्टिकर्ता नै म हँु । म सम्झाउँछु । एकछिन सम्झेजस्तो गरेर मुन्टो हल्लाउँछ । झोडी टाइपको यो मनुवा एकछिनमा फेरी उही प्रश्न तेस्र्याउँछ । लकडाउन कहिले खुल्छ ? 

कोरोना जिवाणुको नाम उसले स्कुलमा नै सुनेको हो । कोरोनासँग बच्न स्कुलमा उसलाई दुई जुक्ति सिकाइएको  थियो ।  हातमा सेनिटाइजर नाम गरेको जीवाणु भक्षक झोल दल्ने र  मुखलाई मास्कले छोपेर जीवाणुलाई नाकको प्वालबाट  भित्र छिर्न नदिने । आज्ञाकारी भएर केटाले यी दुई जुक्तिको पालना गरिरहेको थियो । जब लकडाउन नामको तेस्रो जुक्ति थपियो । अनि उसको कलिलो मनमा आफ्नो बालापन खोसिएको भावले कोपर्न थाल्यो । अनि बेला बेलामा मलाई आफ्नो बाल विद्रोही रूप देखाउन थाल्यो । कोरोना कहरको भोगाइबाट उसले दुईटा कुरा बुझेको छ । पहिलो, लकडाउनको कारण कोरोना हो,  बाहिर निस्कियो भने कोरोना नाम गरेको जीवाणुले झयाप्पै समात्छ  । दोस्रो, लकडाउनको सृष्टिकर्ता मेरो बाउ हो । त्यसैले उसलाई कोरोना र आफ्नै बाउप्रति अपार गुनासो छ । देखिने गरी मसँग, नदेखिने गरी कोरोनासँग ।

गृहबन्दीमा थुनिएर आजित भएको छोराले एक दिन लुँडो खेल्ने  रहर ग¥यो । पाइन्छ कि पाइँदैन भन्दै घर छेउको पसलमा बुझ्न जाँदा लुडो खेलको सामग्री पाइयो । घर आएर केटो लँुडो खेल्न थाल्यो । अलिक दिन केटा लुँडो खेलमा भुल्यो । अगाडि जो देख्यो खेल सामग्री भुइँमा फिजाएर लौ खेलम भन्थ्यो । कहिले मसँग, कहिले दिदीसँग, कहिले ममीसँग कहिले हजुर बासँग । मनमनै सोचेँ केटा राम्रौ इलममा भुलेको छ । खेल्दै जाँदा  कहिले उसको गोटी भ¥याङ्गको फेदमा  पुग्थ्यो । गमक्क पर्दै गोटीलाई सीधै माथी  भ¥याङ्गको  टुप्पोमा साथ्र्यो । अझ ठूलो भ¥याङ्ग सर्लक्कै उक्लिन पाए दुई हातमाथि उफ्रिएर चिच्याउँथ्यो । कहिले  सर्पको मुखमा पथ्र्यो । मलिन अनुहार पार्दै गोटीलाई सीधै पुच्छरमा झाथ्र्यो ।

एक दिन दिदीभाइ लुँडो खेल्दै  थिए । म छेउमा बसेर हेरिरहेको थिएँ । दिदीभाइ पालैपालो षट्कोण आकारको गोटीलाई गोटीदानीमा हल्लाउँदै नम्बर गन्दै गोटी चाल्दै गए । कहिले भ¥याङ्ग  चढ्ने, कहिले सर्पमा मुखमा परेर झर्ने क्रम चलिरह्यो ।  खेलमा दिदी पछिपछि, भाइ अघिअघि हुँदै गए । जित्छु भनेर अघिअघि लम्कदै गरेको केटाको गोटी निकै माथि पुगेर ऊभन्दा पनि लामो सर्पको मुखमा पस्यो । एकैचोटि तल झरेर सर्पको पुच्छरमा आइपुग्यो । अघिसम्मको उसको चुरीफुरी निस्तेज भयो । गोटी निल्ने  निर्जीव रातो सर्पसँग रिसले आगो भयो । कसेर एक मुक्का सर्पको मुखमा हान्यो । रिसको झोकमा गोटी हल्लाउने भाडो हु¥र्यायो  । गोटी चाल्ने वर्गाकार कागजको छाप नै च्यातुँलाझैँ ग¥यो । फन्केर उठ्यो । अनि हार खप्न नसकेर घोसे मुन्टो लगाएर बस्न थाल्यो । भाइको यस्तो हर्कत देखेर दिदीले नरमाइलो मानी । 

मैले यो झोडी मनुवालाई सम्झाउने विचारले फकाउँदै काखमा राखेँ । अनि उसले बुझन्े सङ्केत र शब्दमा मैले सम्झाएँ । हेर केटा † जीवनको लय सधैँ एकनाशको हँुदैन । न त जीवन नियती सधँै आफू अनुकूल भइरहन्छ । जीवनमा कहिले हार, कहिले जित भइरहन्छ ।  दुवैलाई सहर्ष स्वीकार्नु बुद्धिमानी हो । कहिले उक्लिएर माथि पुग्नु, कहिले पछारिएर तल झर्नु जीवनको नियति हो । पछारिएकै थलोबाट उठेर  धुलो टकटक्याउँदै  आफ्नो पथमा लम्किरहनु जीवनको सुन्दर पक्ष हो । नीति वचन सकेर मैल सोधेँ, बुझ्यौ ? केटाले बुझेजस्तो गरी सकारको भाकामा मुन्टो हल्लायो ।

मेरो कुरो बुझेर हो वा खेल्दै जाँदा कहिले भ¥याङ्ग चढ्ने र कहिले सर्पको मुखमा पस्ने घटनाबाट चेतेर हो । आजकाल ऊ नियमबद्ध ढङ्गले लुँडो  खेल्छ । कहिले हार्छ, कहिले जित्छ । केटाकेटीहरुले पाठशालामा त उही अङ्क, अक्षर चिन्ने त हो नि । जीवन त भोगेर सिक्ने रहेछन् ।

छोरा यतिबेला गाउँबाट नगरमा फेरिँदै बाउको थलोमा छ । ऊ बेला यो ठाउँ गाउँपालिका थियो । गाउँमा विकास पस्यो, अहिले नगरपालिका  भाको छ । बाटोमा घाउको पाप्रा जस्तो उप्कँदै जाने अलकत्रा छ । जग्गाविद्हरुले खेती गरेर खाने जग्गा चिरेर प्लटिङ गरेका छन् । केटाकेटीहरु गलामा टाइ बाँधेर स्कुल जान्छन् । घरघरमा स्कुटर र मोटरसाइकल छ । नगरबासीहरु पाप्रा उप्केको पिचबाटोमा मोटरसाइकल हुइक्याउँछन् । हातहातमा वाइफाई जोडिएको मोबाइल छ । घर घरमा रङ्गीन टिभी छ । टिभीमा विदेशी एचडी च्यानल जोडिएको छ ।  गाउँमा विकासको मूल फुटेर नगरमा परिणत हुँदै छ ।  

तर गाउँ पूर्ण रूपमा नगरमा फेरिन अझै केही कुरा बाँकी छ । यदाकदा करेसबारी अझै  बाँकी छ । घाम उदाएको, अस्ताएको देखिन्छ । भाले बासेको सुनिन्छ । चारा खोज्न चराको बथान आगन, पीडितिर नाचिरहन्छन् । गाईबस्तु पाल्ने दुई चार घर अझै बाँकी छ । बिरलै भए पनि बाटोमा साइकल गुडेको देख्न पाइन्छ । 

लकडाउन नामको गृहबन्दी  केटाकेटीहरुले गर्न पाउने निकै सीमित कर्महरु छन् । अधिकांश समय टिभी र मोबाइलको पर्दामा कृत्रिम संसार हेर्छन । हाई काढ्छन । आङ तन्काउँछन् ।  खान्छन् । सुत्छन् । बस एउटै चक्रको दैनिकी ।

कृत्रिम संसार हेर्दाहेर्दा वाक्क लागेर होला छोरो यसो बाहिर निस्कन थाल्यो । आगन र करँेसाबारीमा निस्केर भुल्न थाल्यो । आगनमा खेल्यो, उफ्रियो । करेसबारीमा गएर माटो कोपर्ने,  बिरुवा निमोठ्ने, भाँच्ने, गर्न थाल्यो । किताबी पानाको निर्जीव चित्रमा देखेको जीव र वनस्पतिलाई सजीव आफ्नै अगाडि देखेर होला  केटो करँेसाबारीमा अलि घुलमिल हुन थाल्यो । 

किताबमा पढेको वनस्पतिको चित्रलाई करेँसाबारीमा भएको वनस्पतिसँग भिडायो । हातले प्रत्येक बिरुवा छुँदै यो फलानो, यो फलानो भन्दै मलाई पढायो । पुतली उडेको हे¥यो । विभिन्न रङ्गका पुतलीहरु गन्यो । काग अलि चतुर चरो हुन्छ भनेर चिन्यो । पर खेतमा फुडिफोरको खुइलिएको तालु देखेर दङ्ग परेर हास्यो । फुडिफोर चरालाई अङ्ग्रजीमा सारस भन्छन् भनेर मलाई पढायो । कुखुराको पोथीले अण्डा पार्छ । एकाबिहानै भाले बास्छ भनेर चाल पायो । 

 आँपको रुख, फर्सीको लहरा, गाँजरको जरा, गुलाफको फूल, खुर्सानीको बोट, केराको घारी आदिमा भुल्दै गयो । आफ्नै हातले फर्सीको मुन्टा टिप्यो । गाजर उखेल्यो । यिनले फल कसरी लाग्छ ? बीउ कसरी रोपिन्छ ? यिनको आयु कति हुन्छ ? कतिकुरा मलाई पढायो, अलमल परेको कुरा सोध्यो । अलि दिन केटो प्रकृतिमा भुल्यो । प्रकृतिको काखमा बसेर विज्ञान पढ्यो ।

अलि दिन करेँसाबारीमा टहलिएपछि छोराले सोध्यो । ड्याडी, केराको बीउ फलमा किन भेटिँदैन ? । केरा कसरी रोपिन्छ ? मनमनै भने । स्याबास केटाले करेँसाबारीमा बसेर अलिकति भए पनि वनस्पती विज्ञान  सिकेछ ।

करेँसा बारीको बोट बिरुवालाई एकसरो निमोठ्ने धोको पुगेपछि फेरि केटा खालि भयो । अनि लकडाउन सम्झिँदै गनगन गर्न थाल्यो । ट्याम पास गर्न उसले नयाँ जुक्ति झिक्यो । जुक्ति भन्नु के छ र ? उट्पटयाङ काम । 
उसलाई डोकाले चरा छोप्ने भुत सवार भयो । घर छेउको छाप्रोमा राखेको चोयाको डोको झिक्यो ।  डोकोको टाउको लामो डोरी बाँध्न लगायो । भान्छाबाट अनिकालको चामल एकमुठी ल्याएर आगनमा छ¥यो । अनि चरा आउने दिशातर्फ  डोकोको  मुख आँ बनाएर  आफू डोको पछाडि हातमा डोरी समातेर डोकोले छेलिएर बस्यो । केटो सास दबाएर घाममा डोरी समातेर चरालाई पासो थाप्न बसेको छ । डोकाको पासोमा चरा नपर्ला भनेर घरमा अरुलाई चुइँक्क बोल्न दिँदैन ।  एकाध चराहरु डोकोको छेउछाउमा आएर चुच्चोले चामलको दाना टिप्छन् । केटो अब त फस्लाकी भन्ने मनसुवाले आफूलाई तयारी अवस्थामा राख्छ । बाठा चराहरु डोको परै बसेर पेटभरी आहारा खान्छन् । केटोलाई धन्यवाद ज्ञापन गरेर उतैबाट बाटो लाग्छन् । अर्को हुल चराहरु फेरि डोको छेउ छेउ आउछन् । केटो हौसिन्छ । 

यसपालि दुई थान चरा डोकाभित्र पसेर आहारा खान थाले । केटोले हातको डोरी फुत्त छोड्यो ।  डोकोको मुखले भुइँलाई  झ्याप्प छोप्यो । तर धुर्त चराहरु डोकोले भुइँ नछुदै उडेर भागे । दुई चार खेप केही चराहरु डोको भित्रै आएर  चुच्चोले चामलको दाना ठुङ्गे तर केटोको पासोमा पर्न कुनै चरा राजी भएनन । अथक प्रयासपछि केटोले हावा खायो । भोलिपल्टबाट केटोले डोको धन्दा छोड्यो ।

भोलि पल्ट बिहान फेरि उसको मनमा नयाँ अर्को जुक्ति फुर्यो । बिहान उठ्नासाथ उसले मलाई एक थान कुखुराको पोथी किन्दे भनेर अड्डी कस्यो । किन बाबु ? कुखुराको पोथीले अण्डा पार्छ । अण्डाबाट फेरि चल्लाहरु निस्कन्छ । पोथीले अण्डा दिएको र चल्ला कोरलेको हेर्ने । 

छोराको फर्माइसमा रातो कुखुराको पोथी घरमा आयो । जसै घरमा पोथी आइपुग्यो, छोरा  पोथीको लगनशील हेरालु बन्न थाल्यो । कुखुराको मुख ताकेर चामलको गेडा फाल्ने, थालमा पानी थापेर कुखुराको थुतुनु नजिकै लगेर राख्ने कर्ममा दत्तचित्त भएर लाग्न थाल्यो । मानौँ केटाले लकडाउन नै भुल्यो । घरी घरी पोथीलाई लखेट्छ ।  हातले छोप्न खोज्छ । केही बेर सुस्ताउँछ ।  पोथीले  माटो खोस्रेको चाख मानेर हेर्छ । बेलाबेला अण्डा झार्ला कि भनेर पोथीको चाकतिर हेर्छ । किनेर ल्याएको दिन पोथीले अण्डा पारेन । बास बस्न पोथी गुँडमा पस्यो ।  केटा निराश भएर  आफ्नो गुँडमा फर्कियो । 

भोलि पल्ट पोथीले अण्डा पा¥यो । पोथीले पारेको अण्डा हातमा समाउँदै ऊ खुसीले बुर्कुसी मार्न थाल्यो । मानौँ पोथीले सुनको अण्डा पा¥यो ।  घरभरीको सबैलाई अण्डा देखाउँदै हिँड्न थाल्यो । पोथीले दैनिक एउटा अण्डा पार्न थाल्यो । केही दिन केटा पोथी र अण्डाको गन्तीमा भुलेको छ । मलाई कचकच गर्न  अलि कम गर्न थालेको छ । 

खगेन्द्र दाईले लेखेको सम्झन्छु । जीवनमा बाउ बन्न सजिलो छ, असल बाउ बन्न गाह्रो छ । बस् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.