बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इरफान खानले अन्तरवार्तामा भनेका थिए, ‘म केही महिनामा मर्न सक्छु, जिन्दगीले मलाई धेरै मौका दिइरहेको छ ’

बुधबार, १७ वैशाख २०७७, १३ : १७
बुधबार, १७ वैशाख २०७७

बलिउड अभिनेता इरफान खान न्यूरोएन्डोक्राएन क्यान्सरबाट पीडित थिए । उनको ५४ वर्षको उमेरमा बुधबार बिहान मुम्बईको कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा निधन भयो ।

उनको उपचार लण्डनमा भएको थियो । त्यहाँ रहँदा उनले असोसिएटेड प्रेससँगको अन्तर्वार्तामा आफ्नो स्वास्थ्यबारे कुराकानी गरेका थिए ।

इरफानले त्यतिबेला एपीसँग गरेको कुराकानीको अंश पुनः प्रकाशन गरिरहेका छौं ।

केमोका चारवटा सेसन पूराः
इरफानले आफ्नो केमोको ६ वटा सेसन मध्ये चारवटा पूरा भएको बताएका छन् । ६ सेसन पूरा भएपछि पुनः क्यान्सरको स्क्यान गर्नुपर्ने उनले जानकारी दिए । आफ्नो स्वास्थ्यमा सुधार आइरहेको बताउँदै उनले अन्तर्वार्तामा भने, ‘तेस्रो सेसन पछि गरिएको स्क्यानको रिजल्ट सकारात्मक आयो । तर पनि हामीले छैठौं सेसनको रिजल्ट हेर्नुपर्छ । त्यसपछिको रिजल्टले मलाई कहाँ पुर्याउँछ, त्यो हेर्न बाँकी नै छ ।’
जीवनको अनिश्चितता बारे कुरा गर्दै उनले भने, ‘कसैको जीवनको ग्यारेन्टी हुँदैन । मेरो दिमागले सधैं मलाई मेरो रोगबारे अवगत गराउँछ र केही महिना, एक वा दुई वर्षभित्र म मर्न सक्छु भनी याद दिलाउँछ । अथवा म आफ्नो दिमागले भनिरहेको कुरालाई पूर्ण रुपमा खारेज गरेर त्यसरी बाँच्न सक्छु जसरी जिन्दगीले मलाई बाँच्ने बाटो देखाइरहेको छ । साँच्चै जिन्दगीले मलाई धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि चारैतर्फ अन्धकारले भरिएको बाटोमा म हिँडिरहेको छु । जिन्दगीले मलाई के दिइरहेको छ, त्यो म देख्न सक्दिनँ ।’

इरफान थप्छन्, ‘तपाईं सोच्न छोड्नुहुन्छ, योजना बनाउन छोड्नुहुन्छ, अनावश्यक कराउन छोड्नुहुन्छ । तपाईंले जीवनको अन्य पाटो हेर्न थाल्नुहुन्छ । जीवनले तपाईंलाई धेरै दिएको छ । यसले तपाईंलाई धेरै कुरा उपलब्ध गराएको हुन्छ । त्यसकारण मलाई लाग्छ कि मसँग धन्यवाद बाहेक अरु कुनै शब्द नै छैनन् । केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन ।’

फिल्मका स्क्रिप्ट पढिरहनुभएको छ भन्ने प्रश्नमा इराफान भन्छन्, ‘छैन, म यसबाट पूर्ण रुपमा बाहिरिएको छु । यो वास्तविकता र भ्रमको सही अनुभव हो । मेरो दिनको कुनै भविष्यवाणी छैन । मलाई लाग्थ्यो कि मेरो जीवन सधैं यस्तै नै रहिरहनेछ तर मैले कहिले पनि अप्रत्याशित र असामान्य घटनाको अभ्यास गर्न सक्दिनथें । र अहिले जे भइरहेको छ त्यसका लागि मैले कुनै योजना बनाएको थिइनँ । म ब्रेकफास्टका लागि जान्छु, त्यसपछि मेरो कुनै योजना हुँदैन । जीवनले मलाई जस्तो दिइरहेको छ, त्यसरी नै लिइरहेको छु । यसैले मलाई निकै सहयोग गरिरहेको छ । म योजना बनाउदिनँ । मैले जीवनलाई निरन्तरता मात्र दिइरहेको छु र यो अनुभव मलाई मन परिरहेको पनि छ । मेरो जीवनमा केही कुराको कमी थियो । मैले  आफैंलाई नष्ट गरिरहेको छु जस्तो लाग्थ्यो । मभित्र एक अन्तरद्वन्द्व हुन्थ्यो । यसले नै मलाई तनाव दिइरहेको थियो ।  र मलाई लाग्छ कि म जीवनमा यही सहजता  मिस गरिरहेको थिएँ । खचाखच योजनामा बाँचिरहेका हामीलाई यो वास्तविक नलाग्न सक्ला । तपाईं कसरी आफ्नो जीवन त्यसरी बिताउन सक्नुहुन्छ रु तर जीवन निकै रहस्यमयी छ, यसले धेरै कुरा प्रदान गर्छ । हामी वास्तवमा नै केही कुराको प्रयास नै गर्दैनौं । म प्रयास गरिरहेको छु जुन मलाई प्रिय लागेको छ । म साँच्चै नै निकै भाग्यशाली अवस्थामा छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप