केन्द्रीय संस्करण
राजनीति

नेपाली राजनीतिको भूमरी : ‘ताप्केबाट उम्केर भुंग्रोमा’ नबनोस्

‘ओली प्रवृत्ति’को उपचार खोजिँदै गर्दा खोतल्नैपर्ने केही गम्भीर ‘इस्यू’

person explore access_timeबैशाख १८, २०७७ chat_bubble_outline1

 

कहीँ आफ्नै भूमरीमा
आफैं पर्यौ कि, आफैं पर्यौ कि
कहीँ आफ्नै आँखाबाट
आफैं झर्यौ कि

अहिलेको अवस्थामा नेपाली सत्ता–राजनीतिको मियो पार्टी हो नेकपा । प्रचण्ड बहुमतसहित अहिले नेपालमा यही पार्टीको शासनसत्ता छ । प्रकट रुपमा नेकपाको प्रचण्ड बहुमत रहेको छ, तर यो पार्टी नेतापिच्छे गुट–समूहमा टुक्राटुक्रा छ । व्यक्ति र गुटका स्वार्थ, अहंकार र दम्भको टक्करले त्यही बहुमतलाई धरापमा पारेको छ । यतिखेर नेकपा, त्यसको सरकार र तिनका नेताहरु आफैले सिर्जना गरेको ठूलो भूमरीमा फँस्दैछन् ।

जगजाहेर सत्य हो– अहिले देखापरेको भूमरीको सर्जक सोही पार्टीका मूल नेतृत्वकर्ता तथा मुलुकका शासनसत्ताका बागडोर सम्हालिरहेका ‘सर्वशक्तिमान’ प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका अध्यक्ष खड्गप्रसाद शर्मा ओली नै हुन् । पार्टी नेतृत्व तथा राजकीय सत्तामाथि आफ्ना खुट्टाले बलियोसँग टेक्दै जाँदा पार्टी संगठनका विधान, नीति र पद्दतिलाई खल्तीमा हालेर मनचिन्ते व्याख्या–प्रयोग गर्ने हदसम्मको उनमा पलाएको निर्विकल्प शासकको दम्भ तथा अलौकिक र सर्वशक्तिमान ठान्ने ‘मतिभ्रम’ले गर्दा भूमरी सिर्जना भएको हो । र, त्यो भूमरीलाई चर्को रुपमा हुँडल्ने काम चाहिँ पार्टीभित्रको गुटबन्दी, अविश्वास र छिर्के हलाइको त्रासद स्थितिले पनि गरेको छ । फलतः यतिखेर त्यस ‘प्रचण्ड’ भूमरीले सबैभन्दा बढी रन्थनाएको कसैलाई छ भने उनै ओलीलाई छ । त्यसले उनको शासनसत्ताको कुर्सी डोलायमान भएको छ, पार्टीभित्रको उनको सर्वोच्च प्राधिकारमा चुनौती पैदा भएको छ । र, यो भूमरीबाट पार पाउन उनी ‘माधव’ शरणमा जान अभिशप्त छन् ।

पार्टी नेतृत्व तथा राजकीय सत्तामाथि आफ्ना खुट्टाले बलियोसँग टेक्दै जाँदा पार्टी संगठनका विधान, नीति र पद्दतिलाई खल्तीमा हालेर मनचिन्ते व्याख्या–प्रयोग गर्ने हदसम्मको उनमा पलाएको निर्विकल्प शासकको दम्भ तथा अलौकिक र सर्वशक्तिमान ठान्ने ‘मतिभ्रम’ले गर्दा भूमरी सिर्जना भएको हो । र, त्यो भूमरीलाई चर्को रुपमा हुँडल्ने काम चाहिँ पार्टीभित्रको गुटबन्दी, अविश्वास र छिर्के हलाइको त्रासद स्थितिले पनि गरेको छ । फलतः यतिखेर त्यस ‘प्रचण्ड’ भूमरीले सबैभन्दा बढी रन्थनाएको कसैलाई छ भने उनै ओलीलाई छ ।


विगततिर फर्केर हेर्दा क्रान्ति र समाज रुपान्तरणको ‘पवित्र सपना’सहित ‘व्यक्तिहत्या’को राजनीतिबाट शुरु भएको हो ओलीको यात्रा । उनी र उनका अन्य सहयोद्धाले पक्रेका बाटो ‘गलत’ थियो भनेर उनीहरुकै पार्टीले स्वीकारिसकेको तथ्य बेग्लै चर्चा र बहसको विषय हो । त्यसै ‘गल्ती’वापत उनी र उनका थुप्रै सहयोद्धाले कठोर जेल जीवन, यातना तथा कतिपयले त मृत्युसमेत वरण गरिसकेको  इतिहाससिद्ध तथ्य हो । ओली स्वयंले पनि १४ वर्षको जेल जीवन भोगेका हुन् । तत्कालीन शासकसामु गल्ती स्वीकार्दा वा माफी माग्दा नारकीय जीवनबाट छुटकारा पाउने ‘अवसर’लाई उनीहरुले लत्याएकै हुन् । आफ्ना अन्य सहयोद्धाजस्तै ओली पनि थुप्रै कमीकमजोरीका बाबजूद प्रतिकूल शासन सत्तासामु राजनीतिक आस्था, निष्ठा र समर्पणका सतिसालका रुपमा आफूलाई प्रमाणित सिद्ध गरिसकेकै व्यक्ति हुन् । त्यसैले नै ‘व्यक्ति हत्या’बाट राजनीति शुरु गरेका तथा पहाडबाट झापा झरेका क्रान्तिकारी जोशसहितका एक ठिटोलाई शनैशनै राष्ट्रिय राजनीतिमा स्थापित गरेको पनि हो । र, अनुकूल राजनीतिक व्यवस्था स्थापित भएपछि उनले मुलुकको सर्वोच्च कार्यकारी पद प्रधानमन्त्रीमा समेत आसीन हुने मौका प्राप्त गरेका हुन् ।

अहिलेको अवस्थामा आइपुग्दा ओलीको क्रान्तिकारी छवि खण्डित भइसकेको छ, धूलोपीठो भएको छ । त्यो छविलाई एउटा अहंकारी, दम्भी, पदलोलुप, अत्यन्तै व्यक्तिकेन्द्रित, मूढाग्रही र पूर्वाग्रही केपी ओलीको छविले विस्थापित गरेको छ । तत्कालीन शासकहरुसामु आत्मसमर्पण गरेर ‘सुख सयलको जीवन’लाई लत्याएर उनले रोजेको १४ वर्षको कठोर जेल जीवन यतिखेर उनका लागि थोत्रो बखानको ब्याज भजाउने विषयवस्तु भएको छ । उनकै सहयोद्धा र उनकै पार्टीका सहकर्मीहरु चिच्याईचिच्याई भनिरहेका छन्– आजका केपी ओली क्रान्तिकारी आदर्शबाट च्यूत भएर अत्यन्तै आत्मकेन्द्रित, व्यक्तिकेन्द्रित र घमण्डी शासकमा रुपान्तरित भइसकेका छन् । उनी आलोचना सुन्न र भिन्न विचारलाई पचाउनै सक्दैनन् । उनमा चरम व्यक्तिवादी अंहकार पैदा भएको छ । शक्तिको अति केन्द्रीकरण गर्ने रोगले उनी ग्रस्त बनेका छन्, संगठन र पार्टीका सिद्धान्त, नीति एवं विधान उनका लागि खोपीमा सजाउने वस्तु भएका छन् । पार्टी सञ्चालन गर्ने उनको रुचि र विधि सर्वसत्तावादी हुकुमे शैलीमा रुपान्तरित भएको छ । 

अहिले नेकपाभित्र देखापरेका द्वन्द्व र भूमरीको मूल जड पनि त्यसैमा निहित छ । र, त्यसैको उपचार खोज्ने नाममै अहिलेको भूमरीको बबण्डर सिर्जना भएको हो ।

यो कुरामा कुनै शंका छैन, अहिलेको भूमरी सिर्जनाका प्रथमकर्ता प्रधानमन्त्री ओली नै हुन् । तर आज जुन स्थिति पैदा भएको छ, के त्यसको एक्लो र एक मात्र दोषी ओली मात्रै हुन् त ? निश्चित रुपमा होइन । अहिलेको विद्रुप स्थितिको सम्पूर्ण भार र दोष रोगले जीर्ण भएको उनको बूढो काँधमाथि मात्रै लादिदिनु न्यायोचित हुँदैन । पार्टीको राजकीय सत्ताको सर्वोच्च पदमा आसीन भएपछि विस्फोटक रुपमा देखापरेका अहंकार, दम्भ र व्यक्तिवादजस्ता ‘ओली प्रवृत्ति’ले किन र कसरी पार्टी संगठनका विधान, नीति र पद्दतिलाई पाइतालामुनि कुल्चेर पार्टीभित्र बलियोसँग जरा गाड्ने अवसर, मौसम र मलजल प्राप्त गरे ? त्यसको निर्मम समीक्षा पनि हुनु जरुरी छ ।


आज जुन स्थिति पैदा भएको छ, के त्यसको एक्लो र एक मात्र दोषी ओली मात्रै हुन् त ? निश्चित रुपमा होइन । अहिलेको विद्रुप स्थितिको सम्पूर्ण भार र दोष रोगले जीर्ण भएको उनको बूढो काँधमाथि मात्रै लादिदिनु न्यायोचित हुँदैन । पार्टीको राजकीय सत्ताको सर्वोच्च पदमा आसीन भएपछि विस्फोटक रुपमा देखापरेका अहंकार, दम्भ र व्यक्तिवादजस्ता ‘ओली प्रवृत्ति’ले किन र कसरी पार्टी संगठनका विधान, नीति र पद्दतिलाई पाइतालामुनि कुल्चेर पार्टीभित्र बलियोसँग जरा गाड्ने अवसर, मौसम र मलजल प्राप्त गरे ?


समता र सामूहिकताको सिद्धान्तको जगमा खडा हुनुपर्ने कम्युनिष्ट पार्टीभित्र सामूहिक नेतृत्व प्रणालीलाई आर्यघाटमा लगेर सेलाउने काममा के एक्ला ओली मात्रै जिम्मेवार छन् ? पार्टीको राजनीतिक जीवनमा निर्णय लिइँदा तथा कुनै पनि विषयवस्तुको सामूहिक हल खोज्नुको सट्टा माथिबाट लाद्ने प्रवृत्ति र प्रणालीको विकास हुनुको दोष के एक्लो ओलीको मात्रै हो ? त्यसको भागिदार इतिहासको कालखण्डमा पार्टी र राजकीय सत्ताको नेतृत्व गर्ने पटक पटक मौका प्राप्त गरेका अन्य नेतृत्व समेत हुन्छन् कि हुँदैनन् ?

आजको समस्याको जड र उपचार खोजिँदै गर्दा हिजो पार्टीको सम्पूर्ण अधिकार ‘माथि’तिर केन्द्रित गर्ने काममा कसकसको हात छ ? सम्पूर्ण विषयवस्तु एवं समस्याको अन्तिम ‘जादुमय’ हल सामूहिक निर्णय पद्धतिबाट हैन, त्यही माथिको एकल प्राधिकारबाटै मात्रै खोज्ने थिति कसरी बस्न गयो ? यस्ता प्रश्नबारे विमर्श हुनु जरुरी छ कि छैन ? हिजो नेतृत्वको देवत्वकरण गर्दै सबै समस्याको रामवाण उपाय खोज्ने जिम्मा उनैलाई सुम्पने थिति बस्दै र बसालिँदै जाँदा चूँ नबोल्ने, हातमा दही जमाएर बस्नेहरुको भागमा आजको समस्याको जिम्मेवारीको अंश कत्तिको छ भन्ने खोजिनु पर्छ कि पर्दैन ?

आज ‘ओली प्रवृत्ति’को उपचार खोजिँदै गर्दा खोतल्नैपर्ने यस्ता केही गम्भीर ‘इस्यू’ छन्, जसले भविष्यपर्यन्त यस्ता समस्याको पुनरावृत्ति हुन दिनेछैन । खासगरी, हिजो लामो जेल जीवन बिताएका, राजासामु आत्मसमर्पण नगरेका तथा ‘आस्था र समर्पणको एउटा जिउँदो नमूना बनेका’ क्रान्तिकारी ओली आजका दम्भी, हठी र अहंकारी शासक ओली कसरी बन्न पुगे ? शासन बाहिर छँदा जनसेवकका रुपमा प्रस्तुत हुने राजनीतिज्ञहरु शासनको कुर्सीमा आसीन हुनेबित्तिकै रातारात सम्भ्रान्त शासकमा रुपान्तरित हुने नेपाली राजनीतिमा राणाशाहकालीन सामन्ती शासकीय प्रवृत्ति मौलाउनुमा के त्यसमा फगत ओली मात्रै जिम्मेवार छन् ?  

हिजोको कमरेडली ओलीको यो शासकीय सामन्ती रुपान्तरणमा पार्टी पद्धति, संगठनात्मक जीवनशैली र सामूहिकताको कम्युनिष्ट आदर्शलाई टुकुचाको गन्दे नालीमा बगाइँदै जाँदा टुलुटुलु हेर्ने वा थप्पडी बजाएर अनुमोदन गर्ने प्रवृत्ति कत्तिको जिम्मेवार छ ? कुनै खास इस्यू वा विषयवस्तुमा लिइएको सकारात्मक अडानको सांगोपांगो जस सिंगो पार्टीको सामूहिक निर्णय पद्धतिमा केन्द्रित गर्नुको सट्टा मूल नेतृत्वको  देवत्वकरण गर्ने र उनलाई राष्ट्रनायकको रुपमा महिमामण्डित गर्दै अलौकिक व्यक्तिको रुपमा स्थापित गर्ने कुराले यसमा कत्तिको भूमिका खेल्छ ? खासगरी, पार्टी संगठनभित्र मौलाएका यस्ता व्यक्तिपूजक संस्कृतिविरुद्ध आवाज उठाउन नसक्ने तथा त्यस्ता कुराका साक्षी किनारा सदर बस्नेहरुको भागमा चाहिँ मूल नेतृत्वको वितण्डकारी भूमिकाको अपजस पर्छ कि पदैन ? त्यसको पनि उत्तर खोजिनु जरुरी छ ।  यी यावत प्रश्नहरुको उत्तरको इमान्दार खोजीले मात्रै अहिले देखापरेको भूमरी भविष्यमा फेरि फेरि दोहोरिन नदिने गरी मार्ग प्रशस्त गर्नेछ ।


अहिलेको सन्दर्भमा प्रकट रुपमा मूल समस्या ‘ओलीको अहंकारी व्यक्तिकेन्द्रित प्रवृत्ति’ देखिए पनि पार्टी वा संगठनमा त्यो प्रवृत्तिलाई हुर्कन दिने तथा त्यसलाई प्रत्यक्ष वा परोक्ष रुपमा मलजल गर्ने नेतृत्वपंक्तिमा रहेकाहरुको मौनता र कायरता वा भागवण्डामा रमाउने अवसरवादी ढुलमुले चरित्र पनि आजको स्थितिको जिम्मेवार हो भन्न कुनै आइतबार कुर्नै पर्दैन । त्यसैले अहिलेको मूल मुद्दा एउटा व्यक्ति ओलीको विस्थापन वा उनको स्थानमा कुनै अर्को व्यक्तिको प्रतिस्थापन मात्रै होइन, आजको ‘ओली’जस्तो नेतृत्व जन्माउने राजनीतिक संस्कार र संस्कृतिको विस्थापन पनि हुनु जरुरी छ ।


अहिलेको सन्दर्भमा प्रकट रुपमा मूल समस्या ‘ओलीको अहंकारी व्यक्तिकेन्द्रित प्रवृत्ति’ देखिए पनि पार्टी वा संगठनमा त्यो प्रवृत्तिलाई हुर्कन दिने तथा त्यसलाई प्रत्यक्ष वा परोक्ष रुपमा मलजल गर्ने नेतृत्वपंक्तिमा रहेकाहरुको मौनता र कायरता वा भागवण्डामा रमाउने अवसरवादी ढुलमुले चरित्र पनि आजको स्थितिको जिम्मेवार हो भन्न कुनै आइतबार कुर्नै पर्दैन । त्यसैले अहिलेको मूल मुद्दा एउटा व्यक्ति ओलीको विस्थापन वा उनको स्थानमा कुनै अर्को व्यक्तिको प्रतिस्थापन मात्रै होइन, आजको ‘ओली’जस्तो नेतृत्व जन्माउने राजनीतिक संस्कार र संस्कृतिको विस्थापन पनि हुनु जरुरी छ । एक ओलीको साटो अर्को ओलीको स्थापना होइन, ‘ओली प्रवृत्ति’को विस्थापन नै नेकपाको हालको रणनीति–कार्यनीति हुनुपर्छ ।

नेतृत्व वा सत्ताबाहिर छँदा अरुको गल्ती कमीकमजोरीका रौंचिरा पर्दाफास गर्ने काम त कुनै न कुनै रुपमा सबैबाट हुँदै र गरिँदै आइएकै छ । तर तिनै व्यक्ति प्राधिकार प्राप्त गरिसकेपछि त्यही गल्ती र कमीकमजोरीको दलदलमा नाकैसम्म चुर्लुम्म डुब्ने र त्यही स्थितिको पुनरावृत्ति भइरहने स्थितिको समूल अन्त्यको उपाय के ? त्यसको पनि निर्मम उत्खनन गरिनैपर्छ । सत्ताको चास्नीमा डुब्दै जाँदा हिजो आफूले अँगालेका सिद्धान्त र आदर्शबाट विमुख हुँदै सामूहिक पद्धतिबाट उछिट्टिएर अत्यन्तै व्यक्तिकेन्द्रित बन्ने, आफूलाई जनताका प्रतिनिधि–सेवक हैन, कुलीन शासक ठान्ने नेपाली राजनीतिमा देखापरेका क्यान्सरबाट बचाउने उपाय के ? यसको पनि निदान र उपचार खोजिनु जरुरी छ ।

समस्याको जरोमै उपचार नखोज्ने हो भने,  हाँगा र पात मात्रै छिमलेर समस्याको समाधान भएको भ्रमको खेती जारी राख्ने हो भने त्यो नेकपाभित्र देखिएको सत्ता वा पावर शेयरिंगको व्यवस्थापनमा मात्रै रुपान्तरित हुनेछ । त्यसले प्रधानमन्त्री र अध्यक्ष पदको कुर्सीबाट ओलीलाई गलहत्याएर त्यसमा भोलि नेपाल, दाहाल, गौतम, थापा वा यस्तै थरधारीको पुनर्स्थापना त गर्छ होला तर नेकपा र सत्ता राजनीतिमा थुप्रिएको व्यक्तिकेन्द्रित सत्तास्वार्थको फोहोर कुडाकर्कटलाई सफा गर्न सक्ने छैन । कुनै पनि संकटको बेला संकटको व्यवस्थापन र निवारण गर्ने हैन संकट नै थप्ने र त्यसबाट फाइदा उठाएर आफ्नो सत्ता शक्तिलाई फैलाउने शासकको छिटो बहिर्गमनले पक्कै पनि नेकपा र नेपालको सत्ता राजनीतिलाई नयाँ द्वन्द्वको अवस्थातिर लान सक्छ । नयाँ द्वन्द्व राजनीतिक अस्थिरता मात्रै निम्त्याउँछ भन्ने ग्यारेन्टी छैन, नयाँ सम्भावना र गतिशीलताको नयाँ ढोका पनि खोल्न सक्छ । नयाँ द्वन्द्व, नयाँ सम्भावना र गतिशीलताभन्दा सत्ताशक्तिको केन्द्रीकरण र संकटमाथि संकट थप्ने स्थिरता झन्  खतरनाक हुन्छ ।   

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. April 30, 2020, 7:57 p.m. gobinda
    यो पालो कस्तो स्वार्थी किड्नी परेछ खड्ग ओली प्रधान मन्त्रीलाई खतम बनाउने भयो , जनताको हालत छ कोरोनाले ,,उनलाई" किम" बन्ने दाउ , कोट्याउन थाले पूरानो घाउ | नपाउनेले केरा पायो बोक्रा संगै खायो ,..... पचेन अब देशको प्रधान मन्त्रि , २/३ लाइ चिर्न गिरिजाले संदेश पठाए होला यी सिरोपर गर्दैछन मति भ्रस्ट भए पछि ...कंहा पच्छ र ? जिउन्दै स्वर्ग जान बाटो बिर्सेर नर्कको बाटो तिर लागे , सबैले राम राम भन्ने होलान काँध कसैले हाल्दैन ! कोही राम्रा आउ मेरो जन्म भूमि कर्म भूमि प्यारो नेपाल र नेपालीलाई बचाउ , सबै नेपाली इमान्दार बन , इम्मान्दार्कै कदर हुन्छ संसारमा इति |
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.