शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमिकलाई राहतको व्यवस्था गर्न सभापति देउवाको माग

शुक्रबार, १९ वैशाख २०७७, ०८ : ५४
शुक्रबार, १९ वैशाख २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेकाले अभिलम्व राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् ।

शुक्रबार १ सय ३१ औं अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै सभापति देउवाले लकडाउनका बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको  बताएका हुन् ।

'श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली काँग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । लक डाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अभिलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु,' देउवाद्वारा विज्ञप्तिमा भनिएको छ ।   

मे १ तारिखलाई सम्झिँदै श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन भएको उनले बताए । विज्ञप्तिमा भनिएको छ, 'विसंं २००३ सालमा नेपाली काँग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बीपी कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको
थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । '

कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी रहेको देउवाको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप