शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

किन रुसमा एकपछि अर्को डाक्टर अस्पतालको झ्यालबाट खस्दैछन् ?

मङ्गलबार, २३ वैशाख २०७७, १२ : ३९
मङ्गलबार, २३ वैशाख २०७७

मस्को । पछिल्ला दुई हप्ताको अवधिमा रुसमा कोरोनाभाइरसविरुद्ध फ्रन्टलाइनमा बसेर काम गरिरहेका तीन जना डाक्टरहरु शंकास्पदरुपमा अस्पतालको झ्यालबाट खसेका छन् । यसमध्ये दुई जनको मृत्यु भएको छ भने एक जना अस्पतालमा उपचाररत छन् । घटनाबारे रसियाका अधिकारीहरुले अनुसन्धान गरिरहेका छन् ।

यसले महामारीमा काम गर्ने डाक्टर र स्वास्थ्य सेवा कर्मचारीहरुको काम गर्ने वातावरणको बारेमा प्रश्न उठाएको छ । यसबारे रुसको प्रेस र सामाजिक सञ्जालमा ठूलो बहस सृजना गरेको छ ।

मस्कोबाट ३२० किलोमिटर टाढा रहेको भोरोनेज सहरमा एम्बुलेन्स डाक्टर रहेका अलेक्जान्डर सुलेपोभ शनिबार अस्पतालको झ्यालबाट खसेपछि गम्भीर अवस्थामा उपचाररत छन् । स्थानीय मिडियाका अनुसार उनी नोभोसमान्सकाया अस्पतालको दोस्रो तल्लाबाट खसेका थिए । उनी त्यहीँ काम गर्थे र कोरोनाभाइरसको संक्रमण भएपछि उपचाररत थिए ।

गत अप्रिल २२ मा कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । सोही दिन उनका समकक्षी अलेक्सान्डर कोस्याकिनले कोरोनाभाइरसको संक्रमण भएपनि सुलेपोभलाई काम गर्न लगाइएको दाबी गर्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेका थिए । कोस्याकिनले यसअघि आफ्नो सामाजिक सञ्जालमा पीपीईको अभाव भएकोमा अस्पतालको आलोचना गरेका थिए भने गलत समाचार फैलाएको आरोपमा प्रहरीले उनीसँग सोधपुछ पनि गरेको थियो ।

यता, उनको कार्यरत अस्पतालले भने कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै सुलेपोभलाई कामबाट हटाएर अस्पतालको आइसोलेसनमा राखेर उपचार सुरु गरिएको जनाएको छ ।

सुलेपोभ अस्पतालको झ्यालबाट खसेका तेस्रो डाक्टर हुन् । यसअघि गत मे १ मा साइबेरियन सहर क्रास्नोयार्स्कस्थित अस्पतालकी कार्यकारी प्रमुख डाक्टर एलेना नेपोम्न्यासचाया पनि अस्पतालको झ्यालबाट खसेकी थिइन् । स्थानीय मिडियाका अनुसार क्षेत्रीय स्वास्थ्य अधिकारीहरुसँगको छलफलका दौरान उनी झ्यालबाट खसेकी थिइन् । एक हप्ता आइसीयूमा बिताएपछि उनको निधन भएको थियो । बैठकमा पीपीई उपब्ध नभएको अवस्थामा क्लिनिकलाई कोरोनाभाइरस अस्पताल बनाउने विषयमा उनले विमति जनाएको बताइएको छ । स्वास्थ्य मन्त्रालयले भने उक्त आरोपको खण्डन गरेको छ ।

गत अप्रिल २४ मा स्टार सिटीकी अपत्कालिन स्वास्थ्य सेवाकी प्रमुख नातालिया लेबेडेभाको पनि अस्पतालको झ्यालबाट खसेपछि निधन भएको थियो । उनको सम्भावित कोरोनाभाइरस संक्रमणको उपचार भइरहेको बताइएको थियो ।

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप