बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

‘राजा त्रिभुवन हिन्दुस्तान गएर बस्नु नै गल्ती थियो, हामी अहिले त्यो ऋण तिर्दैछौँ !’

सोमबार, २९ वैशाख २०७७, १३ : २६
सोमबार, २९ वैशाख २०७७

भारतले नेपाली भूमि लगातार अतिक्रमण गर्नुमा दुईवटा पक्ष छन् । एउटा हिन्दुस्तानले हामीलाई गनेन । उसले जे गरे पनि हुन्छ भन्ठान्यो । किन भन्ठान्यो ? यो राजनीतिक मूल्यमा जोडिन्छ  । राजा त्रिभुवन २००७ सालमा हिन्दुस्तान जानु र हिन्दुस्तानको आश्रय लिएर बस्नु गल्ती थियो । अहिले हामी त्यो ऋण तिर्दैछौँ । त्यो ऋण उठाउन खोज्दैछ भारत । 

आफ्नो सार्वभौमसत्ता र एक गज भूमि पनि हामीलाई धेरै प्यारो हुन्छ । हाम्रा बाबुबाजेले दुःख गरेर कमाएको हो यो भूमि । तर भारतले आफू बलियो छु भनेर हाम्रै मुलुकमा एकतर्फी रूपमा बाटो बनाइरहेको छ । यो नितान्त बेठिक हो । त्यस कार्यको विरोध गर्नुपर्छ । हामी लागिरहने हो भने उसले हाम्रो भूमि दिनैपर्छ र हाम्रै जित हुन्छ, यसमा मलाई विश्वास छ । 
त्यो ठाउँ (दार्चुला) जिल्लामा म आफैँ गएर जनगणना गरेको हुँ । त्यसबेला नेपाली कागजमा फारामहरु हुन्थे । एउटा पारिवारिक फारम अर्को व्यक्तिगत फाराम भरेर जानुपथ्र्यो । यो प्रक्रिया पूरा गरेर म पनि त्यहाँ गएको छु । त्यसबेला त्रिभुवन राजपथ खुलेको थियो । यो २०१८ सालको कुरा हो । त्रिभुवन राजपथबाट भारतको रक्सौल हुँदै पिथौरागढबाट डोटी, दार्चुला जानुपथ्र्यो । म पनि त्यसैगरी त्यो बेला डोटी, बैतडी डडेलधुरा, दार्चुला गएको थिएँ । 

म त्यसबेला रिजनल अफिसर थिएँ । त्यतिबेला लिम्पियाधुरा क्षेत्रमा म आफै जान भने सम्भव भएन । किनभने मैले धेरैतिर हेर्नुपथ्र्यो । मेरो खरदारसाब ऋषिराज द्विवेदी त्यहाँ गएर जनगणना गराउनुभएको थियो । कालीनदी वारिको नाबी, गब्र्याङ, गुँजी, छाङ्रु, पिङ्कर लगायत गाउँमा जनगणनाका गरिएको थियो । त्यसबेला नेपालीको उपस्थिति नै कम थियो ।
 चिनियाँसँग भारतीयको लडाइँ थियो त्यसबेला । लडाइँमा भाग्दै आएर कालापानी भन्ने ठाउँमा भारतीयहरु बसेका हुन् । त्यसपछि बस्दैबस्दै गएर अहिले त बाटो नै बनाएर तमासा गरे, यो अतिक्रमणको हद भयोे । कालापानी भनेको निर्जन ठाउँ थियो भारतीय फौज जाँदा । त्यो ठाउँमा खेतीपाती हुँदैन, अन्न उब्जिँदैन । त्यस्तो ठाउँमा नेपालको सुरक्षा अङ्गको उपस्थिति भएन । तर त्यही ठाउँमा हिन्दुस्तानको फौज बस्न सक्ने सुविधा हुने नेपालको सुरक्षा अङ्ग किन बस्न नसक्ने ? यो प्रश्न छ ।

 अलि अगाडि हाम्रो देशका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल हेलिकप्टरबाट घुम्नु पनि भयो । हाम्रो भूगोल कस्तो छ ? बस्ती हो होइन ? उब्जनी हुन्छ हुँदैन भन्ने हेरेर राज्यको उपस्थिति भएन भने जनता निरास हुन्छन् । जनता निरास हुनु सबैभन्दा ठूलो नोक्सान हो भन्ने बुझ्नुपर्छ । 

दार्चुलाका मानिस धेरै उपेक्षित छन् । पारिपट्टि धार्चुलामा सोलार छ । २ रुपैयाँ केजीमा चामल पाउँछन् तर हामीकहाँ उज्यालो नै छैन । राज्यले केही हेरेको छैन । राज्यले नहेरे पनि हाम्रा मानिसले तिरो तिरेका छन् । राज्यले आफ्ना जनतालाई हेर्नुपर्यो । अहिले त एकैपार्टीको सरकार छ । यसबेला काम गर्न पनि सजिलो छ । सर्वसाधारणको कुरा सुन्दैनन् त्यसैले दलका नेताले नै हो पहल गर्ने । आज मुलुकमा झण्डै दुई तिहाइ बहुमतको सरकार छ । तर त्यो शक्तिसहितको सरकारको जति आभास हुनुपर्ने थियो त्यो हुन सकेन । म अलि पुरानो मान्छे परेर हो या के हो ? मैले बुझेको कम्युनिस्ट पाइँदै पाइनँ । 

मैले बुझेका कम्युनिस्ट जनताका हुन्थे तर अहिले त कसका भए कसका ? त्यसले गर्दा समस्या छ । कम्युनिस्टहरु कम्युनिस्ट भैदिए मात्रै पनि धेरै समस्या समाधान हुन्थे । अहिले त नाम कम्युनिस्ट, काम अकम्युनिस्ट जस्तो बुझ्छुु । बेलाबेलामा म नारायणकाजी श्रेष्ठलाई वर्गसङ्घर्षविहीन मार्क्सवाद के हो लौन पढाइदिनुस् भनेर पनि भन्छु । किनभने मैले बुझेको वर्गसङ्घर्ष मार्क्सवादसहितको हो । अहिले त्यो छैन । 

वर्गसङ्घर्षविहीन मार्क्सवाद कस्तो हुन्छ ? त्यसकारण नाम कम्युनिस्ट भए पनि काम कर्तव्य र दायित्व कम्युनिस्टको हुँदै भएन । 
नेपालमा मैले धेरै सरकार बनेको देखेँ । त्यसमध्ये पछिल्लो पटक सुशील कोइराला पनि प्रधानमन्त्री भए । म उनलाई लोसे भन्थेँ । तर चिनियाँ राष्ट्रपति सी चिनफिङ र नरेन्द्र मोदीले पेकिङमा लिपुलेकलाई दुई देशको व्यापारिक केन्द्र बनाउन सही गरेपछि सुशील कोइराला जङ्गिएछन् । त्यही कारण १८, २० महिना प्रधानमन्त्री भए पनि उहाँले भारत भ्रमण नै गर्नुभएन । लोसे भए पनि बोली नबुझिए पनि व्यक्तित्व त्यस्ता पनि हुँदारहेछन् । तर फुर्तिलो, राता गाला, मोटो भएर पनि अडान छैन भने अर्थ नहुने रहेछ ।


 अहिले कुरा उठिरहेको छ, कोरोनापछि यसबारेमा कुरा गर्ने कि भनेर । कोरोनापछि भात खाउँ भन्न मिल्छ ? हाम्रो भूमि जोगाउने कुरा हामीले भात खाएर ज्यान जोगाउने जस्तैगरी लिनुपर्छ । अतिक्रमित भूमि फिर्ता गर्न समानान्तर रूपमा जानसक्छ लैजानुपर्छ । यसका लागि प्रधानमन्त्रीेले नै अगुवाइ गर्नुपर्छ । नाङ्गो आँखा र चोखो मनले हेर्यो भने सबै कुरा थाहा हुन्छ । नेता नेतृत्व कता लागे ? हामीलाई नेतृत्व दिनुपर्ने हो तर पुगेन, नेतृत्वको क्षमता भएन । हाम्रो राजनीतिक नेतृत्वमा एउटा अज्ञात रोग छ । यो रोग पुरानै हो । हिन्दुस्तान खुसी भएन भने प्रधानमन्त्री हुन पाइँदैन र ऊ खुसी भएन भने टिक्न पनि पाइँदैन भन्ने अज्ञात मनोविज्ञानले काम गरेको छ ।

 हाम्रा सबैजसो नेतामा रहेको यो अज्ञात मनोविज्ञानले काम गरेको होला भन्ने मेरो बुझाइ छ । सायद यो बुझाइ धेरै नेपाली जनतामा पनि हुनुपर्छ । तर यो यथार्थ होइन, यो मनोविज्ञानबाट हाम्रा नेता र नेतृत्व बाहिर आउन सक्नुपर्छ । 
लिपुलेकको समस्या समाधान गर्न अब त्रिपक्षीय विन्दु पहिचान र यकिन गर्नुपर्छ । चीनलाई समेत सामेल गराएर त्यो विन्दु तयार भएपछि धेरै कुरा त्यसमार्फत समाधान निकाल्न सकिन्छ । अहिले पनि हाम्रो सीमा स्तम्भ एक नम्बरबाट सुरु भएको छ ।  जबकि शून्यबाट सुरु हुुनुपर्ने हो । 

त्यसले चीन र हिन्दुस्तानको मेलमिलाप हुन पुगेको छ । यो मौकामा चीन, हिन्दुस्तान र नेपालबीच त्रिपक्षीय कुराकानी गर्ने र त्रिपक्षीय विन्दु तय भएपछि धेरै कुरा तय गर्न सहज हुन्छ । दोस्रो भारतले अहिले बाटो बनाएको चार अर्ब भारु खर्च गरेर त्यो पैसा हामीले उपयोग गर्नेगरी हस्तान्तरण गर्नुपर्यो त्यो हाम्रो ऋण हुनसक्छ । हामी त्यो पैसा तिर्ने सर्तमा त्यो बाटो हाम्रो प्रशासनिक नियन्त्रणमा हुने व्यवस्था गर्नुपर्छ । कूटनीतिले धरै काम गरेन, लुटनीतिले जित्यो । यसो गरेर हुँदैन । कूटनीतिको स्तर माथि लैजानुपर्यो, अज्ञात मनोविज्ञान छोड्नुपर्यो ।

वरिष्ठ पत्रकार रिसालसँगको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भैरव रिसाल
भैरव रिसाल
लेखकबाट थप