केन्द्रीय संस्करण
अन्तरवार्ता

‘ओली-प्रचण्डको कानेखुसीले पार्टीमा समस्या र अन्तरविरोध पैदा गर्‍यो’

‘पार्टी एकताको शक्ति मुलुक रूपान्तरणमा उपयोग गर्न सकेनौँ’

person explore access_timeजेठ ३, २०७७ chat_bubble_outline0

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको आज दुई वर्ष पुगेको छ । पार्टी एकताको दुई वर्ष पूरा हुँदा पनि शीर्ष नेतामै अविश्वास व्याप्त छ । पार्टी एकताका तीन महिनाभित्र सबै काम टुङ्ग्याउने भनिए पनि अझै एकीकरण प्रक्रिया टुङ्गिएको छैन । यता पार्टी कमिटी प्रणाली नभई केही शीर्ष नेताको लाभहानिमा केन्द्रित हुँदा सङ्गठनात्मक संरचनाको औचित्यमा पार्टीभित्रैबाट प्रश्न उठ्दै आएको छ । पार्टी एकताका सूत्रधार मध्येका एक स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’को दृष्टिकोणमा कस्तो रह्यो एकताको दुई वर्ष ? प्रस्तुत छ, शर्मासँगको अन्तरवार्ताको सम्पादित अंश :

पार्टी एकताको दुई वर्ष पूरा भएको छ । योबीचको समय पार्टीको गतिविधिलाई कसरी लिनुभएको छ ?
–यो दुई वर्षको अवधि पार्टी एकतालाई सुदृढ गर्नुका साथै जनता र कार्यकर्तामा पैदा भएको उत्साहलाई शक्तिमा बदल्ने एउटा अवसर थियो । तर नेकपाले यो अवसर उपयोग गर्न सकेन भन्ने मलाई लागेको छ । औपचारिक रूपले स्थानीय रूपमै पार्टी कमिटीहरु त बने तर पार्टी एकताको उत्साहलाई ताकतका रूपमा प्रयोग गरेर दुईवटा पार्टी (नेकपा एमाले– माओवादी केन्द्र) लाई रूपान्तरण गर्ने कुरामा कमी रह्यो ।

त्यो कमी हुनुको पछाडिका कारण के हो जस्तो लाग्छ ?
–हामीले नयाँ पार्टी बनायौँ । नयाँ परिस्थितिमा आयौँ । नयाँ लक्ष्य राख्यौँ । तर हाम्रो सोच, कार्यशैली, प्रवृत्ति, गुटगत मानसिकता पुरानै रहे । नयाँ परिस्थिति, नयाँ संरचना र पुरानो सोच र प्रवृत्तिको चेतनाका बीचको अन्तरविरोध यसको मूल कारण हो ।

दीर्घकालीन सोचभन्दा तत्कालीन सत्ता प्राप्तिका लागि पार्टी एकता भयो । हिजो फरक फरक रूपमा हिँडेका दुई दलबीच पार्टी एकता हुनुभन्दा पहिला जुन ढङ्गले विचार विमर्श हुनुपर्ने थियो त्यो नभएकाले यस्तो अवस्था सिर्जना भएको हो कि ?
–पार्टी एकताको सन्दर्भमा दुईवटा अध्यक्षसित बहस गर्ने एउटा व्यक्ति म हुँ । नेपालमा संविधानले भनेअनुसार समाजवादउन्मुख अर्थतन्त्रको विकास गर्ने, राष्ट्र–राष्ट्रियतालाई बलियो बनाउने, संविधानलाई कार्यान्वयन गर्ने, समाजवादको बाटोमा अघि बढ्न उत्पादक शक्तिको विकास गर्दै समृद्ध नेपाल बनाउने र राजनीति स्थायित्व कायम गर्ने उद्देश्यमा आधारित भएर हामीले पार्टी एकता गरेका थियौँ । दुईवटा पार्टी एकता गर्दा वैचारिक आधार पनि चाहिने, विधिगत मूल्यहरु स्थापित गर्नुपर्ने भएकाले हामीले राजनीतिक प्रतिवेदन पनि तयार गरेका थियौँ ।

जसमा जनवादी क्रान्ति सम्पन्न भइसकेको सन्दर्भमा अब समाजवादी क्रान्तिको चरण प्रवेश गरेका छौँ भन्ने कुरामा हामी सहमत भयौँ । र, लोकतान्त्रिक मूल्य मान्यताअनुसार प्रतिस्पर्धामार्फत कम्युनिस्ट पार्टीको श्रेष्ठता हासिल गर्नेभन्ने कुरा पनि हामीले एउटा विधिको रूपमा त्यहाँ स्पष्ट पारेका छौँ । हामीले सत्ता कब्जा गर्ने स्वार्थमा र उद्देश्यमा यो एकता थिएन । बिलकुल त्यो कुरा होइन । आम कार्यकर्ताले त्यो बुझेको पनि छैन र हामीले बुझेका पनि छैनौँ । तर यसो हेर्दै जाँदा नेतृत्वको मूल टिमभित्रका कतिपयको बुझाइ त्यस्तो हो कि भन्ने प्रश्न उठेको छ । तर समग्र नेकपाको तर्फबाट भन्दा सत्ता कब्जाको उद्देश्य बिलकुल होइन । उद्देश्य –कम्युनिस्ट पार्टीलाई एकताबद्ध गर्ने हो र देशलाई समृद्ध बनाउँदै समाजवादतिर लैजाने नै हो । 

तपाइँले भनेजस्तो सुझबुझपूर्ण ढङ्गले पार्टी एकता भएको भए यस्तो समस्या नआउनुपर्ने होइन र ?
–मैले अघि भने पार्टी नयाँ भयो । पुराना गुटहरु सारेर हामीले यहाँ ल्यायौँ । परिस्थिति नयाँ भयो । हामै चेतना पुरानै भयो । नयाँ ढङ्गले क्षमताको विकास गरेर मात्र हामीले जिम्मेवारी पूरा गर्न सक्छौं । चुनौतीहरु नयाँ खडा भए । तर त्यसलाई सामना गर्नका लागि हामीले नेतृत्वकाे क्षमता नयाँस्तरमा उठाउन पर्थ्यो । हामी पुरानै ठाउँमा रह्यौँ । वस्तुगत आवश्यकताको मागलाई पूरा गर्नेभन्दा पनि हामी पुरानै ठाउँमा रहनुको परिणाम अहिलेको मूल समस्या हो । तर उद्देश्य सत्ता कब्जाको होइन । सिद्धान्ततः एउटा सहमति गरेर राष्ट्रको आवश्यकता, आन्दोलनको आवश्यकतामा कम्युनिस्ट पार्टीको एकता भएको हो । 

त्यसो भए समस्या कहाँ आयो त ?
–पार्टी एकता हुँदा हामीले एकताका केही आधार बनाएका थियौँ । केही सहमतिहरु थिए । ती सहमतिहरु पार्टी एकता पूर्व बनाएका थियौँ । ती सहमतिहरुलाई नेकपा गठन भइसकेपछि संस्थागत रूपले कमिटी प्रणालीमा ल्याएर निर्णय गर्नुपर्थ्यो ।

त्यहाँ ल्याउँदा ती निर्णयको निरन्तरता पनि हुन्थ्यो, परिमार्जन पनि हुन सक्थ्यो । त्यसो गरिएन । दुईवटा नेता (केपी शर्मा ओली– पुष्पकमल दाहाल ‘प्रचण्ड’)ले कानेखुसीको आधारमा ती निर्णयहरुलाई के गर्नुभयो ? हामीलाई थाहा नै भएन । त्यसले केही समस्या र अन्तरविरोध पैदा गर्‍यो । पार्टीभित्र अन्तरविरोध पैदा हुनु स्वाभाविक कुरा हो । नयाँ कुरा होइन । त्यसले नै पार्टीमा जीवन पैदा गर्छ । त्यसलाई सही ढङ्गले व्यवस्थापन  गर्दा पार्टी र नेतृत्वकाे क्षमता वृद्धि हुन्छ   । सही ढङ्गले व्यवस्थापन गर्न सकिएन, त्यो आवश्यकताको स्तरबाट  नेतृत्व दिन सकिन्न  समाधान दिन सकिएन भने सम्या थपिँदै जान्छ । अहिले पार्टीभित्र उठेका कुरा वा आन्तरसङ्घर्षलाई व्यवस्थापन गर्नेतिर सोच्दै सोचेनौँ र लाग्दै लागेनौँ ।

तपाईंले पार्टी नेतृत्व विधि र विधानत: नचल्दा समस्या भएको कुरा उठाउनुभयो । नेतृत्व सच्चिन तपाईंहरुले दबाब दिइराख्नु भएको देखिन्छ । तर यसरी नेतृत्वलाई अप्ठ्यारो पार्ने काम भए पार्टी एकता नै भङ्ग हुन्छ भनेर जिम्मेवार नेताहरु नै भन्न थालेको अवस्था छ ।  यसलाई कसरी लिनुभएको छ ?
–मैले नेतृत्व मात्र भनेको छैन । हामी  माने कार्यकर्ता भनेको हो । म नेतृत्वलाई मात्र दोष दिन चाहन्नँ । नेतृत्वका स्वाभाविक रूपमा मुख्य जिम्मेवारी हुन्छ– सफलताको पनि असफलताको पनि । तर त्यो भन्दै गर्दा हामी त्यसबाट पन्छिन पाउँदैनौँ । मेरो अर्को भनाइ हो– हामी कार्यकर्ताले सही र गतल छुट्याउने भन्दा पनि अन्धभक्त भएर गलतलाई पनि आदर्श मान्ने खालको जुन गल्ती हामीले गरिहेको छाैं हाम्रो त्यो गल्तीबाट क्षमताको विकास हुन र रुपान्तरणमा नेतृत्वले सही पहलकदमी लिन समस्या देखिएको छ ।   हाम्रा कारणले नेतृत्व मनोवृत्ति कस्तो हुँदै गयो भन्दा मैले गलत गर्दा पनि समर्थन हुन्छ । मैले त गल्ती गरेर पनि ठीकै गरेँ छु भन्ने भएको छ । जसले नेतृत्वलाई सही गर्ने आवश्यकता पनि भएन । त्यस कारणले हाम्रो पनि समस्या हो । 

अर्को तपाईंले भन्नु भएको पार्टी एकता समस्या आउने कुरा छ । यो लाखौँ पार्टी सदस्यको निर्णय, राजनीतिक प्रतिवेदन, नयाँ विधानलाई स्वीकार गरेर तलदेखि माथिसम्मका मूलभूत कमिटी निर्माण गरिसकेको सन्दर्भ र आजको देशको आवश्यकतालाई आम कार्यकर्ताले गहिरोसँग बुझेकाले पार्टी एकता तलमाथि हुन्छ भन्ने मलाई लाग्दैन । त्यो सम्भव पनि छैन । कोही फर्किएर अब पछाडि जान तयार छैन । पुरानै रूपमा जान सक्दैन, फर्केर जान खोज्दा पनि सक्दैन । त्यसकारण एकता केही हुँदैन तर एकतालाई व्यवस्थित गरेर लैजाने, एकताबाट प्राप्त भएको ताकतलाई राष्ट्रको रूपान्तरणमा प्रयोग गर्न सकिरहेका छैनौँ । पार्टी एकता यताउता हुने कसैले सोचिरहेको छ भने त्यो सङ्कीर्ण गुटगत मान्यता हुन सक्छ । आम पार्टी कार्यकर्ताको हुन सक्दैन । आम पार्टी कार्यकर्ता एकताकै पक्षमा छ र नेकपालाई सुदृढ तथा व्यवस्थित गर्ने पक्षमा रहेको छ । यो कार्यकर्तामा आधारिक पार्टी भएकाले नेतृत्वले चाहँदैमा सबै कुरा हुने होइन । एकता कायम राख्ने फैसला कार्यकर्ताको हातमा छ ।

पछिल्लो समय पार्टीमा उन्पन्न अन्तरसङ्घर्ष जारी नै छ । तत्काल यसको उचित व्यवस्थापन गर्न सकिन भने भविष्यमा यसले पार्टी एकतामा कस्तो स्थिति सिर्जना हुने देख्नुभएको छ ? 
–कुन व्यक्तिलाई के लाग्यो । कसरी अगाडि बढ्न खोजे । हरेक पात्र र प्रवृत्ति त्यो कुरा ठूलो होइन । ती उठेका प्रश्नको समाधानको हामीले बाटो दिइसक्यौँ ।  पार्टी कमिटीप्रणालीमा आउनुपर्छ, कमिटीले निर्णय गर्नुपर्छ । एकतालाई आधार बनाएर पार्टी कमिटीले गर्ने निर्णयमा सबै पस्नुपर्छ । पार्टी कमिटीमाथि दुईवटा अध्यक्ष र सचिवालय होइन । सबै कुरा पार्टी कमिटीभित्र आएर पार्टी कमिटीले संस्थागत समीक्षा गरेर निष्कर्ष निकाल्नुपर्छ । समाधान त्यो हो । समाधान हामीले दिनसक्यौँ । तर त्यो समाधानमा जानका लागि छलफल सुरु भएको छैन । कोरोना र नीति तथा कार्यक्रमका कारण केही ढिला भएको छ । व्यक्तिगत स्वार्थको गठजोडबाट कमिटी चल्न सक्दैनन् । कमिटी भनेका नीतिगत र विधिगत सैद्धान्तिक मूल्यमान्यतामा चल्नुपर्छ र जनताका आधारसँग गाँसिनुपर्छ । यसलाई कमिटीमार्फत समाधान गर्छौं । यसबाट थप समस्या हुन दिँदैनौँ ।

पार्टी एकतापछि नेकपा सङ्क्रमणकै अवस्थामा छ । सङ्क्रमणकालको अवस्थामा यो ढङ्गको गतिविधि भइरहेको छ । यो गतिविधि स्वाभाविक कि अस्वाभाविक ?
–यो गतिविधि दुईवटा ठूला पार्टीको एकताका सन्दर्भमा सामान्य होे । तर जुन अभूतपूर्व एकताबाट पैदा भएको ताकतले सही दिशा दिएर अगाडि जानुपर्ने आवश्यकताबाट हेर्दा अस्वाभाविक हो । किनभने– त्यो ताकतलाई समग्र जनता र पार्टीको रूपान्तरणको शक्तिमा बदल्ने कुरा नगरेको कारणले यो समस्या पैदा भएको हो । त्यसकारण एकातिरबाट हेर्दा सामान्य देखिन्छ । अर्कोतिरबाट हेर्यो भने विद्युतीय रेलको गतिमा पो पार्टी हुइँकिनुपर्थ्यो । तर अहिले एउटा टागा घोडाजस्तो खटखटमा चलिरहेको छ । त्यसैले यसको गति र गियर बदल्ने बेला भएको छ ।

सङ्क्रमणको अवधिमा नेताहरु आफ्नो आगामी राजनीतिक भविष्य कसरी सुरक्षित गर्ने भन्नेमा बढी केन्द्रित यस्तो समस्या आएको देखिन्छ नि ?
–मान्छे एउटा व्यक्ति हुनुको नाताले ऊ आफ्नो बारेमा सोच्छ । यो मान्छेको चरित्र हो । तर राष्ट्र र पार्टीको नेतृत्व गर्ने मान्छेले एउटा व्यक्त भएर गतिविधि गर्न पाइँदैन । समग्रतमा सोच्ने हैसियत राख्नुपर्छ । त्यो हैसियत राख्ने होइन भने त्यो नेतृत्व पनि हुनसक्दैन । त्यसकारण यहाँ बिग्रिएको कुरा भनेकै आफ्नो हितको कुरा, आफ्नो स्वार्थको कुराले प्राथमिकता पाइरहेकाे  छ । आन्दोलन जनताको ताकतमा भएको हो नि ? आन्दोलनको लक्ष्यबाट नेतृत्व विचलित हुने खतरा देखिएको छ ।
व्यक्तिगत स्वार्थ र कुण्ठाका कारणले हजारौँको बलिदानी र त्याग, करोडौँको सहभागितामा भएको आन्दोलनको लक्ष्यबाट नेतृत्व विचलित हुने खतरा छ । नेतृत्वले सबै चुनौतीको सामना गर्नसक्ने क्षमता राख्नुपर्छ ।

वर्तमान नेतृत्वबाट त्यो सम्भव देख्नुभएको छ ?
–सम्भव हुन्छ तर जनताकाबीचका हरेक सङ्घर्ष, वर्गका बीच भएका सङ्घर्षहरु, सहकार्य, अन्तरक्रिया र अनुसन्धान कार्यसँग हरेक सेकेन्ड नेतृत्व जोडिएको हुनुपर्छ । त्यहाँ जोडियो भने नेतृत्वको क्षमता वृद्धि हुन्छ, चेतना वृद्धि हुन्छ र नेतृत्व रूपान्तरण हुँदै जान्छ । जोडिएन भने हुँदैन । अहिलेको नेतृत्व जनतासँग नजोडिनु हो । किन जोडिएन भन्दा अहिले नेतृत्वको वरिपरि तीन थरिका मान्छे पुग्छन् । एकथरि भनेका सम्भ्रान्त वर्गहरु पुग्छन्, अर्को थरि भनेका दलाल, नोकरशाहीहरुको घेरा छ त्यहाँ, अर्को भनेका चाटुकारहरु छन् । जहाँ बिना श्रम, बिना योगदान आफ्नो स्वार्थ सिद्धि गर्ने, पद प्राप्ति गर्ने, पैसा प्राप्ति गर्ने उद्देश्य राखेका मान्छेहरु पुग्छन् । यी तीन थरि मान्छे नेतृत्वको वरिपरि २४ घण्टा भइरहने र आन्दोलनमा त्याग र बलिदान गरेका परिवारहरु टाढा हुने कारणले गर्दा त्यही घेराबन्दी गर्नेहरुको प्रभाव नेतृत्वमा पर्दै गएको अवस्था छ । त्यसले नै समस्या भइरहेको छ ।

अब मैलै तपाइँलाई दुई वर्षअघितर खोजेँ । सत्ता साझेदार दल कसरी विपक्षी दलसँग चुनावी गठनबन्धदेखि पार्टी एकताको अवस्थासम्म पुग्यो ? पार्टी एकता परिस्थिति कसरी निर्माण भएको थियो ?
–त्यतिबेलाको सरकार भनेको सीमित महिनाको सरकार थियो । म पनि त्यसमा थिएँ । पार्टीको आगामी रणनीति तयार गर्ने कुरामा कार्यकर्ताका हैसितले त्यो मलाई स्वतन्त्रता थियो ।
सरकारको मन्त्रीका हिसाबले होइन कि पार्टीको जिम्मेवार कार्यकर्ताको हैसियतले पार्टीको आगामी रणनीति तय गर्नुपर्थ्यो । नेपालमा बुहुसङ्ख्यक जनता कम्युनिस्ट समर्थक भएको अवस्थामा पनि सधैँ राजनीतिक अस्थिरताको चक्रव्यूहमा फस्यौँ । त्यो राजनीति अस्थिरता चक्रव्यूहबाट मुक्त नभई संविधान कार्यान्वयन हुने अवस्था नरहने चुनौती मैले देखेको थिएँ । यी चुनौतीको सामना गर्न सरकारको तालमेलले मात्र सम्भव हुने देखिनँ । रणनीतिक रूपमा समग्र राष्ट्रको रूपान्तरण गर्ने र जनताको आर्थिक जीवनमा परिवर्तन ल्याउनका लागि दीर्घकालीन रूपमा अगाडि जानुपर्ने आवश्यकता बोध भयो । एकतामा जानुपर्छ भनेर अध्यक्ष प्रचण्ड र केपी ओलीलाई पहिलो प्रस्तावक राख्ने मै हुँ । पछि लामो अन्तक्रिया, छलफल र बहसपछि पार्टी एकतामा पुगेका हौँ । मैले राखेको कुरा नेतृत्वलाई पनि महसुस भइरहेका थियो । अर्को विकल्प थिएन । पुराना पार्टीको अवस्थामै गएर यो अस्थिरताको समाधान दिन सकिँदैन थियो । नेतृत्वलाई त्यो महसुस भइरहेको कुरा मैले उजागर गरिदिएको हुँ । उजागर गरिदिएपछि त्यो एकतामा पुगेको हो ।

त्यो माहोल कसरी निर्माण भएको थियो ?
–तत्कालीन एमाले प्रतिपक्षी भए पनि ऊ हाम्रो मित्रवत पार्टी थियो । हामी निरन्तर छलफलमै थियो । हामी चुनावी गठनन्धदेखि पार्टी एकतासम्मको कुरा हुँदा लामो समयको अन्तरक्रिया र छलफल थियो । वैचारिक छलफलहरु पनि भएका थिए । कुन वैचारिक आधारमा एकताबद्ध हुन सक्छौँ भनेर पनि छलफल भएका छन् । विधिगत कुरा पनि छलफल भएका छन्, नेतृत्वको व्यवस्थापनको कुरा गरिएका छन् । मूल कुरा मुलुकको रूपान्तरणसँग सम्बन्धित थियो ।

पार्टी एकताका मूल चुनौतीका रूपमा के कुरा खडा भएका थिए । त्यसलाई कसरी समाधानसम्म पुर्‍याउनुभएको थियो ?
–धेरै चुनौती थिए । त्यतिबेला नेतृत्वबीचको सम्बन्ध त्यति सहज थिएन । मुख्य दुई नेताबीचको सम्बन्ध केही अघिको सरकार फेरबदलका कारणले गर्दा असहज खालको वातावरण थियो । पहिला उहाँहरुलाई सहजतापूर्वक छलफलमा ल्याउने चुनौती थियो । यस्तै हामी फरक फरक धारबाट आएका दुईवटा पार्टी थियौँ । हाम्रा आआफ्ना अनुभव थिए । त्यो स्वत्व र अनुभवलाई एक ठाउँमा मेल गराउने कुरा अर्को चुनौती थियो । यस्तै नेताहरुले आ-आफ्ना पार्टीमा एकताको प्रस्तावलाई स्वीकार गर्ने वातावरण बनाउने कुरा अर्को चुनौती थियो । अर्को चुनौती यो एकता हुँदैछ भन्ने कुरा बाहिर लिक भयो, कुनै पनि शक्तिकेन्द्रले थाहा पायो भने बिथोलिने कुरा पक्कापक्की हुन्थ्यो । भन्न त कसको कसको भरमा पार्टी एकता भयो भनियो तर न भारत, न चीन र न अमेरिका, कसैलाई पनि एकता हुँदैछ भनेर थाहा थिएन । यसलाई आन्तरिक छलफल बनाएर राख्ने कुरा धेरै ठूलो चुनौती थियो । 

तपाईंले पार्टी एकतापूर्व नेतृत्वबीचको सम्बन्धको कुरा गर्नुभयो । पार्टी एकतापछि पनि नेतृत्वबीच खटपट देखिनुले अझै मन माझामाझ भइनसकेको बुझ्न सकिन्छ । नेतृत्वले अझै एकअर्कालाई पूर्ण विश्वास गरेको त देखिँदैन नि ?
–अहिले पनि हाम्रो नेतृत्व आशङ्काको बीचमा घेरिएको छ । आपसी अविश्वासको खाडलमा छ । यो पूर्वपार्टीहरुको कुरा होइन समग्र नेतृत्वको कुरा गर्दैछु । सचिवालय बैठकमा हुने गतिविधिहरु आज एउटा खालको छलफल भोलि अर्को खालको छलफल भइरहेको छ । यी अविश्वास र आशङ्काकै परिणाम हो । 
अर्को कुरा नेतृत्वबीच वैचारिक छलफलमा केन्द्रित छैन । डे टु डेका अन्तरविरोधमा मात्र नेतृत्व रुमल्लिरहेको छ ।


 
तपाइँले वैचारिक छलफलको कुरा गर्नुभयो । यो विषयलाई लिएर यतिबेला नेतृत्वमा देखिएको उदासीनताले भोलि समस्या आउने खतरा कति छ ?
–एकताको एउटा आधारका रूपमा राजनीति प्रतिवेदन पारित गरेका छौँ । त्यो राजनीति प्रतिवेदनमा कम्युनिस्ट आन्दोलनको इतिहासको समग्र मूल्याङ्कनसहित अब हामी कसरी अगाडि जाने, संविधान कसरी कार्यान्वयन गर्ने, समृद्धिको बाटोमा कसरी जाने भन्ने विषयमा हामीले त्यहाँ प्रस्ट ढङ्गले उल्लेख गरेका छौँ । यद्यपि त्यो आफैमा पूर्ण छैन । तर एउटा आधार छ । अहिले वैचारिक रूपले स्पष्ट हुनुपर्ने भनेको त्यो कुरालाई स्वीकार गर्दै विकसित गरेर अगाडि जाने कुरा हो । भोलि महाधिवेशनमा गयो भने नयाँ उचाइमा छलफल होला । तर अहिले बनाएको दस्ताबेज आत्मासाथ गर्दै जानु अहिलेको समाधान हो ।

अब अन्त्यमा पार्टी एकताको दोस्रो वर्षको उपलक्ष्यमा नेता कार्यकर्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
–पार्टी एकताको एउटा अभियानमा लागेको अभियान कर्ताको हैसियतले आम कार्यकर्तालाई भन्न चाहन्छु– हामी गल्ती र सहीको पहिचान गरौँ । नेतृत्वसँग भएका गल्ती र क्षमताको सही सही मूल्याङ्कन गरौँ ।

कमजोरी हटाउनका लागि प्रशंसा होइन आलोचना गरौँ, एकताको पक्षमा दृढतापूर्वक उभिऔँ । यो दुई वर्षमा भएको ढिलाइ छ, जो गति हामीलाई चित्त बुझिरहेको छैन त्यसमा गति पैदा गर्नका लागि कार्यकर्ताको ऊर्जा, ताकत र चेतना अवश्यक छ ।

चुरो कुरो राष्ट्रको समृद्धिको एजेन्डा हाम्रो पार्टीको एजेन्डा हो र जनताले दिएको जिम्मेवारी पनि । हामीसँग दुई तिहाइ जनमत छ । त्यसको सही सदुपयोग गर्न हामीलाई रोक्ने कोही छैन । संविधान संशोधन गर्न सक्छौँ । नयाँ अभियान खडा गर्न सक्छौँ, हामी हाम्रा आम युवालाई सङ्गठित गरेर परिचालन गर्नसक्छौँ । राष्ट्रको हितमा काम गर्न हामीलाई छुट छ । तर जनताको चित्त दुखाउने र हाम्रो अहिलेको प्रणालीका विरुद्ध हाम्रो व्यवहार, आचरण र गराइले प्रभाव पार्ने काम गर्न कुनै छुट छैन । हामीले जनताले दिएको शक्तिलाई बुझिरहेका छैनौँ । यसलाई बुझौँ र अगाडि बढौँ भन्ने मेरो भनाइ छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.