शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कटहर : यौन दुर्बलतादेखि क्यान्सरसमेतमा फाइदा गर्ने बहुउपयोगी फल

भिटामीन र खनिज तत्त्वका खानी : भोकमरीमा पनि राम्रो खाद्य विकल्प बन्न सक्छ
बिहीबार, ०८ जेठ २०७७, १२ : ४१
बिहीबार, ०८ जेठ २०७७

रुख कटहर, अंग्रेजीमा ज्याकफ्रुटको नामले चिनिने यो फलसँग नेपालमा बसोबास गर्ने सम्भवतः सबैजना परिचित नै हुन्छन् । दक्षिण एशियाभरि नै र प्रशान्त क्षेत्रमा खेती गरिने यो फलमा आँप, केरा, खरबुजा र मेवाका स्वादहरुको सम्मिश्रण हुन्छन् । काँचोमा तरकारीको रुपमा पकाएर खान सकिने तथा पाकेपछि सोझै मीठो फलको रुपमा यसको गुदी खान सकिन्छ ।

यो अहिलेसम्म ज्ञात रुखमा फल्ने फलहरुमा सबैभन्दा ठूलो फल पनि हो । यो फल आकारमा ३ फिट लामो र २० इन्च चौडासम्म हुने गर्छ ।  पाकेको अवस्थामा एउटै कटहर २७ किलोसम्मको पनि हुन सक्छ ।

कटहरमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड, खाद्य फाइबरहरु, भिटामीन ए, भिटामी सी र विभिन्न भिटामीन बीहरु पाइन्छन् । यो पोटासियम, म्याग्नेसियम, म्याग्नेस, क्याल्सियम र फलाम जस्ता उपयोगी तत्वरुको पनि राम्रो स्रोत हो ।

कटहरको नियमित सेवनले मानिसको प्रतिरक्षा प्रणालीलाई सुदृढ बनाउने गर्छ । अझ पाकेको कटहरको सेवनले त क्यान्सरको सम्भावनालाई समेत कम गराउने अध्ययनहरुले देखाएको छ । कटहरको सेवन गर्ने गर्नाले मानिसको मुटु स्वस्थ रहने, पाचन प्रणाली सुदृढ हुने र खानेकुराहरु राम्ररी पच्ने गर्छ ।

कटहरले खानेकुराको समेत काम गर्ने गर्छ । एउटा पाकेको कटहरको १० गेडा फल खाने हो भने हामीलाई कैयौं घण्टासम्म भोक नै पनि लाग्दैन अर्थात् हामी अघाउने गर्छौं । कतिपय मानिसहरु त कतिसम्म मान्छन् भने यो खाद्यान्नको अभाव भएको अवस्थामा भोकमरीलाई कम गर्नका लागि एउटा राम्रो खाद्यस्रोत समेत बन्न सक्छ । 

https://static.toiimg.com

यहाँ कटहरका ११ फाइदाहरु प्रस्तुत गरिएको छ :

शक्तिको स्रोत

कटहर कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यसमा हुने फ्रुक्टोसले खानेबित्तिकै मानिसलाई तत्कालै शक्ति प्रदान गर्ने गर्छ । पाकेको कटहरको फलमा ९२ प्रतिशत त कार्बोहाइड्रेड नै हुन्छ । एक कप पाकेको कटहरुमा ४० ग्राम कार्बोहाइड्रेड हुने गर्छ, जसले हामीलाई घण्टौंसम्म शक्ति प्रदान गर्न सक्छ ।

थाइराइडको समस्यामा उपयोगी

थाइराइडका समस्या हुनेहरुका लागि कटहरको सेवन उपयोगी मानिन्छ । अरु फलहरुमा जस्तै कटहरमा पनि शरीरका लागि आवश्यक खनिज तत्वहरु पर्याप्त मात्रामा पाइने गर्छ । विशेषतः कटहरुम पाइने तामाले थाइराइडको कार्यलाई सही ढंगले सुचारु गर्न सहयोग गर्छ । यसले थाइराइड हर्मोनहरुलाई नियमित गर्ने काम गर्छ ।

प्रतिरक्षा प्रणाली बलियो बनाउँछ

धेरै जसो फलफूलहरुमा पर्याप्त मात्रामा पाइने भिटामीन सीले मानिसको रोग प्रतिरोधी क्षमता बलियो बनाउने काममा सहयोग गर्छ । कटहरमा मनग्गे मात्रामा पाइने भिटामीन सीका साथै सहजै पच्ने गुलियोले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्छ । कटहरमा पाइने गुलियोले रोग प्रतिरोधी क्षमतालाई बढी क्रियाशील बनाउने तथा त्यसमा पाइने पोलिस्याकराइड्सले किटाणुविरुद्ध लड्नका लागि इम्युन सिस्टमलाई उत्प्रेरित गर्ने गर्छ ।

रक्तचाप नियन्त्रित गर्छ

शरीरलाई दैनिक रुपमा चाहिने पोटासियमको आवश्यकताका १४ प्रतिशत एक एक कप पाकेको कटहर खाँदा आपूर्ति हुन सक्छ । कटहरमा मनग्गे मात्रामा पाइने पोटासियमले रक्तचापलाई सही अवस्थामा नियन्त्रित राख्न सयोग गर्छ ।

सही पाचन

कटहरमा पर्याप्त मात्रामा खानयोग्य फाइबरहरु हुन्छन् भने त्यसमा पर्याप्त मात्रामा पानी समेत पाइन्छ । यी दुवै चीजहरुले हाम्रो पाचन प्रणालीलाई सही ढंगले काम गर्न सहयोग गर्छ र हामीलाई कब्जियतलगायत पाचनप्रणालीसम्बन्धी समस्याहरुबाट जोगाउँछ ।

आँखाको ज्योति बढाउँछ

कहटरमा फ्लाभोनोइडस् र फेनोल जस्ता एन्टिअक्सिडेन्ट तत्वहरु पर्यापत मात्रामा पाइन्छ । यी तत्वहरुले हाम्रा खराब भएका कोषहरुमा पैदा हुने विकारहरुलाई डिएनए तहमै हटाउने काम गर्छ । अक्सिजन र्याडिकल्सको रुपमा पैदा हुने त्यस्ता विकासहरुले रेटिनाका कोषहरुलाई नोक्सान गर्ने र आँखाका समस्याहरु पैदा गराउने सम्भावना रहन्छ ।

कटहरमा पर्याप्त मात्रामा भिटामीन ए पनि पाइन्छ । १६५ ग्राम कटहरले हाम्रो शरीरलाई दैनिक आवश्यक पर्ने भिटामीन एकको १० प्रतिशत आवश्यकता पूर्ति गरिदिन्छ ।

क्यान्सर प्रतिरोधी क्षमता

कटहरमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट तत्वहरु पाइने गर्छ । तिनले हाम्रा कोष डीएनएहरुलाई नष्ट हुनबाट जोगाउँछ । स्टार्चयुक्त टाँसिने प्रकृतिको हुनाले पाकेको कटहरको फलले आन्द्रालाई सफा तुल्याउने काम पनि गरिरहेको हुन्छ । र, त्यो क्रियाबाट यसले हामीलाई आन्द्राको क्यान्सर लाग्ने सम्भावनाबाट बचाउने काम पनि गरिरहेको हुन्छ । 

रक्तअल्पताबाट बचाउँछ

खनिजतत्वहरु र भिटामीनहरु पर्याप्त मात्रामा आपूर्ति हुन नपाउँदा रातो रक्तकोष र हेमोग्लोबनबीचको संश्लेषण गर्ने प्रक्रियामा गडबडी पैदा हुन जान्छ, जसले गर्दा हामीलाई रक्तअल्पताको समस्याले सताउने गर्छ । तर कटहरमा खनिज पदार्थहरु तथा भिटामीन ए, सी, इ का साथसाथै फोलिक एडिस, नाइसिन र भिटामीन बी६ पाइन्छ । यसबाहेक, कटहरमा रातो रक्तकोष उत्पादनका लागि आवश्यक म्याग्नेस, म्याग्नेसियम र कपर पनि पाइन्छ । त्यसैले कटहरको नियमित सेवनले हामीलाई रक्तअल्पताको समस्याबाट समेत बचाउने काम गर्छ ।

हड्डी बलियो बनाउँछ

हड्डी बलियो र स्वस्थ रहनको लागि सबैभन्दा आवश्यक तत्व क्याल्सियम हो । त्यो कटहरमा पाइन्छ । एक मुठ्ठी कटहरुमा करिब ५६.१ ग्राम क्याल्सियम हुन्छ । त्यो भनेको हाम्रो दैनिक क्याल्सियम आवश्यकताको करिब ६ प्रतिशत हो । हड्डी कमजोर हुनेहरुका लागि कटहर क्याल्सियम आपूर्तिको राम्रो स्रोत हुन सक्छ ।

छाला स्वस्थ राख्छ

कटहरमा पाइने भिटामीनहरु तथा एन्टिअक्सिडेन्ट तत्वहरुले छाला स्वस्थ र चम्किलो राख्न सहयोग गर्छ ।

शुक्रकीटको संख्या बृद्धि गर्छ

आयुर्वेदिक मान्यताका अनुसार, पाकेको कटहरको सेवनले वीर्यमा शुक्रकीटको संख्या बढ्छ । त्यसका साथसाथै, शुक्रकीटलाई स्वस्थ र बलियो पनि तुल्याउँछ । ज्ञातव्य कुरा के हो भने बलियो र स्वस्थ्य शुक्रकीट हुनुको अर्थ मानिसमा सन्तानोत्पत्तिको गुण र क्षमतामा बृद्धि हुनु पनि हो । चिनियाँ परम्परागत जडीबुटी चिकित्सापद्दतिको मान्यतामा नपुंशकताको समस्या समाधानमा पनि कटहरले काम गर्ने गर्छ । त्यसअनुसार, कटहरले यौन शिथिलता र दुर्बलता हटाउने, मानिसमा कामेच्छा जागृत गराउने काम गर्छ ।

स्रोत: हेल्थलाइन, दहेल्थसाइट, हिन्दावी, मेडइन्डिया Title photo: https://upload.wikimedia.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप