बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : ६ दिनमा भारतबाट ४ हजार ६ सय नेपाली भित्रिए

शनिबार, १० जेठ २०७७, १५ : ४७
शनिबार, १० जेठ २०७७

जनकपुर । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउनसँगै सीमानाका पनि बन्द गर्यो । लामो समय सीमानाका बन्द भएकोमा हाल भने सीमामा आइपुगेर अलपत्र बनेका नेपालीलाई प्रवेश दिन थालिएको छ । 

भारतमा रेल्वे संचालन भएपछि सीमा नाकामा हजारौं नेपाली आइपुगेका थिए । सो क्रममा कतिपय नेपालीहरु सिमानाका छली लुकिछिपी आउन समेत थालेका थिए । लामो समय सीमामा नागरिक अलपत्र पर्दा अवैध रुपमा प्रवेश गर्ने र थप संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाएर  सरकारले जेठ ४ गतेदेखि नागरिकलाई प्रवेश दिन सुरु गरेको हो ।

६ दिनको बीचमा प्रदेश नम्बर २ को विभिन्न जिल्लाको मुख्य सीमा नाका हुँदै ४ हजार ६ सय ६४ नेपाली नेपाल भित्रिएका छन् । उनीहरुलाई हाल विभिन्न स्थानमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । 
सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा  जिल्लाका मुख्य नाकाहरुबाट अलपत्र परेको नेपालीहरुलाई सम्बन्धित स्थानीय तहसम्म पुर्याउने तथा क्वारेन्टाइनमा राख्ने कार्य भइरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी उपरिक्षक जयराज सापकोटाले जानकारी दिए ।

धनुषाको जटही नाकाबाट मात्रै विगत ६ दिनमा ६ सय ७ जना नेपाल प्रवेश गरेका छन् । भारतबाट आउने व्यक्तिहरुलाई सीमानाकामा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच गरी सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर क्वारेन्टाइनमा दुई साता सम्म राख्ने गरी पठाइने गरिएको छ ।

भारतबाट आएकाहरुलाई सोझै घर नपठाइ क्वारेन्टाइनमा राख्ने गरिएको प्रवक्ता सापकोटाले बताए ।

त्यस्तै महोत्तरीको मुख्य सिमानाका मलिवाडाबाट ५ सय ६७, सिरहाको माडर नाकाबाट ७ सय ३४, सप्तरी स्थित नाकाबाट ७ सय ५४, सर्लाही स्थित नाकाबाट ६ सय १, रौतहट स्थित नाकाबाट ६ सय ९७, बारा स्थित नाकाबाट २ सय ३९ र पर्सा स्थित नाकाबाट ४ सय ६५ जना व्यक्तिहरु नेपाल आइसकेको सापकोटाले जानकारी दिए ।

महोत्तरी स्थित मलिवाडा नाकाबाट अछाम, रुकुम र रोल्पाका समेत १ सय भन्दा बढी नेपाल प्रवेश गरेका छन् । 

‘पछिल्लो ६ दिनदेखि भारतमा अलपत्र परेका नेपालीहरुलाई नाकाबाट भित्र्याएका छौँ,’ प्रवक्ता सापकोटाले भने, ‘यहाँका नागरिकलाई सम्बन्धित स्थानीय निकायको जिम्मा लगाइएको छ । छिमेकी जिल्लाका बासिन्दाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा पठाउने गरेका छौँ ।

पछिल्लो एक सातामा महोत्तरी सहित अन्य जिल्ला गरी ४ हजार ६ सय ६४ नेपाली नागरिक नेपाल प्रवेश गरेको उनले बताए । नाकामा अलपत्र परेकाहरु आउने क्रम जारी भएपछि क्वारेन्टाइन व्यवस्थापनमा समेत चुनौती बढ्दै गएको उनले बताए ।
नाकामा अलपत्र परेका नेपालीहरुलाई व्यवस्थापन गर्न गृह मन्त्रालयले दिएको आदेशपछि प्रहरी–प्रशासनले नेपाल भित्र्याउने काम थालेको हो ।

यसैबीच सप्तरी नाकाबाट ९५, सिरहा नाकाबाट ६६, रौतहट नाकाबाट २ सय १२, बारा नाकाबाट ६७ र पर्सा नाकाबाट ४१ सय ८९ जना भारतीयहरु समेत भारत तर्फ गएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप