शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोरोना संक्रमणको त्यो अप्रत्याशित खबर, अस्पताल जान मोटरसाइकलमै हुँइकिए संक्रमित

संक्रमितमा देखिएको थिएन कोरोनाको कुनै लक्षण
आइतबार, ११ जेठ २०७७, २२ : ०१
आइतबार, ११ जेठ २०७७

काठमाडौं । शनिबार उनलाई कोरोनाको रिपोर्ट नेगेटिभ आएको भनेर स्थानीय तहमार्फत जानकारी गराइयो । त्यसपछि ढुक्क भएर आफ्नो दैनिकीमा जुटेका उनलाई आइतबार फेरि अप्रत्याशित फोन आयो–तपाईँलाई कोरोना पोजेटिभ देखियो । उनको मात्रै होइन अघिल्लो दिन गाउँमा कोरोना परीक्षण गराएका सबैमा कोरोना नेगेटिभ आएको भनिएको थियो । 

 ‘आज बिहानभर म काममा व्यस्त भएँ । गाउँमा खेतबारीमा काम थियो । गाउँमै पानीको काम पनि भएकाले त्यहाँ पनि पुगेका थिएँ । खाना खाएर बसिरहँदा १२ बजेतिर एकाएक कोरोना पोजेटिभ देखिएको भन्दै फोन आयो । पछि टेकुमा फोन गरेर हिजो नेगेटिभ भन्नु भएको थियो आज फेरि पोजेटिभ भन्नु भएको छ के हो भन्दा स्पष्ट जवाफ दिइएन । सिसडोलमै एउटा स्वास्थ्य चौकी छ, त्यहाँ बुझ्दा तपाईँको हिजो पनि पोजेटिभको कुरा भएको थियो भनेर भनियो’ आइतबार कोरोनाभाइरस संक्रमण पुष्टि भएका नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाले रातोपाटीसँग भने, ‘पोजेटिभ आइसकेको भनेपछि अस्पताल जान जिल्ला जनस्वास्थ्य कार्यालयका हाकिमसँग एम्बुलेन्सको  कुरा गर्दा आज एम्बुलेन्स गाह्रै छ भन्ने जवाफ दिनुभयो । अन्तपनि कुरा गर्दा पनि सुनुवाइ भएन।’ 

कोरोना संक्रमण पुष्टि भएको ७ घण्टा बित्दा पनि अस्पताल लैजान कुनै पहल नभएपछि मोटरसाइकलमै काठमाडौं हिँडेको ती संक्रमितले बताए । 

‘दिनभरी सबैतिर पहल गर्दा पनि एम्बुलेन्स नपाएपछि म मोटरसाइकलमै आइतबार राति ७ बजेतिर एक्लै काठमाडौं हिँडेको हुँ,’ उनले भने ।

यद्यपि उनी मोटरसाइकल हाँकेर बिच बाटोसम्म पुगेपछि भने काठमाडौं महानगरपालिकाले पठाएको फोनमा जानकारी गराएपछि त्यही एम्बुलेन्समा टेकु आएका थिए । 

‘म घरबाट ७ किलोमिटर पर तीनपिप्ले भन्ने स्थान नजिकैसम्म मोटरसाइकलमै आएँ । त्यहाँ एम्बुलेन्स लिन आएको जानकारीपछि भने मोटरसाइकल स्थानीय चौकीमा राखेर टेकुमा आएको हुँ,’ उनले भने । 
घरायसी काममा ढुक्कले खटिएका उनलाई  १२ बजेतिर ककनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्षले फोन गरेर कोरोना पुष्टि भएको जानकारी गराएका थिए ।

त्यसलगत्तै दिनभर जिल्ला जनस्वास्थ्य प्रमुखसहित गाउँपालिका प्रमुख, टेकु अस्पताल र काठमाडौं महानगरपालिकालाई समेत एम्बुलेन्स पठाउन आग्रह गरिएपनि एम्बुलेन्स नपाइएको भन्दै अस्पताल लैजान कुनै पहल नभएको उनको गुनासो छ। 

  गाउँपालिका अध्यक्ष मानबहादुर लामाले पनि एम्बुलेन्स नहुँदा संक्रमितलाई बेलैमा अस्पताल पठाउन नसकिएको भएको बताए । 

‘उहाँलाई ११ बजेतिर कोरोना  देखिएको भनेर मलाई जानकारी गराइयो । तर एम्बुलेन्स खोज्दा नपाएपछि समयमा अस्पताल पठाउन सकिएन’, उनले भने । लामाले ती युवामा पुष्टि भएसँगै उनको सम्पर्कमा रहेकाहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको र भोलिसम्ममा पीसीआर परीक्षणका लागि नमुना संकलन हुने जानकारी आएको बताए । 

संक्रमित युवालाई संक्रमण भएको पुष्टि भइसक्दा पनि सरकारी निकाय गैरजिम्मेवार बनेको देखिएको छ । अस्पताल लैजान ढिलाइ भएपनि आफ्नो एक जना साथी वीर अस्पतालमा कार्यरत रहेको र टेकुमा उनले समन्वय गर्नेगरी सुरक्षित रुपमा मोटरसाइकलमा आएको संक्रमितको दावी छ । 

चैत ६ गते सिसडोल क्षेत्रमा उनको कोरोना परीक्षणका लागि स्वाब संकलन भएको थियो भने शनिबार उनकोसहित परीक्षण भएका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी गराइएको थियो । तर एकाएक आइतबार पोजेटिभ आएको खबर आउँदा आफू आश्चर्यचकित उनले भएको बताए । 

ती संक्रमितले आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको बताएका छन् । ‘मलाई कुनै लक्षण पनि देखिएको छैन । कसरी लाग्यो भन्नेमा आफैं आश्चर्यचकित भएको छु’, रातोपाटीसँग उनले भने, ‘लकडाउनको बीचमा ककनीस्थित घर र ललितपुर कार्यक्षेत्र भएकाले त्यहाँ आउजाउ भएको चाहिँ छ ।’

नेकपा सम्बन्ध राजनीतिमा समेत संलग्न रहेका उनी लकडाउनको बीचमा केही सामाजिक काममा सक्रिय भएका थिए भने सिसडोलस्थित फोहोरमैलासम्बन्धी विवाद मिलाउने बैठकमा पनि सहभागी भएका थिए । 
सिसडोलबासीले काठमाडौंको फोहोर ल्याउँदा आफूहरुलाई कोरोनाको जोखिम बढ्ने भन्दै अवरोध सिर्जना गरेपछि महानगरपालिका र सम्बद्ध पक्षबीच बैठक भएको थियो । सोही बैठकले सिसडोलबासीको कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो । 

जसअनुसार काठमाडौं महानगरपालिकाले इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको सहयोगमा सिसडोलमा स्वाब संकलन गरेको थियो ।
ल्याण्डफिल साइट नजिक रहेको स्वास्थ्य चौकीमा ३२० जना र भवानी माविमा १५२ जना गरी ४७२ जनाको कोरोना परीक्षण गरिएको थियो ।
सिसडोलमा गत जेठ ६ गते पीसीआर र आरडीडी माध्यमबाट कोरोना परीक्षण भएको थियो । 

भैंसेपाटीमा डेरा, बारम्बार आउजाउ
संक्रमित व्यक्तिको बारम्बार ललितपुर र नुवाकोट आउजाउ हुने गरेको खुलेको छ । रातोपाटीसँगको कुराकानीमा ती संक्रमितले पनि आफ्नो कार्यक्षेत्र ललितपुर नै भएकाले त्यहाँ आउजाउ भइरहेको बताए । 
उनका अनुसार भैंसेपाटीमा उनको कोठा रहेको छ भने त्यहाँ उनको आउजाउ भइरहेको छ । यस्तै ललितपुरमा राहत वितरणदेखि विभिन्न राजनीतिक दलका व्यक्तिहरुसँग पनि उनको भेटघाट भएको बताइएको छ।  यसबाहेक उनको गाउँका स्थानीयसँग बाक्लो हिम चिम भएको छ । 

‘राजनीतिक व्यक्तिपनि भएकाले स्वभाविक रुपमा भेटघाटहरु हुने नै भए’, उनले भने, ‘आज बिहानमात्रै पानी बनाइँदै थियो त्यहाँ पुग्दा धेरैसँग भेट भएको छ । साथै घरायसी कामकाज सामान्यरुपमा गरिरहेकै थिएँ । अन्यसँग सम्पर्क पनि भएको थियो ।’ यद्यपी सामाजिक दूरी भने सकेसम्म कायम गरिएको उनको भनाइ छ । 

‘कोरोनाको लक्षणको रुपमा रुघाखोकी लागेकै थिएन । तन्दुरुस्त नै थिएँ, यस्तो अवस्थामा कोरोना लाग्यो भनेर सोच्ने कुरै भएन । गाउँघरको परिवेशअनुसार व्यक्तिगत कामकाज र भेटघाट स्वभाविक नै हो ।’ उनले भने । 
संक्रमितको घरमा ९ जनाको परिवार रहेको र उनीहरु सबै अहिले घरमै सेल्फ क्वारेन्टाइनमा रहेका छन् । उनीहरुको पीसीआर टेस्टका लागि नमुना परीक्षणको तयारी गरिएको छ । 
यसैबीच उनको ट्राभल हिष्ट्री ललितपुर खुल्न आएसँगै ललितपुर प्रहरीले भैसेपाटीमा उच्च सतर्कता अपनाएको बताइएको छ ।

टेकु अस्पतालको आइसोलेशन बेडबाट उनले भने, ‘भर्खरै ज्वरो नापियो ९८ मात्रै देखिएको छ । ब्लड प्रेसरलगायत सामान्य चेकजाँच हुँदा सबै सामान्य छ । औषधि कुनै चलाइएको छैन ।’ उनले कोरोना परीक्षणको विश्वसनीयतामाथि नै प्रश्न उठाउँदै आफू अर्को परीक्षणको प्रतिक्षामा रहेको प्रतिक्रिया दिए । 

स्वास्थ्य मन्त्रालयले आइतबार अपरान्ह गरेको नियमित पत्रकार सम्मेलनमा उनमा कोरोना संक्रमण भएको जानकारी गराएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप