शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महोत्तरी गोलीकाण्ड : प्रहरी भन्छ, ‘गोली नचलाएको भए हामी नै मारिन्थ्यौँ’

लागुऔषध कारोबारी पक्रन जाँदा प्रहरीमाथि आक्रमण, कारोबारीका छोराको मृत्यु
सोमबार, १२ जेठ २०७७, १८ : ००
सोमबार, १२ जेठ २०७७

महोत्तरीमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न गएको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागि आइतबार राति एकजनाको मृत्यु भएको छ ।

महोत्तरी प्रहरीका प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार स्थानीयले प्रहरीमाथि नै आक्रमण गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको थियो । प्रहरीको गोली लागेर स्थानीय राजन यादवको मृत्यु भएको छ ।

यसरी भयो घटना

महोत्तरीको रामगोपाल नगरपालिका–७ ससौल भन्ने स्थानमा लागूऔषध कारोबारी रहेको र लागुऔषधको कारोबार भइरहेको भन्नु सूचना महोत्तरी प्रहरीले पायो । त्यसपछि प्रहरी आफै प्रयोगकर्ता बनेर लागूऔषध कारोबारीलाई पक्राउ गर्न पुग्यो ।

प्रहरीले आफूहरु प्रयोगकर्ता भएको भन्दै लागुऔषध चाहिएको बतायो । प्रहरीले स्थानीय सुरेन्द्र यादव र राहुल यादवसँग यसबारे कुराकानी गरेको थियो, जो दुवैजना कारोबारी थिए ।

कारोबारी सुरेन्द्रले प्रहरीलाई रामगोपाल नगरपालिका–७ स्थित ससौल भन्ने स्थानमा लागूऔषध लिन बोलाए । प्रहरी पनि ग्राहक बनेर लागूऔषध किन्नका लागि सादा पोसाकमा घटनास्थल पुगे ।

असईको कमाण्डमा ४ प्रहरी सादा पोसाकमा घटनास्थल पुगे । अभियुक्तहरुले गाहक बनेर गएका प्रहरीलाई ससौलको बाँसघारीमा बोलाएका थिए । प्रहरी पुग्दा त्यहाँ ८ जना लागूऔषध कारोबारी रहेको महोत्तरीका डिएसपी माधव बुढाथोकीले बताए ।

डाँका आयो भन्दै कारोबारीले होहल्ला गरे

कारोबारीले लागूऔषध निकालेपछि आफूहरु प्रहरी भएको भन्दै कारोबारीलाई पक्राउ गरेपछि उनीहरुले डाँका आयो भन्दै होहल्ला गर्न थालेको डिएसपी बुढाथोकीले बताए ।

डाँका आएको भनेपछि स्थानीयहरु भाला, भाटा र घरेलु हतियार लिएर प्रहरीमाथि नै आक्रमण गर्न थाले । सिभिलमा रहेको प्रहरीले आफूहरु प्रहरी भएको बताएपनि स्थानीयले प्रहरीमाथि नै आक्रमण गर्न थाले । त्यस पहिले प्रहरीले ५ राउण्ड हवाई फायर गरेको थियो । तर पनि स्थानीयको आक्रमण नरोकिएपछि प्रहरीले स्थानीयलाई नै ताकेर गोली चलाएको थियो । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा स्थानीय राजन यादवको मृत्यु भएको महोत्तरी प्रहरीका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताए ।

४ प्रहरी घाइते

स्थानीयको आक्रमणमा ४ जना प्रहरी घाइते भएका छन् । ४ प्रहरीमध्ये २ प्रहरीको टाउको तथा ढाडमा चोट लागेको छ भने एक प्रहरीको दुबै आँखामा चोट लागेको छ । अर्का एक प्रहरी भने सामान्य घाइते मात्रै छन् ।

स्थानीयहरुले आक्रमण गरी हतियारसमेत खोस्न खोजेपछि प्रहरीले गोली चलाएको प्रहरी । गोली लागेर मृत्यु भएका १६ वर्षीय राजन यादव लागुऔषध कारोबारी सुरेन्द्र यादवका छोरा हुन् ।

प्रहरीको वाचलिष्टमा थिए सुरेन्द्र र राजन यादव

महोत्तरी प्रहरीका अनुसार लागूऔषध कारोबारी सुरेन्द्र यादव र राजन यादव प्रहरीको वाचलिष्टमा रहेका कारोबारी हुन् । उनीहरु लागुऔषधको कारोबारी रहेको स्थानीयलाई पनि जानकारी रहेको प्रहरीले दाबी गरेको छ । महोत्तरी प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीका अनुसार मृत्यु​ भएका छोरा राजन यादव र बुवा सुरेन्द्र यादव लामो समयदेखि लागुऔषधको कारोबारमा सक्रिय रहेको प्रहरीलाई सुचना थियो । त्यही आधारमा आइतबार पक्राउ गर्न जाँदा प्रहरीमाथि नै आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा राजन यादवको मृत्यु भएको थियो ।

गोली नचलाएको भए प्रहरी नै मारिन सक्थे

महोत्तरी प्रहरीका अनुसार लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरी लामो समयसम्म पनि स्थानीयलाई बुझाउन लागेका थिए । आफूहरु प्रहरी भएको र लागूऔषध कारोबारी पक्राउ गर्न आएको भनेपनि स्थानीयले लगातार आक्रमण गरिरहेका थिए । त्यसपछि आफूलाई बचाउन प्रहरीले हतियार निकालेर गोली चलाएको थियो । गोली हानेर प्रहरी त्यहाँबाट भागेको थियो । केही समयपछि प्रहरीको अर्को टोली पुगेर दुई अभियुक्तलाई पक्राउ गरेको थियो । अन्य अभियुक्त भने भाग्न सफल भएका छन् ।

स्थानीयलाई उचाल्ने राजन यादव नै थिए

प्रहरीका अनुसार लागुऔषध कारोबारी आफ्नै बुवालाई पक्राउ गरेपछि मृतक राजन यादवले ‘डाँका आयो’ भन्दै चिच्याएर स्थानीयलाई जम्मा पारेका थिए । त्यसपछि स्थानीयहरु भेला भएर प्रहरीमाथि नै मार्ने नियतले आक्रमणमा उत्रिएका थिए । मृतक राजन यादवले प्रहरीलाई डाँका भएको भन्दै मार्नका लागि स्थानीयलाई उक्साएका थिए । त्यसपछि स्थानीयले सिभिलका प्रहरीलाई मार्ने नियतले आक्रमण गरेका थिए । त्यसपछि मात्रै प्रहरीले गोली चलाएको महोत्तरी प्रहरीले जनाएको छ ।

घाइते ४ जना प्रहरीलाई यतिबेला अस्पतालमा भर्ना गरी उपचार गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरीले लागुऔषध कारोबारीको साथबाट नाइट्रोभेट ट्याब्लेट र पोरेक्स भन्ने लागुऔषध बरामद गरेको छ । केही लागूऔषध भने स्थानीयले नै लुटेर लगेका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप