शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनप्रतिनिधिकै क्रसर उद्योग: प्रहरी प्रशासनको मिलेमतोमा कमलामा उत्खनन्

बिहीबार, २२ जेठ २०७७, १६ : ४६
बिहीबार, २२ जेठ २०७७

सिरहा । स्थानीय तह र प्रहरी प्रशासनकै मिलेमतोमा सिरहा–धनुषा सिमाना छुट्याउने कमला नदीमा दैनिक स्काभेटर लगाएर गिट्टी र बालुवा निकाल्ने क्रम जारी छ ।  प्रहरी प्रशासन, स्थानीय तहका जनप्रतिनिधिकै मिलिभगतमा दैनिक ४ वटासम्म स्काभेटर लगाएर सयौँ टिफर गिट्टी बालुवा निकाल्ने गरिएको हो ।

ठेकेदारहरुले दादागिरी शैलीमा नदीमा स्काभेटर लगाएर दैनिक गिट्टीबालुवा निकालेपनि स्थानीय प्रशासन मौन बसनु थप रहस्यको विषय बनेको छ ।  धनुषा गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादव जिल्ला समन्वय समितिसँगको समन्वयमा ठेकेदारहरुले नदीबाट गिट्टी बालुवा निकाल्ने गरेको बताउँछन् । सिरहातर्फका सधियार नगरपालिका कर्जन्हा र चारनाथ गरेशमान नगरपालिकाले कौडीको मुल्यमा खोला ठेक्का लगाएर ठेकेदार पोसेको स्थानीयको आरोप छ । 

करोडौंमा लाग्ने ठेक्का ६० लाखमा लगाएर अझै ठेकेदारलाई नै सहयोग पुग्नेगरी मौनता साँधेको स्थानीयले गुनासो गरेका छन् । उनीहरुले ठेक्का लगाउने पालिकाले जिल्ला समन्वय समितिलाई देखाएर पन्छिने गरेको भन्दै आक्रोश व्यक्त गरेका छन् । गशेमान चारनाथ नगरपालिकाका मेयर यादव र ८ नम्वर वडा अध्यक्षकै कमला नदी किनारमा क्रसर उद्योग छन् ।

प्रत्येक वर्ष असारदेखि भदौ मसान्तसम्म ३ महिना नदीजन्य पदार्थ निकाल्न नपाउने प्रावधानका कारण अरुवेला रातदिन स्काभेटर प्रयोग गरी गिट्टी बालुवा निकाल्ने गरेको स्थानीयको भनाई छ ।  तर, प्रहरीले भने उत्खनन रोकेको दावी गर्ने गरेपनि नदीमा स्काभटेर चलिरहेको देखिन्छ । नदीमा स्काभेटर चलिरहेका वेला प्रहरी पुगेपनि नियन्त्रणमा लिने प्रयास गरेको देखिदैन । 

सधै भन्छ, ‘प्रहरी अहिल्यै रोक्छौं’ 
कमला नदिमा दिनरात स्काभेटर चलेपनि एककिलोमिटरको दुरीमा रहेको प्रहरी चौकी पोर्ताहा धनुषा र इलाका प्रहरी कार्यालय बन्दिपुर बेखवर जस्तै बन्ने गरेका छन् । स्काभेटर चलाएर गिट्टी बालुवा निकालिरहेको स्थानीयले जानकारी दिंदा पनि उनीहरु जिल्लामा खवर गर्नु हामी सक्दैनौं भन्दै पन्छिने गरेको एक स्थानीयले रातोपाटीलाई बताए । 

जिल्ला प्रहरी कार्यालय धनुषा र सिरहालाई जानकारी गराउँदा उनीहरुको एउटै भाषा रहन्छ । ‘खनेको हामीलाई जानकारी छैन, रहेछ भन्ने हामी तुरुन्त रोक्छौं’,प्रमुख जिल्ला अधिकारीको भनाई पनि उस्तै हुन्छ । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निलौलाले पनि उत्खनन रोकिएको बताए। उनले भने, ‘कुनै पनि निकायबाट स्काभेटर लगाएर उत्खनन् गर्ने इजाजत दिइएको छैन, उत्खनन् गर्न पाउँदैनन् गरेको भए म एसपीसावसँग कुरा गरेर तुरुन्त रोकाउँछु ।’

यता किथिला कन्ट्रक्सनका प्रोपराइटर विनोद यादवले जिल्ला समन्वय समितिसँगको समन्वयमा स्काभेटर लगाएको स्वीकार गरेको छ । ठकेदार यादवले भने, ‘जिल्ला भरीका ठेकेदारहरुले ठेक्का रकम फिर्ता माग गरेपछि जिल्ला समन्वय समितिले निकास दिएरै हामीले स्काभेटर लगाएका हौं ।’ तर जिल्ला समन्वय समिति धनुषाका उपाध्यक्ष दिपक झाले जिल्ला समनवय समितिले कुनै पनि ठेकेदारहरुलाई नदीमा स्काभेटर लगाएर खन्ने अनुमति नदिएको बताए । उनले भने, ‘हामीले त्यस्तो केही गरेका छैनौ, त्यसको सम्पूर्ण जिम्मेवारी स्थानीय तहले गर्ने हो, त्यहीँ गएर बुझ्नुहोला ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप