शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पात्रोमा नभेटिने चन्द्रग्रहण आज राति लाग्दैछ !

शुक्रबार, २३ जेठ २०७७, १८ : ३२
शुक्रबार, २३ जेठ २०७७

आज सन् २०२० को दोस्रो चन्द्रग्रहण लाग्दैछ जसलाई नेपालबाट पनि देख्न सकिन्छ। यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर पेनम्ब्रल चन्द्रग्रहण हो। नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईका अनुसार, यो विरल छायाँजनित ग्रहण भएकोले नेपाल पञ्चाङ्ग निर्णायक समितिले प्रकाशन अनुमति दिएका पात्रोमा यस बारेमा भेटिँदैन। पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्विकार गरिएको देखिँदैन।

उनका अनुसार, यो ग्रहण आज राति ११ बजेर ३० मिनेटमा सुरु भई १ बजेर ९ मिनेटमा मध्य हुनेछ भने राति २ बजेर ४९ मिनेटमा सकिनेछ।

के हो पेनम्ब्रल चन्द्रग्रहण?

सुर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाँया चन्द्रमामा पर्नु हो। यस्तो छायाँ दुई प्रकारका हुन्छन्: सघन तथा बिरल: चन्द्रमा पृथ्वीको विरल छायाँमा परेमा पेनम्ब्रल चन्द्रग्रहण लाग्छ। यो ग्रहण नाङ्गो आँखाले खासै छुट्याउन नसक्ने हुनाले प्रचलनमा रहेको पञ्चाङ्ग तथा पात्रोमा यसको चर्चा गरिएको पाईदैन। यस ग्रहणको बेला तस्बिर खिची केही वैज्ञानिक परिक्षण गर्न सकिने हुनाले वैज्ञानिक समुदायको लागि यस्तो ठुलो महत्व छ।

सन् २०२० मा लाग्ने ६ वटा ग्रहणमध्ये २ वटा सुर्यग्रहण तथा ४ वटा चन्द्रग्रहण छन्। नेपालबाट भने १ सुर्य तथा ३ चन्द्रग्रहण गरी चार ग्रहण देख्न सकिनेछ। ग्रहणको प्रकृति एउटा विश्वव्यापी हुन्छ भने अर्को स्थानीय हुन्छ। जस्तै सन् २०२० को पहिलो सुर्यग्रहणको विश्वब्यापी प्रकृति वलय सुर्यग्रहण भएता पनि नेपालबाट भने खण्डग्रास मात्र देखिनेछ।

सुर्यग्रहण सम्बन्धमा:

सन् २०२० को पहिलो सुर्यग्रहण जुन २१ तदनुसार वि. सं. २०७७ असार ७ गते आईतबारका दिन लग्नेछ। अफ्रिकाबाट सुरु भई एशियामा आएर सकिएको वलय सुर्यग्रहण नेपालबाट भने खण्डग्रास मात्रै देखिनेछ।नेपालमा खग्रास सुर्यग्रहण वि. सं. २०७७ असार ७ गते आईतबार बिहान  १० बजेर ५३ मिनेटमा सुरु भई १२ बजेर ४१ मिनेटमा मध्य हुनेछ भने  २ बजेर २४ मिनेटमा सकिनेछ। त्यस दिन ग्रहण हेर्न चाहनेहरुका लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले आफ्नो कार्यालय परिसरमा अवलोकनको विशेष व्यवस्था गर्ने तयारी गरेको थियो। तर कोभिड-१९ को महामारीले गर्दा प्रत्यक्ष प्रसारण को तयारी हुदैछ।सन् २०२० को दोस्रो तथा अन्तिम सुर्यग्रहण डिसेम्बर १४ तदनुसार वि. सं. २०७७ मङ्सिर २९ गते सोमबारका दिन लग्नेछ तर नेपालबाट भने देखिने छैन।

यसैबीच धर्मशास्त्रीहरुले भने यो चन्द्रग्रहण आँखाले देख्न नसकिने भएकाले नेपाल पञ्चाङ्ग निर्णायक समितिले पनि यसलाई मान्यता नदिएको बताएका छन् । 
ज्योतिष सुनिल सिटौलाले सनातन धर्ममा यसको महत्व नरहेकाले पञ्चाङ्गको पात्रोमा पनि यसबारे कहीँकतै उल्लेख  उहुने गरेकाे बताए । उनले भने, ‘ज्योतिषी भाषामा यसलाई मांद्य चन्द्रग्रहण या बिरल छाया या उपछाया चन्द्रग्रहण भनिन्छ । यसलाई नांगो आँखाले देखिँदैन, सनातन धर्ममा यसलाई महत्व दिने गरिएको छैन  ।’ 

फाईल तस्बिर: गत पुष महिनामा नेपालबाट देखिएको पेनम्ब्रल चन्द्रग्रहणको दृश्य , मनिषा द्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप