मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ का राज्यमन्त्री योगेन्द्र यादवलाई बर्खास्त गर्न माग

आइतबार, २५ जेठ २०७७, १३ : ५४
आइतबार, २५ जेठ २०७७

रौतहट । प्रदेश २ का भूमि ब्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवलाई बर्खास्त गर्न माग गरिएको छ ।

प्रदेश कृषि मन्त्रालयमाथि लागेको अनियमितताको आरोपबारे प्रदेश सरकारको अधिकारिक धारणा आउनु अघि राज्यमन्त्री यादव गाली गलौजमा उत्रिएपछि उनलाई बर्खास्त गर्न माग उठेको हो ।

शुुक्रबार प्रदेश २ का नेकपा अध्यक्ष प्रभु साहले सामाजिक सञ्जाल फेसबुकमा प्रदेश २ का कृषि मन्त्रालयको सेटिङमा जिल्ला कृषि ज्ञान केन्द्र रौतहटमार्फत किसानको नाउँमा करोडौं भ्रष्टाचार हुने गरेको रहस्योद्घाटनमात्र गरेनन्, छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षणसमेत गराएका थिए ।

सोहीदिन गौरका एकजना सञ्चाकर्मी अमित ठाकुरले जिल्ला कृषि ज्ञान केन्द्र रौतहटमा प्रदेश २ कृषि मन्त्रालयबाट यस आर्थिक वर्षमा आएको योजनाबारे जानकारी लिन सूचनाको हक प्रयोग गरेर लिखित निवेदन दर्ता गराउन गएका थिए ।

तर उनको निवेदन ज्ञान केन्द्रले दर्ता गर्न नमानेपछि जिल्ला प्रशासनमार्फत निवेदन पठाएका थिए ।

ज्ञान केन्द्रका प्रमुख जितेन्द्र झाले निवेदन दर्ता गर्न नदिएपछि सिडिओ वासुदेव घिमिरेको सल्लाहअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन पठाएको सञ्चारकर्मी ठाकुरले बताए ।

ठाकुरले प्रदेश मन्त्रालयकै ईशारामा कृषि ज्ञान केन्द्रले योजनाबारे जानकारी नदिएको दाबी गरे । जिल्ला कृषि ज्ञान केन्द्र रौतहटमा भएको सबै गतिविधिलाई प्रत्यक्षरुपमा प्रदेश २ का कृषि मन्त्रालयका अधिकारीहरुले नियालेको बताइन्छ ।

नेकपा प्रदेश २ का अध्यक्ष प्रभु साहले सामाजिक सञ्जालमा स्टाटस लेख्नु र एकजना सञ्चारकर्मीको निवेदन दर्ता नहुनुको रहस्यबारे प्रश्न उठिरहेको बेला प्रदेश कृषि मन्त्रालयले अधिकारीकरुपमा खण्डन अथवा योजना सार्वजनिक गर्नुपर्ने थियो । तर त्यसो भएन, बरु शनिबार भूमि ब्यवस्था सहकारी तथा कृषि राज्यमन्त्री योगेन्द्र यादवले आफ्नो नीजि लेटरप्याड प्रयोग गरी संघीय सांसद समेत रहेका प्रभु साहको बारेमा गाली गलौज गरेको उनका स्वकीय सचिव विजय यादवले बताए ।

प्रभु साह संघीय सांसदका साथै प्रदेशका नेकपाका अध्यक्ष रहेकाले प्रदेशभरी नै भईरहेको गतिविधि तथा विकास निर्माणका काम हेर्ने अथवा निगरानी गर्ने उनको अधिकार रहेको स्वकीय सचिव यादवले बताए ।

कृषि मन्त्रालयको सेटिङमा कृषि ज्ञान केन्द्रमार्फत किसानको नाउँमा करोडौं भ्रष्टाचार भईरहेको आरोप लाग्दा प्रदेश सरकारले त्यसको जवाफ दिनुुपर्ने थियो, आरोप गलत हो भने पुष्टि गर्नुपर्ने तियो, तर त्यसो नगरेर राज्यमन्त्री यादवले सांसद साहमाथि झुठा आरोप लगाएकाले उनीमाथि साईबर क्राईम मुद्दा दर्ता गर्नुपर्ने स्वकीय सचिव यादवको भनाइ छ ।

प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले राज्यमन्त्री यादवलाई अबिलम्ब पदबाट बर्खास्त गर्नुपर्ने स्वकीय सचिव विजय यादव बताउँछन् ।

कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले विधि र नियमपूर्वक आएमा कुनै नागरिकलाई पनि सूचना दिनुु पर्ने भए पनि गौरमा केही मानिसले दुःख दिने मनसायले आफुलाई बदनाम गराउन खाजेको आरोप लगाए ।

 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप