शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिडिओको निर्देशनपछि रौतहटमा रोकियो अवैध उत्खनन्

आइतबार, २५ जेठ २०७७, १६ : ३०
आइतबार, २५ जेठ २०७७

रौतहट । रौतहटको उतरी भेग गर्जाघाटस्थित लालबकैया नदीको पुल छेउमै जेसीबी प्रयोग गरेर अवैध उत्खनन् गरेका कारण पुल भासिने खतरा बढदै गएको छ । ठेकदार नागेन्द्र साहले नियम विपरित पुलको उतरतर्फ मात्र एकसय मिटरको दुरीमा पछिल्ला केहीदिन देखी जेसिबी प्रयोग गरेर दैनिक दर्जनौ ट्याक्टर प्रयोग गरी नदीजन्य पदार्थ निकाल्न थालेपछि पुल भासिने डरले स्थानीयवासीहरु त्रसित बनेका थिए ।

झण्डै २० करोड रुपैयाँको लागतमा निर्माण भएको गर्जा घाट लालबकैयाको पुल हुँदै रौतहट र बाराका दैनिक हजारौं मानिस ओहर दोहर गर्दछन् । करोडौंको भौतिक संरचनाको मतलव नगरी ठेकेदार नागेन्द्र साहले व्यक्तिगत फाईदाका लागि झण्डै एकहप्ता देखी पुल छेउमा उत्खनन् सुरु गरेको गर्जाका पूर्व गाविस अध्यक्ष रामनारायण चौधरीले बताए ।

सो क्षेत्रमा बालुवा र गिटी निकाल्न थालेपछि आफुले पटक पटक रोक्ने प्रयास गर्दा पनि ठेकेदारका मानिसले कुनै वास्ता नगरेको पूर्व अध्यक्ष चौधरीले गुनासो गरे । सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख डिई दरोगा साहका अनुसार कुनै पनि नदीमा रहेको पुलको कम्तीमा पाँचसय मिटर टाढा मात्र उत्खनन् गर्न पाइने भएकाले गर्जामा भइरहेको काम अबैध हो ।

स्थानीयवासीको अनुरोधमा रातोपाटीकर्मीसहित केही पत्रकार स्थलगत अवलोकनमा जाँदा लालबकैया पुलको उतरतर्फ १ सय मिटर भित्रै जेसिबी लगाएर दर्जनौ ट्याक्टरबाट बालुवा ढुवानी भइरहेको दृष्य देखिन्थ्यो । जिल्ला समन्वय समितिका उपसभापति रामवशिष्ट यादवले ठेकदार नागेन्द्र साहले गर्जाघाटमा पुुलनै भासिने किसिमले गरिरहेको उत्खनन् रोक्नै पर्ने दाबी गरे ।

रौतहटका सिडिओ वाशुदेव घिमिरेसँग उत्खनन्बारे जानकारी गराइएको छ । उनीसँगै रौतहटका प्रहरी प्रमुख एसपी रविराज खडकाले पनि सकृयता देखाएका छन् । एकहप्ता देखी भइरहेको अबैध उत्खनन् स्थानिय प्रशासनको निर्देशनमा आईतबार दिउँसो १२ बजेदेखी रोकिएको स्थानीय युवा सुवोध चौधरीले बताए ।

गर्जाघाटमै ठेकदार साहले गतवर्ष पनि मनपरी ढंगले लालबकैया नदी किनारमा चारवटा जेसिबी लगाएर गिटी निकालेपछि ठुलो पोखरीको जस्तो खाल्डो बनेको थियो । पछि एसपी खडकाल कार्वाही गर्ने चेतावनी दिएपछि उनले खाल्डो पुरेका थिए । गतवर्ष पनि सिडिओ वाशुदेव घिमिरे, एसपी रविराज खडका, सशस्त्रका एसपी रविनराज कर्णजित र नेपाली सेनाका कर्णेल सामन्तध्वज खडकाले अबैध नदी दोहन र अबैध क्रसर उधोग रोक्न विशेष सक्रियता देखाएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप