बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नयाँ रंग खोजूँ कि !

सोमबार, २६ जेठ २०७७, ०१ : ५९
सोमबार, २६ जेठ २०७७


कालो र सेतो रंग
चिनेको हो मैले शुरुमा।
तोते बोली बोल्दाबोल्दै
इन्द्रेणीको सात रंग
चिनेको हो मैले
अहो !
कति रंगीन जिन्दगी !
रंगीचंगी फूलहरू
रंगीचंगी पुतलीहरु,
रंग विरंगी चंगाहरु,
सुन्तला र आरुका रंगहरु।
मैले रंगहरुको पुरै स्वाद चाखें
असिनाको रंग,
बरफ मिठाइ र जलेबीको रंग,
गुन्द्रुक, किनेमा र इलिस माछाको रंग
म यी रंगहरुमा रमाउन थालें।
दशैंको लुगाको रंग,
टीका र दक्षिणको रंग,
तिहारको मालाको रंग
चित्रकारको कुचीको रंग।
हो,
कति रंगीन संसार,
कति रंगीन सपना,
रंगहरुमा खेल्दाखेल्दै
रंगहरुको सुवास लिँदालिँदै
रंगहरुको स्वाद चाख्दा चाख्दै
मैले यी रंगहरु
कपडाको टुक्रामा देख्न थाले
ठूला साना फिरफिर हल्लन्दै
हल्लै हल्ला बिच
टाटेपाङग्रे कपडाका टुक्राहरुमा
नाचिरहेका रंग देखेपछि
मैले रंगहरुको एउटा
अर्कै बिभत्स रुप देखे
घरि यो रंग
पलमै त्यो रंग
रंगहरुको ताण्डव प्रतिस्पर्धा भित्र
आफू अलमल्ल भएको पाँए,
अब त कालो र सेतोको
पार्थक्य पनि
छुट्टाउन नसक्ने भँए !
कुन रंग हो यो?
कसैको जिजीबिषालाई तृप्त गर्न
दुईपल्ट सोच्न बाध्य हुन्छु म !
अरु कसैसंग
आफ्नै तुष्टिको निम्ति
कसैलाई सम्पुष्टि माग्न
बाध्य हुन्छु म
हो,
बाध्य हुन्छु म
अब त ती
कपडाका टुक्राहरुमा मात्र कहाँ हो र !
भूकम्पले चर्किएको
मस्तिष्क अनि मुटुहरुमा रंग देख्छु म
कोरोना,उम्फान र निसर्गको कथक
अनि ताण्डव पछिको
त्राण शिविरमा
मजदूरको पसिनामा,
सिपाहीको बन्दुकमा,
शहीदको बलिदानमा
रोगीको औषधिमा
किन रंग देख्छु म !
रंगहरुमा किन मोहित छन्
अचेल मान्छेहरू?
हरेक मान्छेहरु जस्तै
हरेक वस्तुलाई
प्रतिपल घटित जिन्दगीलाई
कुनै न कुनै रंगले
निथ्रुक्क भिजेको देख्छु म।
यसैले मलाई लाग्छ
यसै घडी
वर्णान्ध बनूँ कि !
या त यस्तो लाग्छ
तमाम यी रंगहरु घोलेर
फेरि म एउटा
नयाँ रंग खोजूँ कि ! !
फेरि म अर्कै
नयाँ रंग खोजूँ कि ! ! !

दीप प्रधान
थर्बु नौ माइल मिरिक, भारत ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा