शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट नागरिक ल्याउन १० दिनका लागि नियमित उडान खोल्ने सरकारको तयारी

निगम डुबाउन निजी विमान कम्पनीको चलखेल
सोमबार, २६ जेठ २०७७, १२ : २१
सोमबार, २६ जेठ २०७७

सरकारले विदेशमा रहेका आफ्ना नागरिक ल्याउनका लागि १० दिनका लागि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी गरेको छ । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिमा अन्तर्राष्ट्रिय उडान खोल्नेबारे प्रस्ताव गएको छ । सम्भवतः उक्त प्रस्तावमा सोमबार निर्णय हुन सक्ने स्रोतले बताएको छ ।

हालसम्म नेपालबाट विदेश जाने नेपाली वा विदेशी नागरिकहरुका लागि चार्टर फ्लाइटमार्फत् उडान भइरहेको भए पनि नेपाल ल्याउनका लागि हालसम्म कुनै फ्लाइट भएको छैन । केही दिनअघि युएई र म्यानमारले उक्त देशमा रोकिएका नेपाली नागरिकहरुलाई उनीहरुकै विमानबाट नेपाल ल्याइदिएको थियो ।

विदेशमा अलपत्र वा समस्यामा परेका नेपाली नागरिकहरुलाई ल्याउनका लागि चार्टर उडान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भइरहँदा पर्यटन मन्त्रालयको योजनामा सबै एयरलाइन्सलाई खुल्ला गर्ने गरी उडान गर्न दिने तयारी भएको छ ।

पर्यटन मन्त्रालय स्रोतका अनुसार यो प्रस्तावमा मन्त्रालयमा धेरैपटक छलफल भएको र नेपालमा उडान भर्ने सबै एयरलाइन्सलाई उडान गर्न दिने गरी १० दिनका लागि खुल्ला गर्ने प्रस्ताव उच्चस्तरीय समितिमा पुर्याएको मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताए ।


नेपाल एयरलाइन्स डुबाउने खेल

विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई ल्याउनका लागि नेपाल एयरलाइन्सकै विमान प्रयोग गर्ने सरकारी तयारी थियो । तर विभिन्न एयरलाइन्स कम्पनीहरुको प्रलोभन र दबावमा पर्यटन मन्त्रालयले सबै एयरलाइन्सलाई नियमित उडान गर्न दिनेगरी १० दिनका लागि खुल्ला गर्न लागेको हो । जबकि नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले लागत मूल्यमै सामान्य नाफा राखेर विदशेबाट नेपाली नागरिक ल्याउने गरी पर्यटन मन्त्रालयमा आफ्नो मुल्यसूची पठाइसकेको थियो । तर नेपाल एयरलाइन्सलाई डुबाउन र अन्य एयरलाइन्स कम्पनीलाई मोटो रकम कमाउने गरी मन्त्रालयले यस्तो तयारी गरेको बुझिएको छ ।

निगमले सस्तोमै टिकट दिने गरी मूल्यसूची पठाएको थियो

नेपाल वायुसेवा निगमले मुख्य ८ गन्तब्य मुलुकबाट नेपाली नागरिक ल्याउनका लागि लाग्ने खर्चसहित प्रतियात्रु लिने टिकटको मुल्य पर्यटन मन्त्रालयलाई पठाइसकेको छ । उक्त उडान चार्टर उडान नहुने भएकाले सस्तो मुल्यमै टिकट पाइने अवस्था पनि रहेको नेपाल एयरलाइन्सका एक वरिष्ठ कर्मचारीले रातोपाटीलाई बताए । तर निगमले दिएको मुल्यभन्दा पनि महङ्गो हुने गरी मन्त्रालयले सबै एयरलाइन्सलाई फाइदा पुराउन यस्तो निर्णय गर्न लागेको बुझिएको छ ।

सामान्य अवस्थामा मलेसियाको दुइतर्फी टिकटको मुल्य ५० हजारको हाराहारीमा रहेको थियो । एकतर्फी मात्रै उडान गर्दा प्रतिव्यक्ति ३० देखि ३५ हजारको हाराहारमिा शल्क तिर्नुपर्दथ्यो । तर निजी विमानलाई खुला गर्दा अहिले एकतर्फी मात्रै यात्रु ल्याउन पाउने भएकाले दुईतर्फीकै भाडा यात्रुले तिर्नुपर्ने हुन्छ । दुईतर्फीको भाडा तिर्दा पनि मलेसियाका लागि प्रतियात्रु करिब ६० हजारमै आउन पाउने गरी निगमले मुल्यसूची मन्त्रालयमा पठाएको थियो । यो मुल्य सरकारले नेपाल एयरलाइन्सलाई मात्रै उडान अनुमति दिएको खण्डमा लागु हुने अवस्था थियो । तर यदि सबै विमान कम्पनीहरुलाई उडान अनुमति दिएको अवस्थामा माग आपूर्तिमा निर्भर हुने भएकाले यो मुल्यमा व्यापक वृद्धि हुने अनुमान गरिएको छ ।

दैनिक ८ फ्लाइट गर्न सक्छ निगमले

विदेशमा समस्यामा परेका नेपाली नागरिकहरुलाई नेपाल ल्याउनका लागि नेपाल एयरलाइन्सले दैनिक ८ वटा उडान गर्नसक्ने गरी मन्त्रालयमा आशयपत्र पेश गरिसकेको छ । निगमको दुईवटा वाइडबडी तथा २ वटा न्यारोबडी विमानले दैनिक दुई उडानका दरले २४ घण्टामा ८ वटा उडान भर्न सक्छ ।

दैनिक १ हजार ७ सय ७२ यात्रु ल्याउन सक्छ

नेपाल वायुसेवा निगमले पठाएको आशय पत्रमा पनि दैनिक ८ उडान गर्न सक्ने र एक दिनमा १ हजार ७ सय ७२ जना यात्रु ल्याउन सक्ने कुरा उल्लेख गरेको छ । निगमको वाइडबडी विमानको सिट क्षमता १८ सिटको बिजनेश क्लास र २ सय ५६ सिटको इकोनोमी क्लास हो । यी दुबै एकपटकमा न्यारोबडी विमानले २ सय ७४ जना यात्रु बोक्न सक्छ । दुईपटक उडान भर्दा एउटा विमानले दैनिक ५ सय ४८ यात्रु बोक्न सक्छ । वाइडवडीको दुईवटा विमान भएकाले दैनिक १ हजार ९६ जना यात्रु बोक्न सक्छ ।

त्यसैगरी न्यारोबडी विमानको सिट क्षमता १ सय ५८ सीट रहेको छ । जसमध्ये १ सय ५० सीट इकोनोमी क्लास र ८ सीट बिजनेश क्लासमा रहेको छ । निगमसँग न्यारोबडीको विमान पनि दुईवटा रहेको छ । यसरी हेर्दा दैनिक दुई उडान र दुईवटा विमानले दैनिक ४ उडान गर्दा न्यारोबडी विमानले पनि एक दिनमा ६ सय ३२ जना यात्रु बोक्न सक्छ ।

वाइडबडी र न्यारोबडी दुबै विमानले एक दिनमा १ हजार ७ सय ७२ जना यात्रु बोक्न सक्नेछ । न्यारोबडी विमान पनि हालको तालिकाअनुसार जापाबाहेक अन्य मुलुकमा उडान भर्न सक्ने अवस्थामा रहेको छ ।

एकैपटक नागरिक आउँदा अस्तव्यस्त हुनसक्छ

अहिले नेपाल सरकारले दैनिक २ देखि ३ हजारसम्मको सङ्ख्यामा यात्रु आएको अवस्थामा व्यवस्थापन गर्न सक्ने अवस्थामा रहेको छ । नेपाली सेनाले तयार गरेको होल्डिङ सेन्टरहरुमा पनि दैनिक करिब ३ हजारदेखि ४ हजारको सङ्ख्यामा मात्रै नागरिकलाई राख्न सकिने अवस्था छ ।

तर यदि सबै विमान कम्पनीहरुलाई नियमित उडानका लागि खुला गर्ने हो भने एकैदिन दशौँ हजार नागरिक नेपाल आउन सक्छन् । यस्तो अवस्थामा ती नागरिकहरुको व्यवस्थापन ज्यादै कठिन मात्रै बन्ने छैन, अस्तव्यस्तको अवस्था आउन सक्नेछ ।

कोरोनाबाट बढी प्रभावित भएका मुलुकहरुबाट ती नागरिक आउने र होल्डिङ सेन्टर तथा अन्य क्षेत्रहरुमा पनि भीडभाड हुने भएकाले कोरोना संक्रमणको जोखिम झनै बढी हुनेछ । यस्तो अवस्थामा यसले लकडाउन गर्नुको अर्थ पनि नरहन सक्छ भने कोरोना संक्रमणको जोखिमलाई झनै बढवा मात्रै दिनेछ । त्यसकारण पनि १० दिनका लागि नियमित उडान खोल्ने विषय घातक बन्न सक्नेछ ।

भाडामा व्यापक वृद्धि हुन सक्छ

सरकारी स्वामित्वको सरकारी एयरलाइन्सलाई नै नागरिक ल्याउने जिम्मा दिँदा एकातिर सरकारी स्वामित्वको वायुसेवा निगमलाई सञ्चालन खर्च जोहो गर्न केही सहज हुन्छ भने अर्कोतिर यात्रुलाई पनि भाडामा छुट दिन वा नियन्त्रण गर्न सजिलो हुनेछ । तर यदि सबै विमान कम्पनीहरुलाई उडान भर्ने अनुमति दिने हो भने टिकटमा व्यापक कालोबजारी हुन सक्नेछ । किनभने नेपाल आउनका लागि आतुर यात्रुहरु महङ्गो शुल्क तिरेर भएपनि नेपाल आउन तयारी अवस्थामा रहेका छन् । यस्तो अवस्थामा निजी विमान कम्पनीहरुको भाडामा लगाम लगाउन सक्ने अधिकार सरकारसँग रहँदैन । जसका कारण माग बढी भएको अवस्थामा निजी विमान कम्पनीहरुले अत्याधिक महङ्गोमा टिकट बेच्नेछन् । जसको मार भने नेपाली नागरिकलाई पर्नेछ ।

विदेशी एयरलाइन्सलाई उडान अनुमति दिए ५ अर्ब रकम बाहिरिन्छ

अहिले सरकारले तयारी गरेअनुसार यदि विदेशी एयरलाइन्स कम्पनीहरुलाई पनि नेपालमा नियमित उडान भर्ने अनुमति दिने हो भने कम्तिमा पनि करिब ५ अर्ब रकम बाहिरिने अनुमान गरिएको छ ।

१० दिनका लागि मात्रै उडान अनुमति दिएपनि दैनिक १० हजारका दरले नेपाली नागरिक आउँदा पनि १० दिनमा कम्तीमा एक लाख मानिसहरु नेपाल आउनेछन् । एक लाख मानिसहरु नेपाल आउँदा उनीहरुले औषतमा ६० हजारको दरले भाडा तिर्दा पनि ६ अर्ब हुनेछ । ६ अर्ब मध्ये नेपाली एयरलाइन्स कम्पनीले एक अर्बको मात्रै व्यापार गरे भने पनि बाँकी ५ अर्ब रकम विदेशी एयरलाइन्स कम्पनीले लैजानेछन् ।

रेमिटेन्सको मात्रा घट्ने क्रममा रहेको अवस्थामा नेपालबाट ५ अर्ब रकम बाहिरिँदा नेपाललाई आर्थिकरुपमा पनि ठूलो क्षति हुन सक्छ । तर सरकारले सबै विमान कम्पनीहरुलाई नेपालमा उडानका अनुमति दिँदा नेपालबाट रकम बाहिरिने मात्रै नभई अर्को समस्या पनि निम्तनसक्ने बताउँछन् अर्थविद् डा. चन्द्रमणि अधिकारी ।

उनी भन्छन्, ‘खुला बजार नीतिमा रहेको नेपालले कुनै एक विमान कम्पनीलाई मात्रै नियमित उडानको अनुमति दिन हुन्छ कि हुँदैन भनेर पनि छलफल त गर्नुपर्ला, तर पनि यो नियमित उडान गर्ने बेला भने होइन । किनभने अहिले दैनिक दशौँ हजार मान्छे ल्याएर व्यवस्थापन गर्न सकिएन भने त्यसले अर्को समस्या पनि ल्याउनेछ । त्यसकारण अहिले नियमित उडान खोलेर सबै विमान कम्पनीलाई उडान भर्न दिने कुरा आर्थिक र स्वास्थ्यका दृष्टिकोणले राम्रो नहुन पनि सक्छ ।’

‘दोस्रो कुरा, विश्वभरी नै मुल्य निर्धारण भनेको लागतको आधारमा हुन्छ । त्यसकारण टिकटको मुल्य कति पर्छ भन्ने कुरा लागतमा निर्भर रहन्छ । तर अहिले आपूर्तिभन्दा माग बढी भएको अवस्थामा नागरिकहरु बढी मुल्य तिरेर पनि आउन चाहने भएकाले टिकटको मुल्यमा वृद्धि हुन सक्नेछ । त्यसकारण खुला बजार नीतिमा मुल्य नियन्त्रण गर्ने कुरा अन्तर्राष्ट्रिय उडानमा सम्भव छैन ।’

विदेशी विमान कम्पनीको मुल्य निर्धारण असम्भव

अहिले सरकारले गन्तव्य मुलुकहरुका लागि अधिकतम भाडा लिन पाउने सूची पनि तयार गरेको छ । जसअनुसार मलेसियाका लागि अधिकतम ५ सय ३५ डलर लिन पाउने तोकेको छ । अहिलेको मुल्य अनुसार ५ सय ३५ अमेरिकी डलर भनेको करिब ६५ हजार नेपाली रुपैयाँ हुन सक्छ ।

तर यदि सरकारले नियमित उडान खोलेको अवस्थामा नेपाली विमान कम्पनीको भाडामा नियन्त्रण सम्भव भएपनि विदेशी विमान कम्पनीको भाडामा नियन्त्रण गर्न सक्दैन । जसकारण नेपाली विमान कम्पनीले सस्तो मुल्यमै यात्रुलाई उडाइरहँदा विदेशी विमान कम्पनीले भने महङ्गो शुल्क लिन सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप