बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु प्रकरण थप रहस्यमय

बुधबार, २८ जेठ २०७७, १४ : १२
बुधबार, २८ जेठ २०७७

भक्तपुर । भक्तपुर अस्पतालमा बच्चा जन्माएकी सुत्केरी महिलाको मृत्युको विषय रहस्यमय बनेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएको आशंका गरिएकी उनको पिसीआर रिपोर्ट नेगेटिभ आएकाले उनको मृत्युको कारण प्रष्ट हुन नसकेको हो । 

सिन्धुपाल्चोक जिल्ला लिसङ्खुपाखर गाउँपालिका वडा नम्बर–३, स्थायी घर भई  हाल चाँगुनारायण नगरपालिका–२, पुरानो झौखेल बस्ने महिलाको सुत्केरी भएको केही समयमै मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

तर, कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने अस्पतालले ती सुत्केरी महिलाको मृत्यु नै हुन पुग्नुकाे खास कारण के हो भनेर खुलाउन सकेको छैन । मंगलबार अस्पतालले विज्ञप्ति प्रकाशित गरे पनि उनको मृत्यु के कारणले भयो भन्ने प्रष्ट पारिएको छैन ।

दोस्रो सन्तानका रुपमा छोरालाई जन्म दिएको केही मिनेटमै ३६ वर्षकी ती महिलाको मृत्यु भएको हो । उनी अस्पताल आउँदा रुघाखोकीको लक्षण देखिएको र श्वासप्रश्वासमा पनि समस्या देखिएको अस्पतालले जानकारी दिएको छ । 
मृतक महिलाले काठमाडौं मेडिकल कलेजमा नियमित स्वास्थ्य जाँच गर्दै आएको उनका आफन्तले प्रशासनलाई जानकारी दिएका छन् । 

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाललाई रातोपाटीले सुत्केरीको मृत्युको खास कारण के हो ? भनेर प्रश्न गर्दा उनले यसबारेमा भक्तपुर अस्पतालकी प्रमुख डाक्टर सुमित्रा गौतमसँग बुझ्न आग्रह गरे । 

त्यसपछि हामीले अस्पतालकी प्रमुख डाक्टर गौतमसँग फोन सम्पर्क ग¥यौं । पहिलो पटक फोन उठाएकी उनले आफू सवारी चलाउँदै गरेको भन्दै केही समयपछि फोन गर्न आग्रह गरिन् । 

त्यसको झण्डै २५ मिनेटपछि पुनः उनको मोवाइलमा सम्पर्क गर्दा सुरुमा कुरा गरेकी उनले सुत्केरीको मृत्युको कारण के हो ? भनेर प्रश्नको जवाफमा ‘अस्पतालको सूचना पठाइदिन्छु’ भनिन् । 

रातोपाटीले ‘अस्पतालको सूचनामा त मृत्युको कारणबारे खासै खुल्न सकेको छैन’ भनेपछि उनले कुरा अगाडि बढाउन चाहिनन् । उनले भनिन्, ‘हलो, हलो... यता राम्रो सुनिएन, पछि फोन गर्छु है ।’

अस्पतालले ती महिलाको श्वासप्रश्वासमा समस्या भएको भए किन भेन्टिलेटरमा राखेन, अस्पताल आएको तीन घण्टासम्म आइसीयू भएको ठाउँमा किन पठाएन भन्ने गम्भिर प्रश्न खडा भएको छ । 
अस्पताल प्रमुखले सुत्केरी मृत्यु प्रकरणबारे बोल्न नचाहेपछि यसबारेमा हामीले भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग जिज्ञासा राख्यौं । 

प्रमुख जिल्ला अधिकारी पाण्डेले सामान्य सुत्केरी भएकी महिलाको सुत्केरी भएको केही समयमै मृत्यु भएको बताइन् । उनले भनिन्, ‘अस्पतालले दिएको जानकारी अनुसार सुत्केरीपछि श्वासप्रश्वासमा समस्या भएको र चिकित्सकले हरप्रयास गर्दा पनि बचाउन सकिएन भन्ने कुरा आएको छ ।’

अस्पताल आएको करिब ३ घण्टामा मृत्यु 
सुत्केरी व्यथाले च्यापेर आइतबार साँझ ६ः१५ बजे उनी डेलिभरी गराउन भर्ना भएकी थिइन् । अस्पताल आउँदा ती महिलामा खोकी, श्वासप्रश्वासमा समस्या र जाँच गर्दा छातीमा खराबी देखिएको थियो । कोरोना भाइरस परीक्षणका लागि गरिएको आरडीटी (¥यापिड डाइग्नोस्टिक टेस्ट) रिपोर्ट पोजेटिभ आएको अस्पतालको भनाइ छ । 

महिलामा कोरोना संक्रमणको आशंका गर्दै स्वाब संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएकोमा मंगलबार रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको हो ।

प्रयोगशालामा उनको तीन पटकसम्म पीसीआर परीक्षण भएकोमा तीनै पटक नतिजा नेगेटिभ नै देखाएको अस्पताल स्रोतले जनाएको छ ।

४२ घण्टापछि शवको व्यवस्थापन

आइतबार राति करिब ९ बजे भक्तपुर अस्पतालमा मृत्यु भएकी ती सुत्केरी महिलाको शव व्यवस्थापन गरिएको छ । उनको शव मृत्युको करिब ४२ घण्टापछि व्यवस्थापन गरिएको हो ।

मृतकका परिवारले शव व्यवस्थापनका लागि आर्थिक अभाव भएको भन्दै जिल्ला विपद् ब्यवस्थापन समितिलाई अनुरोध गरेका थिए । 

त्यसपछि जिल्ला विपद् व्यवस्थापन समितले सेना र नेपाल प्रहरीको साथै स्वयं सेवक अरुण सैंजु नेतृत्वको टोलीले पशुपतिमा लगेर शवको ब्यस्वथापन गरिएको वीरदल गणका प्रमुख कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप