बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अब जापानको भाडा अधिकतम १ हजार ५० डलर

बढी भाडा लिएर चार्टर फ्लाइट गरेको सम्बन्धमा मन्त्रालयले बनायो छानबिन समिति
बुधबार, २८ जेठ २०७७, १७ : ४१
बुधबार, २८ जेठ २०७७

अत्याधिक महङ्गो भाडा लिएर जापानको उडान गरेपछि पर्यटन मन्त्रालयले यस सम्बन्धमा छानबिन समिति गठन गरेको छ । बुधबार पर्यटन मन्त्रालयले सह–सचिव सुरेश आचार्यको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

काठमाडौँबाट जापानको नारिता विमानस्थलसम्मको यात्राका लागि प्रतियात्रु १ हजार ३ सय ५० डलरसम्म लिएको बारे रातोपाटीले मंगलबार राति समाचार प्रकाशन गरेको थियो । केही यात्रुसँग थप १ सय डलर पनि माग गरिएको सम्बन्धमा समाचार प्रकाशन भएपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार छानबिन समिति गठन गरेको हो । समितिका अन्य सदस्यहरुमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात माहाशाखा प्रमुख सचित भक्त पोखरेल र पर्यटन मन्त्रालयका कानुन हेर्ने उपसचिव राजन नेपाल सदस्यसचिव रहेका छन् ।


उद्धारका नाममा अत्याधिक चर्को भाडा लिएर धमाधाम चार्टर फ्लाइट हुन थालेपछि पर्यटन मन्त्रालयले भाडामा नियन्त्रण गर्ने कोशिस गरेको थियो । मुख्यतः जापान र अमेरिकाको चार्टर उडानमा अत्याधिक महङ्गो भाडा लिएपछि सरकारले हवाइ भाडामा नियन्त्रण गर्ने कोशिश सुरु गरेको हो । त्यसैका लागि अब यो समितिले एक साताभित्र यी समस्या र समाधानका लागि प्रतिवेदन प्रस्तुत गर्नेछ । साथै मंगलबार भएको उडानमा यात्रुले कति रकमसम्म तिरे र कति रकम ठगी भयो भनेर छानबिन समेत गर्ने भएको छ ।

मंगलबार सोसाइटी ट्राभलले जापानको नारिताका लागि चार्टर फ्लाइट राखेको थियो । उक्त फ्लाइटमा २ सय ६० यात्रुले टिकट बुकिङ गरेको भएपनि २ सय ५६ यात्रुले मात्रै यात्रा गर्न पाएका थिए । तर उक्त उडानमा अत्याधिक महङ्गो भाडा लिएको गुनासो पर्यटन मन्त्रालयमा आएपछि पर्यटन मन्त्रालयले विमानस्थलमै पुगेर यात्रुहरुसँग कति पैसा तिरेको हो भनेर सोधपुछ समेत गरेको थियो । केही यात्रुहरुले बैंक डिपोजिट गरेको रकमको स्लिपसमेत मन्त्रालयका प्रतिनिधिलाई दिएका थिए ।

पर्यटन मन्त्रालयका अनुसार ट्राभल एजेन्सीले अधिकांश यात्रुबाट १ हजार २ सय ५० अमेरिकी डलर अर्थात् १ लाख ५२ हजार ५ सय रुपैयाँका दरले रकम लिएका थिए । केही केही यात्रुबाट १ हजार ३ सय ५० अमेरिकी डलर अर्थात् १ लाख ६५ हजार रुपैयाँसम्म लिएको पाइएको छ । जबकि पर्यटन मन्त्रालयले भने अधिकतम १ हजार ५० अमेरिकी डलर मात्रै लिन भनेको थियो ।

धेरै भाडा लिनेलाई ठगीमा कारवाही गर्ने तयारी

सरकारले मंगलबार नै ट्राभल एजेन्सीलाई यात्रुबाट लिइएको बढी भाडा फिर्ता गर्न दबाव दिएको थियो । बढी भाडा लिएकै कारण मंगलबार भाडा फिर्ता नगरे उडानको अनुमति नै नदिने भन्दै पर्यटनमन्त्री योगेश भट्टराईले बढी लिएको भाडा फिर्ता गर्न निर्देशन दिएका थिए ।

तर यात्रुहरु विमानस्थल पुगिसकेको र रकम पनि बैंकमा मात्रै भएको भन्दै तत्कालै पैसा फिर्ता गर्न नसकिने जवाफ ट्राभल एजेन्सीले दिएको थियो । कति भाडा लिने भनेर पनि मन्त्रालयले यसअघि कुनै सुचना वा जानकारी नदिएको र पहिले नै बुकिङ गरी टिकट काटिएकाले बढी लिएको रकम फिर्ता गर्न नसकिने जवाफ दिएपछि उडानको अनुमति रोकिएको थियो । तर यात्रुहरुले करिब एक महिना पहिले नै टिकट बुकिङ गरी पैसासमेत बुझाइसकेको कारण आगामी दिनमा सरकारले तोकेको भाडा लिने भएपनि यसअघिको भएको कारोबारमा अहिलेको निर्णय नमान्ने ट्राभल एजेन्सीको ढिपी थियो ।

उता उडानको अनुमति नपाएको जानकारी पाएपछि आक्रोशित बनेका यात्रुहरु नागरिक उड्डयन प्राधिकरण र मन्त्रालय नै घेराउ गर्न आउने अवस्था भएपछि अन्तिम अवस्थामा मात्रै उडानको अनुमति दिइएको थियो । तर उडानको अनुमति दिँदा पनि बढी लिएको भाडाको सम्बन्धमा छानबिन गर्ने र कारवाहीको प्रक्रिया अगाडि बढाउने सहमति भएपछि उडानको अनुमति दिइएको बुझिएको छ ।

सबै यात्रुको पैसा लिएर मात्रै विमान बुकिङ

यता सोसाइटी ट्राभलले मन्त्रालयलाई दिएको स्पष्टीकरणमा उडानमा कति यात्रु हुन्छन् भन्ने ग्यारेन्टी नहुने भएकाले कुल सीट क्षमताको ७० प्रतिशतलाई सीट सङ्ख्या आधार मानेर त्यसैका आधारमा लागत निकाल्दै शुल्क लिनुपर्ने भएकाले प्रतियात्रु सरदर १ हजार २ सय ५० डलर लिइएको उल्लेख गरेको छ ।

ट्राभलले जापानको नारिता उडानका लागि एकतर्फी समय ६ घण्टा ४५ मिनेट लाग्ने भएपनि कुल उडान समयभन्दा एक घण्टा बढी समय अर्थात् १४ घण्टा ३० मिनेटको भाडा तिरिएको उल्लेख गरेको छ । त्यसअनुसार ट्राभलले प्रतिघण्टा १८ हजार १ सय डलरका दरले निगमलाई २ लाख ६२ हजार ४ सय ५० अमेरिकी डलर अर्थात् मंगलबारको विनिमयदर १ सय २२ रुपैयाँका दरले नेपाली ३ करोड २० लाख रुपैयाँ बुझाएको थियो ।

तर ट्राभल एजेन्सीले भने २ सय ६० यात्रुबाट सरदर १ हजार २ सय ५० अमेरिकी डलरका दरले ३ लाख २५ हजार डलर अर्थात् ३ करोड ९६ लाख ५० हजार रुपैयाँ उठाएको थियो । टिकट काटेकामध्ये ४ जना यात्रुले भने उडान गर्न पाएनन् ।

निगमको वाइडबडी विमानको सीट क्षमता २ सय ७४ सिट हो । तर लामो दुरीमा पनि यात्रा गर्नुपर्ने हुनाले थप क्रु मेम्बरका लागि भन्दै निगमले जम्मा २ सय ६६ सिट मात्रै चार्टर पार्टीलाई दिने गरेको छ । तर चार्टर पार्टीले भने २ सय ६६ सिटको पनि ७० प्रतिशत अर्थात् १ सय ८६ सिटलाई आधार मानेर लागत तथा त्यसमा २० प्रतिशत नाफा जोडेर टिकटको मुल्य निर्धारण गर्ने गरेका छन् । यसरी हेर्दा जापानको नारिता उडानका लागि प्रतिव्यक्ति लागत नै करिब १ लाख ७२ हजार रुपैयाँ पर्न आउने देखिन्छ, व्यवसायीको हिसाबमा ।

तर यथार्थ भने त्यस्तो छैन । ट्राभल व्यवसायीले यात्री सङ्ख्याको यकिन गरी पहिले नै फुल सिट सङ्ख्या राखेर टिकट बुकिङ गरी पैसा लिएपछि मात्रै विमान बुकिङ गरेको देखिन्छ । किनभने एक यात्रुले २८ मे, २०२० मै ट्राभल एजेन्सीलाई रकम बुझाएको प्रमाण रातोपाटीले प्राप्त गरेको छ । जबकि सोसाइटी ट्राभलले भने जुन ५, २०२० मा मात्रै नेपाल वायुसेवा निगमको वाइडबडी विमान बुकिङ गरेको थियो ।

फोटो : हेर्नुहोस्, यात्रुले ट्राभल एजेन्सीलाई रकम पठाएको स्लिप

यसले के स्पष्ट पार्दछ भने ट्राभल एजेन्सीले यात्रुसँग पूरा पैसा लिई टिकट बुकिङ गरी सिट सङ्ख्या पूरा भएपछि मात्रै विमानसँग सम्झौता गरेको देखिन्छ । यसलाई आधार मान्ने हो भने पनि टिकट बुकिङ भएकाको ५ प्रतिशत मानिसहरुले पछि क्यान्सिल गरेको अवस्थामा पनि २ सय ५२ जनाले यात्रा गर्नेछन् । २ सय ५२ जना यात्रुलाई आधार मान्ने हो भने १ लाख २७ हजारमै उडाउन सकिन्छ । तर औसतमा २ सय ५८ यात्रु पुग्ने गरेको कारण प्रतियात्रु १ लाख २४ हजार भाडा लिए पनि २ सय ५८ जनालाई यात्रा गराउन सकिन्छ । त्यसवापत ट्राभल एजेन्सीलाई पनि कमिसनवापत १६ लाख पैसा आउनेछ, जुन रकम एक ट्राभल एजेन्सीको लागि राम्रो रकम हो । तर पनि ट्राभल एजेन्सीहरुले भने अत्याधिक महङ्गोमा टिकट बेचेर लकडाउनको फाइदा मात्रै होइन, समस्यामा परेका यात्रुबाट हवाई यात्रामा लुट मच्चाएका छन् ।

जापान उडानका लागि अब अधिकतम १०५० डलर मात्रै लिन पाउने

मंगलबार पर्यटन मन्त्रालयमा भएको छलफलपछि जापानको नारिता उडानका लागि अब अधिकतम १ हजार ५० डलर मात्रै लिन पाउने निर्णय भएको छ । अब चार्टर फ्लाइट भएपनि जापानको नारिता उडान गर्दा इकोनोमी क्लासमा यात्रा गर्ने यात्रुबाट अधिकतम १ हजार ५० डलरमात्रै लिन पाइने छ ।

तर बिहीबार अर्थात् जुन ११ मा पनि सिरिन ट्राभलले जापानको उडान भर्दैछ । सिरिन ट्राभलले प्रतियात्रु १ हजार १ सय देखि १ हजार ४ सय अमेरिकी डलरसम्म भाडा लिएको स्वीकार गरेको छ । उसले इकोनोमी क्लासमा यात्रा गर्ने यात्रुबाट १ हजार १ सय डलर र बिजनेश क्लासमा यात्रा गर्ने यात्रुबाट १ हजार ४ सय डलर लिएको रातोपाटीलाई बताएको छ ।

‘मन्त्रालयले त १ हजार ५० डलरभन्दा बढी नलिन भनेको छ नि त’ भन्ने रातोपाटीको प्रश्नमा सिरिन ट्राभलका प्रतिनिधिले यो निर्णय भर्खरको भएको र आफूहरुले पहिले नै विमान बुकिङ गरी यात्रुसँग भाडासमेत उठाइसकेको भन्दै रकम फिर्ता नगर्ने बताएको छ ।

यात्रुसँग अतिरिक्त रकम माग्ने एजेन्सी भैरहवाको ‘नेपाल ट्राभल’

मंगलबार काठमाडौंबाट जापानको नारिता उड्नका लागि यात्रुसँग ‘डेट चेञ्ज’का नाममा थप रकम माग गर्ने ट्राभल एजेन्सी भैरहवामा केन्द्रीय कार्यालय रहेको नेपाल ट्राभल रहेको खुलेको छ ।

यो ट्राभलले चावहिलका अलिय तामाङसहित ३ जनाको टिकट इस्यु गरेको थियो । ट्राभल एजेन्सीले सुरुमा जुन १४ का लागि टिकट बेचेको थियो, जुन दिन जापानका लागि कुनै उडान नै छैन । पछि जुन ९ अर्थात् मंगलबारको लागि सोसाइटी ट्राभलले बुकिङ गरेको जापान उडानमा उनीहरुको टिकट मिलाइदिएको थियो । ट्रभलले प्रतियात्रु १ हजार २ सय अमेरिकी डलर अर्थात् १ लाख ४६ हजार ४ सय रुपैयाँका दरले रकम लिएको थियो ।

तर मंगलबार उडान हुनुभन्दा करिब ६ घण्टा अगाडि मात्रै ‘मिहेनत गरेर डेट चेञ्ज गरेको’ भन्दै नेपाल ट्राभलका एअरपोर्ट प्रतिनिधिले थप १ सय डलर माग गरेका थिए । तर अलिय तामाङ लगायतले त्यति रकम तिर्न नसक्ने भन्दै अलिय तामाङ, शिल्पा तामाङ र डिना तामाङले प्रतिव्यक्ति ५० अमेरिकी डलरका दरले १ सय ५० डलर थप रकम बुझाएका थिए । तर पनि दूतावासले दिएको पत्रमा उनीहरुको नाम नभएको भन्दै नेपालको इमिग्रेसनले उनीहरुलाई फिर्ता पठाइदिएको थियो ।

नेपाल ट्राभलका सिइओ सञ्जय वजिमयको धम्की : ‘न्युज लेखे मेरो पनि सामाजिक सञ्जालमा धेरै फलोअर्स छन्’

यात्रुहरु फिर्ता हुनु परेपछि के भएको हो भनी भैरहवामा केन्द्रीय कार्यालय रहेको नेपाल ट्राभल एण्ड टुर्सका सिइओ सञ्जय बजिमयलाई सोद्धा उनले अध्यागमन विभागकै कारण फिर्ता हुनु परेको बताए । अध्यागमन विभागले दूतावासले पहिले दिएको मात्रै पत्र हेरेको र पछिल्लो पत्र नहेरेको कारण उनीहरु फिर्ता हुनुपरेको बताए । उनले भने, ‘तपाईंहरुले पनि लेखिदिनुपर्यो कि हाम्रो इमिग्रेसन कस्तो छ भनेर । इमिग्रेसनले इमेलमा पठाएको पछिल्लो कागजात नै नहेरी लिष्ट छैन भन्दै फिर्ता गरिदिएछ ।’

यात्रुसँग कति रकम लिनुभएको हो भन्ने प्रश्नमा उनले १ लाख ४६ हजार ४ सय नै लिएको स्वीकार गरे । विमान बुकिङ गर्ने कम्पनीलाई कति रकम पठाउनु भयो त भन्ने प्रश्नमा उनले पूरै अर्थात् १ लाख ४६ हजार ४ सयकै दरले रकम पठाएको दाबी गरे ।

तर सोसाइटी ट्राभलले भने आफूहरुले नेपाल ट्राभलबाट प्रतियात्रु ११ सय डलर मात्रै लिएको बताएको छ । सोसाइटी ट्राभलका सञ्चालक सुनिल शर्माले आफूहरुले जम्मा ११ सय डलर मात्रै लिने कुरा भएको र नेपाल ट्राभलले त्यति रकम नै बैंक खातामा डिपोजिट गरिदिएको बताए ।

अतिरिक्त रकम के का लागि लिनुभएको भन्ने सम्बन्धमा नेपाल ट्राभलका सिइओ सञ्जय वजिमयले आफूलाई केही थाहा नभएको बताए । तर यात्रुहरु अलिय, शिल्पा र डिनाले वजिमयको सिनामंगलमा रहेको कार्यालय टिका होटलका टिका श्रेष्ठलाई प्रतिव्यक्ति थप ५० डलरका दरले बुझाएको विषय के हो त भन्दा उनले टिका होटलमा आफ्नो कार्यालय रहेको तर थप कुरा थाहा नभएको बताए ।

बरु वजिमयले यात्रुको पक्षमा लेखेर आफू र आफ्नो कम्पनीलाई बदनाम गरे आफूले पनि सामाजिक सञ्जालमा लेखेर बदला लिने धम्की दिए । उनले भने, ‘हेर्नुहोस्, तपाईंहरुले अहिले लेख्ने विषय भनेको इमिग्रेसनको विषय हो । इमिग्रेसनले दिएको दुःखको विषय हो । अहिले फर्कनुपरेको यात्रुको कुरा सुनेर म र मेरो संस्थाको बदनाम गर्नुभयो भयो त्यो राम्रो हुँदैन । मेरो पनि सामाजिक सञ्जाल छ र त्यहाँ धेरै फलोअर्स छु । मैले पनि लेख्न सक्छु, ख्याल गर्नुहोला ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप