मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जेरानियम : रोप्न र हुर्काउन सजिलो फूल

जेरानियमका स्याहारसुसारबारे केही आधारभूत जानकारी
बिहीबार, २९ जेठ २०७७, १३ : ३४
बिहीबार, २९ जेठ २०७७

रोप्न, हुर्काउन, स्याहार्न र फुलाउन सबैभन्दा सजिलो फूलहरुमध्येको एक फूल हो जेरानियम । घरभित्र वा बाहिर, जमीनमा वा गमलामा, जहाँ पनि सजिलै फुलाउन सकिने फूल हो–जेरानियम । यसलाई चाहिने मल, पानी  र उपयुक्त वातावरण दिन सकियो भने यसमा जाडाे महिनाबाहेक रअरु सबै महिनाहरुमा फूल फुलाउन सकिन्छ ।

जेरानियमलाई कहाँ रोपिएको छ, त्यो कुरामा यसलाई चाहिने स्याहारसुसार फरक हुने गर्छ । घरभित्र जेरानियम फुलाउँदै हुनुहुन्छ भने त्यसलाई पर्याप्त प्रकाश पुगेको छ कि छैन ? त्यो ख्याल गर्नु जरुरी हुन्छ । यसमा राम्ररी फूल लाग्नका लागि पर्याप्त प्रकाशको जरुरत पर्दछ । तर यसले कम प्रकाशलाई पनि सहन सक्छ । यसलाई मनपर्ने तापक्रम दिनमा ६५ देखि ७० डिग्री फरेनहाइट अर्थात् १८ देखि २१ डिग्री सेन्टिग्रेट हो भने रातको समयमा यसलाई उपयुक्त तापक्रम ५५ डिग्री फरेनहाइट (१३ डिग्री सेन्टिग्रेट) आसपास हो ।

जेरानियमलाई रोप्दा सबैभन्दा ख्याल गर्नैपर्ने कुरा भनेको माटो हो । यसलाई पानी नजम्ने माटो चाहिँन्छ । पानी जम्ने माटोलाई यस विरुवाले सहन सक्दैन, यसको जरा कुहिएर विरुवा मर्छ । गमलामा यो विरुवा रोप्दा यो कुरामा विशेष ध्यान दिनु जरुरी छ । त्यसैगरी, बाहिर जमीनमा रोप्दा पनि माटो पानी नजम्ने खालको रहे नरहेको ख्याल गर्नुपर्छ । यसको लागि माटो तयार गर्दा सबैभन्दा राम्रो समान भाग्मा माटो, कोकोपिट र परलाइट मिलाउँदा ठीक हुन्छ । तर कोकोपिट र परलाइट छैन भने पनि पातपतिङ्गर कुहाएको मल वा राम्ररी पाकेको मल, भुस, बालुवा र माटो मिलाएर जेरानियमको लागि सही माटो तयार पार्न सकिन्छ ।

जेरानियममा धेरै फूल फुलाउन चाहनुहुन्छ भने यसलाई पर्याप्त घाम आउने ठाउँमा राख्नुपर्छ । घरभित्र राखिएको विरुवामा पनि बढीभन्दा बढी घामको प्रकाश परोस् भन्ने कुराको ख्याल गरिनु जरुरी छ ।  यसको लागि सबैभन्दा उत्तम भनेकै दिनको ६ देखि ८ घण्टा घाम लाग्ने व्यवस्था हो । तर धेरै गर्मी मौसममा यसलाई बिहानीपखको घाममात्रै भए पनि पुग्छ । गर्मी मौसममा पनि धेरै घाम भयो भने जेरानियम फुल्न सक्दैन । यो अवस्थालाई हिटचेक (Heat check) भनिन्छ । तर गर्मी कम भएपछि पुनः त्यसमा फूल लाग्न थाल्छ ।

बढी गर्मी जस्तै यो विरुवाले चिसो पनि खप्न सक्दैन । त्यसैले जाडो महिनामा यसलाई शित, तुसारो नपर्ने, अलि न्यानो ठाउँमा राख्न सके विरुवा रोगी हुन पाउँदैन । साँच्चैको लगाव र जाँगर छ भने जाडोबाट जेरानियमलाई बचाउन ग्रीन हाउस वा प्लाष्टिकको घरहरु बनाउन पनि सकिन्छ ।

जेरानियममा पानी बढी भयो भने जरा कुहिएर विरुवा मर्छ भनेर माथि पनि भनिसकियो । त्यसैले यसमा पानी हाल्दा अलि ख्याल गर्नुपर्छ । विशेषतः माटो १ इन्चजति सुख्खा नभएसम्म पानी नहाले पनि हुन्छ । स्वभाविक कुरा हो, जाडो महिनामा माटोको चिस्यान लामो समयसम्म रहिरहने हुनाले घरिघरि पानी हाल्नु पर्दैन । अवस्था हेरेर हप्तामा एक वा दुई पटकसम्म हाले पुग्छ । तर गर्मी महिनामा माटोको चिस्यान चाँडै सकिने हुनाले नियमित पानी हाल्नुपर्छ । पानी हाल्नुअघि माटोमा चिस्यान रहेनरहेको जाँच्दा वेश । हालिएको पानी माटोमा जम्न दिनुहुँदैन ।

गमलामा रोपिएका जेरानियमलाई बेलाबेलामा रिपट गर्नुपर्छ । खासगरी फूल फुलिसकेपछि र हाँगाविगाहरु धेरै ठुलो भएपछि रिपट गर्दा राम्रो हुन्छ । गमलामा रोपिएका विरुवालाई बेलाबेलामा काँटछाँट गरिदिनुपर्छ । खासगरी, फूल फुल्न कम भएपछि वा रोकिएपछि यसको हाँगा काँटछाँट गरिदिने हो भने त्यसमा चाँडै र नयाँ स्वस्थ फूलहरु फुल्न शुरु गर्छ । त्यसैगरी, सुकेका फूलहरु र बोटमा रहेका अनावश्यक पातहरुलाई नियमित रुपमा टिपिदिने गर्नुपर्छ । बोटमा थोरै पातहरु मात्रै रहन दिनुपर्छ जसले गर्दा पातमा खर्च हुने पोषणहरु जोगिएर विरुवामा फूल लाग्न सहयोग पुग्छ । त्यसबाहेक, अनावश्यक बढी पातहरु नहुँदा विरुवामा राम्ररी हावा पास हुन पाउन्छ, जसले गर्दा बोटमा ढुसी लाग्ने र कीराहरु लुक्ने सम्भावना न्यून हुन्छ ।

जेरानियममा मल हाल्दा काँचो मल हाल्नु हुँदैन । एकदमै राम्ररी पाकेको मल हाल्नु ठीक हुन्छ । सामान्यतः बोटमा लागेको फूलहरुको अवस्था हेरेर १०–१५ दिनमा १ पटक मल हाल्दा राम्रो हुन्छ । काँचो मल हाल्दा बोटमा ढुसी पर्ने, जरामा खुम्रेकीरा पर्ने सम्भावना बढी हुन्छ । खुम्रे कीरालाई जेरानियमको विरुवा अति मन पर्छ । काँचो मल हालिएको छ भने खुम्रे कीरा परेर बोटको जरा सखाप बनाइदिन्छ, जले गर्दा पूरै बोट सुकेर जान्छ । त्यसैले बेलाबेलामा जेरानियमको विरुवालाई रिपट गर्दा यो समस्याबाट पार पाउन सकिन्छ ।

अरु फूलका विरुवाहरुलाई जस्तै जेरानियमलाई पनि विभिन्न थरिका कीराहरुले सताउने गर्छ । त्यसबाट बच्नका लागि सबैभन्दा राम्रो उपाय नीम तेललाई पानीमा घोलेर बेलामा बेलामा छर्कनुपर्छ । विशेषतः वर्षामासमा विभिन्न खाका कीराहरुको प्रकोप बढ्ने हुनाले यो मौसममा नीमको तेलका अवाला बेलाका कीटनाशक औषधीहरु पनि छर्कने गर्नुपर्छ ।

जेरानियम बीउबाट पनि उमार्न सार्न सकिन्छ । तर सजिलो चाहिँ हाँगाबाट सार्नु हो । यो विरुवा हाँगाको कटिङबाट सजिलै सर्ने गर्छ ।

जेरायिनम निक्कै लामो समयसम्म टिक्ने विरुवा हो । औसत रुपमा सामान्य खालको जेरानियम ४० वर्षभन्दा बढी समयसम्म पनि बाँच्न सक्छ ।

जेरानियम भित्र ४२२ प्रजातिका विरुवाहरु पर्दछन् । तर सामान्यतः कुरा गर्दा चारथरिका जेरानियमहरु फुलाउने गरिन्छ । त्यसमा सामान्य जेरानियम (Zonal geraniums), आइभी जेरानियम (Ivy geraniums ), सुगन्धित पात भएको जेरानियम (Scented-Leaf Geraniums) र रेगल जेरानियम (Regal geraniums) पर्दछन् । रेगल जेरानियमलाई मार्सा वासिंगटन जेरानियम (Marsha Washington geraniums) पनि भन्ने गरिन्छ ।

स्रोतः होमगाइड, डिआइवाइनेटवर्क, गार्डेनिङ नोहाउ, विकिपेडिया, गिलमोर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप