बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाबाट उद्धारको नाममा चलखेल

शुक्रबार, ३० जेठ २०७७, १७ : १६
शुक्रबार, ३० जेठ २०७७

 जेठ २७ मा अस्ट्रेलिया पुगेको नेपाल वायुसेवा निगमको जहाजले फर्कँदा गुपचुपरुपमा ११ नेपाली लिएर फर्कियो ।  कोरोनाको कारण समस्यामा परेका धेरै नेपाली नेपाल फर्कन चाहेपनि सरकारी निकायबाट पहल नहुँदा विमान रित्तै फर्किने तर नेपाली फर्किन नपाउने अवस्था बनेकाे छ । भलै अस्ट्रेलियास्थित दूतावासले छुट्टै चार्टर उडानको तालिका सार्वजनिक गरेकाे छ । यद्यपि नागरिकहरुको उद्दारको नाममा अर्को चलखेल हुन सक्ने बताइन थालिएकाे छ, यो विषयलाई अस्ट्रेलियामै रहेर नजिकबाट निकालिरहेका एक नेपाली (जसले आफ्नाे परिचय खुलाउन चाहेका छैनन्) ले राताेपाटीलाई पठाएकाे इमेल जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ:

नेपालबाट पटक-पटक अस्ट्रेलियन नागरिक, पीआरहरुलाई यहाँ लिएर आएको नेपाल एअरलाइन्सको जहाजले यहाँबाट दुईवटा उडानमा कसैलाई पनि नलगेको र पछिल्लो (तेस्रो) उडानबाट ११ जना नेपालीलाई लेपाल लिएर गयो । ती फर्कन पाउने ११ भाग्यमानीहरुको बारेमा धेरै चर्चा परिचर्चा भइरहेका छन्।

हामी सबैको अपेक्षा भनेको हाम्रो चन्द्र सूर्य ध्वजाबहाक कन्गारु भूमिमा आएपछि अवस्य पनि समस्यामा परेका हाम्रा नागरिकहरुलाई उद्दार गर्न सकेको भए अत्यन्त उत्तम हु्न्थ्यो। तर सँगै हामीले बुझ्नपर्ने कुरा केपनि हो भने यी चार्टर उडानहरु नेपालस्थित अस्ट्रेलियन दूतावासको तर्फबाट भएकाे हाे । सो कार्य  उनीहरुसँगको सम्झौतामा भरपर्ने कुरा हो। तर सरकार र कोरोना नियन्त्रण उच्चस्तरीय समितिको तर्फबाट यहाँबाट साेही जहाजमा नेपाली फर्काउनेबारे पहल गर्न सकिन्थ्यो, अवश्य पनि त्यो पहल भएको पाइएन। पहिलो २ वटा उडान रित्तै फर्केपछि पछिल्लो उडानपनि उस्तै हुने होला भन्ने नेपाली समूदायको आँकलन थियो । तर राजदूतावास लगायत नेपाली समूदायको निरन्तर प्रयास  पछि फर्कँदा समस्यामा परेकाहरुलाई लैजाने खालका सुखद समाचारहरु पनि आए र नेपाली समुदाय पुलकित भए  । तर अफसोच जहाज आउने दिन नजिकिँदै जाँदा सो उडानमा पनि कसैलाई लैजान नसकिने कुरा दूतावासको विज्ञप्तिमार्फत जानकारी गराइयो। 

पक्कै पनि चार्टर फ्लाईटका आफ्नै खालका सम्झौता हुने भए, त्यसैले नै होला नेपालीहरु फर्कन नपाएकाे भनेर पीडितले चित्त बुझाएकै थिए ।  तर एकाएक एकाध मानिसहरुमात्रै पछिल्लो उडानमा नेपाल उडेपछि नेपाली समूदायमा राजदूतावासप्रति लक्षित कटाक्ष शुरु भयो जुन स्वभाविकै पनि थियो। 

तर विश्वस्त सूत्रका अनुसार पहुँचको आधारमा १०० जना भन्दा बढी फर्कनेहरुको लिस्ट तयार भएर अस्ट्रेलियन राजदूतलाई सो उडानमा नेपाल फर्काउन ताकेता गरेपनि सो कार्य गर्न नसकिने संकेत अस्ट्रेलिय राजदूत पिटर बडबाट आयो ।  यात्रु ल्याउने हो भने अन्तर्रास्ट्रिय मान्यता अनुरुप सम्पूर्ण प्लेनलाई deep cleaning गर्नुपर्ने र सो गर्दा प्लेन २ घन्टामात्र यहाँ रहने हुँदा सो असम्भव रहेको कुरा बताए। 

तर केही दिनको अन्तरालमा फेरि नयाँ घटना क्रम विकास भयो। केही पहुँचमा रहेकै मानिसहरुले फेरि चलखेल सुरु गरे। सोही अनुरुप २ जना पूर्वमन्त्रीको स्वकिय सचिवको दम्पति, २ जना भन्सार विभागका निर्देशकको आफन्त, २ जना पर्यटन सचिवको आफन्त र दुईजना गृह मन्त्रालयका कर्मचारी गरी आठ जना र नेपाली दूतावास अस्ट्रेलियाबाट मानवीयताको नाताले सिफारिस ३ जना गरी जम्मा ११ जनाको लागि नेपालबाट कोरोना उच्चस्तरीय समितिले पररास्ट्र मन्त्रालयलाई, पररास्ट्रबाट अस्ट्रेलियन दूतावास नेपाललाई, अस्ट्रेलियन दुतावासले DFAT ( Department of foreign affairs and trade) लाई र सो मार्फल नेपाली दूतावास अस्ट्रेलियालाई जानकारी गराइएको बुझिएको छ। अस्ट्रेलियन सरकारको निमन्त्रणामा अस्ट्रेलिया आएका २ जना गृहका कर्मचारीलाई नेपाल पठाउन पर्ने अस्ट्रेलियन सरकारलाई परेको दबाबको मौकामा नेपालमा रहेका उच्च पदस्थहरुले कोरोना नियन्त्रण उच्चस्तरीय समितिलाई प्रभावमा पारी आफ्ना मानिसहरु नेपाल लैजान सफल भएका छन्।

ढिलै भएपनि नेपाल सरकारले आफ्ना नागरिकहरुलाई आफ्नो देश फर्काउने पहल लिएको छ ।  जुन सरहानीय कुरा हो तर सँगै अहिले बजारमा आएअनुसार चार्टरको प्रति टिकटका मूल्य सुन्दा र अझ त्यसमा टिकटको लागि बाहिरी बिचौलियाहरु समेत सहभागी भएको खन्डमा झन परिस्थिति भयाभह हुन सक्ने देखिएको छ । फेरि पनि दु:खमा परेका नागरिकहरुको उद्धारको नाममा अर्को चलखेल हुन सक्ने अडकलबाजी गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप