शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरी हिरासतमा शम्भुको हत्या कि आत्महत्या ? पोस्टमार्टम नहुँदै विरोध प्रदर्शन

शुक्रबार, ३० जेठ २०७७, १९ : ३०
शुक्रबार, ३० जेठ २०७७

जनकपुर । धनुषामा जेठ १२ गते सवारी दुर्घटनामा मृत्यु भएकी महिलाका परिवारले नियमानुसारको राहत तथा क्षतिपूर्ति पाउन सकेको छैन । ती महिलाको ज्यान जानेगरी भएको दुर्घटनामा संलग्न सवारी चालकको समेत मृत्यु भएको र उनको मृत्युको विषयमा विवाद बढेपछि प्रहरीलाई उक्त मामिला सुल्झाउन समस्या भएको छ ।

जेठ २७ गते मंगलबार करिब २ बजे राति ईलाका प्रहरी कार्यालय सबैलाको हिरासत कक्षभित्र रहेको शौचालयमा सबैला नगरपालिका–१२ बस्ने २३ वर्षीय शम्भु सदा मुसहरको शव फेला परेको हो । शम्भुले चलाएको ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रहरी हिरासतमै रहेका उनी आफ्नै लुगाको पासो लगाएर भेन्टिलेटरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ । तर उनका आफन्त र स्थानीय बासिन्दा भने प्रहरी हिरासतमा रहेको व्यक्तिले कसरी आत्महत्या गर्न सक्छ भन्ने प्रश्नका साथ प्रभावकारी छानविनको माग गरिरहेका छन् ।

स्थानीय बासिन्दा तथा शम्भुका परिवारजनले विभिन्न माग अघि सार्दैै आन्दोलन गरेका छन् । जसका कारण शम्भुको शवको पोष्टमार्टम हुन सकिरहेको छैन । पोष्टमार्टम हुन नसक्दा घटना अन्यत्रै मोडिने सम्भावना प्रवल देखिन्छ भने शम्भुले चलाएको ट्याक्टरको ठक्करबाट मृत्यु भएकी महिलाका परिवारले कानुन अनुसार पाउनुपर्ने क्षतिपूर्तिसमेत पाउन विलम्ब हुने देखिएको छ ।

जेठ १२ गते सोमबार बेलुका सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर बस्ने ४२ वर्षीय सुमित्रादेवी साह तेलीलाई प्रदेश नम्बर २– ०२००१त२७५ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी सुमित्रादेवीको उपचारका क्रममा मृत्यु भएको थियो । 

उनको मृत्युपछि चालक शम्भुलाई प्रहरीले हिरासतमा लिएको थियो । इलाका प्रहरी कार्यालय सबैलाको हिरासत कक्षभित्र रहेका शम्भुले आत्महत्या नै गरेका हुन् या उनको हत्या भएको हो भन्ने प्रष्ट हुनका लागि पोस्टमार्टम गर्न आवश्यक हुन्छ । तर परिवारजन तथा स्थानीयबासीले आन्दोलन गरेका कारण पोस्टमार्टम प्रक्रिया प्रभावित हुँदै आएको छ ।

शम्भुले आत्महत्या गरेका हुन् भने पनि कानुनी प्रक्रियाअनुसार क्षतिपूर्ति तिरेर रिहा हुने समय आइसकेको अवस्वस्थामा उनले किन आत्महत्या गरे भन्ने प्रश्न अनुत्तरित नै छ । हत्या नै हो भने पनि उनको हत्या गरिरहनपर्ने कुनै कारण नदेखिएको स्थानीय बुद्धिजीवीको भनाइ छ ।  

के भन्छ प्रहरी ?

१४ दिनसम्म हिरासतमै रहेका शम्भु जेठ २७ गते राति अन्दाजी डेढ बजेको समयमा शौचालय गएको प्रहरीको भनाइ छ । आधा घण्टासम्म पनि उनी नफर्किएपछि सेन्ट्रीमा खटिएका प्रहरीले शौचालयको ढोका तोडेर हेर्दा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

सेन्ट्रीमा खटिएका प्रहरीले ईप्रका सबैलाका ईन्चार्ज समेत रहेका प्रहरी निरीक्षक चन्द्रभुषण यादवलाई राति नै घटनाबारे जानकारी गराए । प्रहरी निरीक्षक यादवले जिल्ला प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराउदैँ तत्काल शवको मुचुल्का तथा अन्य कानुनी प्रक्रियाका लागि वडा कार्यालयका प्रतिनिधि, स्थानीय भलाद्मीहरु र स्थानीय चिकित्सकको रोहबरमा परिवरजनलाई करिब साढे ३ बजे प्रहरी चौकी मै बोलाए ।

बिहान ४ बजे पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा उनको शव ल्याइयो । तर बिहानैदेखि स्थानीयबासीले प्रहरीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन थाले भने प्रहरी कार्यालयमा ढुंगामुढा गरे ।
त्यसपछि घटना मातीयकरणतर्फ मोडियो । दलित अधिकारकर्मीहरुले शम्भु दलित भएकै कारण मारिएको आरोप लगाए । नगरपालिका क्षेत्रमा प्रदर्शन गरेका उनीहरुले छानविनको माग गर्दै प्रदेश नम्बर २ को मुख्यमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाए ।

शम्भुको हत्या भएको आरोप लगाउनेहरुले उनको हत्या किन र कसले गरायो भन्नेबारे चित्तबुझ्दो तर्क र कारण खुलाउन सकेका छैनन् । न त शम्भुले आत्महत्या गर्नुपर्ने कारण नै प्रष्ट खुल्न सकेको छ ।
उनले चलाएको ट्याक्टरका साहुले दुर्घटनाबापत मृतक महिलाका परिवारलाई दिनुपर्ने क्षतिपूर्तिका लागि सहमति जनाइसकेको अवस्थामा चालक शम्भुमाथि कुनै प्रकारको दबाब देखिदैँन । कानुनी प्रक्रियापछि केही दिनमै उनी हिरासतबाट रिहा हुने अवस्था थियो । यसका बाबजुद उनले आत्महत्या गर्नुको कारण प्रष्ट छैन ।

अर्कोतिर, कुनै राजनीतिक आस्थामा नलागेका र निम्न वर्गका परिवारको रुपमा रहेका शम्भुको हत्याबाट कसलाई के फाइदा हुन्छ ? यसको पनि चित्तबुझ्दो जवाफ पाइएको छैन । घटनालाई जातीयकरण गरेर अनुसन्धान प्रक्रिया नै अवरुद्ध गर्नुभन्दा पोस्टमार्टम प्रक्रिया पूरा गरी उनको मृत्युको कारणबारे जान्ने कोसिस गर्नु उपयुक्त हुने स्थानीय भलाद्मी तथा बुद्धिजीवीको भनाइ छ ।

सवारी दुर्घटनाबाट ज्यान गुमाएकी सुमित्राका परिवारले कानुनी रुपमा पाउने क्षतिपूर्तिमा समेत ढिलाइ हुँदै गएको छ । स्थानीय रामप्रकाश यादव भन्छन्, ‘पहिला त पोस्टमार्टम गरेर हत्या हो कि आत्महत्या हो भन्ने प्रष्ट हुनु पर्छ, सुमित्राका परिवारले कानुनअनुसार पाउने क्षतिपूर्तिका लागि कुनै पनि बहानामा ढिलाइ गरिनु हुँदेन ।’

धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले शम्भुको मृत्यु प्रहरी हिरासतमा भएकाले यसको नैतिक जिम्मेवारी प्रहरीले लिनुपर्ने भएपनि यो आत्महत्या नै भएको दावी गरे । शम्भु नवयुवक भएको तथा लकडाउनका समयमा हिरासतमा एक्लै धेरै दिनसम्म रहनुपर्दा मनमा अनेक कुरा खेलाएर निराश हुँदै उनले आत्महत्या गरेको हुन सक्ने उनको भनाइ छ ।

पोस्टमार्टम प्रक्रिया नै अवरुद्ध हुने गरी स्थानीयबासी र मृतकका आफन्तले प्रदर्शन गरेका कारण शम्भुको हत्या वा आत्महत्या के हो भन्ने वास्तविकता बाहिर आउन नसकेको प्रहरीको भनाइ छ । घटनाको वास्तविकता प्रकाशमा आउने प्रक्रिया अवरुद्ध गरेर जातीय आवरणमा घटनालाई रंग्याउन खोज्दा दुर्घटनामा ज्यान गुमाएकी सुमित्राका परिवार समेत अन्यायमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप