शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुन बेच्नेको घुँइचो लागेपछि महासंघले भन्यो– ‘किन्न सकिँदैन’

आइतबार, ३२ जेठ २०७७, १८ : ५५
आइतबार, ३२ जेठ २०७७

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुन बेच्न चाहने सबै ग्राहकहरुको सुन किन्न नसक्ने जनाएको छ । बजारमा सुनचाँदीको भाऊ निकै बढसँगै सुनका गहनाहरु बेच्न आउनेको घुइँचो लागेपछि महासंघले विज्ञप्ती जारी गरी सबै ग्राहकको सुनको फिर्ता बिक्री गर्न आएमा बजारले धान्न नसक्ने स्पष्ट पारेको हो । 

कोरोनाको कारण अन्तर्राष्ट्रिय मुद्रासँग नेपाली मुद्राको अवमूल्यन भएको तथा सुनमा लाग्दै आएको भन्सार राजश्व वृद्धि भएका कारण सुनको मूल्य बढेको उल्लेख गर्दै महासंघले ग्राहकहरुलाई धैर्यधारण गर्न आह्वान गरेको छ । साथै सरकारलाई नीतिगत निर्णय गरी व्यवसायीहरुलाइ सहयोग गर्न आग्रह समेत गरेको छ । 

कोरोना महामारीसँगै घोषणा गरिएको लकडाउनपछि व्यसाय बन्द भएको अवस्थामा सुनचाँदी व्यवसाय क्षेत्र अरु व्यवसायजस्तै आक्रान्त भएको जनाउँदै महासंघले ६० अर्ब रुपैंया लगानी रहेको यो क्षेत्रलाई बचाउन सरकारसँग सहुलियतपूर्ण ऋण र ब्याज र दस्तुर मिनाहको माग समेत गरेको छ । 

आइतबार बजारमा छापावाला सुन प्रतितोला ८९ हजार ६ सय रुपैंया, तेजाबी सुन ८९ हजार १ सय ६५ रुपैंयाँ तथा चाँदी ९३५ रुपैंयामा कारोबार भइरहेको छ । लकडाउन हुनुअघि चैत १० गते सुनको मूल्य ७७ हजार रपैंया तथा चाँदीको मूल्य ७२० रुपैंया थियो । लकडाउन खुल्नेबित्तिकै उच्च मूल्यवृद्धि भएपछि यतिबेला सुनको फिर्ता बिक्री बढ्न थालेको हो । तर बिक्री भने यतिबेला ठप्पप्राय छ । 

सामान्यतया सुन किन्ने व्यक्तिले किनेकै पसलमा सुन बेच्न लगेमा त्यस्तो सुन किनिदिने गरेका थिए । तर भीड बढ्न थालेसँगै महासंघले यो अवस्था नरहेको जनाएको हो । 

साथै, महासंघले कोरोना भाइरसको कारण बिरामी भएका सम्पूर्ण नेपालीको शीघ्र स्वास्थ्य लाभको कामना र मृत्युवरणप्रति श्रद्धाञ्जली व्यक्त समेत गरेको छ । साथै महासंघले कोरोनाको रोकथामका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री राहत कोषमा १५ लाख रुपैंया सहयोग गरेको र ६५ वटा जिल्ला र नगर संघमार्फत् १ करोड ८ लाख रुपैयाँ बराबरको राहत वितरण गरेको जनाएको छ । भूकम्पको बेला पनि आफूहरुले सहयोग गरेको स्मरण गर्दै महासंघले आगामी दिनहरुमा पनि कल्याणकारी सामाजिक कार्यहरुमा निरन्तर लागिपर्ने प्रतिवद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप