शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा जुलाई ४ का दिन उत्सव मनाउने तयारी

बुधबार, १० असार २०७७, १४ : २६
बुधबार, १० असार २०७७

लन्डन । बेलायतमा जुलाई ४ तारिखको दिनलाई विशेष उत्सवका रुपमा मनाउने तयारी भइरहेको छ ।

कोरोनाभाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन जारी भएसँगै व्यापार–व्यवसाय एवं रोजगारीको क्षेत्रमा परेको प्रभाव विस्तारै कम हुँदै गएको छ ।

यही जुन १५ बाट लकडाउनलाई सहज पार्दै अन्य केही पसल संचालनमा आए पनि पब, रेष्टुरेन्ट, हेयर ड्रेसर, इन्डोर पूल लगायत अझै बन्द छन् । विश्वमा फैलिएको कोरोना भाइरसको महामारीका कारण गत मार्च २३ बाट

बेलायतमा लकडाउनका कारण अत्यावश्यक सामग्रीबाहेकका पसलहरु बन्द छन् ।

तर बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आगामी जुलाई ४ तारिखबाट पब, रेष्टुरेन्ट तथा हेयर ड्रेसर, आउटडोर जिमखाना, खेलमैदान, पुस्तकालय, संग्रहालय, कम्युनिटी सेन्टर, क्याराभन पार्क लगायतका व्यवसायहरु पुनः सञ्चालनमा ल्याउने घोषणा गरेका छन् ।

त्यसैले पनि बेलायतमा रहेका नेपाली समुदायले पनि जुलाई ४ तारिखको दिनलाई विशेष उत्सवजस्तै मनाउने तयारी गरेका छन् ।

लामो समयदेखि लन्डनमा बस्दै आएका बोजराज जुलाई ४ तारिखलाई भव्य उत्सवका रुपमा मनाउने तयारीमा छन् । प्रायः ब्रिटिस खानामा रामाउने बोजका लागि पब, बार तथा रेष्टुरेन्ट दैनिक आधारभूत आवश्यकताजस्तै भइसकेको छ ।

लकडाउनका कारण आफ्नो दिनचर्यामा असर पुगेको र जुलाई ४ को तीव्र प्रतीक्षामा रहेको उनले बताए । यहाँका नागरिकहरुको लागि सुखमा होस् वा दुःखमा पबमा आएर मनभित्रको पीडा हल्का पार्ने गरेको उनको भनाइ छ ।
लकडाउनका अवसरमा आफ्ना नियमित ग्राहकहरुका लागि कतिपय स्थानका पबहरुले ‘होम डेलिभरी’को व्यवस्था गरेका थिए । तीन महिनाभन्दा लामो लकडाउन अवधिभरमा पब, बार, लगायतका स्थानमा जान नपाउँदा कतिपय मानसिक रोगका शिकार नै बन्न पुगेका छन् ।

जुलाई ४ बाट सामाजिक दुरीलाई दुई मिटरबाट घटाएर ‘एक मिटर प्लस’मा झारिने  बेलायती प्रधानमन्त्री जोनसनले बताएका छन् । त्यस्तै बेलायतमा दुई परिवारबीचमा सामाजिक दुरी कायम राख्दै भेटघाट गर्न पाउनुका साथै रात बिताउन समेत पाउनेछन् ।

यसअघि घरबाहिर निश्चित दूरी कायम गरेरमात्रै भेट्ने छुट थियो । 

विज्ञहरु भने लकडाउन खुकुलो पार्न सरकारले हतार गरेको र यसबाट पुनः संकट उत्पन्न हुनसक्ने औंल्याइरहेका छन् । बेलायतमा कोरोना संक्रमणबाट झन्डै ४३ हजारको ज्यान गइसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप